बिडिसिए कप : गजेन्द्र बोहराको नयाँ रेकर्ड
बैतडी । गजेन्द्र बोहराले यहाँ जारी बिडिसिए कपको १७ औँ संस्करणसम्म आइपुग्दा प्रतियोगिताको इतिहासमै सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन् ।
निंगलाशैनी क्रिकेट क्लब, देहिमाडौँको टोलीबाट लिग चरणको खेलमा बोहराले केदारशक्ति क्रिकेट क्लबसँगको खेलमा व्यक्तिगत १४३ रन बनाएर नयाँ रेकर्ड कायम गरेका हुन् ।
निंगलाशैनी खेल मैदानमा उनले ५५ बलमा १४३ रन बनाए । यसक्रममा बोहराले सात छक्का र २१ चौका प्रहार गरे । उनले ४२ बलमै शतक बनाएका थिए ।
बैतडी जिल्ला क्रिकेट संघका कोषाध्यक्ष खेमराज भट्टका अनुसार यसअघि बिडिसिए कपको एउटै इनिङमा सर्वाधिक रन बनाउनेको सूचीमा कैलपाल क्रिकेट क्लबका जनक चन्दको नाम सामेल थियो । चन्दले १०९ रन बनाएका थिए ।
नयाँ रेकर्ड बनाएका बोहराले गत असारमा काठमाडौँमा सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिम यू–१६ को टिमबाट खेलिसकेका छन् । उनी गत वर्ष नै काठमाडौँमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल)मा पनि काठमाडौँ किंग्स इलेभनका लागि छनोटका क्रममा तेस्रो राउण्डसम्म पुगेका थिए ।
बोहरा विगत दुई वर्षदेखि काठमाडौँस्थित हिमालयन क्रिकेट एकेडेमीमा आबद्ध छन् । उनले भारतको मुम्बईस्थित एडभान्स क्रिकेड एकेडेमीबाट तीन वर्षसम्म प्रशिक्षणसमेत लिएका थिए । दशरथचन्द नगरपालिका–२ देहिमाडौँका १५ वर्षीय बोहरा दाँया हाते ब्याट्सम्यान हुन् ।
केदारशक्ति क्रिकेट क्लबबिरुद्धको खेलमा बोहराको १४३ रनको व्यक्तिगत स्कोरसहित निंगलाशैनीले चार विकेटको क्षतिमा २० ओभरमा ३०३ रन बनाएको थियो । “बिडिसिए इतिहासमै कुनै एउटा टिमले बनाएको यो नै सबैभन्दा उच्च स्कोर हो,” संघका कोषाध्यक्ष भट्टले भन्नुभयो ।
उक्त खेलमा निंगलाशैनीका प्रकाश नाथले ६० तथा लक्ष्मण बोहराले ५१ रन बनाए । तीन सय ४ रनको विजयी लक्ष्य पछ्याएको केदारशक्तिले १० दशमलब १ ओभरमा मात्र ५१ रन बनायो । निंगलाशैनी बिडिसिए कपमा २५६ रनको फराकिलो अन्तरले जित्ने टोली बनेको छ ।
क्रिकेटमा नयाँ प्रतिभाको खोजी गर्न बैतडी जिल्ला क्रिकेट संघले हरेक वर्ष प्रतियोगिता सञ्चालन गर्दैआएको छ । जिल्लाबाट हालसम्म थुप्रै पुरुष र महिला क्रिकेट खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
क्रिकेट गतिविधि भइरहेका भए पनि खेलमैदान नहुँदा प्रतियोगिता सञ्चालन गर्न समस्या हुने गरेको छ । जिल्लामा निर्माणाधीन अवस्थामा रहेको अन्तर्राष्ट्रिय स्तरको दशरथचन्द रंगशाला तीन वर्षदेखि अलपत्र अवस्थामा छ । रासस
भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण सुरु
चितवन । दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आज (शुक्रबार)देखि सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ –क्यान) का सचिव पारस खड्काले संयुक्त रुपमा गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव खड्काले नेपाल प्रिमियर लिग –एनपिएल) को अर्को संस्करण चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना गर्न सकिने उल्लेख गर्नुभयो । यसका लागि रंगशालाको निर्माण कार्यलाई पूर्णता दिन सबै जना अघि बढ्नुपर्ने धारणा राख्नुभयो । नेपाली क्रिकेटलाई नजिकबाट माया गरिदिनु भएकोमा भरतपुर महानगर प्रमुख रेनु दाहाललाई विषेश धन्यवाद व्यक्त गर्नुभयो । विद्यालयस्तर क्रिकेट लिगमा ४७ वटा टिमले सहभागिता जनाउनु निकै सकारात्मक भएको उहाँको भनाई थियो । नेपाली क्रिकेटको भाग्य भविष्य यस्तै घरेलु ग्रासहुड प्रतियोगिताले निर्धारण गर्ने भएकाले भरतपुर मेयर्स कप क्रिकेट लिगले खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने सचिव खड्काले बताउनुभयो । महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई स्पोर्टस् सिटीको रुपमा विकास गर्न मेर्यस कप फटबल, उपमेयर कप भलिबल लगायत विभिन्न खेलहरु महानगरले आयोजना गर्दै आइरहेको स्मरण गर्नुभयो । महानगरपालिकाले यस्ता खेल गतिविधिलाई निरन्तर रुपमा अघि बढाउने उहाँको भनाई थियो । प्रमुख दाहालले अलपत्र रहेको रंगशाला सबैको साथ र सहयोगका कारण निर्माण कार्य तीब्र रुपमा अघि बढ्नु खुसीको विषय भएको उल्लेख गर्नुभयो । उहाँले यही नमुना खेल मैदानमा खेल खेली, छनोट भई जनवरी १८ देखि हुने यू¬ १९ महिला विश्वकप क्रिकेट छनोट भएका टोलीलाई प्रति खेलाडी रु ५० हाजर दिने घोषणा समेत गर्नुभयो । भरतपुर महानगरको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा लिग प्रतियोगिता हुनेछ । प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ४७ विद्यालयबीच प्रतिस्पर्धा हुँदैछ । फागुन दोस्रो सातासम्म चल्ने प्रतियोगितामा कुल ६१ खेल हुनेछ । पहिलो चरणमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबीच छुट्टाछुट्टै छनोट खेल हुनेछ । त्यसबाट छनोट भएका टिमहरुबीच रातो बल अर्थात् दुई दिवसीय प्रतियोगिता हुनेछ । पहिलो चरणको लागि गरिएको ड्र बाट लिटिल फ्लवार स्कुल सिधै दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यस्तै पहिलो संस्करणको सेमीफाइनलमा पुगेका चार टिम पनि सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।
एनपीएल विजेताहरुलाई अध्यक्ष प्रचण्डको बधाई
काठमाडौं । नेकपा (माओवादी केन्द्रका) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत विजेता जनकपुर बोल्ट्सका साथै उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्नुभएको छ । यो खेलले नेपाली खेलाडीको क्षमता विकासमा सहयोग पुगेको उहाँले बताउनुभयो । ‘एनपीएल पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई हार्दिक बधाई । प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटको महापर्व एनपीएल भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । यसले नेपाली खेलाडीको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको छ । प्रतियोगितामा सहभागी सबै समूह, आयोजक, व्यवस्थापक, खेलप्रेमी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।
जनकपुरले उचाल्यो एनपीएलको उपाधि
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोडेको हो । सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्ने क्रममा जनकपुरका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ९ चौका ४ छक्काको सहयोगमा ८७ रन जोडे । उनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनको बलमा आउट भएका हुन् । अर्का ओपनर आशिफ शेख १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे । एनपीएल सकिएसँगै विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाले अवार्ड वितरण गर्नुभएको हो ।
जनकपुरले निकाल्यो चौथो जित, लुम्बिनी लगातार चौथोपटक पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुर बोल्ट्सले जित निकालेको छ । यो जनकपुरको लगातार चौथो जित हो । उता लुम्बिनी भने लगातार चौथो खेलमा पनि पराजित भएको छ । टस जितेर सुरुवाती फिल्डिङ गरेको लुम्बिनीले जनकपुरलाई १३६ रनमा रोकेको थियो । निर्धारित २० ओभरमा जनकपुरले ९ विकेटको क्षतिमा १३६ रनमा समेटिएपछि लुम्बिनीले १३७ रनको लक्ष्य पाएको थियो । तर, निर्धारित २० ओभरमा लुम्बिनी ८ विकेट गुमाउँदै १३५ रनमा समेटिएपछि जनकपुर १ विकेटले विजयी भएको हो । योसँगै जारी लिगमा अपराजित जनकपुरले लगातार चौथो जित निकालेको हो । जनकपुरले विराटनगर किङ्स र कर्णाली याक्सलाई ८/८ विकेटले पराजित गरेको थियो । त्यस्तै पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको जनकपुरले लुम्बिनीविरुद्ध १ रनको जित निकालेको हो । उता यसअघि विराटनगर, पोखरा र सुदूरपश्चिमसँग पराजित भएको लुम्बिनीको यो चौथो हार हो । जनकपुरका लागि अनिल साहले ४५ रन बनाउँदा आशिफ शेखले १६ रन जोडे । त्यस्तै लाहिरु मिलान्थाले २४ रन जोड्दा हर्स ठाकेर र जेम्स नसिम १/१ रनमा आउट भए । मोहम्मद मोसिन ३ र हेमन्त धामी ९ रनमा आउट हुँदा ललित राजवंशी शून्य रनमा पेभेलियन फर्किए । शुभ कंशाकार २२ रनमा नटआउट रहे । लुम्बिनीका लागि अविशेष गौतमले ३ विकेट लिँदा साद विन जाफर र रोहित पौडेलले २/२ विकेट लिए । त्यस्तै सन्दीप जोराले १ विकेट लिए ।