मतपरिणाम आउनेक्रम अन्तिम चरणमा ,यसरी हुँदैछ नयाँ सरकार गठन र संसद सञ्चालन
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । निर्वाचन परिणामसँगै नयाँ सरकार गठन र संसद् सञ्चालनको चर्चा सुरु भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एक सय ६५ मध्ये एक सय ६१ स्थानको नतिजा आइसकेको छ । प्राप्त मतपरिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले ५४ स्थानमा जित हासिल गरी एक स्थानमा अग्रता कायम गरेको छ । यस्तै नेकपा (एमाले) ले ४४, नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकीकृत समाजावदी)ले १०, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात÷सात स्थानमा जित हासिल गरेका छन् ।
निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल चार, नगारिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक÷एक स्थान तथा स्वतन्त्र पाँच जनाले प्रत्यक्षतर्फ जित हासिल गरेका छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिकतर्फ बुधबार दिउँसोसम्म एक करोड ४२ हजार पाँच सय १४ सदर मतमध्ये एमालेले २७ लाख नौ सय चार, कांग्रेसले २५ लाख ५९ हजार ४२, माओवादी केन्द्रले ११ लाख ४५ हजार तीन सय ९१, राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार छ सय ४७, राप्रपाले पाँच लाख ७१ हजार एक सय ६९, जसपाले तीन लाख ९६ हजार आठ सय ३९, जनमत पार्टीले तीन लाख ६० हजार छ सय ६९ र एकीकृत समाजवादीले दुई लाख ८२ हजार आठ सय ८९ मत प्राप्त गरेका छन् ।
सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा एक सय ६५ सांसद प्रत्यक्ष र एक सय १० सांसद् समानुपातिक प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा दुई सय ७५ सदस्यीय हुनेछ भने सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा ५९ सदस्यीय हुने संविधानमा उल्लेख छ । निर्वाचन आयोगले यसअघि यही मङ्सिर २२ गतेसम्म निर्वाचनको अन्तिम मतपरिणाम आइसक्ने र त्यसको सम्पूर्ण विवरण राष्ट्रपतिलाई बुझाउने समय निर्धारण गरेको थियो । बाजुरा, स्याङ्जा र दोलखामा निर्वाचन एवं मतगणनामा भएको ढिलाइले अन्तिम मतपरिणाम निर्धारित समयमै आउनेमा आशङ्का छ ।
निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुग्दै गर्दा दलहरुले नयाँ सरकार गठनका लागि प्रयास थालेका छन् भने सङ्घीय संसद् सचिवालयले पनि नयाँ संसद् सञ्चालनका लागि आवश्यक तयारी थालेको छ । यसैबीच, प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेट गरी पाँचदलीय सत्ता गठबन्धनकै नयाँ सरकार बनाउने सम्बन्धमा आपसी छलफल सुरु गरेका छन्।
के छ नयाँ सरकार गठनको संवैधानिक व्यवस्था
नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने प्रावधान छ ।प्रतिनिधिसभाका प्रत्यक्ष एक सय ६५ र समानुपातिक एक सय १० सिटको हालसम्मको मतपरिणाम हेर्दा कुनै पनि दलको बहुमत नआउने स्पष्ट छ । प्रतिनिधिसभाको कूल दुई सय ७५ सिटमध्ये बहुमत पु¥याउन एक सय ३८ सिट ल्याउनुपर्छ ।
सोही धाराको उपधारा (२) मा कुनै पनि दलको स्पष्ट बहुमत नरहेका अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभाका सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ ।
त्यस्तै उपधारा (३) मा प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्ति हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । उपधारा (४) मा उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले त्यसरी नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ । उपधारा (५)मा उपधारा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । उपधारा (६)मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।
त्यस्तै उपाधारा (७)मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने संविधानको व्यवस्था छ । उपधारा (८)मा संविधानबमोजिम भएको प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने प्रावधान छ ।
नयाँ संसद् सञ्चालनको तयारी संविधानको ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ । निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त हुने समय नजिकिएसँगै सङ्घीय संसद् सचिवालयले संसद् बैठक सञ्चालनका लागि आवश्यक तयारी प्रारम्भ गरेको छ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम आएसँगै दलहरुले नयाँ सरकार गठनको पहल गर्ने र नयाँ सरकार गठनपछि उक्त सरकारले संसद् बैठकको अधिवेशन आह्वान गर्नेछ । संसद् बैठक बस्नु अगावै प्रतिनिधिसभाका नवनिर्वाचित सांसदमध्ये ज्येष्ठ सांसदले राष्ट्रपतिबाट शपथ लिनुहुने संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले राससलाई जानकारी दिनुभयो । ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराएपछि संसद् बैठक प्रारम्भ हुनेछ । निर्वाचनपछिको पहिलो संसद् बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुहुनेछ । संविधानको धारा ९५ को उपधारा (२)मा राष्ट्रिपतिले प्रतिनिधिसभाको निर्वाचन पछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने उल्लेख छ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्नेछ ।
सभामुख र उपसभामुखमध्ये एकजना महिला हुने गरी निर्वाचन गर्नुपर्ने तथा सभामुख र उपसभामुख फरक दलबाट प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमै संसद् बैठक यसअघि सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद्को नयाँ भवनमा नयाँ संसद् बैठक बस्ने भनिए पनि निर्धारित समयमै निर्माण सम्पन्न नहुँदा अबको संसद् बैठक हालको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नै बस्नेछ । उक्त नयाँ भवन सम्पन्न हुन अझै केही वर्ष लाग्ने देखिएको छ ।
प्रतिनिधिसभाको यस निर्वाचनबाट दलहरु र स्वतन्त्र सांसदको सङ्ख्या बढ्ने देखिएपछि त्यसको व्यवस्थापनको तयारीमा सचिवालय जुटेको छ । थपिने दलहरु र सांसदका लागि सिंहदरबार परिसरमै संसदीय दलको कार्यालय, नेता र सचेतकको कार्यकक्ष र बैठककक्ष, सवारी साधन र कर्मचारीलगायत आवश्यक व्यवस्थापनको तयारी थालिसकिएको सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । उनले भने, “निर्वाचनबाट आउने दल र सांसदका लागि संसदीय दलको कार्यालयलगायत व्यवस्थापन गर्नुपर्ने भयो, सिंहदरबारभित्र उपयुक्त स्थानमा कार्यालय उपलब्ध गराउने गरी तयारी थालेका छौँ ।” २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पाँचवटा राष्ट्रिय दल बनेका थिए भने एमालेबाट विभाजन भएको एकीकृत समाजवादीलाई पनि सचिवालयले दलको कार्यालय उपलब्ध गराएको थियो ।
यसबाहेक दुई वा दुईभन्दा बढी सांसद भएका दललाई सचिवालयले संसदीय दलको कार्यालय, नेता र सचेतकको कार्यकक्ष, बैठक कक्ष उपलब्ध गराउनुपर्नेछ । यस निर्वाचनबाट प्रतिनिधिसभामा १२ दलको प्रतिनिधित्व भएको छ भने पाँच स्वतन्त्र सांसद निर्वाचित भएका छन् ।
उपनिर्वाचन : भोलिबाट मौन अवधि
काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।
रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।
आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।
राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।