निर्वाचनमा मधेसी पनि सहभागी हुन्छन् : उपप्रधानमन्त्री थापा
हेटौँडा, चैत १३ । उप तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा मधेसीको पनि सहभागी हुने करिव करिव निश्चित भइसकेको बताएका छन् ।
स्थानीय तहको निर्वाचनपछि देशले महत्वपूर्ण फड्को मार्ने बताउँदै निर्वाचनका लागि सबै जुट्नुपर्ने उनले बताएका छन् ।
हेटौँडामा आयोजित एक कार्यक्रममा मन्त्री थापाले अब हुने स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षा, निस्पक्ष र सक्रिय भूमिकाका लागि राष्ट्रसेवक कर्मचारीलाई महत्वपूर्ण योगदान गर्न अनुरोध गरेका छन् ।
निर्वाचन जसरी पनि सफल पार्नुपर्ने र त्यसका लागि मधेसीहरु पनि सहमति नजिक पुगिसकेको बताउँदै मन्त्री थापाले छलफलमा धेरै बुँदामा मधेसी सकारात्मक भइसकेको बताए ।
फोटो पत्रकार समूहमा पुनः वन्त
काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) मा पुनः प्रदीपराज वन्त अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । राष्ट्रिय फोटो पत्रकार समूहको १३ औ केन्द्रीय महाधिवेशन तथा २७ औँ वार्षिक साधारण सभाबाट अध्यक्ष पदका लागि वन्त निर्वाचित हुनुभएको हो । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा एलवि (सागर श्रेष्ठ), महिला उपाध्यक्ष चन्द्रकला श्रेष्ठ, उपाध्यक्ष नारायणबहादुर सिलवाल, उपाध्यक्ष सुनिल शर्मा, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई, कोषाध्यक्षमा प्रदीपकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्य पदमा क्रमशः मुकुन्दबहादुर कालिकोटे, हरिशसिं नागल, रमिता छुँजु, दीपेन्द्र महर्जन, अनुप प्रधान, सागर बस्नेत र शङ्कर भुजेल निर्वाचित हुनु भएको छ ।
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ
काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगरबाट पक्राउ गरिएका उनलाई आज काठमाडौं पुर्याइँदैछ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारी मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराइ जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएकोमा जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काएको थियो । कात्तिक १३ गते जापान उडेका उनलाई टोकियो विमानस्थलमा ४८ घण्टा राखेर फिर्ता गरेको थियो । मानव तस्करी गरेर मन्त्री जापान गएको भन्दै विरोध भएपछि अधिकारीले मन्त्री पदबाट राजीनामा दिएका थिए । शनिबार एमालेको कोशी प्रदेश कमिटीले उनलाई राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो भने शनिबार नै बसेको एमाले सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । आफूलाई फसाइएको दाबी गरेका अधिकारीले अनुसन्धानमा सघाउने बताएका छन् । उनीसँगै जापान गएकाहरुलाई पनि पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।
आज फाल्गुनन्द जन्मजयन्ती मनाइँदै, कोशीमा बिदा
काठमाडौं । आज फाल्गुनन्द जन्मजयन्ती मनाइँदैछ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १ सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं. १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको हो । किराँत भाषा, लिपी, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । किराँत समाज सुधारका लागि नीति समेत निर्माण गरी योगदान गर्नु भएका फाल्गुनन्दको २००५ सालमा निधन भएको हो । किराँत समाज सुधारमा फाल्गुनन्दले पु¥याएको योगदानको कदर गर्दै उहाँलाई २०६६ साल मङ्सिर १६ गते सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्दको योगदानको सम्मान गर्दै किराँती समुदायको बसोवास रहेका पूर्वी पहाडी जिल्लाहरू ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापा लगायतमा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ । यस अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
यु–१९ महिला विश्वकप क्रिकेट छनोट : नेपालले आज यूएईसँग खेल्ने
काठमाडौं । आईसीसी यु–१९ महिला टि–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्व खेल्ने भएको छ । नेपालले यूएईविरुद्ध उसकै भूमिमा आजको खेल खेल्न लागेको हो । उक्त खेल आज बिहान ११ः१५ बजे सुरु हुनेछ । बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेलेको थियो । उक्त खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो । उक्त खेलमा नेपालले कुवेतलाई १०८ आठ रनले हराएको थियो । प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ । यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदै छ । रासस