रुपान्तरण अभियान उद्घाटन गर्दै प्रचण्डले भने -‘माओवादी सवैभन्दा ठूलो पार्टी बन्नेछ'(पूर्णपाठ)

रुपान्तरण अभियान उद्घाटन गर्दै प्रचण्डले भने -‘माओवादी सवैभन्दा ठूलो पार्टी बन्नेछ'(पूर्णपाठ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र शान्तिको नेतृत्व गर्दै माओवादी केन्द्र सवैभन्दा ठूलो पार्टी बन्ने बताएका छन् । ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको आज केन्द्रीय कार्यालय पेरिसडाँडाबाट ६ हजार ७४३ वडामा भर्चुअल उद्घाटन गर्दैै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै विशेष अभियानबाट पार्टी एकताबद्ध भई पार्टी फेरि बलियो बन्ने दाबी गरे । यो अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने उनले विश्वाससमेत व्यक्त गरे ।

सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष पूर्वक गरिएको कामले सरकारको प्रशंसा भएको प्रचण्डको जिकिर थियो । ‘माओवादी एकताबद्ध भए फेरी बलियो शक्ति बन्छ । इतिहासमै पार्टी कठिन अवस्थामा उभिएकाले विशेष अभियानले विचार र संगठन निर्माणमा महत्त्वपूर्ण हुने विश्वास लिएको छ’, उनले भने, ‘नक्कली शरणार्थी, ललिता निवास प्रकरण, सुन काण्डमा सरकारले चालेको निष्पक्ष कारबाही गरिएकाले सबैतिर प्रशंसा भइरहेको छ ।’ अध्यक्ष प्रचण्डले भने, ‘मेरो बाँकी जीवन देश र जनताको पक्षमा समर्पित गर्नेछु ।

समाजवादी आन्दोलनको नेतृत्व लिएर अगाडि बढ्नेछु ।’ उनले माओवादी इतिहासकै चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै विशेष अभियानबाट पार्टी एकताबद्ध भई माओवादी फेरि बलियो बन्ने दाबी गरे । यो अभियानले संगठन निर्माण, विचारको विकास गर्नेमा अभियान महत्त्वपूर्ण हुने उनको भनाई छ । सरकारले नक्कली शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, सुन काण्डमा निष्पक्ष पूर्वक गरिएको कामले सरकारको प्रशंसा भएको प्रचण्डको जिकिर थियो । उनले परिवर्तनलाई उल्टो गतिमा लैजाने चेष्टा भइरहेको भन्दै त्यसकाविरुद्ध सिंगो पार्टी एकताबद्ध हुन आग्रह गरे ।

उनले परिवर्तनलाई उल्टो गतिमा लैजाने चेष्टा भइरहेको भन्दै त्यसकाविरुद्ध सिंगो पार्टी एकताबद्ध हुन आग्रह गरे । सरकारले गरेका राम्रो कमबाट अत्तालिएकाले भ्रम छर्ने काम गरिरहेको उनको भनाइ छ । ‘एकाथरि मानिस परिवर्तनलाई उल्टो गतिमा हिँडाउन खोज्दैछन् । सरकारले गरेको राम्रो कामबाट अत्तालिएर विभिन्न भ्रम छर्ने काम भइरहेको छ । त्यसका विरुद्ध एकताबद्ध हुन सबैलाई आग्रह गर्छु’, उनले भने ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बोधन

जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको शुभारम्भको यो ऐतिहासिक अवसरमा यहाँहरू सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु।
नेपाली जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको र प्रतिक्रियावादी तथा पुनरुत्थानवादी शक्तिहरुले पुनः शीर उठाउने जमर्को गरिरहेको चुनौतीपूर्ण समयमा हामी यो अभियानको सुरूआत गर्न गइरहेका छौं। गत महिना सम्पन्न हाम्रो पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले देशको राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, जनताको विकासको आकांक्षालाई ठोस रूपमा सम्बोधन गर्न संगठन निर्माण र जनपरिचालनका कार्यक्रमहरू बनाई अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। पार्टीको सोही निर्णयलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न आज भदौ १६ गते देशका ६ हजार ७ सय ४३ वडाहरूबाट एकैसाथ अभियानको उद्घाटन भइरहेको छ। सर्वप्रथम म यो अभियान सफलताको शुभकामना दिँदै अभियानले पार्टीभित्र नयाँ उर्जा सिर्जना गर्ने र जनतासँगको सम्बन्धलाई पुनः बलियोसँग स्थापित गराउने विश्वास व्यक्त गर्दछु।

आदरणीय जनसमुदाय,

परिवर्तनको नेतृत्व गरेको हाम्रो पार्टी यतिबेला इतिहासकै चुनौतीपूर्ण अवसरका बीच खडा छ। इतिहासले हामीमाथि ठूलो जिम्मेवारी सुम्पेको छ। हाम्रो पार्टीको नेतृत्वमा भएको जनयुद्ध र १२ बुँदे समझदारीका आधारमा भएको जनआन्दोलनका बलमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै समाजवादको आधार तयार पार्ने जिम्मेवारी इतिहासले हामीलाई सुम्पेको छ। परिवर्तनको रक्षा गर्दै संविधानमा उल्लेखित समाजवाद निर्माणको आधार खडा गर्ने, सुशासन, सामाजिक न्याय र सम्बृद्धिको राष्ट्रिय अभिभारा पूरा गर्ने जिम्मेवारी हाम्रै काँधमा छ। हो, इतिहासको यही अत्यन्तै गम्भीर, संक्रमणकालीन र संवेदनशील जिम्मेवारी पूरा गर्ने मोडमा हामी छौं।

जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको उद्घाटन गरिरहँदा मैले के देखेको छु भने सिंगो पार्टी एकढिक्का भएर अगाडि बढने हो भने हाम्रा अगाडि खडा भएका सबै चुनौती सामना गर्न सक्नेछौँ र पार्टीलाई देशकै बलियो र भरोसायोग्य पार्टीका रूपमा रूपान्तरण गर्न सक्नेछौं। समाजवादका आधार तयार पार्ने नयाँ चरणको आन्दोलनको नेतृत्व लिन पार्टीलाई सक्षम बनाउने अठोटका साथ यो अभियानले सफलता प्राप्त गर्ने मैले विश्वास लिएको छु।

आज हामी देशका सबै वडामा अभियानको नेतृत्व गर्दै भेला भएका छौँ। आजको दिन पार्टीको जीवनका लागि, देशको उज्ज्वल भविष्यका लागि र जनताका सपना पूरा गर्ने ऐतिहासिक दिनसमेत हुनेछ। जनसम्बन्धबाट पार्टी विमुख हुँदै जाने परिस्थितिसँगै सिर्जना भएको संकटलाई चिर्न समेत यो अभियानले नयाँ प्राणको काम गर्ने आशा हामीले लिएका छौँ। त्यसैले यो अभियानले एकातिर आजको युगको नेतृत्व गर्ने विचार निर्माणका लागि आधार तयार गर्नेछ भने अर्कोतर्फ त्यो नेतृत्वका लागि आवश्यक क्रान्तिकारी र सबल संगठनको निर्माण गर्नेछ। यसका साथै यो अभियानले जनतामाझ पुगेर आजको युगसापेक्ष अग्रगामी सभ्य राजनीतिक संस्कार र चिन्तनको समेत विकास गर्न मद्दत पुग्नेछ।

अहिले मेरो नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको छु। सरकारले इतिहासले नै सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अघि बढाएको छ। एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरूले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै आएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको छ।

राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास बढेर गएको छ। तर हामीले आफैले गरेका राम्रा काम पनि जनतासम्म पु¥याउन सकेका छैनौँ। यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीचको एकता सुदृढ गर्नेछ।

सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविन जस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत् भएका अपराधकर्मको पर्दाफास गरेको छ। मिटरब्याज पीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानहरूका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवम् स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीहरूका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्र जस्ता दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अब्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निशुल्क शैयाको व्यवस्थादेखि स्वास्थ्यक्षेत्रमा सुधार र सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रसंशा भइरहेको छ।

जनयुद्धका शहीद घोषणालाई राजपत्रमा प्रकाशन गर्नु र बाँकी रहेकाहरूलाई शहीद घोषणा, जनयुद्ध दिवसमा दिइएको सार्वजनिक विदा लगायतका निर्णयहरूले राजनीतिक आन्दोलन र परिवर्तनमा योगदान गर्नेहरूको सम्मान भएको छ। लघुवित्त पीडितहरूको आन्दोलनलाई सरकारले सम्बोधन गर्न पहल गरेको, इतिहासमा पहिलो पटक पाठ्यपुस्तक समयमै विद्यालयहरूमा पठाइएको, किसानहरूलाई रासायनिक मल समयमा उपलब्ध गराइएको, बिपन्न र असहायका निम्ति निशुल्क स्वास्थ्य सेवा प्रभावकारी तुल्याइएको, आर्थिक सुधार लगायतका कामहरूले सरकारको संकल्प र प्रतिवद्धता व्यवहारमा रूपान्तरण भएको छ।

वित्तीय तथा मौद्रिक नितीको सन्तुलनमार्फत् निजि क्षेत्रलाई समेत विश्वासमा लिई सरकारले चालेका सुधारात्मक कदमबाट अर्थतन्त्र विस्तारै लयमा फर्किन सुरु गरेको छ। उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी अर्थतन्त्रको पुनरुत्थान तथा उच्च, दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने र समष्टिगत आर्थिक स्थायित्व कायम गरी लगानीको वातावरणमा सुधार गर्न सरकार क्रियाशील छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको प्रतिवेदनअनुसार, अर्थतन्त्रका सूचकांकहरू सकारात्मक दिशातर्फ उन्मुख छन्। २०८० असार मसान्तसम्म शोधनान्तर स्थिति २९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको छ।

विदेशी विनिमय सरुञ्चिति गत वर्षको सोही अवधिको तुलनामा २६।६ प्रतिशतले वृद्धि भई १५३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको र यसले करिब १० महिनाको वस्तु तथा सेवाको आयात धान्रुन पुग्ने अवस्था रहेको छ। विप्रेषण आयमा २१।२ प्रतिशतले वृद्धि भई १२२० अर्ब ५६ करोड पुगेको छ। जग्गाको कित्ताकाट पूर्ण रुपमा खुलाउने निर्णय भएको छ। यही भाद्र ११ गते मात्रै नेपाल राष्ट्रबैंकले लचिलो वजार नीति अनुसार चालुपुँजी कर्जासम्वन्धी मार्गदर्शन संशोधन गरेको छ। यसबाट उद्योग, व्यवसाय क्षेत्रलाई प्रत्यक्ष लाभ हुनुका साथै आन्तरिक लगानी, उत्पादन वृद्वि र बजारमा आर्थिक गतिविधि बढ्नमा सहयोग पुग्ने विश्वास गरिएको छ।

यसैगरी सरकारले चालेका जनमुखी कदमहरूले जनतामा परिवर्तनप्रति असन्तोष बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने तथा प्रमुख राजनीतिक दल र नेताहरूलाई बदनाम गरी राष्ट्रलाई नै असफल बनाउने षडयन्त्रहरूलाई गतिलो जवाफ दिएर जनतामा आशा जगाएको छ। जनतामा “अब चाँहि केही हुन्छ” भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार भएको छ। यो आजको कामको परिणाम मात्र नभई नेपाली जनताको न्याय र मुक्तिको उद्देश्यमा आधारित महान जनयुद्ध र जनआन्दोलनको क्रममा खाएको मुक्ति या मृत्युको सपथ र नयाँ परिवेशमा हामीबाट गरिएको संकल्पको निरन्तरता हो।

“दृढ इच्छाशक्तिका साथ अभेद्य सङ्कल्प गरे के हुँदैन र” भन्ने मान्यता आज व्यवहारमा पुष्टि भएको छ। सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा वर्तमान सरकारले गरेका कामहरूले पार्टीको आन्तरिक जीवनमा देखिएका आशंका र अविश्वासहरू पनि मेटाउँदै एकतालाई सुदृढ गर्न सहयोग पु¥याएको छ। देशभरिका जनता र कमरेडहरूमा आशा र उत्साह बढेको छ। अभियानका क्रममा यी सबै विषयहरु जनतामाझ सम्प्रेषण गर्ने र जनताका आशा, अपेक्षा, आलोचना, सुझाव तथा प्रतिक्रियालाई ग्रहण गर्दै सुशासन र सामाजिक न्यायका पक्षमा सरकारले चालेको अभियानलाई अझै सशक्त बनाइनेछ।

कमरेडहरू,

यी उपलब्धीका बाबजुद परिवर्तनलाई नरूचाउने, इतिहासको रथलाई उल्टो दिशामा लैजान खोज्ने र सरकारको लोकप्रियताबाट अत्तालिएका तत्वहरूले सरकारविरूद्ध घेराबन्दी गर्ने, भ्रम छर्ने, यो वा त्यो रूपमा सरकारका कामको प्रशंसा र चर्चाबाट जनताको ध्यान विमुख गर्ने षड्यन्त्रहरू भइरहेका छन्। सरकारलाई काम गर्न नदिन बिभिन्न कोणबाट भइरहेका यी हर्कतहरू गलत त छन् नै, तर, यो घेराबन्दीले झनै जिम्मेवार ढंगले सबल, सक्षम भएर क्रान्तिकारी आन्दोलनमा अविचिलित रूपमा अघि बढ्नैपर्ने कार्यभार समेत हाम्रोसामु थपिदिएको छ। त्यसैले हाम्रो अस्तित्व हामीमा नै निर्भर छ भन्ने कुरा विर्सिनु हुँदैन। हामीले कस्तो विचार विकास गर्छौं, हामीले कस्तो संगठन निर्माण गर्छौं, हामीले जनताका मुद्दाहरूलाई के–कसरी र कुनस्तरमा उठान गर्छौ, हामीले आफ्ना कमजोरीप्रति कस्तो आत्मालोचना र आत्मसमीक्षा गर्छौ, हामीले हाम्रा राम्रा कामहरूको प्रचार के कसरी गर्न सक्छौं भन्ने जस्ता कुराले हाम्रो र सिङ्गो कम्युनिस्ट आन्दोलन एवम् समाजवादी क्रान्तिको आधार तयार पार्ने आन्दोलनको भविष्य निर्भर गर्दछ। वर्तमान सरकारले गरेका लोकप्रिय र जनमुखी कामहरूबारेमा आमपार्टी पंक्ति र जनतामाझ व्यवस्थित प्रचार प्रसार गर्न नसक्दा भ्रमपूर्ण प्रचार गर्नेहरूले ठाउँ पाएकाले सरकारबाट भएका कामहरूलाई एकीकृत माध्यमबाट जनताका बीचमा पुर्याउन सिङ्गो पार्टी एकजुट भएर लाग्न जरूरी छ। यी कामलाई जनतामाझ स्थापित गर्ने जिम्मेवारी र चुनौतीसमेत तपाई हाम्रासामु छ।

मैले केन्द्रीय समितिको बैठकमा समेत यो कुरामा विशेष जोड दिँदै तीन महिने अभियानका माध्यमबाट हाम्रो पार्टी आठौं महाधिवेशनको मूल स्पिरिटका आधारमा विचारको विकास, संगठन निर्माण र सांस्कृतिक रुपान्तरण गर्न सक्षम हुने विश्वास व्यक्त गरेको थिएँ। पार्टीको आठौं महाधिवेशनमा हामीले नयाँ परिस्थितिले निम्त्याइरहेको नयाँ संकटको सामना गर्न सर्वाधिक महत्वको कुरा वैचारिक–राजनीतिक स्पष्टता कायम गर्ने निष्कर्ष निकालेका थियौँ। आठौं महाधिवेशनको दस्तावेजमा सांस्कृतिक रूपान्तरणका लागि हाम्रो आजको अवस्था सुहाउँदो सांस्कृतिक क्रान्तिको प्रक्रिया अगाडि बढाउनुपर्ने प्रस्ताव गरिएको छ। यस दृष्टिबाट समाजवादको आधार तयार पार्नका लागि निश्चित योजनासहित सबै नेता र कार्यकर्ताहरू जनतासँग जोडिएर उत्पादन कार्यमा सहभागी हुनुका साथै सामूहिकरूपमा विचार, संस्कृति र समाजवाद निर्माणको विषयमा गम्भीर बहस छलफलको प्रक्रियाबाट अगाडि बढ्न जरूरी छ।

अभियानका क्रममा हामीले सबै जनताका घरमा पुग्ने योजना निर्माण गरेका छौँ। यसको अर्थ हामी लाखौं जनतासँम्म पुग्नेछौँ। जनताका कुरा सुन्नेछौँ। जनताको सुझाव र आलोचना ग्रहण गर्नेछौँ। हिजो अत्यन्तै भीषण संघर्षका कठिन क्षणमा हामीलाई जनसमुदायले विश्वास गरेर साथ दिएकै कारणले हाम्रो आन्दोलनले सफलता प्राप्त गरेको हो। आज जनतासँगको सम्बन्ध कमजोर भएको स्थिति छ। तर, विर्सनै नहुने कुरा के हो भने जनता परिवर्तनको पक्षमा छन्, जनता समृद्धि चाहन्छन् र जनता सुशासन चाहन्छन्। अनि यो सँगै हामीले जनतालाई विश्वास दिलाउनुपर्दछ – नेपाली समाजको परिवर्तन र रूपान्तरण केवल माओवादीले मात्रै गर्न सक्छ। माओवादीकै नेतृत्वमा मात्रै समृद्ध नेपाल सम्भव छ। तसर्थ कमरेडहरु, जनतासँग हामीले भन्न सक्नुपर्दछः हाम्रा गल्ती कमजोरीका लागि हामी आत्मालोचित हुन चाहन्छौँ, हामी सुध्रिन चाहन्छौँ, त्यसका लागि अभियानसहित तपाईहरूको घरदैलोमा छौँ। कमरेड लेनिनले भन्नुभएको छ, ‘‘यदि तपाई इमान्दार हुनुहुन्छ भने आलोचनाबाट डराउनु हुन्न, बरु जहाँ–जहाँ जनता छन्, त्यहाँ गएर काम गर्नुपर्दछ। र आफूलाई रूपान्तरण गर्नुपर्छ। इमान्दार मानिसले मात्रै साँचो अर्थमा वास्तविक आत्मालोचना गर्न सक्छ।

आदरणीय जनसमुदाय एवं कमरेडहरू,

हामीले अभियानका क्रममा स्थानीय सन्दर्भमा समेत सुशासन, सार्वजनिक सेवा प्रवाहमा सहज पहुँच र सामाजिक न्यायसहितको विकासका लागि जोड दिन जरूरी छ। अहिले स्थानीय तहहरू केही श्रोत र साधनबाट सम्पन्न छन्। प्रदेशहरूमा आफ्नै सरकार निर्माण भएका छन्। हाम्रै संघर्षको फलस्वरूप केन्द्रीकृत राज्यसत्ता विकेन्द्रीत भई संघीयता कार्यान्वयनको तहमा गएको छ। तर स्थानीय तह र प्रदेशहरूले जनताको अपेक्षाअनुरूप जनताका मुद्दाहरूको सम्बोधन गर्न सकेनन्, सुशासन कायम गर्न सकेनन्, विकास निर्माणका कामहरु अघि बढाउन सकेनन् र सामाजिक न्याय कायम गर्न सकेनन् भने यसको बहानामा संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रहार गर्ने तत्वहरूले टाउको उठाउने मौका पाउनेछन्। त्यसैले अभियानकै क्रममा स्थानीय तहमा समेत जनतासँग जोडिएका सुशासन, सामाजिक न्याय र विकासका कामहरूमा पार्टीले विशेष चासो दिन जरूरी छ।

मैले बारम्बार भन्दै आएको छु– अबको हाम्रो लडाईं स्थायित्वका निम्ति, समृद्धिका निम्ति, विकासका निम्ति हो। किनकि सर्वत्र हामीले विरासतमा राम्रो चीज प्राप्त गरेका छैनौं, यहाँ बेथितिको डङ्गुर छ। कुशासनका चाङ छन्, ठूला ठूला सेटिङहरू छन्। यी बेथितिहरूलाई सच्याउने, सेटिङहरू भत्काउने र देशलाई साँच्चै नै सुसंस्कृत, सभ्य र समृद्ध बनाउने लडाईंमा हामी छौँ। सरकारको नेतृत्वको नाताले मैले यो चुनौतीलाई स्वीकार गरेको छु। अब यसलाई गन्तव्यमा पु¥याउन सोहीअनुरूपको बलियो र क्रान्तिकारी पार्टी निर्माणको आवश्यकता रहेको मैले केन्द्रीय समिति बैठकमा समेत उल्लेख गरेको थिएँ। त्यसैले यो तीन महिने अभियानले सरकारले अघि बढाएको पहलकदमी र पार्टीले अघि सारेको अभियानलाई लक्ष्यमा पु¥याउन ठोस भूमिका खेल्नेछ। यहाँहरू यही स्पिरिट र क्रान्तिकारी भावनाले जनतामाझ जानुहुनेछ, बलियो क्रान्तिकारी र सबैको भरोसाको माओवादी पार्टी निर्माण गर्न सक्षम हुनुहुनेछ भन्ने विश्वास लिएको छु।

कमरेडहरू,

अहिले अभियानका क्रममा हाम्रो सक्रियता र जनतामाझ हामी पुग्ने अवस्थाले राजनीतिक प्रणालीप्रति जनताको गुम्दै गएको विश्वासलाई समेत फर्काउने र रूपान्तरणका लागि उर्जा प्राप्त गर्ने अवस्था सिर्जना हुनेछ। कमरेड लेनिनले भनेझैँ अत्यन्त उन्नत सिद्धान्तको आधारमा चल्ने पार्टीले मात्रै जनताको नेतृत्व गर्न सक्छ। अहिले नेपाली समाजको नयाँ चरणको क्रान्ति अर्थात समाजवादी क्रान्तिको नेतृत्व गर्न हाम्रो पार्टी यही अग्रदस्ता बन्नुपर्ने अनिवार्यता रहेकोमा पुनः जोड दिन चाहन्छु।

नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको छ। पहिलो संगठित राजनीतिक आन्दोलन २००७ साल वरिपरि सम्पन्न भयो। यसले राणाशासन समाप्त ग¥यो। दोस्रो महत्वपूर्ण आन्दोलन २०४६ सालको हो, जसले निरङ्कुश पञ्चायती व्यवस्था समाप्त गर्यो। तेस्रो १० वर्षे माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलनको अवधि थियो। जसको बलमा राजतन्त्रको अन्त्य भयो र गणतन्त्रको स्थापना भयो।

अब नयाँ अर्थात् समाजवादको आधार निर्माणको चरणमा नेतृत्व गर्ने नयाँ राजनीतिक शक्ति आजको आवश्यकता हो। हाम्रै पार्टीले नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनको समग्र पुनर्गठन र एकीकरणको नेतृत्व गर्नुपर्छ। यसका लागि कम्युनिस्ट आन्दोलनलाई युग, समय, चेतना र नयाँ पुस्ताको सपनाहरूसँग एकाकार गर्न सक्नुपर्दछ। साधारण नेतृत्वले पार्टी बनाउँछ। साधारण नेतृत्वले सरकार बनाउँछ। साधारण नेतृत्वले चुनावको पनि नेतृत्व गर्छ। तर, विशेष नेतृत्वले मात्रै आन्दोलन बनाउँछ, इतिहास बनाउँछ र बनाउँछ नयाँ युग। त्यसका लागि हामीले आफ्नै पुनर्गठन, सबलीकरण र रचनात्मक रूपान्तरण गर्नुपर्दछ। अनि मात्र यो पार्टीले नयाँ वैचारिक र राजनीतिक संश्लेषणको आधारमा समग्र वामपन्थीहरूको एकता र सुदृढीकरणको नेतृत्व गर्नसक्छ। युगको नेतृत्व गर्ने यो अवसरलाई गुम्न दिनुहुँदैन।

कमरेडहरू,

मैले बारम्बार भन्दै आएको छु, मेरो जीवन संघर्ष र आन्दोलनभन्दा पर छैन। देश र जनताप्रति सर्मपित हुँदै नेपाली समाजको रुपान्तरणका लागि योगदान गर्नेबाहेक मेरो अन्य कुनै उद्देश्य पनि छैन। जीवनको युवा अवधिदेखि मेरो पूर्ण समय क्रान्ति, परिवर्तन र जनताका पक्षमा बित्यो। अब जनताले चाहेको सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिज्ञा गरेको छु। हिजो क्रान्तिको क्षणमा होस् या आज शान्तिको क्षणमा होस्, मेरा हरेक पाइला, हरेक क्षण, हरेक समय देश र जनताकै पक्षमा बितेको छ। मेरो नेतृत्वले नेपाली समाजमा के–कति परिवर्तन ल्यायो वा ल्याएन, यसको समीक्षा जनता र इतिहासले गर्ने नै छन्। मैले यो पनि भन्ने गरेको छु, अबको मेरो बाँकी जीवन नेपाली समाजको चरित्र अनुरुप वैज्ञानिक विचारको विकास गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्नेतर्फ केन्द्रीत हुनेछ। समाजवादी क्रान्तिको तयारी गर्ने हाम्रो संकल्पसँगै हाम्रो काँधमा इतिहासले एउटा ठूलो जिम्मेवारी दिँदैछ। त्यसैले यो तीन महिने अभियान इतिहासले सुम्पेको यो जिम्मेवारीको ठोस आधार तयार पार्ने समयसमेत हो। हामीले अभियानमार्फत कस्तो विचारको विकास गर्छौं र कस्तो पार्टी निर्माण गर्छौं भन्ने कुरामा हाम्रो भविष्य, हाम्रा लाखौं नेता र कार्यकर्ताको भविष्य समेत निर्भर छ। तसर्थ, यो अभियानका क्रममा तपाइका हरेक पाइला, सोँच, चिन्तन, कार्यशैली समय हामी सबैको, नेपाली जनताको र विश्वका श्रमजीवी जनताको भविष्य निर्माणमा अघि बढ्नेछन् भन्ने विश्वास लिएको छु।

आदरणीय जनसमुदाय,

पार्टी रुपान्तरणको यो विशेष अभियानमा हामी तपाईको घरदैलौमा आउँदैछौं। मलाई राम्रैसँग बोध छ– माओवादी आन्दोलनसँग यहाँहरुको विशेष आत्मीयता छ, विशेष अपेक्षा छ र केही असन्तुष्टि पनि। अहिले माओवादी केन्द्रकै नेतृत्वमा सरकार बनेपछि यहाँहरुमाझ अब केही हुन्छ, श्रमजीवि जनताले देखेको सपना पुरा हुन्छन्, शोषण र विभेद अन्त्य भई सामाजिक न्यायसहितको समाजको स्थापना हुन्छ भन्ने आशा पुनः पलाएको छ। सरकारले गरेका सुशासनमुखी कामबाट राजनीतिप्रति नै भरोसा जागेको छ। हामी वाचा गर्दछौं, हाम्रा कदमहरु अग्रगमनबाट विचलित हुने छैनन्। जनताले देखेका सपना, जनताका अपेक्षा पुरा गर्ने दिशामा हाम्रो राजनीति र हाम्रो संगठन गतिशील हुनेछ। कतिपय गल्ती, कमजोरी रहेपनि इतिहासबाट पाठ सिक्दै यो अभियानमार्फत हामी जनताको बलियो, क्रान्तिकारी र भरोसायोग्य पार्टी बन्ने छौं। अभियानका क्रममा यहाँहरुको रचनात्मक र उर्जाशील सहभागिताका लागि हार्दिक अपील गर्न चाहन्छु।

अन्त्यमा, सम्पूर्ण कमरेडहरू केन्द्रीय समितिको स्पिरिट र निर्णयअनुसार तोकिएको जिम्मेवारी र कार्यक्षेत्रमा खटौं, पार्टी र जनताबीच नङ–मासुको सम्बन्ध स्थापित गरौं। घेराबन्दी र चुनौतीहरू छिचोल्दै सकारात्मक भाष्य र सुनौलो भविष्य निर्माणमा केन्द्रित होऔं। समाजवादको भविष्य उज्ज्वल छ, हाम्रो जीत सुनिश्चित छ। धन्यवाद, अभिवादन।

बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’  सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’  उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’  सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

लोकप्रिय