जवानदेखि निरीक्षकसम्म ११७२ जनालाई प्रहरीमा रोजगारीको अवसर
काठमाडौं, भाद्र १० । नेपाल प्रहरीले प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म १ हजार १ सय ७२ जना जनशक्तिका लागि योग्यता पुगेका युवाहरूबाट दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीले पनि ठूलो संख्यामा प्रहरी जवान तथा परिचरहरूका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्रले प्रहरी जवानमा २ हजार ३ सय पदका लागि आवेदन माग गरेको छ भने परिचरका विभिन्न विधामा २ सय युवाका लागि अवसरको ढोका खोलेको छ । यसका साथै नेपाल प्रहरीको अस्पताल, कम्प्युटर र सञ्चार आवास तथा परियोजना, सवारी साधन तथा केन्द्रीय विधि विज्ञान प्रयोगशाला गरी प्राविधिकतर्फ विभिन्न ९७ पदका लागि पनि आवेदन खुलेको छ ।
नेपाल प्रहरीको मानव स्रोत विकास विभागबाट प्राप्त जानकारीअनुसार ९१ जना प्रहरी निरीक्षकका लागि आवेदन खुला गरिएको छ, जसमध्ये ४९ पदमा खुला, २ पदमा अमर प्रहरी परिवार, १२ पदमा आदिवासी जनजाति समुदाय, १२ पदमा मधेसी समुदाय, ८ पदमा महिला, ५ पदमा दलित तथा २ पदमा पिछडिएको क्षेत्रका लागि कोटा छुट्याइएको छ । प्रहरी निरीक्षकका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह वा सो सरह उत्तीर्ण हुनुपर्ने योग्यता तोकिएको छ । त्यसैगरी फौजदारी अभियोगमा सजाय नपाएको, मानवअधिकार र मानवीय कानुनको उल्लंघनमा सजाय नपाएको, राजनैतिक दलको सदस्य नरहेको, आतंककारी संगठनको सदस्य नरहेको हुनुपर्नेछ । शैक्षिक योग्यतासँगै फारम भर्दाको अन्तिम मितिसम्म २० वर्ष पुगेर २५ वर्ष नकटेको नेपाली नागरिकतावाहक युवा प्रहरी निरीक्षकको उम्मेदवार हुन सक्ने नेपाल प्रहरीका प्रवक्ता पुस्कर कार्की बताउँछन् ।
प्रहरी प्रधान कार्यालयबाट तोकिएको स्वीकृत चिकित्सकबाट निरोगिताको प्रमाणपत्र पाएको, आँखा माइनस प्लस २ भन्दा बढी कमजोर नभएको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त पदको उम्मेदवार हुन पुरुषको हकमा घाँटीसम्मको उचाइ ५ फिट २ इन्च, छाती नफुलाउँदा ३१ इन्च र फुलाउँदा ३३ इन्च हुनुपर्ने तथा तौल कम्तीमा ५० किलोग्राम हुनुपर्नेछ । महिलाको हकमा घाँटीसम्म ५ फिट उचाइ तथा तौल ४२ किलोग्राम हुनुपर्नेछ ।
नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षकका लागि पनि आवेदन खुला गरेको छ । यस पटकका लागि ३ सय १४ जना युवाले उक्त पदमा अवसर पाउनेछन्, जसमा १ सय ६९ पदका लागि सबै क्षेत्रका युवाहरूले आवेदन दिन सक्छन् । ३ सय १४ मध्ये ४४ पदमा आदिवासी जनजाति, ३९ पदमा मधेसी, २८ पदमा महिला, २१ पदमा दलित, ७ पदमा पिछडिएको क्षेत्र तथा ६ पदमा पद अमर परिवारको सदस्यका लागि छुट्याइएको छ । प्रहरी सहायक निरीक्षकका लागि १८ वर्ष उमेर पूरा भै २४ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यो पदका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनुपर्छ । अन्य योग्यता भने प्रहरी निरीक्षककै बराबर छ ।
सबैभन्दा बढी दरखस्त नेपाल प्रहरीका लागि खोलिएको छ । देशभरबाट जम्मा ७ सय ६७ जना प्रहरी जवान माग गरिएको छ जसमा ४ सय १४ पदमा खुला, १५ पदमा अमर तथा अपांग प्रहरी परिवार, १ सय ८ पदमा आदिवासी जनजाति, ९४ पदमा मधेसी, ६८ पदमा महिला, ५१ पदमा दलित र १७ पदमा पिछडिएको क्षेत्रका लागि दरखास्त माग गरिएको छ । कक्षा ८ उत्तीर्ण गरेका १८ वर्ष पूरा भै २३ वर्ष ननाघेका युवाहरूले उक्त पदका लागि दरखस्त दिन सक्छन् । अन्य योग्यता भने प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षककै बराबर छ ।
कहाँ–कहाँ पाइन्छ फारम
यी सबै पदका लागि असोज २ गतेसम्म फारम भरी बुझाउन सकिने छ । प्रहरी निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी र ५ वटै क्षेत्रीय कार्यालयहरूबाट फारम लिन र बुझाउन सकिने छ । त्यसैगरी प्रहरी सहायक निरीक्षकका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी, सबै अञ्चल प्रहरी कार्यालय, जुनियर प्रहरी शिक्षालय भरतपुर, सबै क्षेत्रीय तालिम केन्द्रबाट फारम लिन र बुझाउन सकिनेछ । प्रहरी जवानका लागि उपत्यकाका तीनवटै परिसर, पाँचै क्षेत्रीय प्रहरी तालिम केन्द्र एवं ७२ वटै जिल्ला प्रहरी कार्यालयबाट फारम लिन तथा बुझाउन सकिनेछ ।
शारीरिक तन्दुरुस्ती परीक्षा
उपरोक्त सबै पदका लागि सुरुमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तनदुरुस्ती परीक्षा लिइनेछ । प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म यो परीक्षा सबैका लागि एउटै हुन्छ, जसमा पुरुषले ५६ सेकेन्ड र महिलाले ६७ सेकेन्डभित्रमा ३ सय मिटर दौड पूरा गर्नुपर्नेछ । त्यसैगरी पुरुषले १८ मिनेटभित्र र महिलाले २२ मिनेटभित्र ३ दशमलव २ किलोमिटर दौड, पुरुषले ३ फिटमाथि र महिलाले २ फिटमाथि हाइजम्प, पुरुषले कम्तीमा १२ पटक र महिलाले कम्तीमा ४ पटक सिटअप गर्नुपर्नेछ भने पुरुषले ५ पटक र महिलाले ३ पटकसम्म पुसअप गर्नुपर्ने हुन्छ ।
कस्तो हुन्छ लोकसेवा परीक्षण
शारीरिक तन्दुरुस्ती परीक्षा उत्तीर्ण भैसकेपछि लोकसेवा आयोगबाट लिखित परीक्षा लिइन्छ, जसमा प्रहरी निरीक्षकका लागि चारवटा समूहमा सय पूर्णाङ्कको प्रश्न सोधिन्छ । समूह १ मा नेपाली रचना र अंग्रेजी ५०र५० पूर्णाङ्क, समूह २ मा सेवासम्बन्धी १ सय पूर्णाङ्क, समूह ३ मा सामान्य ज्ञान र बौद्धिक प्रश्न गरी १ सय पूर्णाङ्क तथा समूह ४ मा नेपालको विद्यमान ऐन–कानुन र संविधानका विषयमा प्रश्नहरू सोधिने छ ।
लोकसेवाबाट लिइने परीक्षा पनि उत्तीर्ण गरेपछि नेपाल प्रहरी अस्पतालबाट विशेष स्वास्थ्य परीक्षण गरीन्छ र अन्त्यमा प्रहरी प्रधान कार्यालयको अन्तर्वार्ता पनि उत्तीर्ण गरेपछि प्रहरी निरीक्षक तालिमका लागि योग्य भइन्छ ।
प्रहरी सहायक निरीक्षकका लागि भने ३ सय पूर्णाङ्कको प्रश्नपत्र तयार गरिएको छ, जसमा नेपाली रचना ५०, अंग्रेजी ५०, सामान्य ज्ञान एवं बौद्धिक १ सय तथा सेवा एवं कानुनलाई जोडेर १ सय पूर्णाङ्क बनाइएको छ ।
प्रहरी जवानका लागि प्रारम्भिक स्वास्थ्य तथा शारीरिक परीक्षणपछि लोकसेवाले लिने परीक्षामा नेपाली, अंग्रेजी, गणित तथा सामान्य ज्ञान गरी १ सय पूर्णाङ्कको प्रश्न सोधिनेछ ।
कस्ता व्यक्ति अयोग्य हुन्छन् ?
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी दुवैका लागि देहायका शारीरिक खोट भएका व्यक्तिहरू सेवाका लागि अयोग्य मानिएका छन् । अंगभंग नभएकोरकुरुप नदेखिने, हात–खुट्टा बाङ्गो र औंला ठीक नभएको, घुडा खुम्चिन नसक्ने, पैताला धेरै चेप्टो नभएको, प्रस्ट बोली नबोल्ने, लठेब्रो, ढाड कुप्रो भएको, शरीर पूरा झुकाउन नसक्ने, जीउ कोल्टे परेको ९बाङ्गो०, दुबी भएको, कपाल झरेको, फुलेको वा रंगाएको, धेरै दुब्लो ९पुरुष ५० किलोग्राम र महिला ४२ किलोग्रामभन्दा कम०, आँखा डेढो भएको, एउटा आँखा मात्र चिम्लन नसक्ने, उचाइअनुसार अत्यधिक तौल भएको, मोटो शरीर तर हातखुट्टा झिनो देखिने, अनुहारमा अस्वभाविक दाग भएको, शरीरको बाहिरी देखिने भागमा ट्याटु खोपेको, दुईवटाभन्दा बढी दात कीराले खाएको वा झरेको, भेरिकोच वा नशा फुल्ने समस्या भएका व्यक्ति ।
सशस्त्रमा पनि अवसर
नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीले पनि प्रहरी जवान र परिचर पदका लागि दरखास्त आह्वान गरेको छ । २ हजार ३ सय युवालाई सशस्त्र प्रहरी जवानतर्फ आवेदन खोलिएको छ भने २ सय परिचरतर्फ दरखास्त आह्वान गरिएको छ ।
भदौ २८ गतेसम्म १८ वर्ष पूरा भै २२ वर्ष ननाघेका युवाहरूले सशस्त्र प्रहरी बलका विभिन्न स्थानबाट दरखास्त दिन सक्छन् । दरखास्त दिँदाका बखत कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने सशस्त्र प्रहरी बल मानव स्रोत विकास विभागले जनाएको छ । इच्छुक योग्य एवं दक्ष उम्मेदवारले सशस्त्र बल प्रधान कार्यालय हलचोक, पूर्वक्षेत्रीय सशस्त्र प्रहरी बल बराह बाहिनी पकली, सुनसरी, मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल रुद्र बाहिनी पथलैया, बारामा फारम भर्न सक्छन् । त्यस्तै मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल, महेश्वरी बाहिनी सुर्खेत सुदूर पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल, मुख्यालय बैधनाथ बाहिनी कैलाली नेपाल तालिम महाविद्यालय लामापाटन, पोखरा, नेपाल युक्ति तालिम महाविद्यालय बर्दघाट, नवलपरासी, नेपाल तालिम केन्द्र नौबस्ता, बाँकेबाट पनि फारम भर्न सकिनेछ ।
सशस्त्र प्रहरी जवानतर्फ मागिएको आवेदनमा १ हजार २ सय १९ खुला, २ सय ७ महिला, ३ सय ३१ जनजाति, २ सय ९० मधेसी, १ सय ५५ दलित, ५२ पिछडिएको क्षेत्र र ४६ पद अमर तथा अपांग प्रहरी सन्ततिका लागि छुट्याइएको छ । त्यसैगरी परिचरतर्फका २ सय पदका लागि १ सय ५ भान्से, २५ केश कर्तक, १५ सूचीकार, २० चर्मकर्मी तथा ३५ कुचीकार छन् ।
पाँच तहको परीक्षा
प्रारम्भिक परीक्षामा उचाइ तौल र छातीको विवरण लिइन्छ, जसमा पुरुषको उचाइ ६२ इन्चभन्दा माथि र महिलाको ६० इन्चमाथि हुनुपर्छ, पुरुषको तौल कम्तीमा ५० किलोग्राम र महिलाको ४२ किलोग्राम हुनुपर्छ । पुरुषको छाती फुलाउँदा ३२ इन्च र नफुलाउँदा ३० इन्च अनिवार्य हुनैपर्छ ।
दोस्रो चरणमा लिइने शारीरिक सहिष्णुता परीक्षणमा पुरुष ३ सय मिटर दौड कम्तीमा ५० सेकेन्डभित्र पूरा गर्नुपर्ने हुन्छ भने २ माइल दौड १६ मिनेटभित्र पूरा गरिसक्नुपर्छ । त्यसैगरी न्यूनतम सिटअप १५ पटक, पुसअप १० पटक तथा चिनअप ५ पटक गर्नैपर्ने हुन्छ । महिलाको हकमा भने ३ सय मिटर दौड कम्तीमा २५ सेकेन्डभित्र पूरा गरिसक्नुपर्छ । त्यस्तै दुई माइल दौड २५ मिनेटभित्र, सिटअप ५ पटक तथा पुसअप ५ पटक अनिवार्य गर्नैपर्छ । जति कम समयमा बढी सिटअप–पुसअप गर्न सक्यो त्यति नै नम्बर बढ्दै जाने विभागको पाठ्यक्रममा उल्लेख छ ।
तेस्रो चरणमा विस्तृत स्वास्थ्य परीक्षण हुन्छ । जसमा सामान्य शारीरिक जाँच, छातीको अवस्था, आँखा, रगतको अवस्था, रक्तचाप, मधुमेह, नाक, कान, घाँटीको समस्या एवं महिलाको हकमा गर्भवस्था जाँच पनि गरिन्छ ।
चौथो चरणमा लिखित परीक्षा लिइन्छ, जसमा नेपाली ३० पूर्णाङ्कमा व्याकरण, अनुवाद, निबन्ध र चिठी सोधिन्छ भने अंग्रेजीको २० पूर्णाङ्कमा ग्रामर तथा अनुवादसम्बन्धी प्रश्नहरू हुन्छन् । गणितमा जोडघटाउ, गुणा, भागसम्बन्धी समस्या समाधान गर्नुपर्ने हुन्छ भने सेवासम्बधी ३० पूर्णाङ्कभित्र सशस्त्र प्रहरीको संगठन ढाँचा, प्रहरी ऐन र प्रहरी नियमावलीसम्बन्धी विषयवस्तु सोधिन्छ ।
यी सबै परीक्षा उत्तीर्ण गरिसकेपछि पुनस् विशेष स्वास्थ्य परीक्षण गरिन्छ जसमा एचआईभी, हेपाटाइटिस बी र लागूऔषध प्रयोगकर्ता होरहोइन भनेर जाँच गरिन्छ । यी सबै प्रक्रिया पूरा भएपछि छैटौं चरणमा अन्तिम अन्तर्वार्ता लिइन्छ । सशस्त्र प्रहरी परिचरका लागि पनि ६ वटै चरणमा परीक्षा हुने भए पनि लिखित अन्तर्वार्ता भने हुँदैन । यो पदका लागि आवश्यक विशेषज्ञद्धारा व्यवहारिक परीक्षा लिइन्छ । (साप्ताहिकबाट साभार)
आधा महिनामा पश्चिम नेपालमा सात वटा परकम्प
काठमाडौं । यो महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । सोही क्रममा शुक्रबार राति ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस २ गते बझाङको धामेना आसपास केन्द्रबिन्दु बनाएर चार दशमलव तीन, पुस ३ गते बझाङको धामेना मै चार दशमलव एक म्याग्निच्यूडको भूकम्प गएको थियो । यस्तै, पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर चार दशमलव सात म्याग्निच्यूडको भूकम्प गयो । पुस छ गते बाजुरामा पाँच दशमलव दुई म्याग्निच्यूडको भूकम्प जाँदा पुस नौ गते ९ बजेर २५ मिनेटमा दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु बनाएर चार म्याग्नेचुड र पुस ११ गते जाजरकोट नायकवाडा केन्द्रबिन्दु बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको विभागले जनाएको छ । विभागका अनुसार, शुक्रबार ११ बजेर ३७ मिनेटमा कालिकोटको लाली आसपास केन्द्रबिन्दु बनाएर तीन दशमलव सात म्याग्निच्यूडको भूकम्प गएको हो । विभागका अनुसार, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको थियो । सो भूकम्पपछि मात्रै पश्चिम नेपालमा पाँच परकम्प गएको हो ।
माओवादी केन्द्रको ठहर– सरकार निजामति ऐनमा ढिलाई गर्न चाहन्छ
काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्न सरकारले ढिलो गर्न खोजेको आरोप लगाएको छ। शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले निजामती विधेयकमा ढिलाइ गरिरहेको आरोप लगाएका हुन्। उनले समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीहरू मात्रै आउने र मन्त्री नआउने गरेको गुनासोसमेत गरे। मन्त्रालयले आफ्ना धारणा नराख्ने र सांसदहरूलाई मात्रै बोल्न लगाउने गर्दा सार्थक छलफल नहुने उनको भनाइ थियो। उनले भने, ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, त्यहाँ बस्ने हाम्रा कर्मचारीहरू सबैभन्दा बढी आउनुपर्ने हो। जसले डे टु डे कर्मचारीलाई परेका समस्या केके हुन्, राष्ट्रलाई परेका समस्या केके हुन्, विकास गर्नलाई र अझ यसलाई राम्रो बनाउन केके गर्नुपर्छ भनेर त्यो मन्त्रालयसँग सम्बन्धित छलफल, धारणा, कहिले बुझ्ने हो? मलाई लाग्छ, सबैभन्दा महत्त्वपूर्णवस्तु यो हो। सामान्य प्रशासन हेर्ने मन्त्रीज्यू नै नआउने, त्यसपछि हामी छलफल अघि बढाइरहने? आफ्नो कुरा नराख्ने, टिमले टिप्ने मात्रै। यो विधेयकलाई कतै ढिलो गर्न खोजेको पो हो कि? यो विधेयक त संघीयतासँग सम्बन्धित विधेयक हो। यो विधेयकले त प्रदेशमा असर गरेको छ। यसले त संघीयता कार्यान्वयनलाई असजिलो बनाएको छ।’ बैठकमा एमाले सांसद ठाकुरप्रसाद गैरेले निजामती क्षेत्रमा प्रवेशको प्रक्रियालाई निष्पक्ष, पारदर्शी हुने व्यवस्था गर्नुपर्ने बताए। जागिरको समग्र आवधिक र समग्र मूल्यांकनको लागि ऐनले निश्चित दिशानिर्देश गर्नुपर्ने उनको धारणा थियो। दण्ड सजाय र पुरस्कारको प्रबन्धका बारेमा यसले स्पष्ट दिशानिर्देश गर्नुपर्ने पनि उनको धारणा थियो।
गाउँपालिका, नगरपालिका र जिसस महासङ्घद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्ने लगायत विभिन्न सात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना, जिल्ला समन्वय समिति महासङ्घका अध्यक्ष अशोककुमार घिमिरेसहितले ध्यानाकर्षणपत्र बुझाउनुभएको हो । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको समन्वय परिषद्को दोस्रो बैठक गत २०८० माघ २४ गते पश्चात् नबसेकाले अघिल्लो बैठकमा पेस भइ निर्णय हुन बाँकी रहेका विषयवस्तुमा छलफल हुनुपर्ने माग गरिएको छ । यस्तै समानीकरण अनुदान कटौती नगर्न, स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणको आरका वृद्धि गर्न, राष्ट्रिय भूमि आयोगका काम छिटो सम्पादन गराउन र जिल्ला समन्वय समितिलाई स्रोतसाधन सम्पन्न बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरिएको छ । प्रधानमन्त्री ओलीले संविधानबमोजिम स्थानीय सरकारलाई अधिकार दिन र स्रोतले भ्याएसम्म बजेटको उचित प्रबन्ध गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।
‘चिसोबाट बच्न सावधानी अपनाउनू’
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध गरेको छ। शुक्रबार अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै प्राधिकरणले चिसो तथा शीतलहर बढ्ने र चिसोबाट स्वास्थ्य समस्या हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरेको हो। मौसम पूर्वानुमान महाशाखाले मौसम बदलीसम्बन्धी विशेष बुलेटिन जारी गरी पश्चिमी न्यूनचापीय प्रणालीका कारण आज अपराह्नदेखि देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया हुने जनाएको छ। शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने विभागको पूर्वानुमान छ। रासस