धनुषामा झडप : स्थानीय आक्रोशित, प्रहरीको गोली लागेर दुईजना घाइते

धनुषामा झडप : स्थानीय आक्रोशित, प्रहरीको गोली लागेर दुईजना घाइते

काठमाडौं । धनुषाको हंसपुर नगरपालिका–५, सुगा निकासस्थित इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन् ।

स्थानीयको कुटाइबाट घाइते भएका व्यक्तिको प्रहरीको कुटाइपछि मृत्यु भएसँगै आक्रोशित स्थानीय प्रहरीचौकी घेराउ गर्न पुगेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो ।

भीडलाई हटाउन प्रहरीले गरेको हवाईफायरका क्रममा दुईजनालाई गोली लागेको छ । गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन् । घाइते अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ । अर्का घाइते मण्ड़लको दाहिने हातमा गोली लागेको हो ।

प्रहरीको गोली लागेर दुईसहित झडपमा परी तीनजना घाइते भएका स्थानीयले बताएका छन् ।

स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि आत्मरक्षाका निम्ति गोली चलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आक्रोशित स्थानीयको भीडले प्रहरीमाथि आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्ण रूपमा जलाइदिएको तथा नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

स्थानीय दीपा मण्डललाई स्थानीयबीचको विवादका क्रममा पक्राउ गरी इलाका प्रहरी कार्यालयमा लगिएको थियो । सो क्रममा प्रहरीका सई तुलानन्द ठाकुरको कुटाइबाट मण्डलको संवेदनशील अंगमा चोट लागेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको स्थानीयले बताएका छन् ।

गोली लागेर घाइतेमध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । घाइते मण्डललाई थप उपचारका निम्ति काठमाडौं ‘रिफर’ गरिएको छ । प्रहरीको गोली लागी घाइते भएका दुवैजनाको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग गरिएको छ ।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय