बसको अग्रिम टिकट बुकिङ अनिश्चित

बसको अग्रिम टिकट बुकिङ अनिश्चित
काठमाडौं, भदौ २३ । दसैँ, तिहार, छठलगायत चाडपर्वको अवसरमा घर जाने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ अनिश्चित बनेको छ । सरकारले आज (बिहीबार) देखि अग्रिम टिकट बुकिङ खुलाउने घोषणा गरेको भए पनि यातायात व्यवसायीले गरेको असहयोगको कारण अग्रिम टिकट बुकिङ खुला भएन । व्यवसायीले आफ्ना चार माग पू्रा नभएसम्म अग्रिम टिकट खुला नगर्ने बताएका छन् । अग्रिम टिकट खुला नहुँदा टिकट लिन नयाँ बसपार्क, कलंकी, कोटेश्वरलगायतका टिकट काउन्टरसम्म पुगेका यात्रुहरू रित्तो हात फर्कनुपरेको छ ।

यातायात व्यवसायीसँग १६ भदौमा भएको सहमतिअनुसार बिहीबारदेखि अग्रिम टिकट खुला गर्ने घोषणा गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए । ‘विभागले व्यवसायीको मनपरीविरुद्ध कानुनी कारबाही अघि बढाउनेछ,’ उनले भने । तर, यातायात व्यवसायीले आफ्ना मुख्य चारवटा माग पूरा नभएसम्म टिकट बुकिङ नखुल्ने जानकारी दिएका छन् । ‘बिहीबारदेखि बुकिङ खुलाउने सरकारको प्रस्ताव हो । माग पूरा नभएसम्म हामी टिकट बुकिङ खुला गर्दैनौँ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यबाहक अध्यक्ष डोलनाथ खनालले भने । व्यवसायीले हरेक वर्ष चाडपर्व नजिकिँदै गर्दा सरकारसँग विभिन्न माग राखेर पूरा गर्न दबाब दिने गरेका छन् । ‘यात्रुलाई दैनिक रूपमा टिकट काटेर भने पठाउने नियमित व्यवस्थालाई निरन्तरता दिनेछौँ,’ महासंघका महासचिव सरोज सिटौलाले भने ।

पाँच हजार जरिवानाको तयारी
विभागले तोकिएको सयममा अग्रिम टिकट खुला नगरेको भन्दै कानुनअनुसार व्यवसायीलाई जरिवाना गर्ने तयारी गरेको छ । ‘व्यवसायीले आफ्ना भाडाका सवारीसाधन ग्यारेजमा राखेर बसे भने केही गर्दैनौँ, टिकट काट्न गएका यात्रुलाई टिकट नदिए, बढी भाडा असुल गरे, कन्डिसनको सवारीसाधन नचलाए, सही सूचना नदिए प्रत्येकपल्टको पाँच हजार रुपैयाँ जरिवाना गर्नेछौँ,’ महानिर्देशक भट्टराईले भने । व्यवसायीले कानुनको पालना गर्नुपर्ने र कुनै पनि कमजोरी भेटिए कडा रूपमा प्रस्तुत हुने विभागको भनाइ छ । त्यस्तै, चाडपर्वका वेला यातायात क्षेत्रलाई व्यवस्थित र सुचारु राख्न तथा ठगी हुन नदिन विभागले १२ वटा अनुगमन टोली गठन गरेको छ । ती टोलीले कमीकमजोरी फेला पारेमा तत्काल कारबाही गर्ने गरी विभागले योजना बनाएको छ ।

भाडा तिरेर अधिकतम २० लाख मानिस बाहिरिने अनुमान
यस वर्ष अधिकतम २० लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था विभागले प्रक्षेपण गरेको छ । विगतमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका थिए । त्यस्तै, निजी सवारीसाधनबाट पनि पाँचदेखि सात लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । तर, यति नै संख्यामा चाडपर्वमा यात्रु बाहिरिन्छन् भन्ने तथ्यांक न त विभागसँग छ न यातायात व्यवसायीसँग नै । बाहिरिने यात्रुमध्ये सबैभन्दा धेरैले कलंकी, नागढुंगा, मुग्लिङ, नारायणघाट हुँदै पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्नेछन् । यसबाहेक राजधानी जोड्ने अरनिको, सिन्धुली–बर्दिबास, पासाङह्लामु राजमार्ग पनि व्यस्त हुनेछन् । सबैभन्दा बढी व्यस्त हुने मुग्लिङ–नारायणघाट खण्डमा चाडपर्वको वेला खाल्डा पुर्ने, यातायात सञ्चालनको अवधि वृद्धि गर्ने र कुनै समस्या आए तत्काल खुलाउने गरी तयारी गरिएको नारायणगढ–मुग्लिङ सडक आयोजना प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए ।

अग्रिम टिकट खुलाउन ढिलाइ
सामान्यतः दसैँ सुरु हुनुभन्दा एक महिनाअघि अग्रिम टिकट बुकिङ खुला गर्ने चलन छ । यस वर्ष भने दसैँ (५ असोज घटस्थापना) सुरु हुन १३ दिन बाँकी रहँदा पनि अझै टिकट बुकिङ खुलाइएको छैन । टिकट बुकिङ ढिलाइ भएको गुनासो आमनागरिकबाट आउन सुरु भए पनि यातायात व्यवसायीले भने सुरक्षित र व्यवस्थित रूपमा घर पु¥याउने भन्दै नआत्तिन आग्रह गरेका छन् ।

यातायात व्यवसायीका चार माग
-लामो यात्राका सवारीसाधनले ५० किलोमिटरभन्दा बढी दूरीमा नियमित सडकमा कठिनाइ भएका कारण घुमेर वा अर्को सडक प्रयोग गरेर जानुपर्दा जति दूरी घुमेको हो, त्यति नै दूरीको थप भाडा यात्रुबाट लिन पाउनुपर्ने ।

-यात्रुबाहक बसमा सामान राख्ने प्रयोजनका लागि छत (क्यारियर) राख्न पाउनुपर्ने ।

-भाडा समायोजन तत्काल हुनुपर्ने, समायोजनमार्फत वृद्धि भएको नयाँ भाडादर चाडपर्वपछि मात्र कार्यान्वयनमा ल्याउन तयार ।

-देशभरका सबै सडकमा तत्काल सम्भव भएका खाल्डाखुल्डी पुर्नुपर्ने । नयाँ पत्रिकाबाट

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय