पाल्पा बन्द फिर्ता !
पाल्पा, मंसिर २५ । ११ दिनदेखि पाँच नम्बर प्रदेशको सीमांकन हेरफेरको विरोधमा पाल्पामा भएको बन्द आइतबारबाट फिर्ता हुने भएको छ ।
प्रमुख प्रतिपक्षी एमालेको अगुवाईमा व्यबसायीहरुले समेतले गराउँदै आएको पाल्पा जिल्ला बन्द फिर्ता लिएका हुन् । ११ दिनदेखिको बन्दले जनजीवन कष्टकर हुँदै आएको थियो ।
बन्दको एघारौं दिन शनिबार आन्दोलनरत दलका नेताहरुले तानसेनमा मानव साङ्लो प्रदर्शन गरेर आयोजित सभामा आइतबारदेखि बन्द फिर्ता लिएको बताएका हुन् ।
एमाले अध्यक्ष नारायण आचार्यले आन्दोलनको स्वरुप परिवर्तन हुने र प्रदेशस्तरीय कार्यक्रम आउने भएकाले बन्द हड्तालबाहेक विरोध जुलुस, सभा, बैठक लगायतका कार्यक्रम जारी राख्ने बताए ।
थाहामा प्रचण्डको एक दिन (तस्बिरहरू)
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मकवानपुरको थाहा नगरपालिकामा पगेर फर्किनुभएको छ । उहाँलाई मकवानपुरको थाहामा स्थानीयले भव्य स्वागत गरेका छन् । शनिबार पार्टीको युवा संगठनको सम्मेलनका लागि थाहा नगरमा पुग्नुभएका अध्यक्ष प्रचण्डलाई त्यहाँका नेता, कार्यकर्ता र स्थानीयले भव्य स्वागत गरेका हुन्। आफ्नो पहिचान झल्कने पहिरनमा सजिएका स्थानीयले प्रचण्डलाई फूलमाला र पुष्पगुच्छाले स्वागत गरेका थिए। उहाँको स्वागतमा सांस्कृतिक प्रस्तुती, झाँकी सहित स्थानीय उपस्थित भएका थिए। थाहा पालिकाको युवा संगठनको सम्मेलनमा प्रमुख अतिथि बनेर पुगेका अध्यक्ष प्रचण्डले भन्नुभएको छ । 'हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को मकवानपुर थाहा नगर अधिवेशनको सन्दर्भमा आयोजित जनसभा र त्यसक्रममा विभिन्न स्थानमा सभाकै झल्को दिने गरी भएका स्वागत कार्यक्रमले उत्साहित बनाएको छ। यो उत्साहजनक कार्यक्रमका लागि म मकवानपुर पार्टी र वाइसिएललाई धन्यवाद दिन चाहन्छु। मौलिक थाहा विचारका प्रवर्तक रुपचन्द्र बिष्टको कर्मथलो मकवानपुर कम्युनिस्ट क्रान्तिकारीहरूका लागि ऐतिहासिक भूमि हो । यहाँको पार्टी पंक्ति र जनस्तरमा देखिएको क्रान्तिप्रतिको निष्ठा र उत्साहले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिहुँदै समाजवादको बाटोमा अघि बढ्न थप प्रेरित गर्नेछ। यही अवसरमा म लामो समयदेखि आउन चाहेर नभ्याएको ऐतिहासिक, सांस्कृतिक एवं क्रान्तिकारी गोपाली वस्ती कुन्छालमा पुगेर यो समुदायसित साक्षात्कार गर्ने र मौलिक संस्कृति अवलोकन गर्ने मौका मिल्यो । अन्त्यमा, जनताबाट प्राप्त सुझावको उच्च कदर गर्दै निरन्तर जनताको साथमा रहेर विकास र समृद्धिको चाहना पूरा गर्न लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु।' तस्बिरहरूः
भैरहवामा चार कम्पनीले एकैसाथ थाले अन्तर्राष्ट्रिय उडान
भैरहवा । सञ्चालनमा आएको दुई वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थाल्ने भएपछि स्थानीय सरोकारवाला खुसी छन् । यसले लामो समय अन्तर्राष्ट्रिय उडानविहीन विमानस्थलमा रौनक छाएको छ । स्थानीय सरोकारवालाले यहाँबाट अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने वातावरण बनाउन माग गरेका छन् । गत भाइटीकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्याह्न दोस्रो पटक भैरहवा अवतरण गरेको थियो । शुक्रबार ७ यात्रु बोकेर आएको थाई एयर एसियाको विमान ३२ यात्रु लिएर फर्किएको छ । आउँदो साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार थाई एयर एसियाको विमान मध्याह्न सवा १२ बजेट यहाँ अवतरण गर्ने गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले जनाए । एक घण्टा आराम गरेपछि यात्रु लिएर थाइल्यान्ड फर्किने तालिका छ । शनिबार कुवेतको जजिरा एयरलाइन्स र फ्लाई दुबईले यहाँबाट उडान सुरुवात गर्ने रावतको भनाइ छ । जजिराले सातामा तीन दिन भैरहवा–कुवेत उडान गर्नेछ । यसअघि १० महिना उडान भरेर स्थगन गरेको जजिरा शनिबार भैरहवा फर्किन लागेको हो । दुई वर्षअघि गौतमबुद्ध विमानस्थल उद्घाटनसँगै यहाँबाट उडान थालेको जजिराले जाडो सुरु भएपछि प्राविधिक कारण देखाउँदै उडान स्थगन गरेको थियो । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ । रावतका अनुसार फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्ने जनाएको छ । फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने रावतले बताए । फ्लाई दुबईले शनिबारबाट दैनिक उडान थाल्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाअनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ । पौने ३ बजे यहाँबाट उडान भर्नेछ ।
पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट ज्ञानदेवी पुन सिफारिस
रकुम । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रको तर्फबाट ज्ञानदेवी पुन सिफारिस हुनुभएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट पुन सिफारिस हुनुभएको हो। नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटीको २ दिन सम्म चलेको विस्तारित बैठकले पुनलाई सर्वसम्मत सिफारिस गरिएको नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हर्क बहादुर कामीले बताउनुभयो । अध्यक्ष कामीका अनुसार १० जना आकाङ्क्षी मध्यबाट आपसी सहमतिमै पुन सिफारिस हुनुभएको हो । १० जना आकाङ्क्षीहरु आफै सहमति गरेर १ जनामा केन्द्रीकृत हुनु नै विजयको सन्देश दिनु भएको नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनले बताउनुभयो । माओवादीको आधार इलाकाले परिचित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा माओवादी केन्द्रले काङ्ग्रेस एमालेको संयुक्त उमेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको मन्त्री पुनले बताउनुभयो । गत महिना भाद्र २८ गते बाङ्लुङ भुङखानीमा भएको जिप दुर्घटनामा परि पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, वडा नं. २ का वडा अध्यक्ष जस बहादुर श्रीपाली र उपाध्यक्षको आमा गोपीमायँ बुढासहित निधन भएका कारण उपाध्यक्ष पद र वडा अध्यक्ष पद रिक्त भएको थियो ।
प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ । उहाँहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।