मेयर्स कप खेल्ने १० विद्यालयलाई एक्सपर्टले दियो साढे ८ लाखको खेल सामाग्री

मेयर्स कप खेल्ने १० विद्यालयलाई एक्सपर्टले दियो साढे ८ लाखको खेल सामाग्री

भरतपुर, २४ माघ । भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताका सहभागी सामुदायिक विद्यालयलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले क्रिकेट खेल सामाग्री हस्तान्तरण गरेको छ ।
विद्यालयस्तर बाटै खेलकुद विकास गर्ने उद्देश्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा यही माघ २६ गतेदेखि हुन लागेको प्रतियोगितामा सहभागी भरतपुर महानगरपालिकाभित्रका १० सामुदायिक विद्यालयलाई बुधबार खेल सामग्री दिइएको हो । भरतपुर महानगरपालिका सभाहलमा आयोजित कार्यक्रममा मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियालगायतले सहभागी विद्यालयलाई खेल सामग्री हस्तान्तरण गरे ।
उक्त अवसरमा मेयर्स कप क्रिकेट विजेताले प्राप्त गर्ने रनिङ ट्रफीसमेत अनावरण गरिएको छ । २० टिम सहभागी प्रतियोगिता जित्नेले रनिङ ट्रफी पाउने छ ।
एक्सपर्टले कुल ८ लाख ६० हजार रुपैयाँ मूल्य बराबरका खेल सामग्री र गेम जर्सी प्रायोजन गरेको छ । त्यसमध्ये खेल सामग्री १० वटा सामुदायिक विद्यालयले प्राप्त गरेका छन् भने राउण्ड रोबिन लिग खेल्ने १० टिमले फागुन ४ गते जर्सी पाउने छन् ।
‘ग्रासरुट क्रिकेट’ विकास गर्ने अभियानका साथ चितवन जिल्ला क्रिकेट संघको सहआयोजना तथा एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनको मुख्य प्रायोजनमा भरतपुर महानगरपालिकाले यो प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता टि–२० फम्र्याटमा खेलाइने छ ।
खेल सामग्री हस्तान्तरण गरेपछि मेयर दाहालले एक्सपर्टको सहयोग ग्रासरुट खेल विकासमा ऐतिहासिक र प्रेरणादायी भएको बताइन् । यो सहयोगले चितवनमा क्रिकेट खेल विकास र रंगशाला निर्माणमा थप ऊर्जा थपिएको बताइन् । निर्माणाधीन गौतम बुद्ध रंगशालाको बाँकी काम छिट्टै नै सुरु हुने बताउँदै उनले अन्तर्राष्ट्रियस्तरको खेलमा सहभागी हुने खेलाडी चितवनबाट उत्पादन गर्न यस्ता सहकार्यले योगदान दिने बताइन् ।
रंगशाला निर्माण सकी २०२७ मा हुने यु–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता त्यहीँ आयोजना गर्ने प्रयासमा महानगरपालिका रहेको उनले बताइन् । विगतमा भारत–पाकिस्तान क्रिकेट प्रतियोगिता चितवनको रंगशालामा गर्ने भनेकोमा धेरैले खिसिटिउरी गरेको भन्दै उनले अब छिट्टै रंगशाला बनेपछि त्यो सपना पनि पूरा हुने बताइन् ।
आफूले पहिलो कार्यकालदेखि नै खेल विकासलाई प्राथमिकतामा राखेको बताउँदै उनले दोस्रो कार्यकालमा पनि त्यसलाई निरन्तरता दिएको बताइन् ।
एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले खेल विकासमा एक्सपर्ट लामो समयदेखि लागिरहेको बताउँदै महानगरसँगको सहकार्यमा विद्यालयस्तरमै सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
उपमेयर चित्रसेन अधिकारीले खेल विकासमा सरकारी र निजी क्षेत्रको सहकार्य जरुरी रहेको बताए । रंगशाला निर्माणसँगै खेलाडी उत्पादनलाई पनि विशेष प्राथमिकता दिएर महानगर अघि बढेको बताए । नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले विद्यालयस्तरबाट खेल विकास गर्न सकिए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खेल विकास सम्भव हुने बताए ।
चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले ग्रासरुट खेल विकासमा यो प्रतियोगिता कोशेढुंगा सावित हुने बताए ।
यस प्रतियोगितामा भरतपुर महानगरपालिकाभित्रका १० सामुदायिक र १० संस्थागत माध्यमिक विद्यालय गरी कुल २० टिमले सहभागिता जनाउने छन् । तिनीहरूलाई दुईवटा समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने छ । यो चरणमा कुल १० खेल हुने छन् । नकआउट चरणबाट ५ सामुदायिक र ५ संस्थागत विद्यालय दोस्रो चरणमा प्रवेश गर्ने छन् ।
फागुन ४ गतेदेखि दोस्रो चरण सुरु हुने छ । जसमा नकआउट पार गरेका १० टिमलाई गोलाप्रथाद्वारा दुई समूहमा विभाजन गराइने छ । ५–५ टोली रहने दुई समूहहरूलाई अन्तरसमूह राउण्ड रोबिन विधिमा लिग खेलाइने छ । समूहका उत्कृष्ट २–२ टोली सेमिफाइनल प्रवेश गर्ने छन् । प्रतियोगितामा कुल ३५ खेल खेलाइने छ ।
‘भरतपुर मेयर्स कप रनिङ ट्रफी’का साथमा मुख्य प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले विजेता र उपविजेतालाई क्रमशः ६० हजार र ३० हजार रुपैयाँ मूल्य बराबरका खेल सामग्री प्रदान गर्ने छ ।

जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्‍यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्‍यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।

नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल

काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।

नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ ।    सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।  

फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र  सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो ।  खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।