भारतीय प्रस्ताव: सचिवस्तरीय द्विपक्षीय बैठक महिनापिच्छे बसाैँ

भारतीय प्रस्ताव: सचिवस्तरीय द्विपक्षीय बैठक महिनापिच्छे बसाैँ

भारतले सचिवस्तरीय द्विपक्षीय संयन्त्रका बैठक हरेक महिना आयोजना गर्न नेपालसामु प्रस्ताव राखेको छ । नेपालमा आफ्ना लगानीमा सञ्चालित परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि नियमित छलफल गर्न तथा आवश्यक नयाँ परियोजना पहिचान गर्नसमेत सहयोगी हुने गरी अन्तर्देशीय सचिवस्तरीय संयन्त्रका बैठक हरेक महिना आयोजना गर्न प्रस्ताव गरेको हो ।

नेपाल-भारतबीच परराष्ट्र, वाणिज्य, ऊर्जा, गृहसचिव, सहसचिव तथा प्राविधिक तहका ३० भन्दा बढी द्विपक्षीय संयन्त्र छन् । तर, ती सबै संयन्त्र क्रियाशील छैनन् । भारतले नियमित बैठक बसेर परियोजना कार्यान्वयनमा देखिएका समस्या निराकरण गर्न आवश्यक कदम तत्कालै चाल्ने धारणा नेपालसामु राखेको छ।

प्रधानमन्त्री, परराष्ट्रमन्त्री, सचिव तथा सहसचिव तहमा हालै भएका उच्चस्तरीय भेटवार्ता तथा छलफलमा भारतले यससम्बन्धी मौखिक प्रस्ताव राखेको परराष्ट्र मन्त्रालय स्रोतले बतायो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा समेत भारतले यो विषय उठाएको थियो । देउवाको भ्रमणमा जारी संयुक्त वक्तव्यमा दुई देशबीच विद्यमान संयन्त्र क्रियाशील गराउने उल्लेख छ ।

भारतीय विदेश मन्त्रालयमा नेपाल मामिला हेर्ने सहसचिव सुधाकर दलेलाले परराष्ट्र मन्त्रालयमा भारत महाशाखा हेर्ने सहसचिव भृगु ढुंगानासँग यसबारे छलफल गरेका छन् । दलेलाले सचिवस्तरीय सबै संयन्त्र क्रियाशील गराउन र देखिएका समस्या हल गरी अघि बढ्न भारतले चाहेको बताएका थिए । भारतले हरेक महिनाजस्तो बैठक बस्न प्रस्ताव गरे पनि नेपाली पक्षले त्यसप्रति उत्साहजनक प्रतिक्रिया दिएको छैन ।

‘भारतीय पक्ष परियोजना कार्यान्वयनमा जान नसकेकोमा निकै चिन्तित देखिएको छ । हामी पनि परियोजना टुंग्याउन राजनीतिक तथा प्रशासनिक दुवै तहमा संवाद गरिरहेका छौं । तर भारतसँग हरेक महिना सचिवस्तरीय संयन्त्रका बैठक बस्नु व्यावहारिक रूपमा सम्भव हुँदैन’ एक वरिष्ठ अधिकारीले भने।

नेपाल—भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगले दुवै देशको सम्बन्धको बृहत्तर छलफल गर्ने म्यान्डेट पाएको छ । यो संयन्त्रको बैठक सन् २०१४ यता दुईपटक बसेको छ । संयन्त्रको बैठकले लिएका अधिकांश निर्णय व्यावहारिक रूपमा कार्यान्वयन हुन सकिरहेका छैनन् । संयन्त्रले वाणिज्य, व्यापार, सुरक्षा, कनेक्टिभिटी, सीमा व्यवस्थापनलगायत दर्जनभन्दा बढी मामिलामा निर्णय लिन सक्छ ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको अघिल्लो वर्ष असोजमा सम्पन्न भारत भ्रमणमा परियोजना अनुगमन गर्न संयुक्त संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिजम) गठन भएको थियो । संयन्त्रको बैठकमा परराष्ट्रसचिवले नेपालका तर्फबाट नेतृत्व गर्छन् । काठमाडौंस्थित भारतीय राजदूतले बैठकमा भारतीय पक्षको नेतृत्व गर्छन् ।

गठन भएयता संयन्त्रको बैठक चार पटक बसेको छ । संयन्त्रको बैठकले द्विपक्षीय विकास परियोजना निर्माण सक्न समयावधि तोक्ने कार्यादेश पाएको छ । तर, पञ्चेश्वरजस्ता ठूला परियोजनाबारे संयन्त्रको बैठकमा साधारण छलफलबाहेक केही हुन सकेको छैन । ‘यस्तो संयन्त्रमा परियोजना कार्यान्वयनबारे साधारण छलफल हुन सक्छ तर पञ्चेश्वरजस्ता ठूला परियोजनाका लागि उच्च तहको राजनीतिक निर्णय र प्राविधिक विषय महत्वपूर्ण हुन्छन्’, अर्का एक अधिकारीले भने।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगका परियोजना कार्यान्वयनमा भएका ढिलासुस्तीबारे व्यक्तिगत चासो दिइरहेको भारतस्थित नेपाली दूतावासका अधिकारीले बताए ।

सीमा विवादलगायत द्विपक्षीय मामिला हेर्न परराष्ट्रसचिव स्तरमा मुख्य संयन्त्र स्थापित छ । भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी र सुस्ताबारे छलफल गर्ने र सरकारलाई ठोस सुझाव दिने म्यान्डेट पाएको यो उच्चस्तरीय संयन्त्रको बैठक एकपल्ट पनि बसेको छैन । त्यस्तै सीमा विवाद हेर्न दुवै देशका नापी विभागका महानिर्देशक र उपमहानिर्देशक तहका संयन्त्र पनि छन् । ती संयन्त्रका बैठक नियमित रूपमा दुवै देशमा भइरहेका छन् । -अन्नपुर्णपाेष्टबाट

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय