भौतिक पूर्वाधारको बीमा गर्ने व्यवस्था गर्छौं : प्रधानमन्त्री प्रचण्ड

भौतिक पूर्वाधारको बीमा गर्ने व्यवस्था गर्छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रतिरोधी संरचना निर्माण र व्यवस्थित संरचनाका लागि भौतिक संरचनाहरूको बीमा गर्ने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् ।

२६ औँ भूकम्प सुरक्षा दिवस मूल समारोहमा बोल्दै प्रधानमन्त्रीले भौतिक संरचनाको बीमा गर्ने व्यवस्थामा जान आवश्यक रहेको बताउँदै मन्त्रिपरिषदले त्यसबारे अध्ययन गर्ने निर्णय गरेको बताए ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘अब हामीले विस्तारै देशैभरिका निजी आवास र सरकारी संरचनाको बिमाको व्यवस्था गर्नुपर्छ भन्ने सुझावलाई मनन गरेर व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा अध्ययन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको यहाँ जानकारी गराउँछु।’’

सो अवसरमा प्रधानमन्त्रीले ‘जाजरकोट र बझाङको भूकम्पलाई जोखिमको पूर्वसंकेतको रूपमा लिँदै ठूलो विपद्को सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आँकलन, न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीको काम अझै घनिभूत रूपमा गर्न र स्थानीय तहको क्षमता अभिवृद्धिमा जोड दिइने’ जानकारी गराए।

सम्बोधनको पूर्णपाठ

‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने नारासहित २६ औं भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित यस कार्यक्रममा सर्वप्रथम यसै वर्षको असोजमा बझाङ र कार्तिकमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएका लगायत विगतका भूकम्पमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

वि.स. १९९० सालमा गएको महाभूकम्पको स्मरण गर्दै २०५५ सालदेखि हामी भूकम्प सुरक्षा दिवसका रूपमा यस्तो जागरण तथा संकल्पको कार्यक्रम हरेक वर्ष गर्दै आएका छौँ । आजको दिन मूलभूत रूपमा त्यो पीडा फेरि भोग्न नपरोस् भनेर काम गर्न राष्ट्रिय संकल्प गर्ने दिन पनि हो ।
आगामी दिनमा भूकम्पबाट कसैले ज्यान गुमाउन नपरोस्, घाइते हुन नपरोस्, कुनै पनि परिवारले कुनै खालको भौतिक क्षति भोग्न नपरोस् भन्नका लागि सबैले मिलेर काम गर्न सकौं भन्ने दिन पनि हो । आउनुस्, त्यसका लागि हामी सबैले संकल्प गरौं । भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्ने कुरा इच्छा होइन दायित्व हो भन्ने यथार्थ आत्मसात गरौं ।

भूकम्प जति बेला पनि जान सक्छ र त्यसले कुन हदसम्म क्षति पुर्‍याउन सक्छ भन्ने कुरा हामीले केही महिनाअघि भोगेका छौं । ७ वर्षअघि २०७२ बैशाख १२ को भूकम्पले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिको हाम्रो पुस्ता साक्षी छ । झण्डै ९ हजारको मुत्यु र ७ खर्ब रूपैयाँभन्दा बढीको क्षति गरेको त्यो भूकम्पबाट भएको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न मात्र खर्बौं रकम खर्च भयो ।

उपस्थित महानुभावहरू,

गत कार्तिक १७ गते जाजरकोट भूकम्पको केही घन्टामा नै म घटनास्थल पुगेँ । खोज तथा उद्धारको प्रत्यक्ष नेतृत्व गरेँ । बझाङ भूकम्पको भोलिपल्टै मैले अध्यक्षता गर्ने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक राखेर खोज तथा उद्धारको योजना बनाउन लगाएँ । पर्सिपल्ट चैनपुर पुगेर क्षतिको अवस्थाबारे प्रत्यक्ष अवलोकन गरेँ । सोही सन्दर्भमा अस्थायी आवास निर्माणका लागि नेपाल सरकारको तर्फबाट प्रतिघरधुरी रू. ५० हजार सहयोगको गर्ने निर्णय पनि गरेँ ।

यो वर्ष श्रृङ्खलाबद्ध रूपमा गएका भूकम्पहरूले हामीलाई भूकम्प सुरक्षित संरचना र सोहीअनुरूपको निरन्तर तयारीका लागि घच्घच्याएको छ । त्यसैले, अब पुनर्निर्माणका लागि गतिलो तयारी गर्ने, भूकम्पप्रतिरोधी डिजाइन तयार पार्ने, स्थानीय ढुंगा काठलागायतका सामग्रीसमेत प्रयोग गरी सुरक्षित संरचना बनाउनेमा मेरो जोड छ । यो वर्ष पुनर्निर्माणका लागि आवश्यक बजेट र नीतिगत व्यवस्थामा ढिलाइ गरिनेछैन । त्यसका लागि मैले सरकारको तर्फबाट पहल लिएको छु, सरोकारवाला मन्त्रालय र निकायलाई प्रष्ट निर्देशनसमेत दिएको छु ।

उद्धार र राहतसँगै भूकम्पबाट पूर्ण क्षति भएका घरका परिवारलाई तत्कालका लागि अस्थायी आवास निर्माण गर्न प्रतिघरपरिवार ५० हजार उपलब्ध गराएको अवगत नै छ । यसैगरी सांसद विकास कोषको रकम समेत गरी रू. १० अर्ब विपत् व्यवस्थापन कोषमा उपलब्ध गराउने निर्णय भइसकेको छ । अस्थायी आवास निर्माणमा स्थानीय तहको नेतृत्व स्थापित हुने गरी प्रक्रिया अगाडि बढाइएको छ । प्रदेश र स्थानीय तहहरूले स्थायी निजी आवास पुनर्निर्माणका लागि पहल लिनुपर्नेछ ।

भूकम्प प्रभावित क्षेत्रमा क्षतिको आंकलन तथा आवश्यकता पहिचानको काम करिब करिब सम्पन्न भएको छ । माननीय गृहमन्त्रीले यसका लागि अनुमानित बजेटबारे बताइसक्नुभएको छ । पुनर्निर्माणका लागि उपयुक्त कार्ययोजना तय गरी प्रदेश र स्थानीय तहको अगुवाइ तथा तीनै तहको समन्वयमा पुनर्निर्माणको कार्य प्रारम्भ गर्नेछौँ । हामीले घरहरू मात्रै बनाएर पुग्दैन, त्यहाँ सार्वजनिक संरचनाको पुनर्निर्माण तथा आर्थिक, सांस्कृतिकसहित समग्र पुनर्निर्माणको योजना बनाएर अघि बढ्ने योजना हुनुपर्दछ । यसका लागि म सम्पूर्ण तह र तप्का एवं निकायलाई विशेष अपील र निर्देशितसमेत गर्दछु ।

उपस्थित महानुभावहरू,

नेपालको संविधानले विपद् जोखिम व्यवस्थापनको जिम्मेवारी तीनै तहका सरकारलाई दिएको छ । यसले विपद आइलाग्न नदिन र आइपरेमा प्रभावकारी ढंगले सामना गर्न संघ, प्रदेश र स्थानीय तहले बडो सुझबुझका साथ काम गर्नुपर्ने सुझाएको छ । स्थानीय सरकार सञ्चालन ऐन तथा विपद सम्बन्धी ऐनले स्थानीय सरकारलाई विपद सम्बन्धी मुख्य काम गर्ने जिम्मेवारी दिएको सर्वविदितै छ ।

यसलाई प्रभावकारी बनाउन स्थानीय सरकारलाई विपद जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा मजबुत बनाउने र साधनस्रोत सम्पन्न बनाउने कुरामा सरकार प्रतिबद्ध छ । यसका लागि ७५३ वटै स्थानीय तहसँग मिलेर काम गर्न संघीय सरकारले पहल गर्नेछ । प्रदेशमा रहने विपद सम्बन्धी कार्य गर्ने संयन्त्र निर्माण गर्ने र क्रियाशील बनाउने कार्यमा पहल गर्न पनि म आग्रह गर्दछु ।

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा निजी क्षेत्रको पनि सहभागिता आवश्यक छ । यो क्षेत्रमा निजी क्षेत्रको संलग्नताको विषय केवल दायित्वको विषय मात्र होइन लगानीको विषय पनि हो । हरित तथा उत्थानशील विकासमा निजी क्षेत्रको संलग्नताका लागि सहजीकरण गर्न सरकार प्रतिबद्ध छ ।

भूकम्प मात्र होइन जलवायु परिवर्तनका असरहरूबाट नेपाल ज्यादै नै प्रताडित हुन थालेको छ । यसै वर्ष दुबईमा भएको कोप २८ सम्मेलनका क्रममा नेपालमाथि भएको डरलाग्दो अन्यायका कारण यहाँका जनता पहिरो, बाढी, वन डढेलो, हिमश्रृंखला पग्लिने, खडेरी आदि जस्ता जलवायुजन्य प्रकोपबाट नराम्ररी प्रभावित भएको उल्लेख गर्दै यो अन्याय रोकिनुपर्छ भनेर जोडदार रूपमा राखेको छु । नेपाल भ्रमणमा आएर यहाँको अवस्था प्रत्यक्ष रूपमा देख्नुभएका राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले पनि नेपाललगायत मुलुकले जलवायु न्याय पाउनुपर्ने कुरालाई उठाउनुभएको छ । यो हाम्रा लागि खुशीको विषय पनि हो ।

जाजरकोट र बझाङको भूकम्पलाई जोखिमको पूर्वसंकेतको रूपमा लिँदै ठूलो विपद्को सामना गर्न सक्ने क्षमता विकास गर्न जोखिम आँकलन, न्यूनीकरण, पूर्वतयारी र पूर्वसूचना प्रणालीको काम अझै घनिभूत रूपमा गर्न र स्थानीय तहको क्षमता अभिवृद्धिमा जोड दिइनेछ । पूर्वतयारीको लागि खोज तथा उद्धारका लागि उपकरणहरूको व्यवस्था, राहत सामग्रीहरूको पर्याप्त व्यवस्था गर्न प्राधिकरणले काम गरिरहेको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन एवं विपद्पछिको पुनर्निर्माणको समन्वय गर्ने केन्द्रीय निकाय भएकोले सबै तह र निकाय एवं विकास साझेदारहरूले यही प्राधिकरणमार्फत काम कार्वाही गर्दा अझ बढी प्रभावकारी हुन्छ । जसका लागि प्राधिकरणको क्षमता विकास गर्न सरकारले प्राथमिकता दिनेछ ।

अब हामीले विस्तारै देशैभरिका निजी आवास र सरकारी संरचनाको बिमाको व्यवस्था गर्नुपर्छ भन्ने सुझावलाई मनन गरेर व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बीमा गराउने सम्बन्धमा अध्ययन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको यहाँ जानकारी गराउँछु ।
ठूला र विनाशकारी विपद्बाट मानव जातिको रक्षाका लागि राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत सहकार्य र सहयोगको आवश्यकता पर्दछ । तसर्थ, यस कार्यमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरू, निजी क्षेत्र, गैरसरकारी निकायहरूको साथ तथा सहयोगको अपेक्षा गरेको छु । खासगरि विपद र जलवायु परिवर्तनका क्षेत्रमा हासिल भएका ज्ञान, सीप, प्रविधि, प्रणालीको आदानप्रदान गर्ने कार्यमा अन्तराष्ट्रिय जगतको सहयोग अपेक्षित छ ।

अन्त्यमा, २६ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सबै सरकारी तथा गैरसरकारी निकायहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था, व्यक्ति, समुदाय लगायत सबैप्रति धन्यवाद व्यक्त गर्दै आजको दिनले निजी आवास लगायत सार्वजनिक संरचनाहरू भूकम्प लगायत सबै प्रकारका विपद्बाट सुरक्षित बनाउन प्रेरणा मिल्ने आशा पनि व्यक्त गर्दछु । धन्यवाद ।

उच्च अदालतमा २७ जना नयाँ न्यायाधीशले लिए शपथ

काठमाडौँ – उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष शपथ ग्रहण गरे। सिफारिस भएका २७ न्यायाधीशमध्ये १६ जना जिल्ला न्यायाधीश, ६ जना कानुन व्यवसायी र ५ जना न्याय सेवाबाट सिफारिस भएका थिए। उनीहरू अब एक महिनाको तालिमपछि मात्रै कार्यक्षेत्रमा खटिनेछन्। यससँगै उच्च अदालतको न्यायिक शक्ति बलियो भएको छ र न्यायिक सेवामा थप क्षमता थपिएको छ।

चाडपर्वलक्षित सुपथ मूल्य पसल भदौको अन्तिम सातादेखि सुरु हुने

काठमाडौँ  ।  सरकारले चाडपर्वलक्षित सुपथ मूल्य सहुलियत पसल भदौ अन्तिम सातादेखि सञ्चालन गर्ने भएको छ । उद्योग मन्त्रालयअन्तर्गत खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले पसल सञ्चालनको तयारी थालेका छन् । उक्त पसल सञ्चालनका लागि झन्डै चार करोड रुपैयाँ बराबर बजेट विनियोजन गरिएको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयले देशैभर चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालनका लागि ३  करोड ८६  लाख ९९ हजार रुपैयाँ विनियोजन गरेको हो ।  वर्षैभरि सुपथ मूल्य पसल सञ्चालनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई २ करोड ५२ लाख रुपैयाँ बजेट छुटाइएको छ । यस्तै साल्ट ट्रेडिङले पनि यस्तो पर्वलक्षित पसल सञ्चालन गर्दै आएको छ । सुपथ मूल्य पसल सञ्चालन खर्च तथा छुटका लागि १ करोड ३४ लाख ९९ हजार रुपैयाँ बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ । यसैगरी वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि चाडपर्वलक्षित अनुगमनको तयारी गरेको छ । विभागले तीजपछिदेखि चाडपर्वलक्षित अनुगमन गर्ने जनाएको छ ।  खाद्यले १ सयभन्दा बढी पसल सञ्चालन गर्ने  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस्तो पसल भदौको अन्तिम सातादेखि सञ्चालनमा ल्याउने भएको छ । यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी देशभर १ सयभन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको जनाएको छ  ।  गत वर्षभन्दा पसल संख्या बढाउने गृहकार्य भइरहेको कम्पनीका कार्यकारी अधिकृत रमेश आचार्यले बताए । उनका अनुसार गत वर्ष ६६ स्थानमा सञ्चालन गरिएको थियो, अहिले भने १ सय पुर्‍याउने लक्ष्य राखिएको छ  ।  ‘हामी अहिले यसैको गृहकार्यमा छौँ, कहाँ–कहाँ सञ्चालन गर्ने भनेर छलफल भइरहेको छ,’ आचार्यले भने ।  साल्ट ट्रेडिङले पनि चाडपर्वअघि देशका ३८ भन्दा बढी स्थानमा पसल सञ्चालन गर्ने जनाएको छ । सूचना अधिकारी कुमार राजभण्डारीले यस्तो पसल सञ्चालनका लागि मन्त्रालयसँग समन्वय गरिरहेको बताए।भदौ अन्तिम साता भने पनि आचार्यले पसल सञ्चालनको अन्तिम मिति भने नतोकिएको बताए । सामान ढुवानीका लागि टेन्डर प्रक्रिया चलिरहेको र ढुवानीकर्तासँग सम्झौता भएपछि मात्रै पसल सञ्चालनको औपचारिक घोषणा गरिने उनको भनाइ छ । ‘ढुवानीको सम्झौता नभई सामान लैजान अप्ठ्यारो हुन्छ, सम्झौतापछि हामी मिति घोषणा गर्छौँ,’ उनले भने ।  यसैगरी साल्ट ट्रेडिङले पनि चाडपर्वअघि देशका ३८ भन्दा बढी स्थानमा पसल सञ्चालन गर्ने जनाएको छ । सूचना अधिकारी कुमार राजभण्डारीले यस्तो पसल सञ्चालनका लागि मन्त्रालयसँग समन्वय गरिरहेको बताए । ‘तीन चार पटक छलफल पनि भएको छ,’ उनले भने, ‘तर कहिलेदेखि सञ्चालन गर्ने भन्नेबारे अहिले टुङ्गो भने लागिसकेको छैन ।’साल्ट ट्रेडिङले अघिल्लो वर्ष ३८ स्थानमा यस्तो पसल सञ्चालन गरेको थियो ।  यी पसलहरूबाट सबै प्रकारका चामल, चिनी, चिउरा, दाल तथा गेडागुडी, तेल घ्यू, कर्णालीको रैथाने उत्पादन जुम्ली मार्सी, कागुनो, चिनो, तिते फापर, उवा र नुन लगायतका वस्तु विशेष छुटमा बिक्री गरिँदै आएको छ । यस्तै खाद्य कम्पनी थापाथली बिक्री केन्द्रबाट खसी, बोका, भेडा र च्याङ्ग्रासमेत बिक्री गरिन्छ । खाद्यले गत वर्ष खाद्यान्नमा ५ देखि १० रुपैयाँसम्म र जिउँदो खसीबोकामा प्रतिकिलो २० रुपैयाँसम्म छुट दिएको थियो ।  बजार अनुगमन ‘क्यालेन्डर’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वलक्षित बजार अनुगमनलाई तीव्रता दिने भएको छ । तीज पर्व सकिएलगत्तै चाडपर्व विशेष ‘अनुगमन क्यालेन्डर’ नै जारी गरेर बजारमा उपस्थिति बढाउने विभागको तयारी छ । विभागले अहिले डिलर र खुद्रा बिक्रेता तहमै अधिकतम खुद्रा मूल्य (एमआरपी) मा कडाइ गर्न अनुगमन गर्न टोली खटाइएको बताएको छ । महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार दाल, चामल, तेल, तरकारी र मासुजन्य अत्यावश्यक वस्तुमा अनुगमन केन्द्रित हुनेछ । हाल विभागका पाँच वटा टोलीले नियमित बजार अनुगमन गरिरहेको र वस्तुगत संघहरूसँग पनि नियमित सम्पर्कमा रहेकाले यसपटक अनुगमन चाडपर्वमा टोलीको संख्यामा ठुलो वृद्धि भने नगरिने दाहालले बताए ।  ‘हाम्रो निरन्तरको उपस्थितिले बजार धेरै हदसम्म स्थिर छ, विगतमा जस्तो मूल्यवृद्धिको गुनासो अहिले आएको छैन,’ उनले भने ।   विभागले अहिले डिलर र खुद्रा बिक्रेता तहमै अधिकतम खुद्रा मूल्य  (एमआरपी)मा कडाइ गर्न अनुगमन गर्न टोली खटाइएको बताएको छ ।

भोलि र पर्सी कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

काठमाडौं । भोलि र पर्सि देशका धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनीदेखि सुदूरपश्चिमका भूभागमा भारीदेखि र धेरै भारी वर्षाको समेत सम्भावना छ । महाशाखाका मौसमविद सरोज पुडासैनीले भारतको छत्तीसगढ आसपास बनेको न्यूनचापीय प्रणालीको असरले विहीबार र शुक्रबार (भोलि र पर्सि) लुम्बिनी र सुदूरपश्चिममा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताए । ‘विहीबार र शुक्रबार पूर्वमा भन्दा पश्चिम केन्द्रित भएर भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ,’ मौसमविद पुडासैनीले भने । यो वर्षाले बाढी, पहिरो र डुबानको समस्या निम्त्याउने सम्भावना छ । त्यसबाट दैनिक जनजीवनसँगै हवाई, सडक यातायात र पर्यटन क्षेत्र पनि प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउनुपर्ने मौसमविद पुडासैनीले बताए । भारीदेखि धेरै भारी वर्षाले निम्त्याउनसक्ने जोखिमबारे जानकारी दिन महाशाखाले आज विशेष बुलेटिन जारी गर्ने तयारीसमेत गरेको छ । हाल देशभर नै मनसुनी वायुको प्रभाव छ । न्यूनचापीय प्रणाली भने सरदर स्थानको दक्षिणतिर छ । भोलिदेखि न्यूनचापीय प्रणाली सरदर स्थानतिर सर्ने सम्भावना छ । केही दिनयता पश्चिम भूभागमा पानी पार्ने प्रणाली केन्द्रित भएको छ । यद्यपि पूर्वी भूभागमा पनि पानी पर्ने सम्भावना छ । विहीबारको दिन सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विहीबार दिउँसोका लागि पनि सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागका अनुसार आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मनऋषि धितालका जनयुद्धकालिन आधा दर्जन पुस्तक सार्वजनिक

काठमाडौं । पत्रकार मनऋषि धितालका आधा दर्जन जनयुद्धकालिन पुस्तकहरु एकसाथ सार्वजनिक गरिएको छ । राजधानीको प्रज्ञा भवनमा एक कार्यक्रमको आयोजना गरी धितालले लेख्नुभएका जनयुद्धकालिन डायरीहरुको संगालोहरु समेटिएका आधा दर्जन पुस्तकहरु एकैसाथ सार्वजनिक गरिएको हो । जनयुद्ध दिवशको अवसर पारेर गरिएको सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धलाई नजिकबाट बुझ्नका लागि पुस्तक निकै प्रभावकारी रहेको बताए । उनले नेपाली जनयुद्धले गाउँ गाउँ र वस्ती वस्तीलाई सचेत बनाउने मात्रै नभई देशको परिवर्तनको नेतृत्व गरेको भन्दै त्यसभित्रको वास्तविक कथा पुस्तकमा रहेको बताए । प्रधानमन्त्री माओवादी अध्यक्ष प्रचण्डले भने ‘मनऋषिजीले यी पुस्तकमा जे लेख्नुभएको छ, त्यो नेपाली क्रान्तिको एउटा जीवन्त इतिहास बनेर युगौंगुग सम्म रहनेछ । यस अर्थमा म उहाँलाई बधाइ भन्न चाहान्छु ।’ अहिलेको परिवर्तनका लागि नेपालका हजारौं सर्वोत्तम छोराछोरीको योगदान रहेको कहिल्यै कसैले भुल्न नहुनेमा जोड दिदै प्रचण्डले त्यसको धरातल कस्तो थियो र क्रान्ति कसरी अगाडि बढेको थियो भन्ने कुरा पुस्तकहरुमा समेटिएको बताए । केही व्यक्ति र संस्थाबाट अझै पनि परिवर्तनको मुख्य जग नेपाली जनयुद्धलाई स्विकार नगर्ने प्रबृत्ति कायम रहेको भन्दै उनले चाहेर वा नचाहेर पनि संघीयता, गणतन्त्र र नयाँ संविधानको जगलाई सबैले स्विकार गर्नुपर्ने बताए । नेपाली क्रान्तिको बाटो विश्वमा नै पृथक रहेको भन्दै उनले आर्थिक सम्बृद्धि मार्फत अब यसलाई पुरा गर्ने प्रक्रियामा रहेको बताए । त्यसका लागि सरकारले सबै खालको तयारी गरिरहेको भन्दै उनले सरकारका राम्रा कामको समर्थन गर्न आग्रह गरे । कार्यक्रममा पुस्तकका लेखक मनऋषि धितालले जनयुद्धका क्रममा आफुले डायरी लेख्ने गरेको र अहिले त्यही डायरीलाई पुस्तकको रुपमा प्रकाशन गरेको बताए । धितालका गुफा प्रेसका चिठी, जेलयात्रा, बेनीयात्रा, आधारयात्रा, राजमार्गयात्रा, पिलीयात्रा र गण्डकयात्रा पुस्तक सार्वजनिक गरिएको हो ।