नेपाल एकीकरण कि गोर्खा साम्राज्य बिस्तार ?
हाम्रो इतिहासमा कान्तिपुरका राजा जयप्रकाश मल्लले भारतमा रहेका बेलायती सैनिकहरुसित सैनिक सहयोग मागेको र त्यसै कारण मेजर किनलोकको नेतृत्वमा आएको विदेशी सेनालाई पृथ्वीनारायण शाहले बाटैमा आक्रमण गरी विदेशी प्रभावले मुक्त गरेको भनी लेखिएको छ। तर, पृथ्वीनारायण शाहलाई युरोपले सामरिक स्रोत साधन दिएर सहयोग गरेका थिए। ब्रिटिस कम्पनी सरकारले गोरखाका राजालाई अनुशासनको महत्व सिकाएर युरोपेली व्यापारीमार्फत् हातहतियार दिएर सहयोग गरेका हुन्। त्यही हतियारको सहयोगबाट तीन पटकको आक्रमणमा धोका दिएर उनले कीर्तिपुर जितेका हुन्।
ललितपुरका पाँच प्रधान (मन्त्री)हरुले पृथ्वीनारायण शाहलाई राजा बन्न आमन्त्रण गरेका थिए। पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरु कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले उनीहरुलाई त्यहीँ मारेर उनीहरुको सर्वस्व हरण गरेका थिए। अर्थात् पृथ्वीनारायण शाहको नियत भनेको आफू सत्तामा आइसकेपछि त्यहाँकाहरुलाई सफाया गर्ने थियो, चाहे ती उनलाई सहयोग गर्ने हुन् वा प्रतिरोध गर्ने।
१ हजार अमूल्य ग्रन्थ ध्वस्त
गोरखालीहरुको यस्तो सन्काहा कामकारबाहीले गर्दा नै चिनियाँ सम्राट किएन लोङ (सन् १७३६-१७९६) ले आफ्ना उत्तराधिकारीहरुलाई यसो भनेका थिए- “अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू”
भक्तपुर पनि जितिसकेपछि पृथ्वीनारायण शाहले यहाँ निकै लुटपाट मच्चाएका थिए। इतिहासकार पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार त्यतिबेला जंगबहादुरले लखनउ विद्रोह दबाएपछि जति लुटपाट गरेका थिए, त्योभन्दा चर्को रुपमा यहाँ उनले लुटपाट मच्चाएका थिए। उनका सेनाले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए। त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र (ध्वनिसम्बन्धि पुस्तक) आदि रहेका थिए। नेपालमा क्रिश्चियन धर्म प्रचार गर्नका लागि आएका कयापुचिनहरुले ६० वर्षसम्म नेपालमा बसेका बेला हजारौँ हस्तलिखित पुस्तक जलाएर गर्व गरेका थिए। मल्लकालमा हिन्दु धर्म प्रचार गर्नका लागि भारतबाट आएका शंकराचार्यले बुध्द धर्मसम्बन्धी ७०० ग्रन्थ जलाइदिएका थिए। त्यसैले पृथ्वीनारायण शाह र विदेशीमा के भिन्नता भयो ?
पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि विदेशी क्रिश्चियनहरुलाई मात्र हैन, ललितपुरका १२ स्थानीय बासिन्दा क्रिश्चियनहरुलाई समेत देश निकाला गरेका थिए, अनि बौध्दमार्गीहरुलाई हेला गर्ने क्रम सुरु गरेका थिए। जबकि उपत्यकाका आदिवासी भनेका बौध्दमार्गीहरु पनि हुन्।
राज्य जसले जिते पनि ग्रन्थ भनेको सबैको साझा हुन्। तर विजयको नशामा पागल भएका शासकले यस्तो कुरालाई विचार गरेनन्। त्यति पुस्तक जलाइसकेपछि पनि बाँकी भएका पुस्तकहरु मात्र वीर शमशेरको पालामा पुस्तकालय बनाएर राष्ट्रिय अभिलेखालयमा राखिएका हुन्। यहाँ के कुरा पनि भन्न जरुरी छ भने राज्यस्तरबाट पुरातात्विक सामान नष्ट गर्ने अभियान आधुनिक कालसम्म पनि जारी नै थियो। पुरातात्विक सामान, मूर्ति आदि चोरेर, चोर्न लगाएर विदेशमा निर्यात भइरह्यो। नत्रभने भक्तपुरको तलेजु मन्दिर भित्र रहेको मूलढोकाबाट भित्र नछिर्ने दुई वटा गजुर हराउने थिएनन्, २४ घण्टा सेनाको पहरा भएको ठाउँमा भएको सुन्धारामा रहेको मकर चोरेर लगिँदैन थियो। नत्र भने कसको तागत थियो क्रेन लिएर भूपतिन्द्र मल्लको शालिक चोर्न जाने ?
मल्लकालमा अौद्योगिक क्रान्तिको वातावरण तयार भइसकेको थियो, तर पृथ्वीनारायण शाहले गरेर आजसम्म हुन सकेन भन्ने तथ्यलाई यसबाट पनि पुष्टि हुन्छ कि मल्लहरुले राम्राराम्रा नक्साहरु समेत बनाएर विकास गरिसकेका थिए, जसको सुरुवात जयस्थिति मल्लले गरेका थिए। त्यस्तो नक्साहरुलाई अंग्रेजहरुले समेत प्रशंसा गरेका थिए। त्यही नक्साका आधारमा गोरखालीहरुलाई अरु ठाउँहरुमा हमला गर्न पनि निकै काम आयो। त्यसैगरी थ्यासफूमा कोरिएको भक्तपुरको न्यातपोल मन्दिरको चित्र, जुन जर्मन नागरिक बर्नहार्ड कोल्भरको हातमा पुगिसकेको छ, आजभोलि युरोपमा प्रयोग भइरहेको मोडुल स्केलमा कोरिएको हो। त्यतिबेलै भवनको नक्सा बनाउने बेलामा यस्तो स्केल राम्रोसित प्रयोग भइसकेको यसले देखाउँछ। यसबाट प्रष्ट हुन्छ कि नेपालको वास्तुकलाको विकास चरण कति माथि पुगिसकेको थियो भनी।
सबै व्यापारी भागाभाग
यहाँ पुनः स्मरण गराउँ कि त्यतिबेला नेपाल (उपत्यका) ले तिब्बतका लागि मुद्रा छापेर त्यता पठाउने र त्यस वापत् नेपाललाई राजस्व आउने गर्थ्यो। तर पृथ्वीनारायण शाहले त्यसलाई निरन्तरता दिन सकेनन्, साथसाथै व्यापारमा पनि धेरै कर बढाए। हिन्दुस्तान र तिब्बतबीच व्यापार गर्ने व्यापारीहरुलाई पनि देशनिकाला गरिदिए। अनि ठूल्ठूला व्यापारीहरु पनि व्यापार गर्नका लागि अरु देशमा गए। सन् १७७४ मा नेपालमा तिब्बतसित कारोबार गर्ने दुई वटा मात्र कश्मिरी पसल बाँकी रहेको थियो। पृथ्वीनारायण शाहको कानुन, नियम पालना नगर्ने व्यापारीहरुको कान काटेर देश निकाला गरिन्थ्यो। ता-सि-लुन-पोया तेसु लामा (दलाई लामापछिका दोस्रा लामा) ले नेपालका राजालाई पत्र समेत पठाएका थिए यसो भनेर-“हिन्दू होस् वा मुसलमान, सबै व्यापारी तपाईँदेखि डराउँछन्, कोही पनि तपाईँको देशमा बस्न राजी छैनन्।”
भक्तपुर जितिसकेपछि पनि नरसंहार जारी राखेकोले बचेका पुरुषहरु भाग्नुपरेको कृषि कार्य गर्ने पुरुषहरुको अभावमा अनिकाल समेत भएको थियो। तत्कालीन राज्यका काजी (मन्त्री) हरु (धौकाजी, ध्वँकाजी, भौकाजी, तिमिलाकाजी) मध्य प्रमाणका रुपमा अगाडि आएका तिमिलाकाजीका बारेमा तथ्य यस प्रकार रहेको छ।
भक्तपुर जितेपछि यहाँ यति दमन बढ्यो कि मानिसहरु बस्न नसकेर आफ्नो ठाउँ छाडेर भाग्नु पर्यो। आजभोलि नेपालका विभिन्न जिल्लामा रहेका बहुसंख्यक उपत्यकावासीहरु पृथ्वीनारायण शाहको कोपभाजनबाट जोगिनका लागि भागेकाहरु हुन्। आजभोलि पनि वृध्दवृध्दाहरु सुनाउने गर्छन् छलफलका लागि भनेर राजाले भोजमा बोलाएर त्यहाँबाट फर्किएकाहरुलाई गल्लीगल्लीमा पहरा राखिएका सेनाले धमाधम काटेर नरसंहार गरेका थिए। दोस्रो पटकको कीर्तिपुर हमला असफल भएपछि भक्तपुर वरपर रहेको गौकोटमा पृथ्वीनारायण शाहले हमला गरेको बेलामा त्यो ठाउँमा सशक्त प्रतिकार भएको थियो। १५ दिनसम्म भएको त्यो युध्दमा ३३२ जना गोरखा सैनिकको मृत्यु भएको थियो। पछि उनीहरुले जितिसकेपछि त्यो सिङ्गो गाउँलाई जलाइदिए। त्यतिबेला चौकोट युध्दको नेतृत्व गर्ने महिन्द्र सिंहले वीरगति प्राप्त गरेका थिए। त्यसैको बदला लिन पृथ्वीनारायण शाहले त्यस्तो नरसंहार गरेको हुनुपर्छ। पृथ्वीनारायण शाहले भक्तपुर आक्रमण गर्नुअगाडि भित्र्याउने तयारीमा रहेको धानमा आगो लगाएर अन्न सबै जलाउन लगाएका थिए। अनि भक्तपुर जितिसकेपछि पनि नरसंहार जारी राखेकोले बचेका पुरुषहरु भाग्नुपरेको कृषि कार्य गर्ने पुरुषहरुको अभावमा अनिकाल समेत भएको थियो। तत्कालीन राज्यका काजी (मन्त्री) हरु (धौकाजी, ध्वँकाजी, भौकाजी, तिमिलाकाजी) मध्य प्रमाणका रुपमा अगाडि आएका तिमिलाकाजीका बारेमा तथ्य यस प्रकार रहेको छ।
विक्रम संवत् १८२६ मा राजा रणजित मल्ललाई कैद गरिसकेपछि तिमिलाको चल अचल सम्पति बेच्न, किन्न, भोगचलन गर्न र व्यापारसमेत गर्न नमिल्ने गरी पृथ्वीनारायण शाहले घोषणा गरेका थिए। पछि राजाले तिमिला काजीसित १८ हजार यानी राष्ट्रिय आम्दानीको ०.७२ प्रतिशत सलामी लिएर त्यसलाई छाड्न आदेश दिएका थिए। पछि एक मध्यस्थकर्ताको सहयोगले बिन्तिभाव गरेर १८१ रुपैयाँ अर्थात् राष्ट्रिय आम्दानीको ०.००६ प्रतिशत जरिवाना तिरेर बिना अपराध क्षमा माग्न लगाएर पृथ्वीनारायण शाहले अरु पैसा माफी गरिदिएको व्यहोराको पंजाछाप (लालमोहर) राखर फारखती गरिदिए, विसं १८२७ साल फागुन सुदी १३ रोज ४ दिनमा भक्तपुरमा बसेर। यो फारखतीको कागज अहिलेसम्म पनि भक्तपुरको दरबारक्षेत्र निवासी चक्रराज तिमिलासित छ।
भक्तपुर तमारी न्यातपोल पश्चिम बस्ने भाजुमुनि तिमिलालाई पनि यसै गरिएको थियो। पछि १८ हजार रुपैयाँ सलामी लिएर छाडिदिन आदेश दिएका रहेछन्। उनलाई पनि एक मध्यस्थकर्ताको सहयोगमा ५१ रुपैयाँ जरिवाना तिराएर बाँकी सबै माफी गरेको भनी सम्पति फिर्ता दिए, विसं १८२७ साल अगहन सुदि १५ रोज १ मा काठमाडौंमा कागज गरेर।
अर्थात् गल्ती नै नगरी गल्ती गरेको भनी बलजफ्ती स्वीकार गर्न लगाएर जरिवाना तिर्न लगाए। कर्क प्याट्रिकका अनुसार सन् १९७२ (विसं १८४९) मा नेपालको वार्षिक आम्दानी २५-३० लाख मानिएको छ। त्यो १५१ रुपैयाँको मूल्य त्यतिबेला कति थियो होला ?
द्वैध चरित्रका शासक
त्यसैले फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले भनेका यी गोरखाली भनेका समयभन्दा अति क्रुर अथवा दानीका रुपमा अगाडि आउनसक्ने द्वैध चरित्रका शासकहरु हुन्। उनीहरुको त्यस्तै जालझेल अनि शंकास्पद कामहरुका कारण नै ब्रिटिशहरुले दिक्क मानेर नेपालविरुध्द आक्रमण गरेका थिए। सन् १८१४ मा। (फ्रेञ्च र बेलायत त्यतिबेला आफ्नो राज्य सीमा विस्तार गर्ने क्रममा युध्द भएका देशहरु हुन्, जसका फ्रेञ्चहरु पराजित भएका थिए। त्यसैले फ्रेञ्चहरुले ब्रिटिशहरुको पक्ष लिएर इतिहास लेख्दैनन्) यसका कारण दुई वर्षसम्म नेपाल इस्ट इन्डिया कम्पनीसित लड्नु परेको थियो भने नेपालको तीन भागको एक भाग भूभाग समेत गुमाउनु पर्यो। नेपालको भूभाग गुम्नुको गल्ती पनि उनीहरुकै थियो। त्यसैले सिल्भाँ लेभीले भनेको- गोरखा भनेका स्पष्ट वक्ता बोल्नका लागि, तर बेइमान जाति हुन्। धोका दिने काममा निकै माथि।
आधुनिक नेपालका निर्माता भनिएका पृथ्वीनारायण शाहको राज्य गोरखाका बारेमा एक पटक विचार गरेर हेरौँ- इतिहासकार सूर्यविक्रम ज्ञवालीका अनुसार गोरखा एकदम सानो र आर्थिक रुपले एकदम कमजोर राज्य थियो। यस्तो ठाउँका राजाले एकीकरण अभियान सुरु गर्ने परिकल्पना गर्नु नै असंभव छ। त्यतिबेला भुटानका देवाधर्मका एक लामा भिक्षुलाई गोरखाका राजा नरभुपाल शाहले मेरो काममा सहायता गरिदिनु, तिमीलाई जग्गाजमिन दिन्छु भन्दाखेरी उनले “तिम्रो राज्य कति ठूलो छ भनेर मलाई जमिन दिन्छु भन्यौ” भनेर भनेको यहाँ स्मरणीय हुन आउँछ। आफ्नो राज्य सानो भएर सीमा विस्तारका लागि नरभुपाल शाहले धेरै पटक नजिकका राज्यहरुमा हमला गर्दा पनि जित्न नसकेपछि बहुलाएर आफ्नो घरको बाहिरको पिँढीमा बसेर त्यहीँ प्राणत्याग गरेका थिए।
पृथ्वीनारायण शाहले दिएको उपदेश भनिएको पुस्तकमा लेखिएको छ कि पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरमा साढुदाइ दिगबन्ध सेनसित कचकच भएपछि उनीसित युध्द गर्ने चुनौति दिएर फर्केका थिए। फर्कने क्रममा राप्ती नदी किनार हुँदै मल्ल राजाहरुले चिन्लान् भन्ने डरले घुम अोढ्दै चन्द्रागिरी पर्वत पुगेका थिए। त्यहाँ पुगेपछि आफूसँगै आएका भानु जैसी, कुलानन्द जैसीलाई उनले सोधेका थिए- नेपाल भनेको कुन हो ? अनि उनीहरुले त्यो भादगाउँ, त्यो ललितपुर र त्यो कान्तिपुर भनी देखाइदिएका थिए। यहाँको वैभव, अन्न प्रशस्त फल्ने समथर भूमि देखेर उनमा लोभलालच जन्मिएको थियो। त्यतिबेला नै उनले विचार गरेका थिए कि म यो उपत्यकाको राजा हुन पाएको भए कति हुन्थ्यो ? यहाँको कला कौशलले भरिपूर्ण दरबार, घर, मन्दिर, तिब्बतसँगको राम्रो व्यापारिक सम्बन्धका कारण राम्रो आर्थिक समृध्दिले भरिएको ठाउँमा पृथ्वीनारायण शाहको गिध्ददृष्टि परेको यसले पुष्टि हुन्छ। त्यतिबेला यहाँको कलाकौशल यति उच्चस्तरमा थियो कि यहाँ जति घर थिए, त्यति नै मन्दिर थिए र जति मानिस थिए, त्यति नै मूर्ति थिए। बहाः, ननि, चुकका रुपमा विकास गरिएका व्यवस्थित बस्ती, त्यहाँभित्र आवश्यक पर्ने पानी (इनार वा ढुंगेधारा) , पूजा गर्नलाई मन्दिर/ देवदेवी, अन्न, लुगा सुकाउन फराकिलो ठाउँ- सबैको व्यवस्था गरिएको थियो। यस्तो शहरी विकासलाई आज पनि वास्तुकलाको उत्कृष्ट नमूनाका रुपमा अन्तर्राष्ट्रिय क्षेत्रले प्रशंसा गर्दै आएको छ।
शाहले उपत्यका आक्रमण एकीकरणका लागि नभएर आर्थिक लाभका लागि गरेका थिए, टुक्राटुक्रा अवस्थामा रहेको ‘नेपाल’ लाई एउटै राज्य बनाउने उद्देश्यले हैन।
यो ठाउँ कति राम्रो थियो भनी पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा लेखिएका यी वाक्यले पनि प्रष्ट पार्छ- “त्यो तीन सहरको कालिगढीका विभिन्न काम हेर्दा मानिसहरु त्यसै लठ्ठ हुन्छन्” त्यस्तो ठाउँ चन्द्रागिरी पर्वतबाट हेर्दै जुंगा मुसार्दै गरेका बेला उनीसित रहेका दुई जैसी ब्राम्हणले “महाराज, तपाईँको नेपाल खाल्डोको राजा हुने इच्छा अवश्य पूरा हुनेछ” भनेका र पृथ्वीनारायण शाहले “तिमीहरुलाई कसरी थाहा भयो?” भनेर सोध्दा उनीहरुले “हजुरको अनुहारले भनिरहेको छ” भनी भनेको कुरा त्यही पुस्तकमा लेखिएको छ। त्यसपछि नै उनले आफ्ना अन्तपाल (सीमारक्षक) रणजित बस्न्यात, वीरभद्र पाठक, मानसिंह रोकाहालाई “नेपालमा प्रहार गर्ने विचार गरेको छु, के विचार छ ?” भनी सोधेका थिए। त्यतिबेला उनीहरुले मनासिब विचार भनी सल्लाह दिएका थिए। त्यसैगरी पृथ्वीनारायण शाहले आफ्ना मामासित पनि यसबारेमा छलफल गर्दा उनले पनि नेपालमा हमला गर भनेर सल्लाह दिएका थिए, एकीकरण गर भनेर हैन।
यो ठाउँ कृषि उत्पादनका लागि पनि महत्त्वपूर्ण थियो। यसले पनि प्रमाणित गर्छ कि पृथ्वीनारायण शाहले उपत्यका आक्रमण एकीकरणका लागि नभएर आर्थिक लाभका लागि गरेका थिए, टुक्राटुक्रा अवस्थामा रहेको ‘नेपाल’ लाई एउटै राज्य बनाउने उद्देश्यले हैन।
नेपालका बारे फ्रेञ्च इतिहासकार सिल्भाँ लेभीले प्रमाणहरु सहित राखेर “नेपाल” पुस्तक लेखेका छन्। सिल्भाँ लेभीका अनुसार तिब्बतका विभिन्न गुम्बामा रहेका धनको लोभमा धर्मको नारा दिँदै त्यहाँ पनि गोरखा सैनिकहरु हमला गर्न गएका थिए। तर चिनियाँ फौजले नराम्रोसित लखेटेपछि सम्झौता गर्न बाध्य भएका थिए। त्यसपछि हरेक पाँच वर्षमा एक पटक चिनिया बादशाहलाई देव मञ्जुश्रीका अवतार भन्दै कर तिर्न जानु परेको कुरा यहाँ उल्लेखनीय हुन आउँछ।
पृथ्वीनारायण शाहले सिमाना विस्तार गर्नका लागि सैनिक गठन गरेका बेला सेनामा लिन सकिने, मिल्ने भएभरका मानिसहरु जम्मा गर्दा पनि १३०० भन्दा बढी संख्या पुर्याउन सकेका थिएनन्। पहिलो पटकको कीर्तिपुर हमलामा शक्ति बल्लभ सरदारले भारतको मैदानबाट ल्याएका १२०० जवान फौज प्रयोग गरेका थिए। यसले पनि गोरखाको हैसियत के थियो भनी देखाउँछ। त्यतिबेला इटालीका शासक मेजिनीले सन् १८७१ मा घोषणा गरेरै अरु राज्यसित मिलेर एकीकरणको पाइला अगाडि बढाएका थिए, तर यहाँ त्यसो भएको हैन। पृथ्वीनारायण शाहको उपदेश पुस्तकमा कतै पनि एकीकरण गर्नुपर्छ भन्ने उल्लेख गरिएको छैन।
इतिहास सँधै तरवारले लेखिन्छ। जित्नेको नाममा रामायण लेखिन्छ, हार्ने रावणलाई राक्षस घोषणा गरिन्छ। सीतालाई जंगलमा पठाउने राम नै मर्यादापुरुषोत्तम हुन्छन्। पृथ्वीनारायण शाहलाई त्यसैले वडा महाराजधिराज भनाइएको हो। यदि एकीकरण नै गर्ने भनी पाइला चालेका नै भए हारेको ठाउँका सेनालाई शत्रुका सैनिकलाई पनि नगरिने व्यवहार नगर्नु पर्ने हो। तर पृथ्वीनारायण शाह अति नै क्रुर, तानाशाह भएर निस्के।
अति नै सन्काहा पृथ्वीनारायण शाहको आँखा नुवाकोट जितेपछि बेलकोटमा परेछ। अनि त्यहाँका प्रमुख जयन्त राना भनेर थाहा पाउनासाथ तुरुन्तै त्यहाँ आक्रमण गर्ने भन्दै उनी एक्लै जोस्सिएर गएका थिए। यो कुरा थाहा पाएपछि अरु सैनिक पनि पछाडि-पछाडि दौड्दै गएका थिए। तर उनका धेरै योध्दाको मृत्यु भएपछि उनी खाली हात फर्केका थिए। तर साहसी कालु पाण्डेले पृथ्वीनारायण शाहलाई फकाएर फेरि युध्द गरेर जयन्त रानालाई पराजित गरेका थिए। त्यसपछि त जयन्त रानालाई उनले गर्नुनगर्नु सास्ती गरे। जयन्तको छाला काढेर दिनुसम्मको सास्ती दिएर मारिएको थियो। जयन्त रानालाई छाला काढेर मारेको त्यो घटनाले पृथ्वीनारायण शाहको अति नै क्रुर, तानाशाह, निरंकुश शासकको तस्वीर प्रस्तुत गर्न सफल भएको छ। त्यसैले त होला, पृथ्वीनारायण शाहको सालिकमा तरवार पनि राखिएको !
एकीकरण हैन, सिमाना विस्तार
पृथ्वीनारायण शाहले एकीकरण गरेका हैनन्, राज्यको सिमाना विस्तार गरेका हुन्। त्यसैले आफूले जितेको स्थानमा उनले अत्याचार र अमानवीय यातना दिनसमेत पछि परेका थिएनन्। खोज्दै जाने हो भने काठमाडौँ लगायत अन्य विभिन्न स्थानमा आतयायी यातना दिएको प्रमाण भेटिनेछ। वास्तवमा एकीकरण गरेको भए त्यहाँका जनताको भावना पनि जितिन्थ्यो, दुश्मनलाई पनि नगर्ने व्यवहार गरिँदैनथ्यो। यदि वास्तविक एकीकरण गरिएको भए देशका सबै जनजातिलाई पनि अवसर दिएर देश निर्माणका कार्यमा योगदान दिने अवसर दिइन्थ्यो। तर सेना र पुलिसमा बाहुन, क्षेत्री र शाह र राणाहरुको मात्र बोलवाला रहेको छ। खै गुरुङ, तामाङ, यादव, थारुहरुलाई अवसर दिइएको ?
इतिहासकार सिल्भाँ लेभीले पुष्टि गरेका छन् कि पृथ्वीनारायण शाहका पुस्ता द्रव्य शाहले वर्षको एक पटक विजया दशमीका दिन हुने दौड प्रतियोगितामा अगाडि दौड्ने सबैलाई छुरा प्रहार गरी हत्या गरेर आफू पहिलो भई राज्य हडपिएका थिए। द्रव्य शाहले आफू राजा भइसकेपछि फेरि यो दौडको आयोजना गरेनन्। बरु आफ्नो वंशबाट राजा हुने परम्परा कायम गरे।
हार्नेको वाहवाही, जित्नेको इतिहास खोई?
नेपाललाई विदेशी (अंग्रेजी) प्रभावबाट मुक्त गरेको भन्ने गरिन्छ। तर इतिहासकार नयनराज पन्तका अनुसार अंग्रेज र नेपालबीच भएको युद्धका क्रममा पाँच स्थानमा युद्ध भएको थियो। त्यसमा तीन ठाउँमा नेपाल पराजित भएको थियो भने दुई स्थानमा विजयी भएको थियो। तर नेपाल हारेका तीन युद्ध मोर्चा सम्हालेका कमाण्डरहरुलाई शत्रु सेनाले वीर, बहादुर भनेकाले भक्ति थापा, अमरसिंह थापा र बलभद्र कुँवरलाई निकै सम्मान गरियो। पछि उनीहरुलाई राष्ट्रिय विभूतिसमेत घोषणा गरियो। तर बाँकी दुई मोर्चा, जहाँ नेपाल विजयी भएको थियो, त्यहाँका कमाण्डरहरुको नामसमेत इतिहासबाट मेटाइसकिएको छ। के उनीहरु अराष्ट्रिय तत्त्व हुन् ? यसबाट पनि प्रष्ट हुन्छ यहाँका शासकहरु आफै अंग्रेजको प्रभावमा कति परेका छन् भनेर।
शाह वंशको कलाकौशलमा योगदान हेर्ने हो भने शून्य देखिन्छ। उनीहरुले नयाँ त केही बनाएनन् बनाएनन्, उल्टो पहिला बनाइसकिएका स्मारकहरुप्रति प्रशस्त इर्ष्या गर्ने काम गरे। त्यसैले त्यस्ता स्मारकहरुमा पत्तो नदिई आफ्नो नाम राखेर आफूले बनाएको भन्ने भ्रम फैलाउन खोजे।
उदाहरणका लागि बालाजुमा भएका २२ धारा रणबहादुर शाहले बनाएको भनेर हामीले स्कूलमा पढ्ने गरेका थियौँ। तर राजा जयप्रकाश मल्लले त्यहाँ पहिले नै २१ वटा ढुंगेधारा बनाइसकेका थिए। नेवार वास्तुकलाको दर्शनशास्त्रमा ढोका, झ्याल आदि राख्दा बिजोडा राखिन्छ। त्यसैले भक्तपुरको दरबारमा पनि ५५ वटा झ्याल राखिएका हुन्। जयप्रकाश मल्लले पहिले नै बनाइसकेको २१ वटा धारामा एउटा धारा थपेर रणबहादुर शाहले बनाएको भन्ने गलत इतिहास लेखाउने प्रयत्न भयो।
भक्तपुरको न्यातपोल मन्दिर भूपतिन्द्र मल्लले बनाएको भनी इतिहासमा मात्र लेखिएको छ तर न्यातपोलमा कतै लेखिएको छैन। राजा महेन्द्रको पालामा न्यातपोल मन्दिर भवन विभागबाट जिर्णोद्धार गर्न लगाइएको थियो। त्यतिबेला उनले यति खर्च भयो भनी खस भाषा र अंग्रेजी भाषामा शिलापत्र राख्न लगाए, भित्ता नै फोडेर। महेन्द्रको नामको संकेत पनि राख्न लगाइयो। वास्तुकलाको मर्ममा आघात पुग्ने गरी त्यहाँ फलामको बार र ढोका पनि राख्न लगाइयो। (धेरैपछि मात्रै त्यहाँको फलामको बार हटाइएको थियो) त्यति मात्र हैन, पुराना इँटालाई फुटाएर त्यसमा सिमेन्ट प्रयोग गरी प्वाइटिङ्ग गर्न लगाइयो। पानी पस्न नदिनका लागि पुरानै प्रविधि छ, तर त्यसलाई वास्ता गरिएन। मन्दिरका टुँडालमा पनि पहिला कालो र सेतो रंग लगाइएको हुन्थ्यो तर राजा वीरेन्द्रको राज्याभिषेकको बेला त्यसमा रंगीचंगी रंग पोतियो। ५५ झ्यालमा अझै पनि कालो रंग नै लगाइएको छ।
आर्थिक, राजनैतिक, धार्मिक, भाषिक जुनसुकै दृष्टिकोणले हेरे पनि पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हैनन्, उनको विस्तारवादी नीति अन्तर्गत राज्यको सिमाना विस्तार मात्र गरेका हुन्। जसलाई पछि राज्य एकीकरणको जलप लगाएर उनको बदमाशीलाई छोप्ने प्रयास मात्र गरिएको हो।
माइसन्सारडटकमबाट साभार
Feature image: अनलाइनचौतारीडटकम
सामाजिक सञ्जाल वरदान कि अविशाप !
दिपक तिमल्सिना तपाईहरूले आजकल सामाजिक सञ्जालमा अनेक किसिमका कनटेन्ट खपत गर्नुहुन्छ । कतिपय राम्रा हुन्छन् भने कतिपय नराम्रा तरपनि हामीलाई सामाजिक सञ्जाल टिकटक, फेसबुक, युटुव चलाउन मज्जा लाग्छ। तपाईंले याद गर्नुभएको छ कुनै दिन तपाईले अब त म सुत्छु माेबाइल चलाएकाे धेरै भयाे भन्नुभएकाे छ र त्यसपछि पनि ३, ४ घण्टा सम्म तपाई स्काेर्ल गर्दै चलाउदै बस्नुभयाे हुन्छ र एक्कासी झसङ्ग हुनुहुन्छ। प्राय: अहिलेकाे सबै जेनजी जेनेरेसनमा सामाजिक सञ्जाल याे एक प्रकारकाे एडिक भइनैसकेकाे छ। सामाजिक सञ्जालका सकारात्मक पक्ष धेरै छन भने नकारात्मक पक्षकाे पनि कमी छैन। आजका ८, ९ र १० कक्षा र कलेजमा पढने प्राय सबै विधार्थीहरू सामाजिक सञ्जालमा र विषेशतय पप जी, फ्री फायर जस्ता गेमिङ पेटफममा आवध छन। अनि आफ्नाे अमुल्य समय समेत वेतित गरिरहेका छन्। त्यस्ता गेम जुन खेल्दा डाेपामिन (खुसि हुदा आउने हरमाेन) रिलिज हुन्छ। क्षणिक सुखका लागि पढाइ र आफ्नो स्पर्णिम भविष्य आजका पिडिले दाउमा लगाईरहेका छन्। समाजमा हामीले आजकलका बच्चाहरूलाई यसरी माेबाइल फाेन थमाई दिएका छाै कि याे हाम्रो अत्यावश्यक चिज जस्तै हाे। जुन रूपमा कन्टेन्ट फिसिङ्, मिसलिडिङ, मिसइन्फरमेसन फैलिरहेकाे छ यसले पनि भविष्यमा खतराकाे सङकेत गर्दछ। यसका साथै सकारात्मक कन्टेन्टहरू पनि छन्। कक्षा १ देखि पिएचडि सम्मका कठिन विषयका पाठ्यक्रम, प्रश्नाेउत्तर पनि भिडियो मार्फत सामाजिक सञ्जालमा सजिलै पाउन सकिन्छ। यी लगायत विभिन्न सीप, उघम,नेत्तृत्व, मेसिनरी विषयमा पनि भिडियो श्रव्य, दृश्य कनटेन्ट पाउन सकिन्छ। तरपनि अनावश्यक युटुव च्यानल, फेक न्युज, चरित्र हत्या गर्न प्रयाेग गरिएका एआईका फाेटेज थिडियाेजहरू इत्यादिले निराशा पैदा गर्दछ। यस्ता आर्टिफिसिय इन्टेलिजेन्सबाट बनेका भिडियाेहरू सामाजिक सञ्जालमा हाल्दा नागरिकहरूले छिटै विश्वास गर्न सक्नेछन। यदि यस्ता प्रस्तुतिहरू प्राटफर्मले समयमा नै नियन्त्रण गर्न सकेन भने पनि जनताहरूलाई गलत सञ्चार हुन जान्छ। सामाजिक सञ्जालका कम्पनीहरूले कम्पनीकाे पेटफर्ममा देखाइएका सम्पूर्ण विषयवस्तुलाई गहिराई मै गई नियन्त्रण र नियमन गर्नु नितान्त जरुरी छ। आधुनिक प्रविधिको विकाससँगै हाम्रो जीवनशैलीमा व्यापक परिवर्तन आएको छ। यस प्रविधिमा आधारित सामाजिक सञ्जालहरू - जस्तै फेसबुक, इन्स्टाग्राम, ट्विटर, टिकटक, युट्युब, आदि - अहिले संसारभर अत्यन्त लोकप्रिय भएका छन्। तिनीहरूले हाम्रो समाज, संस्कृति, र व्यक्तित्वमा गहिरो प्रभाव पार्दै आएका छन्। यसले हामीलाई सूचनाको द्रुत आदान-प्रदान गर्न सजिलो बनाएको छ, तर यसका केही नकारात्मक असरहरू पनि छन्। सामाजिक सञ्जालका केही सकारात्मक पक्षहरू छन्। सूचनाको आदान-प्रदान सजिलै गराउँछ। यो समाचार, स्वास्थ्य, शिक्षा, प्रविधि, आदि क्षेत्रमा छिटो पहुँच पुर्याउने उत्कृष्ट साधन बनेको छ। यो माध्यमले मानिसहरूलाई टाढाको साथीभाइ तथा परिवारसँग जोडिन सहयोग पुर्याउँछ। अध्ययन, व्यवसाय वा अन्य प्रयोजनका लागि विभिन्न ठाउँमा बस्ने मानिसहरूलाई पनि आफ्ना नजिकका व्यक्तिहरूसँग सम्पर्क राख्न सजिलो भएको छ। व्यवसाय र रोजगारका अवसरहरू पनि बढेका छन्। स–साना व्यवसायीलाई पनि आफ्नो व्यवसायलाई ठूलो बजारमा प्रवर्द्धन गर्ने अवसर मिलेको छ। मानिसहरूले आफ्नो प्रतिभा, जस्तै कला, संगीत, नृत्य, लेखन, आदि सामाजिक सञ्जालमा प्रस्तुत गर्न सक्छन्। यसले उनीहरूलाई दर्शक र प्रशंसा प्राप्त गर्न मद्दत गर्दछ। शिक्षामा पनि यसले धेरै सहयोग पुर्याएको छ। विद्यार्थीहरूले अनलाइन कक्षाहरू लिन, नोट्स आदानप्रदान गर्न र आफ्ना शंकाहरू समाधान गर्न सक्छन्। तर, सामाजिक सञ्जालका केही नकारात्मक पक्षहरू पनि छन्। यसले मानिसको समयको नाश गराउँछ। सामाजिक सञ्जालमा अत्यधिक समय बिताउँदा मानिसहरू आफ्नो पढाइ, काम, वा अन्य जिम्मेवारीमा ध्यान दिन नसक्ने समस्या पनि देखिन्छ। यसले मानिसहरूको निजी जीवनलाई सार्वजनिक बनाउँछ, जसकारण गोपनीयता सम्बन्धी समस्या उत्पन्न हुन्छ। लामो समयसम्म सामाजिक सञ्जालको प्रयोगले मानिसहरूमा नकारात्मक भावना, मानसिक तनाव, र डिप्रेसनको समस्या निम्त्याउन सक्छ। विभिन्न पोस्ट र तस्वीरले व्यक्तिलाई आफ्ना कमजोरीहरूमा ध्यान दिन लगाउँछ र आत्म–सम्मानमा कमी आउन सक्छ। यसमा छिटो जानकारी फैलिने भएकाले, कहिलेकाहीँ गलत सूचना पनि सजिलै फैलिन्छ, जसले समाजमा भ्रम र अविश्वास फैलाउन सक्छ। सामाजिक सञ्जालमा अपमानजनक कमेन्ट, धम्की, र विभिन्न प्रकारका साइबर अपराधहरू पनि हुनेगरेका छन्। यसले मानिसको मनोबल गिराउने काम गर्छ। यसरी, सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक दुवै पक्ष रहेका छन्। सही उपयोग गरिएमा यो एक अत्यन्त प्रभावकारी र शिक्षाप्रद साधन हुन सक्छ। यसलाई सन्तुलित रूपमा प्रयोग गर्न सकेमा हाम्रो जीवनमा यसले उल्लेखनीय सुधार ल्याउन सक्छ।
बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिका
सुबिन चालिसे नेपाल जस्तो विविधतायुक्त देशमा समाज निरन्तर परिवर्तनको यात्रामा छ। विकास, प्रविधि, र जनचेतनामा आएको परिवर्तनले समाजको संरचना र मूल्य मान्यताहरूमा ठूलो प्रभाव पारेको छ। यस बदलिँदो समाजमा युवाहरूको भूमिका महत्वपूर्ण छ। नेपाली समाजमा परिवर्तन ल्याउने शक्ति नै युवाहरू हुन्। सबैभन्दा पहिला, युवाहरू प्रविधिको सशक्त प्रयोगकर्ताका रूपमा देखिएका छन्। इन्टरनेट, सामाजिक सञ्जाल, र नयाँ प्रविधिहरूको उपयोग गर्दै उनीहरूले नयाँ चेतना, विचार र सन्देश फैलाइरहेका छन्। उदाहरणस्वरूप, विभिन्न सामाजिक मुद्दाहरूमा युवाहरूले अनलाइन अभियान चलाएर समाजलाई जागरूक बनाउने प्रयास गरिरहेका छन्। दोस्रो, राजनीतिक परिप्रेक्ष्यमा युवाहरूको भूमिका उल्लेखनीय छ। विगतका केही वर्षहरूमा, युवाहरूले राजनीतिक आन्दोलनहरूमा सक्रियता देखाउँदै आएका छन्। नेपालमा भएको लोकतान्त्रिक आन्दोलनहरूमा युवाहरूको भूमिका महत्त्वपूर्ण रह्यो। अहिलेको नयाँ संविधान निर्माणमा समेत युवाहरूको आवाजलाई सुनिएको छ। तेस्रो, नेपाली समाजमा भएका परम्परागत धारणाहरू र पुराना सामाजिक संरचनाहरूलाई चुनौती दिन युवा पुस्ताले अग्रसरता लिएको देखिन्छ। जात, लिङ्ग, र धर्मसँग सम्बन्धित विभेदहरूलाई हटाउने र समानता स्थापनाको लागि युवाहरूले अभियानहरू चलाएका छन्। यसले नेपाली समाजलाई उदार, समतामूलक र समावेशी बनाउन ठूलो सहयोग गरेको छ। युवाहरू रोजगारी र उद्यमशीलताको क्षेत्रमा पनि सक्रिय छन्। बदलिँदो अर्थतन्त्रको माग अनुसार युवाहरूले नयाँ नयाँ व्यावसायिक मोडेलहरू सिर्जना गरिरहेका छन्। स्टार्टअप कल्चरको सुरुवात र नविन सोच राखेर उनीहरूले नेपालको आर्थिक विकासमा योगदान पुर्याइरहेका छन्। युवाहरूले सामाजिक सेवामा पनि उल्लेखनीय योगदान दिएका छन्। विभिन्न गैरसरकारी संस्थाहरू, स्वयंसेवी संगठनहरू मार्फत शिक्षा, स्वास्थ्य, वातावरण, तथा अन्य सामाजिक मुद्दाहरूमा काम गरेर समाजलाई सशक्त बनाउन उनीहरूको भूमिका महत्त्वपूर्ण छ। समग्रमा, बदलिँदो नेपाली समाजमा युवाहरू परिवर्तनका वाहक हुन्। उनीहरूलाई सही दिशामा नेतृत्व गर्ने अवसर दिइने हो भने नेपाली समाजको भविष्य उज्ज्वल देखिन्छ। नविन सोच, साहस, र जोशले भरिएका यी युवाहरूले नेपाली समाजलाई आधुनिक र प्रगतिशील दिशामा अघि बढाउन सक्ने क्षमता राख्छन्। बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिकालाई थप विस्तृत रूपमा हेर्दा विभिन्न क्षेत्रहरूमा उनीहरूको प्रभावलाई उजागर गर्न सकिन्छ। सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक तथा वातावरणीय क्षेत्रमा उनीहरूको योगदान क्रमशः वृद्धि हुँदै गएको छ। १. सामाजिक नेतृत्वमा योगदान: नेपाली युवाहरूले सामाजिक नेतृत्व र सेवा क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निभाउँदै आएका छन्। सामाजिक अभियन्ता र स्वयंसेवकको रूपमा, युवाहरूले सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र लैंगिक समानताजस्ता मुद्दाहरूमा काम गरिरहेका छन्। विभिन्न गैरसरकारी संस्था र अभियानहरूमा संलग्न भई उनीहरूले समाजमा सुधार ल्याउने प्रयास गरिरहेका छन्। नेपालमा बढ्दो लैंगिक हिंसा, बालविवाह, जातीय विभेद, र अन्य सामाजिक मुद्दाहरूलाई हटाउन युवाहरूले चलाएका अभियानहरूले समाजमा चेतना फैलाइरहेका छन्। यसले समाजलाई न्यायसंगत र समावेशी बनाउन मद्दत पुर्याएको छ २. राजनीतिक सचेतना र सक्रियता: नेपाली राजनीतिक परिवेशमा युवाहरूको भूमिका अब सीमित मात्रामा होइन। विगतमा राजनीति बृद्ध पुस्ताको वर्चस्वमा रहे पनि अहिलेको समयमा युवाहरूले नयाँ सोच, सुधार, र परिवर्तनको माग राख्दै सक्रिय सहभागिता जनाइरहेका छन्। स्थानीय निर्वाचनदेखि लिएर राष्ट्रिय स्तरसम्म उनीहरूको सहभागिता बढ्दो छ। युवाहरूले सशक्त राजनीतिक नेतृत्वको माग गर्दै विभिन्न आन्दोलनहरूमा भाग लिएका छन्, जसले नयाँ पुस्ताको आवश्यकता र प्राथमिकतालाई अघि सारेको छ। उनीहरू राजनीतिमा पारदर्शिता, जवाफदेहिता, र निष्ठाको माग राख्दै आएका छन्। यसले पुराना राजनीति शैलीमा सुधार ल्याउन र नयाँ नीतिहरूको निर्माण गर्न सहयोग पुर्याएको छ। ३. उद्यमशीलता र नवप्रवर्तन: बदलिँदो विश्वसामु युवाहरूले नयाँ प्रविधिको सदुपयोग गर्दै उद्यमशीलताको क्षेत्रमा क्रान्तिकारी योगदान दिएका छन्। नेपालको आर्थिक अवस्था सुधार्न युवाहरूले स्टार्टअपहरू, साना तथा मझौला उद्यमहरूको सुरुवात गरेका छन्। कृषि, पर्यटन, सूचना प्रविधि, र उद्योग क्षेत्रमा युवाहरूको नविन सोचले नेपाललाई स्वावलम्बी बनाउने दिशामा अघि बढाएको छ। अझै, युवा उद्यमीहरूले विश्वव्यापी मञ्चमा नेपाललाई चिनाउँदै निर्यातका लागि नयाँ नयाँ उपायहरू खोजिरहेका छन्। यसले न केवल रोजगारी सिर्जना गरेको छ, तर देशको आर्थिक विकासमा योगदान पुर्याएको छ। ४. सांस्कृतिक परिवर्तन: सांस्कृतिक रूपमा पनि युवाहरूले परम्परागत मान्यताहरूलाई आधुनिक सोचसँग मेल खुवाउने प्रयास गरिरहेका छन्। नेपालको विविध सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै, नयाँ पुस्ताले सांस्कृतिक साक्षरता, कला, संगीत, र अन्य सांस्कृतिक क्रियाकलापहरूमा पनि नविनता ल्याइरहेका छन्। यसका साथै, विश्वव्यापीकरण र प्रविधिको प्रभावले गर्दा युवाहरूले नयाँ सांस्कृतिक परम्पराहरूलाई आत्मसात गर्दै आएका छन्। यद्यपि, उनीहरूले आफ्नै मौलिक संस्कृति र परम्पराको पनि सम्मान गर्ने परिपाटीलाई कायम राखेका छन्। ५. वातावरणीय सचेतना र संरक्षण: वातावरणीय चुनौतीहरू सामना गर्न युवा पुस्ताले अग्रसरता लिएको छ। जलवायु परिवर्तन, प्रदूषण, र जंगलको कटानजस्ता समस्याहरूको समाधानका लागि युवाहरूले वातावरणीय सचेतना अभियानहरू सञ्चालन गरिरहेका छन्। "क्लिन अप नेपाल", "ग्रीन नेपाल", जस्ता अभियानहरूमा उनीहरूको उत्साही सहभागिताले वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ।युवाहरूको वातावरणप्रतिको जागरूकता र योगदानले दीर्घकालीन दिगो विकासको अवधारणा फैलाउने कार्यमा ठूलो भूमिका खेलिरहेको छ। निष्कर्ष: बदलिँदो नेपाली समाजमा युवाहरूको भूमिका बहुआयामिक छ। उनीहरू समाजका हरेक क्षेत्रमा परिवर्तन र सुधारको वाहक बनेका छन्। प्रविधिको प्रयोग, उद्यमशीलता, सामाजिक न्यायका लागि अभियान, र राजनीतिक सुधारमा उनीहरूको योगदान नेपाललाई आर्थिक, सामाजिक, र सांस्कृतिक रूपमा समृद्ध बनाउन सहायक साबित भएको छ। युवाहरूको सक्रियता र नवप्रवर्तनले नेपालको भविष्य उज्ज्वल र सक्षम देखिन्छ। यदि राज्यले तिनलाई उचित अवसर र स्रोतहरू उपलब्ध गरायो भने, नेपाली समाजले उनीहरूको अद्वितीय ऊर्जा र नवाचारलाई थप सदुपयोग गर्न सक्नेछ, जसले देशलाई दिगो विकास र समृद्धितर्फ उन्मुख गराउनेछ ।
थारू समुदायमा बर्का अटवारी
छविलाल कोपिला अटवारी, थारू समुदायको महान् चाड माघ पछिको दोस्रो ठूलो पर्वकाे रूपमा मानिन्छ । यो पर्वमा खास गरेर पुरुषहरू निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरू पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने यो पर्व प्रायः भदौ महिनामा पर्छ । यसको तिथि मितिको बारेमा हरेक वर्षझैं विभिन्न मतमतान्तर हुँदै आएका छन् । ठाउँ अनुसार चालचलनमा विविधता छ र यसको ऐतिहासिक, धार्मिक, सामाजिक पृष्ठभूमिको बारेमा पनि विभिन्न धारणाहरू अगाडि आएको देखिन्छ । यसकारण पछिल्लो समय यस पर्वको निश्चित तिथि, मिति हुनु पर्ने कुरा थारू समुदायका बौद्धिक वर्गहरूको बहसको विषय पनि बन्दै आएको छ । अटवारी कहिले मनाइन्छ ? अटवारीको परम्परागत अवस्था र पृष्ठभूमिलाई हेर्ने हो भने यो खास गरेर भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्म सबै आइतबारलाई अटवारी पर्वको रूपमा मान्ने चलन थियो । तर, यो चलन अहिले छैन । समयसँगै अहिले यो पर्व एक आइतबारमा मात्रै सीमित भइसकेको छ । पुरानो चलनलाई हेर्दा जसरी हिन्दू महिलाहरूले साउन महिनाको प्रत्येक सोमबार व्रत बसे जस्तै थारु समुदायमा भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्मको सबै आइतबार व्रत बस्ने चलन थियो । त्यसकारण कुनै साल कात्तिके दशैं पर्यो भने एउटै व्यक्तिले ११–१२ पटकसम्म व्रत बस्नु पर्ने अवस्था हुन्थ्यो । यति लामो समयसम्म लगातार व्रत बस्नु पर्ने हुनाले दशैंसम्मको सबै आइतबार अटवारी व्रत सबैले बस्दैनथे । केही व्यक्तिहरू भदौको पहिलो आइतबारदेखि औंसीको पहिलो आइतबारको अटवारी धुमधामसँग मनाएर व्रत स्थगित गर्दथे भने स्वेच्छिक व्रत बस्नेहरू दशैंसम्मको आइतबार नियमित रूपमा अटवारी व्रत बस्दथे । समयक्रमसँगै भदौको पहिलो आइतबारदेखिको व्रत बस्न अहिले छोडिसकेका छन् । भदौ महिना ऊ बेला धेरैजसोको घरमा भोकमरी हुने र झाडापखाला लगायतका महामारी तथा बर्षे धानबाली भित्राउने र हिउँदे धानबाली रोपाइँ शुरु गर्ने हुँदा कामको चटारो भएकोले व्रत बस्न छोडेको कुरा जानकारहरूले बताउँछन् । तर कुशे औंसी पछिको पहिलो आइतबार बर्का अटवारी र त्यसपछिको ४ आइतबार स्वेच्छिक अटवारी पर्व मान्ने चलन निरन्तर रह्यो । यसरी पाँच अटवारी व्रत रहनेहरूलाई ‘पाँच अटवह्र्यन’ भनिन्थ्यो । पाँच अटवारीपछि दशैं शुरु हुन्थ्यो । अहिले बर्का अटवारी पछिको चार आइतबार व्रत बस्ने चलन पनि हराइसकेको छ । यसरी भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्म, भदौ महिनाको पहिलो आइतबारदेखि औंसीको पहिलो आइतबारसम्म, कुशे औंसीको पहिलो आइतबारदेखि दशैंसम्मको ५ आइतबार र कुशे औंसीको पहिलो आइतबार मात्र व्रत बस्ने यी चार थरिका व्रतालुको साझा दिन कुशे औंसीको पहिलो आइतबारको अटवारी भएकोले यसलाई ‘बर्का अटवारी’ भनिएको हो । अन्य अटवारीलाई भने सामान्य अटवारी अथवा छुट्की अटवारी भन्ने चलन छ । यसकारण यसको मूल गहिराई नबुझ्दा बीचबीचमा तिथि–मितिमा मतमतान्तर हुने गरेका छन् । तर यसका परम्परागत विधि र प्रक्रियालाई गहिरिएर हेर्ने हो भने विवाद गर्नु पर्ने खासै देखिदैन । सामान्यतया अटवारी थारु समुदायको अस्टिम्की पर्व पछिको दोस्रो आइतवार अथवा कुश अमाँवस (कुशे औंशी) पछिको पहिलो आइतबारलाई बर्का अटवारी मान्ने चलन छ । बर्का अटवारी मानेर ४ आइतबार पछि दशैं लाग्छ । किन कि बर्का अटवारी पछि थप चार आइतवार अटवारी व्रत बस्ने पुरानै चलन छ । अथवा कुशे औंसी र दशैंको बीचमा आउने पाँच आइतबारलाई अटवारी मान्न सकिन्छ । यसरी पाँच अटवारी व्रत बस्ने चलनले पनि कुशे औंसीको पहिलो आइतबार नै बर्का अटवारी हो भनेर प्रमाणित हुन्छ । कुनै कुनै गाउँमा हैजा लगायतका रोगको प्रकोप बढी देखिए वा दैविक प्रकोपका कारण) समय हेरेर अटवारी पर्व मान्ने चलन पनि छ । यसो गर्दा पाँच अटवारी व्रत बस्नेहरू सबै आइतबार व्रत बस्न सक्दैनन् र अँटवारी पनि फरक-फरक मितिमा मनाउने बाध्यात्मक समस्या देखापर्छ । केही भ्रमहरू केही मानिसहरूको धारणा हिन्दू नारीहरूको हरितालिका तीज पछिको आइतबारलाई अटवारी मान्ने पनि छ । तर यो त्यति सान्दर्भिक देखिदैन । यदि तीजपछिको आइतबारलाई मान्ने हो भने ‘पाँच अटवारी’ व्रत बस्नेहरूको अटवारी प्रभावित हुन्छ । अर्को कुरा थारू समुदायमा तीजको प्रभाव पनि निकै पछिबाट परेको देखिन्छ । थारूवस्तीमा आजको जस्तो हिजो मिश्रित जातजातिहरूको बसाई थिएन । थारू समुदायको एकलौटी बसाई थियो । आफ्नै कला, संस्कृति र सामाजिक मान्यताभित्रै रमाउने थारू समुदाय, अन्य समुदायको पर्वलाई आधार बनाएर आफ्नो पर्वको निर्धारण गर्ने विषय पनि हुँदैनथ्यो । अहिलेको जस्तो विभिन्न जातजातिहरूको मिश्रित बसाई र सबैले एकअर्काका कला, संस्कृतिलाई स्विकारी सकेको अवस्थामा यो कुरा उठ्नु स्वभाविक भएपनि वास्तविकता भने होइन । उसो त कुशे औंसी पछिको पहिलो आइतबार प्रायः तीज पछि नै पर्छ । यो एउटा संयोग मात्र हो । यसले पनि तीज पछिको आइतबारलाई मान्ने भन्ने कुराको बढावा दिन सक्छ । तर यो सत्य होइन र सँधै यस्तै पनि हुँदैन । कहिलेकाही त तीजकै दिन आइतबार पर्छ अथवा तीज अगावै पनि पर्छ । तर, पछिल्लो समय यही तर्ककै भ्रममा परेर फरक फरक आइतबार अटवारी मान्ने समस्या देखापरेको छ । अटवारी बिशेषतः आइतबारसँग जोडिएर आएको पर्व हो । यसकारण अटवारी पर्वलाई यो र त्यो बहानामा बिषयान्तर गर्नु भन्दा यसको परम्परागत पृष्ठभूमिलाई अध्ययन गर्न जरुरी छ । जसरी हिन्दू महिलाहरूको सावने सोमवार व्रतलाई कुनै चतुर्थी, षष्ठीले छेकबार लगाउँदैन । त्यसैगरी थारु समुदायको अटवारी व्रत पनि भदौ महिनाको पहिलो आइतबारदेखि दशैंसम्मको आइतबार कुनै पनि तिथि मितिले असर गर्दैन र स्वेच्छा अनुसार तोकिएको समयसीमाका जुनसुकै आइतबार व्रत बस्न सक्ने जानकारहरू बताउँछन् । तर बर्का अटवारी अथवा औंसीको पहिलो आइतबार व्रत अनिवार्य जस्तै रहन्छ । रूपन्देहीका साहित्कार बमबहादुर थारूले ‘रूपन्देहीको थारू समाज र संस्कृति’ भन्ने आफ्नो पुस्तकमा कुशे औंसीको आठौं दिनपछिको आइतबारलाई बर्का अटवारी मान्ने कुरा उल्लेख गरेका छन् । उनले ‘पाँच अटवारी’को विषयमा भने कुनै कुरा उल्लेख गरेका छैनन् । त्यसो त रूपन्देही, नवलपरासी, चितवन लगायतका पूर्वका केही जिल्लामा मनाइने विधि प्रक्रियाहरू पश्चिमाजिल्ला भन्दा फरक छ । तर, कपिलवस्तु, दाङ देउखुरी, बाँके, बर्दिया, कैलाली, सुर्खेत र कञ्चनपुरका थारूहरूमा वैचारिक धारणा फरक फरक भए पनि विधि प्रक्रियामा भने एकरूपता पाइन्छ । अटवारीमा कसको पूजा हुन्छ ? प्रकृति पुजक थारू समुदायमा खास गरेर यो पर्व सूर्यको पूजा गरेर रूपमा मनाइन्छ । सूर्यलाई उज्यालो, अग्नी र शक्ति (उर्जा)को प्रतीकको रूपमा मानिन्छ । रवि भनेको सूर्य (सुरज) अथवा अग्नी । जब भयावह कालरात्रि चिरेर सूर्यको उदय भएपछि यो संसार उज्यालो भयो भन्ने किम्बदन्ती छ । सूर्यले अँध्यारो चिरेर उज्यालो गराउँछ । जसले गर्दा मान्छे मात्रै होइन यस पृथ्वीमा बस्ने हरेक प्राणीलाई सजिलो हुन्छ । प्रकृतिप्रति विश्वास गर्ने थारू समुदाय, सूर्य उज्यालोको प्रतीक भएकोले यसको पूजा उज्यालोदाताको रूपमा गरेका हुन् । आइतबारलाई रविबार पनि भनिन्छ । त्यसैले यो व्रत पहिले राजकुमार देवदत्त बसे । पाण्डु, कुन्ती, माद्री, कर्ण, भीम लगायत सूर्यको पूजा हेतु श्रीमदभागवत सुनाए । त्यसपछि देउताहरू सूर्यको पूजा गर्न थाले । त्यसैगरि ठूला-ठूला ऋषिमुनिहरू पनि सूर्यको उपासकको रूपमा सूर्यको जन्म दिन आइतबारलाई अटवारी व्रत बसेर मनाउन थाले भन्ने कुरा वीरबहादुर चौधरी आफ्नो पुस्तक ‘वीरबहादुरके ऋतु’मा उल्लेख गरेका छन् । जुन अहिले पनि यो चाड चलन चल्तीमा छ । अर्को मिथक महाभारत कथासंग जोडिएको छ । पाँच पाण्डव मध्ये सबैभन्दा बलियो भेवाँ (भीम) थिए । जब कौरव र पाण्डवको लडाइ भयो । त्यसै समय भीम रोटी पकाउँदै थिए । लडाई चरमोत्कर्षमा पुगेपछि उनी रोटी पकाउँदा पकाउँदै टावामै छोडेर लडाईमा हिँडे । जब लराइबाट फर्किदा उनी निकै भोकाएका थिए । टावामा छोडेर गएको एक पट्टी मात्र पाकेको रोटी खाएर पेट भरे । अटवारीमा अक्केकरे रोटी (एक पट्टी मात्र पकाएको रोटी) पकाउने चलन छ । यसरी अक्केकरे रोटी उनै भीमलाई पुज्ने गरिन्छ भन्ने किम्बदन्ती छ भने भीम, थारू राजा दंगीशरणलाई लराइमा सघाएको र सबैभन्दा बलियो पुरुष भीम भएकोले उनी जस्तै बलियो हुने संकल्पका साथ पुरुषहरू उनकै पूजा गरेर अटवारी व्रत बस्ने विचार पनि जनमानसमा छ । यसरी अटवारी पर्वको बारेमा अध्ययन गर्दा वैचारिक एकरूपता रहेको पाइदैन । ठाउँ अनुसार फरक फरक विचार, चालचलन र प्रक्रिया रहेको पाइन्छ । अटवारी कसरी मनाइन्छ ? अटवारी, व्रत बसेर मनाउने पर्व भएकोले यसमा पनि ‘डटकट्टन’ (दर) खाने चलन छ । दर खानाका लागि शनिबार दिनभरि माछा मार्ने र अरु तिहुन, तरकारीको जोहो गरिन्छ । माछाको सुखौरा (सुकुटी) धेरैजसो पहिल्यै तयार गरिएको हुन्छ । अटवारीमा माछाको सुखौरा विशेष मानिन्छ । तर अन्य कुनै चीजको मासु भने हुँदैन । सागमा पोंइ अनिवार्य जस्तै हुन्छ । भिन्डी, टोरैं, ठुसा (मास जस्तै एक प्रकारको दाल बाली, झिलिङ्गी, सिल्टुङ) लगायतका तरकारी हुन्छ । ‘डटकट्टन’ व्रत बस्नेहरू भाले बास्नु भन्दा पहिले खानु पर्छ । यदि खानुभन्दा पहिले भाले बासे भने ‘डटकट्टन’ खान पाइदैन । खाए भने ऊ व्रत बस्न पाउँदैन । उसलाई जुठो मान्ने चलन छ । आइतबार अथवा अटवारीको दिन व्रत बस्नेहरूको खान भान्सामा पाक्दैन । उनीहरू बिहानै नुहाएर बहरी (घरको प्रवेशद्वारको पहिलो कोठा) या आँगनमा गाईको गोबरले लिपपोत गर्छन् । लिपपोत गरेर ‘कोरे आगी’ (भान्सामा पहिले प्रयोग नभएको आगो, चोखो आगो) मा रोटी पकाइन्छ । पुरानो आगो आज अपवित्र मानिन्छ । त्यसकारण गनयारी काठ या फोर्सा काठ घोटेर निकालेको चोखो आगो प्रयोग गर्ने गरन्छि । बाटुलो रोटी सूर्यको प्रतिकात्मक परिकारको रूपमा लिइन्छ । यो पर्वमा रोटी अनिवार्य हुन्छ । अन्य खानेकुरा भने सहायक हुन्छन् । अटवारीमा अन्डी र र गहुँको गरी, दुई थरीको रोटी हुन्छ भने पक्की, अम्रुट् (अम्बा, बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी पनि हुन्छ । पहिलो दिन नुन, बेसार, खुर्सानी, माछा, मासु भने आजको दिन बर्जित हुन्छ । रोटी पकाएर तयार भयो भने स्नान गरी बिहान लिपपोत गरेको ठाउँमा पिर्का या कुनै काठको वस्तुमा संगै बसेर आफ्नो प्रक्रिया अगाडि बढाउँछन् । खानुभन्दा पहिले अगयारी (अग्यारी) दिने चलन छ । निश्चित ठाउँमा गाईको गोबरले पुनः लिपेर त्यसमा आगो (फिलिङ्गो) राखिन्छ । त्यही आगोमा सर्री धूप (सल्लाको धूप), नौनी र खानका लागि तयार गरिएको बस्तु (अन्डीको रोटी, गहुँको रोटी, पक्की, काँक्रो, अम्बा (बेलौटी), केरा, तरुल, भेली मिठाई मिसाएको मोर्साको भूजा र मिठाइपानी) अलिअलि सबै चीज एकैमा मिसाएर त्यसमा हवन गरिन्छ (चढाइन्छ) । यसरी आगोमा चढाउने कामलाई ‘अगयारी’ दिएको भनिन्छ । सूर्य आगोको मुख्य श्रोत हो । सूर्य आफैमा अग्नी हो । त्यसैले सबैभन्दा पहिले अग्नी (आगो)लाई अथवा सूर्यलाई प्रसादको रूपमा अगयारी दिने चलन आएको हो । अगयारी दिएर तीन पटक दायाँ र तीन पटक बाँयाबाट पानीले पर्छने (पानीको घेरो हाल्ने) चलन छ । कोइ–कोइ पाँच या सात फेरा पनि पर्छने गर्छन् । त्यसपछि आफ्ना चेली–बेटीहरूका लागि पहुरको रूपमा ‘अग्रासन’ छुट्याउने चलन छ । ‘अग्रासन भनेको आफू खानुभन्दा पहिले छुट्टयाएको खान भन्ने बुझाउँछ । जुन आफू खानुभन्दा पहिले आफ्ना चेलीहरूको नाममा छुट्टयाइन्छ । अग्रासन ‘अग’ र ‘रासन’ समास भए बनेको शब्द हो । यहाँ ‘अग’ भनेको सबैभन्दा पहिले भन्ने अर्थ हुन्छ र ‘रासन’ भनेको खान भन्ने बुझाउँछ । यसरी चेली बेटीहरूलाई दिनका लागि छुट्टै भाँडोमा निकालेर मात्रै खाने चलन छ । यो काम दिउँसो हुन्छ । अन्य व्रत जस्तो अटवारीमा दिनभरि निराहार बसिरहनु पर्दैन । दिउँसो नै पूजा गरी खाने चलन छ । यो क्रम सूर्यास्त नहुँदासम्म चल्छ । सूर्यास्तपछि खाने काम पूर्ण रूपले बन्द हुन्छ । अर्को दिन सोमबार, ‘फर्हार’ गरिन्छ । फर्हार नहुँदासम्म पानी समेत नखाएर निराहार बस्नु पर्छ । फर्हार अटवारीको अन्तिम पूजा हो । यस दिन व्रतालुहरू बिहानैदेखि खानपिनको तयारीमा जुटेका हुन्छन् । घरका अन्य सदस्यहरूले पनि सहयोग गरेका हुन्छन् । आजको खानामा खास गरेर भात, खँरिया, फुलौरी, पोंइ मिसाएको ठुसा, सुखौरा माछा, चिचिण्डो, घिरौला, भेन्डी लगायतका विजोर संख्यामा तरकारीहरू बनाइएको हुन्छ । माछाको सुखौरा विशेष मानिन्छ तर मासु भने हुँदैन । फर्हारपछि मात्रै मासु ल्याउने या खाने गरिन्छ । फर्हार, सबै पकवान तयार भएपछि शुरु हुन्छ । व्रतालुहरू हिजोको जस्तै आज पनि नुहाई धुवाई गरी अगयारी दिएर आफ्ना चेली बेटीहरूका लागि ‘अग्रासन’ निकाल्ने गरिन्छ । अग्रासन धातु वा प्लाष्टिकको भाँडामा निकालिदैन । अग्रासन बिशेषताः नम्ह्रैन (मालु), कमल या केराको पातमा निकाल्ने गरिन्छ । अटवारी आउनुभन्दा केही दिन पहिले नै पात टिप्ने काम हुन्छ । प्रायः अग्रासन पात खुटेर बनाएको दुना टपरीमा निकालिन्छ । त्यो नभए विकल्पको रूपमा कमलको पात या केराको पात प्रयोग भएको पनि पाइन्छ । यसरी प्रक्रियागत रूपमा सबै कार्य पूरा भइसकेका पछि मात्र व्रतालुहरू अन्न ग्रहण गर्छन् । अन्य पर्वमा जस्तै अटवारीमा आफ्ना चेलीबेटीहरूलाई घरमै बोलाउने चलन छैन । ब्रतालुहरूले निकालेको पहुर ‘अग्रासन’ उनीहरूकै घरमा पुर्याउन जाने चलन छ । अग्रासन पुर्याउन प्रायः दाजु भाइ नै जाने गर्छन् । दाजु भाइ नभए अन्य सदस्यहरू जान्छन् । चेलीहरू पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन् । सम्मानार्थ जाँड, रक्सी र मासु खुवाउने गर्छन् । अतिथि सत्कारका लागि थारु समुदायमा जाँड रक्सी ठूलो मानिन्छ । त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन् । यो पर्व भातृत्वप्रेम र सद्भावको पर्वको रूपमा पनि लिने गरिन्छ । लामो समयसम्म आफ्नो माइता जान नपाएका चेलीबेटीहरू यस पर्वमा आफ्ना दाजु भाइ तथा परिवारसंग दुःखसुखका कुरा खुलेर पोख्छन् । यसरी एकै ठाउँमा बसेर सुखदुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ । पारिवारिक सम्बन्ध पनि सुमधूर बनाउँछ । तर यसका केही गलत पक्षहरू पनि छन् । सम्मानका नाममा अत्याधिक मदिरा सेवन गर्ने र गराउने परम्परा समय सापेक्षित देखिदैन । यसकै कारण अनावश्यक झैझगडा, पानीमा डुबेर मृत्यु, सडक दुर्घटना लगायत विभिन्न घटनाहरू भएको पनि देखिन्छ । यसको न्यूनीकरणमा ध्यान दिन जरुरी देखिन्छ । त्यसैगरि अग्रासनका नाममा बासी खानेकुरा, खानेकुरामा रंगको प्रयोग, अनावश्यक खर्च, कुनै साल आफ्ना चेलीबेटी कहाँ अग्रासन पुर्याउन नसके चेलीहरूमा नकारात्मक सोचाई राख्ने र एकापसमा मनमुटाव भएको पनि देखिन्छ । त्यसकारण पर्व, सबैले पर्वको मर्म अनुसार मनाउनु पर्छ । यसलाई समय अनुसार परिमार्जन गर्दै आफ्नो गर्त र मौलिकतामा सबैले सबैलाई खुशी पार्ने हिसाबमा मनाउन सक्नु पर्छ । अटवारी सबैको शुभ रहोस् ।
दलितलाई खै आन्दोलन किन ?
सरोजदिलु राजनीतिक चरित्रः इतिहासको कालखण्डदेखि नै वर्णब्यवस्थाका कारणले तुच्छ घोषित गरी हरेक अवसरबाट अलग्याई मान्छे हुनै नदिइएको जातीय समुह हो– दलित समुदाय । आज सांस्कृतिक विभेद त छ नै, वहुअपेक्षित नयाँ संविधान आइसक्दा समेत सत्ता राजनीतिबाट यो समुदाय कुनै न कुनैरुपमा तिरस्कृत नै छ, आर्थिक अवसरहरुमा कुनै न कुनै वहानामा यिनलाई अझपनि पाखाल गाइएको छ । मनुस्मृतिमा भनेजसरी आजको समाजमा फलाम तताएर नडामेता पनि राज्यका अवसरमा अयोग्य घोषित गरेर डामिएकै छ, वेदाशास्त्र पढ्न नदिइए वा यिनका शरीरलाई टुक्रा पार्न नसकेता पनि यिनीहरुको विद्धतालाई नकारिएकै छ । चाणक्यको सामदाम, दण्डभेदकै नीतिमुताविक दलितको संगठित आन्दोलनलाई त्रास र विभिन्न आस्वासनमा टुङ्ग्याईएको छ, टुक्र्याएको छ । सिधै नमारीकन वरु अझ प्रगतीशील तवरले हत्या गर्न थालिएको छ । विषेशगरी सर्वहारा श्रमजीवि वर्गलाई आफ्नो सांगठानिक आधार मान्ने कम्युनिष्टहरु नै दलित अधिकारका विषयमा मौन बस्दैआएका छन् । उनीहरु वीचको छलफलमा‘समावेशीकरण त भन्ने पो त, गर्न कहाँँ सकिन्छ ?’ भन्ने गरेको यदाकदा सुनिन्छ । दलितको पिठ्युँमा चढेर युद्ध जितेको माओवादीले समेत दलित समावेशीकरणको कुरालाई ब्यवहारमा छाड्दैगएको छ । कथम्कदाचित समकालिन नेता–कार्यकर्ताहरुसंग दलितका विषय उठाइयो भने जातीय कुरा गौण राखेर उनीहरु वर्गीय कुरामा अलमल्याउन थालिहाल्छन् । यसरी वर्गीय राजनीति गर्ने र दलित उत्पीडितको जनाधारको कुरा गर्ने कम्युनिष्ट सरकार र पार्टीहरु नै समावेशीकरण विरोधी भएको प्रमाणित हुँदैगएका छन् । उनीहरु अंजिङ्गरले रङिगन पुच्छर हल्लाएर आहारा चप्काएझैं दलितलाई मिठो कुरा गर्दै झुठो आस्वासनमा प्रयोग मात्र गरिरहेका छन् । अन्य लोकतान्त्रिक दलका केही अगुवा नेताहरु तथा जिम्मेवार कार्यकर्ताहरुले नै अव त आफ्नो भागभोग हरिने भो भन्ने त्रासले समावेशीकरण खोज्ने जाति समुहहरुलाई निकम्मा र असक्षम भन्दै आरक्षणलाई गलत ढंगवाट प्रसारप्रचार गरि साईवर हंगामा मच्याउँदै आएको देखिन्छ । समावेशीकरणको कुरा गरी खाइपाई आएका बर्ग–समुदायको आलोचना गरियो भने राजनीतिक नेताहरुले नै जातीय विखण्डनवादीको बिल्ला भिराइदिने र पार्टीको पहुँचबाट टाढा हुत्त्याइदिने गरेका छन् । जसकाकारण दलित नेताहरुले आफ्ना पार्टी नेताहरुको जुनसुकै अन्यायका विरुद्ध बोल्न नसक्ने अवस्था छ । अन्तर्राष्ट्रियस्तरमा बनेका जातिभेद विरुद्धको महासन्धी वा मानवअधिकारको विश्वब्यापी घोषणापत्र, अन्य अभिसन्धी तथा प्रतिज्ञापत्रहरुलाई नेपाल राष्ट्रले स्वीकार गरिसकेको अवस्थामा समेत दलितका सवालमा वकालत गर्नेहरुलाई विदेशी दलालको ट्याग् लगाइने गरिएको छ । अझ समाज पढेका बुझेका केही प्रध्यापक, डाक्टर, जिम्मेवार राष्ट्रसेवक प्रहरी र कर्मचारी तहमा समेत छूवाछूत राज्यले हटाउने होइन आफै हट्छ, हतार गर्न खोजे समाज बिग्रन्छ भन्ने अनर्गल प्रचार भइरहेको अवस्था हो । यसर्थ दलितको समावेशीकरणको कुरा संविधानमा संवोधन गसिक्दा ब्यवहारमा दलितलाई जताततै वर्जित गर्ने राजनीतिक अभ्यास र राज्य चलाउनेहरुबाट भइरहेको नियोजित षढयन्त्रका विरुद्ध दलित आन्दोलन अपरिहार्य छ । संविधानको शुन्य अभ्यास नयाँ संविधान बनेपछि सवै समुदायको समान हकाधिकार सुनिश्चीत भइ उत्पीडित, दलितको समृद्धिको मुलप्रवाहीकरण हुने भनेर हामील डङ्का पिटेको ९ वर्ष भयो । तर दलितका सन्दर्भका संविधानका धारा ४० कार्यन्वयन गर्ने लगायतका १३ वटा कानुनहरु बन्न अझै बाँकी छन् । छुवाछूत तथा जातीयविभेद दण्डसजाय कसुरदार एन (आचारसंहिता) ऐन २०६८ लागू भएको १३ वर्ष भयोे, समावेशीकरण ऐन २०६४ लगायतका ऐनकानुनहरु बनेको दुई दशक हुनलाग्यो तर दलितमाथि हुने सामाजिक अपराध रोकिएन । सविधान घोषणाको भोलीपल्टदेखि दलितहरु मारिन थाले, कलिला चेलिबेटीहरु माथी बलात्कार र हत्या हुनथाल्यो । पीडितहरु आज कोही मुर्दाघरमा छन् त कोही आधा मुर्दा भएर बाँचिरहेका छन् तर पीडकहरु भने निस्फिक्री बजारमा हिँडिरहेकै देखिन्छ । नविन विश्वकर्मालाई प्रेम उत्तेजित बनाउने सीमा मगरहरु र प्रेमको नाटक गरी दलितलाई बलात्कारको मुद्दा लगाउनेहरु यस समाजको आइडल बन्नपुगेका छन् । समावेशीकरणको परिणामलाई हेर्ने हो भने संघमा मात्र पछिल्लो ९ वर्षमा ९ वटै सरकार बन्ने अवस्थामा छ । यसक्रममा ५०० जनाभन्दा बढी मन्त्रीभइसके । प्रदेशमा गनिसाध्य छैन । सयौँँ राजनीतिक नियुक्तीहरु भए । आयोग, नियोग, परिषद आदिमा हजारौं मनोनयनहरु भए । तर दलितलाई कहीँ योग्य देखिएन । दलितका लागि दलित आयोगभन्दा अन्य संरचनामा वर्जित नै गरियो । योजना आयोग, वहुचर्चित पुननिर्माण प्राधिकरण, मानवअधिकार आयोग, निर्वाचन आयोगदेखि न्याय परिषद, अख्तियार लगायतका उच्च संरचनाहरुमा दलितलाई योग्य मानिएकै छैन । राष्ट्रपति, प्रधानमन्त्री निवास र कार्यालयमा तथा पार्टी नेताहरुकै सचिवालयमा एकजना पियन पनि दलित समावेशीकरण हुनसकेन । अरुको कुरा नगरौं, श्रमजिवी, मजदुर तथा दलितलाई जनाधार मान्ने कम्युनिष्ट सरकारसंग मात्रै सोधौँ– तिमीहरुले नै भनेको दलितको समावेशीकरण खै ? दलित उत्पीडित र वर्गका कुरा गर्ने तिम्रा सचिवालयमा कुन दलितलाई राखेका छौ ? अरु पार्टीका मन्त्रालयका कुरा नगरौँ, कम्युनिष्टहरुले चलाएका प्रधानमन्त्री कार्यालय, मन्त्रालयहरुमा कुन दलितलाई पत्याएका छौ ? तिम्रा मन्त्रालयका विभिन्न विभाग, समिती, आयोगहरुमा भटाभट नियुक्ती दिइरहेका छौ तर कतिजना दलितलाई राख्यौ ?? यी प्रश्नहरुको उत्तर कसैले दिनचाहन्नन् । हाम्रै पार्टी र नेताहरुले यसो गर्नु भनेको अप्रत्येक्षरुपमा दलितलाई अवसर दिनहुन्न, सम्मान दिनुहुन्न, रगैरदलितल खाइपाइआएको भातभान्सा छुन र छिर्न हुन्न भनेर छुवाछूत नै गरिएको हो । त्यसका लागि दलितलाई खै भन्ने आन्दोलन हो । दलितलाई थप वर्जित गर्ने नयाँ ऐनहरु आउँदै अहिले निजामती कर्मचारी भर्नासम्वन्धी विधेयक संसदीय समितीमा छ । सो विधेयकमा कुनैपनि जाति वर्गका लागि समावेशीकरण बाध्यकारी नहुने भनेर प्रस्ताव गरिएको छ । यसैगरी आरक्षण कोटामा समेत न्युनतम् अंक नल्याए उसलाई फेल गरी अर्को वर्षमा समग्र कोटामा समावेश गरी त्यसमा समग्रमा गाभ्ने लोकसेवा ऐनमा ब्यवस्था छ । संसदीय समितीमा भरखरै भ्रष्टचारसम्वन्धी पाचवर्षे उजुरी हदम्याद राख्ने विषयमा छलफल भयो । एमाले महासचिवले त अव दुई दलीय ब्यवस्थामा जानुपर्छ, समावेशीकरणका कारण सरकार अस्थिर भयो, समानुपातिक पद्धती र थ्रेसहोल्डमा संसोधन गर्नपर्छ भनिरहेका छन् । सोहीअनुसार निर्वाचन आयोगले थ्रेसहोल्ड बढाउने र समानुपातिक कोटाहरु घटाउने गरी निर्वाचन मस्यौदा तयार गर्दैछ । अहिले सरकार वहुमतमा छ, यदि यो विधेययक संसदमा प्रवेश भयो भने सिधै पास हुन्छ । अनि कम्तिमा ७ प्रतिशत थ्रेसहोल्ड राख्दा साना दलहरु र ती दलमार्फत उदाउन खोजिरहेका विभिन्न जातजाति समुदायका नेताहरु वर्जित हुनेछन् । यसो हुनुभनेको नयाँ दल खोल्न नपाउनु नयाँ नेता आउन नदिने र खाइपाइरहेका नेता र पार्टीहरुलाई मानेर जानु भन्ने हो । यसो हुँदा दलित उत्पीडितहरु ती पार्टीको माथिल्लो निकायमा पुग्न सक्दैनन् । त्यो अवस्था आउन नदिनका लागि पनि खगेन्द्र सुनारले संयोजन गरेको दलितलाई खै आन्दोलन हो । सबै आन्दालनकारी एउटै प्लेटफाममा उभिनुपर्ने हाम्रो समाजमा एउटै वर्गभित्रै छुवाछूत तथा विभेद हुनेगरेकाले वर्गीय चरित्र बदलिनसाथ छूवाछूत हट्ने सम्भावना देखिन्न । जातीय विभेद र वर्जितीकरणलाई बिर्सेर बर्गीय मुक्तिको कल्पना कदापी गर्नै सकिन्न । अर्थात नेपाल र भारतको समयसापेक्षता र सामाजिक परिवेशलाई हेर्दा माक्र्सवादभन्दा अम्वेडकर दर्शन नै ब्यवहारिक देखिएको छ । यसर्थ डा.भीम रावलाई मान्ने हो र उत्पीडित उपेक्षित र दलितको मुद्दालाई वलियो गरी उठाउने हो भने अम्वेडकरवादको एउटै प्लेटफाममा सवै उभिनु जरुरी छ । दलितलाई खै आन्दोलनले अम्वडकरवादको साझा प्लेटफाममा उभ्याउँछ । तर यतिवेला खगेन्द्रको नेतृत्वलाई सहजै स्वीकार्न धेरैजना हिच्किचाइरहेको देखिन्छ भने कतिलाई नयाँ मानिस आएर आन्दोलनको नेतृत्व गरिदिँदा ज्वलन भएको छ । कतिलाई दलितलाई खै भन्ने शब्द नै मन परेको छैन भने कतिलाई खगेन्द्रको लगाई र बोलाई पनि मन नपरेको होला । कतिलाई खगेन्द्रलाई किन आन्दोलनको हिरो बनाउनु ? त्योसंग मुक्तिको के ज्ञान छ र ?? भन्ने प्रश्न पनि होला । अरु शंकाउपशंका समेत होलान । यस्ता सानासाना कुराले अरुको अस्तित्व नस्वीकार्ने चिन्तनले दलित आन्दोलनलाई पहिलेदेखि नै कमजोर बनाउँदै ल्याएको हो । यही कमजोरीमा दलितमाथी गैरदलित नेताहरुले आफूलाई बलियो बनाईरहेका छन् । अहिले हामी फेरी त्यही गर्दैछौँ । तर खगेन्द्र भन्ने एउटा पात्र मात्र हुन्, उनी ब्यक्तिगतरुपमा जेसुकै हुन्, त्यसले खास फरक पार्दैन । मुद्दा कसका लागि र केका लागि हो भन्ने मूल विषय हो । यसर्थमा उनले सवै दलितका मुद्दलाई उठाएका छन्, भूईँमान्छेदेखि नागरिक समाज र राजनीतिक नेताहरु सवैका मुद्दालाई उनले उठाएका छन् । त्यसो हो भने हामीले हिजो यिनै हाम्रा नेता र पार्टीहरुका लागि विद्रोह गरेका थियौँ, अव आफ्नो लागि यिनीहरुसंग विद्रोह गर्न तयार हुनैपर्छ । जवकी दलितहरु प्रयोगका साधन मात्र होइनन्, विद्रोहका साध्य पनि हुन्, निर्णायक समयमा आफूलाई प्रयोग गर्नेहरुलाई सिध्याउन पनि जान्दछन् । अतः प्रयोगवादीहरु दलहरु र नेताहरुकाविरुद्ध सवैतिरबाट मोर्चावन्दी गर्ने समय पनि यही हो । त्यसका लागि पनि दलितका लागि खै आन्दोलन हो ।