बास्नाबिनाको बासमती

बास्नाबिनाको बासमती

खजुराखुर्दका वंशराम कुम्हार आफ्नो खेतमा बासमती धान कुन्यु लगाउँदैछन् । सँगै धानले भरिनै लागेको लडिया (गोरु गाडा) रोकिएको छ । खेतनजिक सडकछेउमा एउटा आमसभा भइरहेछ । नेताहरू राजनीतिक स्थिरता दिने भाषण गरिरहेका छन् ।

तराईका ठूलठूला फाँटबाट लोप हुँदै गएको रैथाने धानका प्रजातिको संरक्षणतिर कसैको चासो थिएन । नेताको भाषणप्रति वंशराममा विश्वास र आकर्षण थिएन । उनी चिन्तित देखिन्थे । अँगालोको धान लडियामा राख्दै उनी मुर्मुरिए, “कालानमक जात त लोपै भइसक्यो, बीउसमेत पाइँदैन । बासमती, कालानमक र श्यामजिरा प्रजाति पनि त्यतैतिर उन्मुख छन् ।”

एक समय थियो, कसैको भान्सामा यी जातको चामल पाक्दा टोल–छिमेक नै सुगन्धित हुन्थ्यो । खाँदा पनि निकै मुलायम अनि स्वादको त कुरै भएन । कालानमक चामलको एक गाँस भात खानेलाई अरू जातको भात मुखमा काँडा बिझाएजस्तो हुने । भान्सामा भात पाक्दा मात्र होइन, धान पाक्दासमेत खेतबाट परपरसम्म सुगन्ध फैलिन्थ्यो । अझ बासमतीको त धान–चामलमा मात्रै होइन, धानको पातमै सुगन्ध हुन्छ ।

पुर्खाले घर आउने नयाँ आगन्तुकको सत्कार कालानमकको भात पस्केर गर्थे । मान र प्रतिष्ठाका प्रतीक थिए, बास्नादार धानका यी प्रजाति । ती दिन अब सम्झनामा मात्रै छन् । किनभने, यी रैथाने प्रजाति तराईका भान्सामा बिरलै पाइन्छ अचेल ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको समथर तराईमा खेतबाटै बास्ना छर्ने यी लोपोन्मुख जातको संरक्षण प्रयास कतैबाट भएको छैन । प्रदेश–५, ६ र ७ को क्षेत्रीय कृषि अनुसन्धान केन्द्रनजिकै खजुराका किसान यो केन्द्रको औचित्यमाथि नै प्रश्न उठाउँछन् । वंशराम भन्छन्, “सबै हाइब्रिडतिर लागे । रैथाने जात जोगाउन कोही चाहँदैनन् ।”

उनको पुस्ताले कालानमक र श्यामजिराको खेती गर्दै आएको थियो । नयाँ पुस्ता नाफा र बजारमुखी हँुदै गएको छ, जो कम लगानीमा बढी मुनाफा चाहन्छ । वंशरामका बाबु–छोरा मंसिरको अन्तिम साता थोरै भए पनि श्यामजिरा धान भित्र्याउँदै थिए । खेतमा भेटिएका यी बाबु–छोराबीच अबदेखि बास्नादार धान खेती गर्ने कि नगर्ने भन्ने मतभेद छ ।

“थोरै फल्छ, लगानी धेरै हुन्छ । किन खेती गर्ने रु” वंशरामका छोरा रामबाबु भन्दै थिए, “श्यामजिरा ५ हजार ५ सय रुपियाँ क्विन्टल छ । तर, २ देखि ३ हजार रुपियाँ क्विन्टलको मोटो धान लगाउँदा बढी फाइदा हुन्छ ।” वंशरामले कालानमक लगाउन छाडेको २० वर्ष भयो । १० वर्षदेखि २० र २२ क्विन्टल श्यामजिरा धान फलाइरहेछन् उनीहरू ।

बास्नादार धानको अर्को समस्या पनि छ अहिले । जस्तो स् यी प्रजातिका धानको पहिले त बीउ छर्दा ब्याडबाटै बास्ना आउँथ्यो । अहिले पाकेकै धान काट्दा पनि आउँदैन । खाँदा पनि बास्ना हुँदैन । रासायनिक मल र विषादीको बढ्दो प्रयोगले रैथाने बासमतीबाट बास्ना आउनै छाडेको किसानहरूको आशंका छ ।

नेपागन्जको गल्ला बजारमा रैथाने बासमती, कालानमक र श्यामजिरा चामलपाइनै छाडेको छ । पाइहाले पनि कृतिम बास्नादार मात्रै पाइन्छ । उस्तै बास्ना आउने लेपयुक्त चामल आउन थालेको छ, जसमा किनेर भन्सामा पुर्‍याउँदासम्म सुगन्ध रहन्छ, पखालेर पकाएपछि सकिन्छ । पुस्तैनी धान–चामललगायत खाद्यान्नको व्यापार गर्दै आएका राजेश मित्तल भन्छन्, “मनसुलीको जस्तो बास्ना छरेको चामल आउँछ, उपभोक्ताले पत्तो नै पाउँदैनन् ।”

त्यो बास्नादार पनि सीमापारिका बजारबाट आउँछ । नेपालगन्ज नाकानजिकैको भारतीय बजार रुपैडिहामा पुगेर महँगो भाउमा बासमती किनेर ल्याउनेमध्ये कैयौं नेपाली झुक्किन्छन् । मित्तल सुझाव दिन्छन्, “कस्तो खालको बास्ना छर्छन्, थाहा छैन तर नकिन्नु नै उत्तम ।”

उनी पनि रासायनिक मलको बढ्दो प्रयोग नै रैथाने जातका धान–चामलबाट सुगन्ध खोसिनुको कारण हुन सक्ने अनुमान गर्छन् । आफूकहाँ किसानले मनसुली र बासमती ल्याउनै छाडेको पाँच वर्ष भइसकेको बताउँछन् ।

तर, धान अनुसन्धानमा संलग्न वैज्ञानिकहरू कालानमक, बासमती र श्यामजिराको सुगन्ध परिवर्तित मौसमले खोसेको बताउँछन् । सुगन्धित धानका लागि वातावरण प्रतिकूल हुँदै गएको उनीहरूको भनाइ छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका धान वैज्ञानिक सन्तोष त्रिपाठी भन्छन्, “बास्ना आउने धानका लागि अहिलेको हावापानी प्रतिकूल छ ।

त्यसैले सुगन्ध हराएको हो ।” बास्नादार धान लोप हुँदै गएपछि वैज्ञानिकहरू पनि चिन्तित छन् । त्रिपाठी बास्नादार धानमा रोग बढी लाग्ने र ढल्ने हुँदा किसानले खेती गर्न छाड्दै गएको बताउँछन् । संरक्षणको विकल्प नदेखिएपछि लोपोन्मुख धानको बीउ संकलन गर्न थालिएको छ ।

रैथाने जात कालानमक, बासमती र श्यामजिरा जीन बैंकमा पुगेका छन् । क्रस गरेर नयाँ जात निकाल्ने प्रयास हुँदै छ । “रोग कम लाग्ने र धेरै फल्ने बनाउन थालेका छौं,” त्रिपाठी भन्छन्, “१० देखि १२ वर्ष लाग्छ होला । तर, त्यस कार्यमा पूर्ण सफलता प्राप्त हुने हो–होइन, निश्चित छैन ।”

तराईबाट बासमतीमा बास्ना हराउनुको अर्को कारण सरकारी नीतिलाई पनि मुख्य कारक मानिएको छ । उदाहरणका लागि, कृषि मन्त्रालयले नीतिगत रूपमै रैथाने जातलाई बेवास्ता गर्दै आएको छ । उन्नत धान खेती गर्ने किसानले अनुदान पाउँछन् । तर, रैथाने जातको खेती गर्नेले पाउँदैनन् ।

जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत कला बुढामगर भन्छिन्, “हामी बढी उत्पादन हुने धानमा फोकस गर्छौं। अनुदान पनि त्यस्तै बाली लगाउने किसानले पाउँछन् । उनका भनाइमा, बास्नादार धान दूरदराजका किसानले मात्र लगाउँछन्, जहाँका किसानले उन्नत बीउ पाउँदैनन् । अझ त्यस्तो क्षेत्रका किसानले पनि बास्नादार धानको बीउ राख्न छाड्दै गएका छन् । “किनभने, बीउ राख्न र कीराबाट जोगाउन निकै परिश्रम गर्नुपर्छ,” बुढामगर भन्छिन् ।

यस्ता अनेकौं कारणले बासमतीजस्ता मूल्यवान् धान जीन बैंकमा पुर्‍याउने क्रम जारी छ । लोपोन्मुख धानको नमुना जीन बैंकमा १० देखि एक सय वर्ष राख्न सकिन्छ । जहाँ वैज्ञानिकहरूले अनुसन्धान प्रक्रिया पूरा गरेर रैथाने जातका धानमा रोग प्रतिरोधक क्षमता बढाउन सफलता प्राप्त गर्ने र फेरि ती धान खेतमा देख्न पाइने अपेक्षा छ । तर, त्यसका लागि कम्तीमा पनि पाँच वर्ष लाग्छ । त्यतिन्जेल कुर्नुबाहेक अरू विकल्प छैन । नेपाल म्यागेजिनबाट

चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू संक्रमण

चितवन । चितवनको राप्ती नगरपालिकाको एउटा कृषि फर्ममा बर्डफ्लू संक्रमण देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपंक्षी कृषि फर्मका कुखुरामा संक्रमण देखिएको हो । फर्ममा कुखुरा मर्न थालेपछि माघ २५ गते नमूना संकलन गरी परिक्षण गरिएकोमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो । फर्ममा दुई हजार कुखुरा छन् । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने छ । संकास्पद फर्महरूको नमूना संकलन गरी परीक्षणसमेत गरिने छ । बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको शुक्रबार बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको छ ।

गरिमा धानको डीएनए परीक्षण, बीउ नक्कली

काठमाडौंः धेरै फल्ने उन्नत जातको गरिमा भन्दै किसानलाई बिक्री गरिएको धानको बीउ अर्कै जातको भएको पाइएको छ । असोज बित्दासमेत बाला नलागेपछि कृषि अनुसन्धान परिषद्ले(नार्क) गरेको डीएनए परीक्षणमा बीउ गरिमाको जातसँग नमिलेको हो । भारतको रेनोभा सिड्स साइन्स इन्डियाप प्रालिले उत्पादन गरेको बीउ साउथ इस्ट एसियन सिड कम्पनी प्रालीले ल्याएर नेपालमा बेचेको थियो । ‘पञ्जीकरण भएको गरिमा र अहिले बाला नलागेको धानको बीउको वंशाणुगत गुण र चरित्र मिलेन,’ नार्कका वैज्ञानिक सुशील सुवेदीले भने,‘गरिमा भनी किसानलाई अर्कै बीउ बेचेर ठगी गरेको देखियो ।’ यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

कञ्चनपुरमा युरियाको चर्को अभाव

कञ्चनपुर, साउन २१ । कञ्चनपुरका किसानलाई धानखेतीका लागि रासायनिक मल युरियाको चर्को अभाव भएको छ । अनुदानको मल नपाएपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको रासायिनक मल युरियाको प्रयोग गर्नुपरेको छ । व्यापारीले तोकेको चर्को मूल्यमा किसानले युरिया खरीद गर्दै आएका छन् । भारतबाट भित्र्याइएको मलसमेत थोरै मात्र किसानले पाएका छन् । “भारतबाट खरीद गरेर मल ल्याउँदा सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले ल्याउन दिँदैनन्”, स्थानीय किसान बाधुराम चौधरीले भने, “बजारमा युरिया मल छैन । पाइएको मल खरीद गरिनसक्नु मूल्यको छ ।” “धान रोपेको २० दिनभित्र युरिया छरिसक्नु पर्दछ”, अर्का किसान बैदार चौधरीले भन्नुभयो, “धान रोपेको महीना दिन बित्नै लागेको छ । अहिलेसम्म मल पाइएको छैन ।” भारतबाट भित्र्याइएको युरिया ४५ किलोको बोराको किसानले रु दुई हजार ३० तिर्नुपरेको छ । मल बिक्रेताले मनोमानीरुपमा मूल्य कायम गरी मल अभाव भएको फाइदा उठाउँदै चर्को मूल्यमा युरिया मल बिक्री गर्दै आएको किसानको गुनासो छ । अनुदानको रासानिक मलको बिक्री दररेट प्रतिक्विन्टल रु एक हजार ६६२ रहेको छ । अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीको शाखा भीमदत्तनगरले मागअनुरूपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नुपरेको हो । कृषि सामग्री कम्पनीले यस वर्ष ८१ मेट्रिकटन मात्रै रासानिक मल आपूर्ति गरेको थियो । सो मल असार महीनामै सकिएको छ । कम्पनीको दुई हजार ५०० मेट्रिकटन युरिया खरीद गर्ने लक्ष्य भए पनि थोरै मात्रै आपूर्ति हुँदा अभाव भएको कम्पनीका निमित्त कार्यालय प्रमुख बलबहादुर शाहले बताए । युरिया समयमै खरीद गर्न नसक्दा र ढुवानीको समस्याले आपूर्ति हुननकेको उनको भनाइ छ । “तत्काल युरिया आउने सम्भावना छैन”, उनले भने, “भर्खरै भारतको कोलकाता बन्दरगाहमा पुगेको भन्ने खबर छ । त्यहाँबाट यहाँसम्म आइपुग्न अझै एक महीना लाग्छ ।” रासस

नयाँ पुस्ताका आलुको बीउ उत्पादन

काभ्रेपलाञ्चोक, चैत ११ । पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताए । उनले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिए। आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दुईवटा ‘स्क्रिन हाउस’भित्र ल्याबमा टिस्यु कल्चर गरिएका बिरुवा रोपिएको छ । पाण्डेले भने, “रोपिएको बिरुवाबाट फलेको आलु पूर्व मूल बीउ बन्दछ, त्यसलाई पनि रोपेर फलाइएपछिको मूल बीउ हो ।” यो मौसममा रोपिएको तीन हजार ४४० बिरुवाबाट करीब २५ हजार दाना आलुको बीउ उत्पादन गर्ने लक्ष्य लिइएको केन्द्रप्रमुख पाण्डेले बताए । उनका अनुसार अहिले जनकदेव र कार्डिनल जातको आलुको बीउ उत्पादन भइरहेको छ । एउटा बिरुवामा सातदेखि १० दानासम्म फल्ने गर्दछ । यहाँ उत्पादन गरिएको आलुको नयाँ बीउ किसान तथा बीउ बिक्रेतालाई दिइनेछ । उत्पादित प्रिबेसिक नयाँ आलुको बीउ दानाको गन्तीमा बिक्री गरिने पाण्डेले बताए । केन्द्रले पाँच खाल उपत्यकामा विस्तारै आलुको बीउ परिवर्तन गर्दै जाने योजना बनाएको छ । रासस

लोकप्रिय