रिडीवगरको वालुवामा तरकारी खेती सुरु

रिडीवगरको वालुवामा तरकारी खेती सुरु

गुल्मी । अधिकांश विदेशबाट फर्किएका युवाहरुले गुल्मीको रिडीखोला बगरको वालुवामा तरकारी खेती सुरु गरेका छन् । यसवर्षको माघेसंक्रान्ति मेलाको स्टल बनाउँदा प्रयोग भएका बाँस र जस्तापाता सदुपयोग गर्ने सोच निकाल्ने क्रममा गाउँपालिका वडा नम्वर १, रिडी वजारका १४ जना युवा र केही पाका व्यक्तिहरु समेत मिलेर ८ रोपनीभन्दा बढी क्षेत्रफल वगरलाई कम्पाउण्डिङ्ग गरेर तिते करेला रोप्न सुरु गरेका हुन् । बाँस र जस्तापाता वाहेक १४ जनाले जनही ५ हजारका दरले रकम संकलन गरी विरुवा लगाउने डोबहरु खन्ने आधुनिक मेशिन मगाएर आफैले तिते करेला रोप्ने कार्य सम्पन्न गरी सकेका छन् ।

साढे तिन महिनामा ८ मेट्रिक टन तिते करेला उत्पादन गरेर बजारमा पुर्याउने लक्ष्य लिएको करेला रोप्नमा भ्याई नभ्याई युवाहरु बताउँ छन् । मलेशियाको रोजगारमा छँदाको संघर्ष र अनुभवबाट गाउँ फर्केर तरकारी खेती सुरु गरेका रिडीका प्रेम भण्डारी, कोरियाको रोजगारी गरेर फर्केका रविलाल पन्थ , रिडीमा मोवाईल पसल सञ्चालन गरेपनि कृषि र प्रविधिको क्षेत्रमा दखल राख्ने उजिर खान र युवाहरुको कृषि अभियानलाई पछ्याई रहेको बताउने रिडीका पाका व्यक्ति यमनारायण भट्टराई लगायतका १४ जनाले वालुवामा तरकारी खेती गरेर देशैभर सन्देश दिने बताउँ छन् ।

बाहिर बगर भएपनि तल डोव खन्दै जाँदा उर्वर माटो भएकोले परिक्षणको रुपमा तरकारी खेती सुरु गरिएको र जोखिम मोलेरै भएपनि वालुवामा कृषि उत्पादनको सन्देश दिन त्यसरी खेती गर्न सुरु गरिएको उजिर खान बताउँ छन् । उनले आफुहरुको यो अभियानलाई रुरु गाउँपालिकाले पनि सहयोग गर्न अपिल गरेका छन् । कुल क्षेत्रफलमा ४ सय २४ बोट करेला रोपेका उनिहरुले एउटै वोटबाट १५ देखि २० किलो सम्म करेला उत्पादन गर्ने लक्ष्य लिएका छन् ।

करिव ८ टन करेला उत्पादन गरेर साढे तीन महिनापछि करिव ५ लाखसम्म आम्दानी लिने सोच राखेका छौं, खानले भने हामी त्यसमा सफल भयौं भने आगमी दिनमा अरु क्षेत्रफलमा वृहत तरकारी खेती सुरु गर्ने छौं ।

२०७२ सालको रिडी माघे संक्रान्ति मेला तथा कृषि प्रदर्शनीमा एउटै वोटमा २ सय २७ दाना गोलभेडा फलाएर उत्कृष्ट युवा कृषकका रुपमा पुरस्कृत भएका प्रेम भण्डारीले मलेशियाबाट फर्केपछि गाउँमै केही गरौं भन्ने सोच राखेर व्यवसायिक कृषि खेत गर्दै आएको बताए । उनले आधुनिक मेशिनबाट डोव खन्ने कार्यको जिम्मा लिएका छन् । अन्य मध्ये कसैले डोवहरुमा मल राख्ने कसैले विउ रोप्ने त कसैले सिंचाई गर्ने गरेका छन् ।

पम्पमार्फत खोलाको पानी तीन सय मिटरभन्दा लामो एउटै पाईपद्वारा थोपा सिंचाई उनीहरुले गरेका छन् । उनीहरुको पौरखीपन देख्दा त्यहाँ पुग्ने जो कोहीलाई आफुले पनि कृषि क्षेत्रमै केही गरौं भन्ने उत्प्रेरणा जाग्छ । कोरियाबाट फर्केर गत ३ वर्षदेखि रिडी बजारमा दुग्ध व्यवसाय सुरु गरेका रविलाल पन्थले आर्थिक रुपमा जोखिम मोलेरै भए पनि बालुवामा नमुना तरकारी खेतीको सन्देश दिन लागिएको बताउँछन् ।

विदेशबाट फर्केपछि गत केही वर्षयता ‘नजाउ अब खाडीमा, खुशीसँगै पैसा खोजौं हाम्रै पाखा हाम्रै वारीमा’ भन्ने नारासहित पशुपालन र दुग्ध व्यवसायी गरिरहेका पन्थले बालुवामा तरकारी उत्पादनको आफुहरुको लक्ष्य सफल भए अन्य जमिनहरु खेजेर बृहत तरकारी खेती गर्ने बताउँछन् । रिडीकै पाका व्यक्ति यमनारायण भट्टराई कृषि उत्पादनमा युवाहरुको अभियानबाट आफु उत्साही भएर उनिहरुलाई पच्छाइरहेको बताउँ छन् ।

उनी पनि युवाहरुले भन्दा अझ जोसका साथ तरकारी फर्ममा काम गरिरहेका छन् । असिना–पसिना भएको भट्टराई भन्छन्– ‘सुरुमा मुनाफा लिनेभन्दा पनि बालुवामा तरकारी खेत गर्न सकिन्छ कि सकिदैन भन्ने परिक्षण हो र अन्य स्थानका युवाहरुलाई एउटा सन्देश दिन थालिएको हो, सफल हुने कुरामा म आशावादी छु । रिडीका सञ्चारकर्मी सुन्दर कशाजुले उनीहरुको उक्त कार्यलाई निकै प्रोत्साहित गरी रहेका छन् ।

उनी पनि भन्छन्– ‘यो एउटा नमुना र देशैभर सन्देश दिने कार्य हो, साँढे तीन महिनापछि यो मरुभुमि जस्तो सुख्खा वगरमा हराभरा तरकारी फलाएको दृश्य लिन ठुलाठुला राष्ट्रिय सञ्चार माध्यमलाई समेत लोभ लाग्ने छ र धेरै सञ्चारकर्मी यहाँ आउने छन भन्ने मैले अपेक्षा लिएको छु । ’

चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू संक्रमण

चितवन । चितवनको राप्ती नगरपालिकाको एउटा कृषि फर्ममा बर्डफ्लू संक्रमण देखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपंक्षी कृषि फर्मका कुखुरामा संक्रमण देखिएको हो । फर्ममा कुखुरा मर्न थालेपछि माघ २५ गते नमूना संकलन गरी परिक्षण गरिएकोमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो । फर्ममा दुई हजार कुखुरा छन् । फर्मको दुई किलोमिटर वरपर निगरानी राख्दै बेचबिखनमा रोक लगाइने छ । संकास्पद फर्महरूको नमूना संकलन गरी परीक्षणसमेत गरिने छ । बर्डफ्लू रोकथाम तथा नियन्त्रण समिति चितवनको शुक्रबार बसेको बैठकले बर्डफ्लू नियन्त्रण नियमावली २०७८ अनुसार नियन्त्रणको काम अघि बढाउने निर्णय गरेको छ ।

गरिमा धानको डीएनए परीक्षण, बीउ नक्कली

काठमाडौंः धेरै फल्ने उन्नत जातको गरिमा भन्दै किसानलाई बिक्री गरिएको धानको बीउ अर्कै जातको भएको पाइएको छ । असोज बित्दासमेत बाला नलागेपछि कृषि अनुसन्धान परिषद्ले(नार्क) गरेको डीएनए परीक्षणमा बीउ गरिमाको जातसँग नमिलेको हो । भारतको रेनोभा सिड्स साइन्स इन्डियाप प्रालिले उत्पादन गरेको बीउ साउथ इस्ट एसियन सिड कम्पनी प्रालीले ल्याएर नेपालमा बेचेको थियो । ‘पञ्जीकरण भएको गरिमा र अहिले बाला नलागेको धानको बीउको वंशाणुगत गुण र चरित्र मिलेन,’ नार्कका वैज्ञानिक सुशील सुवेदीले भने,‘गरिमा भनी किसानलाई अर्कै बीउ बेचेर ठगी गरेको देखियो ।’ यो समाचार कान्तिपुर दैनिकमा छापिएको छ ।

कञ्चनपुरमा युरियाको चर्को अभाव

कञ्चनपुर, साउन २१ । कञ्चनपुरका किसानलाई धानखेतीका लागि रासायनिक मल युरियाको चर्को अभाव भएको छ । अनुदानको मल नपाएपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको रासायिनक मल युरियाको प्रयोग गर्नुपरेको छ । व्यापारीले तोकेको चर्को मूल्यमा किसानले युरिया खरीद गर्दै आएका छन् । भारतबाट भित्र्याइएको मलसमेत थोरै मात्र किसानले पाएका छन् । “भारतबाट खरीद गरेर मल ल्याउँदा सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले ल्याउन दिँदैनन्”, स्थानीय किसान बाधुराम चौधरीले भने, “बजारमा युरिया मल छैन । पाइएको मल खरीद गरिनसक्नु मूल्यको छ ।” “धान रोपेको २० दिनभित्र युरिया छरिसक्नु पर्दछ”, अर्का किसान बैदार चौधरीले भन्नुभयो, “धान रोपेको महीना दिन बित्नै लागेको छ । अहिलेसम्म मल पाइएको छैन ।” भारतबाट भित्र्याइएको युरिया ४५ किलोको बोराको किसानले रु दुई हजार ३० तिर्नुपरेको छ । मल बिक्रेताले मनोमानीरुपमा मूल्य कायम गरी मल अभाव भएको फाइदा उठाउँदै चर्को मूल्यमा युरिया मल बिक्री गर्दै आएको किसानको गुनासो छ । अनुदानको रासानिक मलको बिक्री दररेट प्रतिक्विन्टल रु एक हजार ६६२ रहेको छ । अनुदानको मल बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीको शाखा भीमदत्तनगरले मागअनुरूपको मल आपूर्ति गर्न नसक्दा किसानले हैरानी खेप्नुपरेको हो । कृषि सामग्री कम्पनीले यस वर्ष ८१ मेट्रिकटन मात्रै रासानिक मल आपूर्ति गरेको थियो । सो मल असार महीनामै सकिएको छ । कम्पनीको दुई हजार ५०० मेट्रिकटन युरिया खरीद गर्ने लक्ष्य भए पनि थोरै मात्रै आपूर्ति हुँदा अभाव भएको कम्पनीका निमित्त कार्यालय प्रमुख बलबहादुर शाहले बताए । युरिया समयमै खरीद गर्न नसक्दा र ढुवानीको समस्याले आपूर्ति हुननकेको उनको भनाइ छ । “तत्काल युरिया आउने सम्भावना छैन”, उनले भने, “भर्खरै भारतको कोलकाता बन्दरगाहमा पुगेको भन्ने खबर छ । त्यहाँबाट यहाँसम्म आइपुग्न अझै एक महीना लाग्छ ।” रासस

नयाँ पुस्ताका आलुको बीउ उत्पादन

काभ्रेपलाञ्चोक, चैत ११ । पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताए । उनले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिए। आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दुईवटा ‘स्क्रिन हाउस’भित्र ल्याबमा टिस्यु कल्चर गरिएका बिरुवा रोपिएको छ । पाण्डेले भने, “रोपिएको बिरुवाबाट फलेको आलु पूर्व मूल बीउ बन्दछ, त्यसलाई पनि रोपेर फलाइएपछिको मूल बीउ हो ।” यो मौसममा रोपिएको तीन हजार ४४० बिरुवाबाट करीब २५ हजार दाना आलुको बीउ उत्पादन गर्ने लक्ष्य लिइएको केन्द्रप्रमुख पाण्डेले बताए । उनका अनुसार अहिले जनकदेव र कार्डिनल जातको आलुको बीउ उत्पादन भइरहेको छ । एउटा बिरुवामा सातदेखि १० दानासम्म फल्ने गर्दछ । यहाँ उत्पादन गरिएको आलुको नयाँ बीउ किसान तथा बीउ बिक्रेतालाई दिइनेछ । उत्पादित प्रिबेसिक नयाँ आलुको बीउ दानाको गन्तीमा बिक्री गरिने पाण्डेले बताए । केन्द्रले पाँच खाल उपत्यकामा विस्तारै आलुको बीउ परिवर्तन गर्दै जाने योजना बनाएको छ । रासस

लोकप्रिय