विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड
कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री प्रचण्डले समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको हुनुपर्ने बताए ।
‘सरकारले डडेल्धुरामा आंगिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई विश्वविद्यालयको संकायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको छ,’ उनले भने, ‘उक्त क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारको पूर्ण सहयोग रहनेछ।’
यस्तो छ प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ :
दीक्षान्त समारोहका प्रमुख अतिथिज्यू,
सुदूरपश्चिम विश्वविद्यालयका सह–कुलपति एवम् माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीज्यू,
सुदूरपश्चिम विश्वविद्यालयका उप—कुलपतिज्यू लगायत सबै पदाधिकारीहरू, सभासद्ज्यूहरू,
आमन्त्रित विशिष्ट अतिथिज्यू,
दीक्षित हुनुहुने विद्यार्थी भाइबहिनी तथा अभिभावकज्यूहरू ।
सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा कुलपतिका हैसियतले सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । यस दीक्षान्त समारोहमा हाम्रो आमन्त्रणलाई स्वीकार गरी प्रमुख अतिथिका रूपमा उपस्थित भइदिनु भएकोमा मित्रराष्ट्र भारतको उत्तरप्रदेश राज्यस्थित महात्मा ज्योतिबा फुले रुहेलखण्ड विश्वविद्यालय, बरेलीका कुलपति प्रा. के. पी. सिंहज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।
यस दीक्षान्त समारोहमा विश्वविद्यालयका विभिन्न विषय र तहका उच्च उपाधि प्राप्त गर्ने विद्यार्थीहरू लगायत यस समारोहमा उपस्थित हुनु हुने विद्यार्थी, शोधकर्ता एवम् अभिभावकज्यूहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै विद्यार्थीहरूको सफल एवम् सुन्दर भविष्यको लागि शुभकामना व्यक्त गर्दछु ।
यस दीक्षान्त समारोहको अवसरमा सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन, विकास र प्राज्ञिक क्षेत्रमा योगदान पु¥याउनुहुने प्राध्यापक, शिक्षाविद्, पदाधिकारी, कर्मचारी, विद्यार्थी, अनुसन्धानकर्ता, अभिभावक, समाजसेवी, चन्दादातालगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । साथै, भविष्यमा यस विश्वविद्यालयको भौतिक तथा प्राज्ञिक विकासको क्षेत्रमा यहाँहरूबाट निरन्तर सहयोगको अपेक्षा गरेको छु ।
आज यस समारोहमा सहभागी भइरहँदा मलाई निकै गौरवको अनुभूति भइरहेको छ । यो संयोग नै भनौं, यो विश्वविद्यालयको स्थापनाको काम पहिलोपटक प्रधानमन्त्री हुँदा मैले नै अघि बढाएको थिएँ । मलाई सम्झना छ, सधै उपेक्षामा पर्दै आएको सुदूरपश्चिमाञ्जल क्षेत्र र यसक्षेत्रका जनताको दूरगामी भविष्यको परिकल्पना गरेर हामीले विश्वविद्यालय स्थापनाको निर्णय गरेका थियौं । मेरो दोस्रो कार्यकालमा यो विश्वविद्यालयको नीतिगत तथा संरचनागत सुधारका लागि समेत कतिपय निर्णय भए । आज म यही आफैले निर्णय गरेर स्थापना भएको विश्वविद्यालयको कुलपतिको हैसियतमा यहाँ तपाईहरुमाझ सम्बोधन गर्ने गौरव प्राप्त गरेको छ ।
उच्चशिक्षा प्राप्त गर्न राजधानी काठमाडौं तथा भारतका सीमावर्ती क्षेत्रमा जानुपर्ने नियति बोकेका सुदूरपश्चिमका जनताको उच्चशिक्षामा पहुँच कायम गर्न यस विश्वविद्यालयले विगत एक दशकभन्दा बढी समयदेखि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । यसले एकातिर उच्च शिक्षामा बाहिर जानुपर्ने परनिर्भरताको अन्त्य र त्यसका लागि आर्थिक भारको चेपुवामा पर्ने बाध्यताको अन्त्य गरेको छ भने अर्कोतर्फ विभिन्न विधामा गुणस्तरीय जनशक्ति उत्पादन गरी देशका लागि आवश्यक दक्ष जनशक्तिको खाँचो पूरा गर्नसमेत सहयोग पु¥याएको छ । निम्न तथा मध्यम आय भएको परिवारका विद्यार्थीहरूलाई गुणस्तरीय उच्च शिक्षाप्रदान गरी उनीहरूको जीवनमा पु¥याएको योगदान प्रसंशनीय छ ।
राज्यका स्रोत र साधनबाट वञ्चितिकरणमा परेको वास्तविकताको सामना गर्दै छोटो समयमा नै विश्वविद्यालयलाई लोकप्रिय बनाउन सफल हुनु भएकोमा म विश्वविद्यालय नेतृत्वलगायत सम्पूर्ण परिवारको प्रशंसासहित धन्यवाद दिन चाहन्छु । अहिले शैक्षिक संस्थाहरू निरपेक्षरूपमा विकास हुन सम्भव छैन । सूचना, प्रविधि र ज्ञानको क्षेत्रमा भएको अभूतवपूर्व विकास र विश्वव्यापीकरणको प्रक्रियाले हामी नेपालको यो सुदूरस्थानमा रहेको भएपनि विश्व प्राज्ञिक मञ्चको अंग बनेका छौं । विश्वका हरेक कुनामा विविध क्षेत्रमा भइरहने परिवर्तन र विकासलाई हामीले आत्मसात गरेर सोहीअनुरूप आफूलाई अनुकूलनतामा ढाल्नुपर्ने चुनौती हामीसामु छ ।
त्यसैले विश्वविद्यालयको नेतृत्वले भौतिक एवम् शैक्षिक सुधार, विद्यार्थी कल्याणसम्बन्धी कार्यहरूको विस्तार गरी विश्वका अन्य प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गर्दै आफूलाई एउटा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा विकास गर्न आवश्यक छ । विश्वविद्यालयले प्राज्ञिक गुणस्तर उच्च राख्न अध्ययन अनुसन्धानको आकर्षणको केन्द्र बन्दै सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले एक आपसमा सहकार्य, सहयोग र सद्भावलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने खाँचो छ । विश्वविद्यालयको स्तरोन्नति गर्न आवश्यक सहयोगका लागि नेपाल सरकार सदैव सकारात्मक रहेको छ ।
विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ व्यवहारिक, जीवनोपयोगी तथा समाजको रूपान्तरणका लागि सहयोगी हुनुपर्दछ । विश्वविद्यालयबाट उत्पादित जनशक्ति चरित्रवान् र अनुशासित हुनुका साथै राष्ट्र र जनताप्रति उत्तरदायी र कर्तब्य पूरा गर्नसक्ने हुनुपर्दछ । लोकतान्त्रिक मान्यताका पक्षमा दह्रो ढंगले उभिने, नवीनतम खोज, अनुसन्धान र विकासको गतिलाई पक्रिँदै नेपाललाई सुहाउँदो विकासको मार्गचित्र, अर्थतन्त्रको ढाँचाको खोजी, समाज रूपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्नसक्नुपर्दछ । यसका लागि विश्वविद्यालयको शिक्षा समेत सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवम् प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको हुनुपर्दछ । यो आवश्यकतालाई आज दीक्षित हुने र भविष्यमा दीक्षित हुने प्रत्येक विद्यार्थीले पूरा गर्नुपर्नेछ । आजको प्रतिस्पर्धी विश्वको शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दै अघि बढ्नु जरूरी छ ।
स्थापनाको छोटो अवधिमा यस विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरूका रूपमा मानविकी तथा सामाजिकशास्त्र, शिक्षाशास्त्र र व्यवस्थापन जस्ता पारम्परिक विषयहरूमा स्नातकोत्तर र पिएचडीसम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको र हाल विज्ञान तथा प्रविधि इन्जिनियरिङ, कम्प्युटर विज्ञान तथा सूचना प्रविधि, कृषि विज्ञान, कानून तथा स्वास्थ्य विज्ञानजस्ता व्यवसायिक र प्राविधिक विषयहरू थप गर्दै लगेकोमा मलाई खुसी लागेको छ ।
यस क्रममा नेपाल सरकारले २०७८ माघ १० गते डडेल्धुरामा यस विश्वविद्यालयको आङ्गिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक सङ्कायको रूपमा रहनेगरी स्वास्थ्य मन्त्रालय, शिक्षा तथा विज्ञान एवम् प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबिच त्रिपक्षीय सम्झौता भएको स्मरणीय नै छ । उक्त क्याम्पसको स्थापनाबाट चिकित्सा विज्ञान शिक्षामा स्थानीय जनताको पहुँच विस्तार र विशेषज्ञ उपचार सेवामा पहुँच सुनिश्चित गर्न सकिने छ । क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहनेछ ।
निकट भविष्यमा विश्वविद्यालयले वन विज्ञान एवम् हर्बलसाइन्सजस्ता कार्यक्रम पनि सञ्चालनमा ल्याउँदैछ र विश्वविद्यालयले जीवनोपयोगी शिक्षाका विभिन्न विधाहरूमा कार्यक्रमहरू विस्तार गर्दै जानेछ । हर्बलसाइन्स र कृषिका कार्यक्रमहरूले प्रत्यक्ष रूपमा समाजको आर्थिक अवस्था सुधार गर्ने गरी शैक्षिक ज्ञानलाई खेती, खेतीलाई उत्पादन, उत्पादनलाई निर्माण एवम् उपभोक्तासम्म जोड्ने गरी विकास केन्द्रहरू मार्फत बढ्नसके यो प्रदेशको रोजगारीमा ठूलो योगदान पु¥याउन सकिने छ । त्यसतर्फ विश्वविद्यालयको उच्च शिक्षा उन्मुख हुनेछ भन्ने आशा गरेको छु ।
विश्वविद्यालयमा एम.फिल र पीएचडी.जस्ता अनुसन्धान तहका कार्यक्रमहरू सञ्चालन भई विदेशी प्राध्यापक अनुसन्धानकर्ताहरूले समेत यस विश्वविद्यालयबाट उच्च प्राज्ञिक उपाधि आर्जन गर्न लागेको विषयले हामीलाई गौरवान्वित तुल्याएको छ । यस पृष्ठभूमिमा आउँदा केही वर्षमा विश्वविद्यालयले प्राविधिक एवम् व्यवसायमूलक तथा गुणस्तरीय उच्चशिक्षा प्रदानगर्ने मुलुककै एक प्रतिष्ठित विश्वविद्यालयको रूपमा स्थापित हुने छ भन्ने मैले विश्वास लिएको छु ।
उपस्थित आदरणीय अभिभावक तथा प्यारा विद्यार्थी भाइबहिनीहरू,
आज यहाँहरू दीक्षित हुँदै हुनुहुन्छ । यो तपाईको परिवार र जीवनमा सामान्य घटना कदापि होइन । आजको दिनसम्म आइपुग्न तपाईहरूले परिवारले र आफूले साँचेका सपना पूरा गर्न कैयौँ रहर र इच्छाहरू तिलाञ्जली दिनुभएको छ । कठिन र संघर्षमयी क्षणहरू बिताउनुभएको छ । अक्षर चिन्न प्रारम्भ गरेदेखि आजको दिनसम्मका सबै ती संघर्षमयी क्षणहरू सम्झेर अब तपाईहरूले आफ्ना, परिवारका सपना र देशलाई तपाईहरूबाट राखेको अपेक्षा पूरा गर्नुपर्ने छ ।
त्यसैले जसरी यो दीक्षित हुने बेलासम्म तपाईहरूले आफूलाई हरेक परीक्षामा उत्तीर्ण गर्नुभयो । अब फेरि तपाईहरूले आफ्ना लागि, परिवारका लागि, समाजका लागि र देशका लागि पाइला पाइलामा परीक्षा दिनुपर्ने हुन्छ । तपाईहरूका अबका परीक्षाको परिणामले हाम्रो समाज र देशको भविष्य निर्धारण गर्दछ । यसले हाम्रा भावी सन्ततिहरूको भविष्य निर्धारण गर्नेछ ।
एकजना दार्शनिकले भनेका थिएँ– साथी हो, सपना देख्नुहोस् । मैले पनि आज तपाईहरुलाई भन्छु– तपाईहरु सपना देख्नुहोस् । त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हुनेछ । सुन्दर सुखी नेपालीको सपना हुनेछ । कुनै बेला म तपाईहरूजस्तै शैक्षिक परीक्षामा सहभागी हुँदा मैले पनि सपना देख्ने गर्दथेँ । त्यतिखेर एकातिर परीक्षामा राम्रो अंक ल्याएर उत्तीर्ण हुने सपना हुन्थ्यो । तर बिस्तारै मैले अन्याय, गरिबी, शोषण, विभेदको अन्त्य गर्ने सपना देख्न थालेँ । कोही ठूलो कोही सानो, कसैले पढ्न पाउने, कसैले भर्ना हुन पनि नसक्ने, कोही उपचार नपाएर मर्ने, कतै जातीय, कतै लैंगिक विभेद, यस्तो समाज परिवर्तन गर्ने सपना देखेर म परिवर्तनको लामो र कठिन यात्रामा होमिएँ । आज मैले देखेको सपना कति पूरा भयो या भएन, त्यसको समीक्षा इतिहासले गर्ला । तर कहिलेकाहिँ लाग्छ, त्यतिखेर हामीले परिवर्तनको ती सपना नदेखेको भए आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रसम्म पुग्न सक्दैनथ्यौं कि ? अझ भनौं, यति सजिलै यही विश्वविद्यालय पनि स्थापना गर्न सक्थ्यौं या सक्दैनथ्यौं ?
मैले यो राजनीतिक उपलब्धि प्राप्त गरेपछि पनि सपना देख्न छोडेको छैन । मैले बारम्बार भन्ने गरेको छु, मेरो अबको बाँकी जीवन समृद्ध नेपालको निर्माण गर्दै समाजवादी क्रान्तिको आधार तयार पार्ने हो । म अहिले यही सपनाका लागि अहोरात्र भूमिका निर्वाह गरिरहेको छु । अब यो सपनामा तपाईहरुको साथ चाहिन्छ, यहाँहरुको सपना जोडिनुपर्छ ।
त्यसैले म आज तपाई दीक्षित हुनुहुने सबैलाई पुनः भन्न चाहन्छु, अब शैक्षिक जीवनका एउटा अध्यायमा उत्तीर्ण भएका यहाँहरु अब परिवारले, आफूले साँचेका सपना पूरा गर्न र समृद्ध नेपालको निर्माणका लागि देशलाई तपाईहरुको अपेक्षा पुरा गर्न सपना देख्नुहोस् । ती सपना पूरा गर्न दृढतापूर्वक अघि बढ्नुहोस् । यी सपना पूरा गर्दा कैयौँ चुनौतीको सामना गर्नुपरे पनि हिम्मत नहार्नुस् । आँधीबेहरीसँग जुधेर सफलताको चुचुरोमा पुग्न सक्नु नै सही अर्थमा जीवन हो भन्ने मलाई लाग्दछ । जीवन त वेगवान हुनुपर्छ, गतिशील हुनुपर्छ । चुनौतीसँग जुध्न सक्नुमा नै हाम्रो सफलता निहित रहन्छ । एउटा बुझ्न्पर्ने कुरा के हो भने, हामीले समृद्ध नेपालको निर्माण गर्न सक्यौं भने मात्रै हामीले देखेका सुखी जीवन, सुखी समाजका सपनाहरू सही अर्थमा पूरा हुन सक्दछन् । म कामना गर्न चाहन्छु, तपाईंले आजपर्यन्त आर्जन गर्नुभएको ज्ञान र सीप अबका दिनमा सामाजिक न्यायसहितको समृद्ध नेपालको निर्माणको कोशेढुंगा बनोस् ।
अन्त्यमा, आज दीक्षित हुनुभएका विद्यार्थीहरूले आफूलाई समाजमा सभ्य, शिष्ट र इमान्दार नागरिकका रूपमा स्थापित गर्दै आफ्नो राष्ट्रप्रतिको कर्तब्यलाई जिम्मेवारीका साथ पूरा गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै सबैको सुखद् एवम् सुन्दर भविष्यको कामना गर्दछु । यस दीक्षान्त समारोहको पुनीत अवसरमा आफ्नो महŒवपूर्ण समय दिएर पाल्नुभएका प्रमुख अतिथिज्यू एवम् समस्त अतिथिगण लगायत दीक्षान्त समारोह सफलताका साथ सम्पन्न गर्न खटिनुहुने सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण पदाधिकारी, प्राध्यापक तथा कर्मचारी वर्ग र विद्यार्थीहरूमा धन्यवाद व्यक्त गर्दछु ।
धन्यवाद ।
नेपाल संवतले राष्ट्रिय स्वाभीमान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्छः प्रचण्ड
भक्तपुर, १५ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभीमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र मध्यपुर थिमी नगर समिति भक्तपुरले नयाँ वर्ष नेपाल संवत् ११४५ को अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाल संवत् नेवारी समुदायको भावनासँग जोडिएको भए पनि यो नेपाल राष्ट्रकै मौलिक संस्कृतिको महत्वपूर्ण हिस्सा भएको बताउनुभयो । ‘नेपाल संवतले राष्ट्रिय संवतको मान्यता प्राप्त गर्नुपर्छ भनेर खासगरी काठमाडौं, ललितपुर र भक्तपुरका नेवार समुदायले धेरै वर्षदेखि आन्दोलन गर्दै आउनुभएको थियो । विभिन्न समयका सरकारहरुले त्यो आन्दोलनको एजेण्डा पूरा गर्नुको साटो दबाउन खोजेको गुनासो यो समुदायका अगुवाहरुबाट सुनिरहेको थिएँ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘२०६५ मा पहिलोपटक प्रधानमन्त्री भएको बेलामा मैले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएको थिएँ, त्यसका लागि मलाई अहिले पनि गर्व लागिरहेको छ ।’ नेपाल संवतले राष्ट्रिय मान्यता पाएको लामो समयसम्म पनि यसको कार्यान्वयनमा अलमल भएको देखेर गत वर्ष आफू तेस्रोपटक प्रधानमन्त्री भएको बेला विक्रम संवत् प्रयोग हुने सबै सरकारी कागजातमा नेपाल संवत् प्रयोग गर्ने निर्णय मन्त्रिपरिषदबाटै गराएको उहाँले स्मरण गराउनुभयो । उहाँले भन्नुभयो– ‘त्यति मात्र होइन, हाम्रो पार्टीले बागमती प्रदेश सरकारको नेतृत्व गरेको बेलामा यो प्रदेशमा नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरिएको छ, यो पनि महत्वपूर्ण उपलब्धि हो ।’ शंखधर साख्वाले गरीब जनताको ऋण मोचन गर्ने काम गरेर पवित्र कार्य गरेपछि उहाँकै सम्मानमा नेपाल संवत् सुरु गरिएको प्रसंग उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘२०६५ को एउटै मन्त्रिपरिषद बैठकबाट हामीले नेपाल संवतलाई राष्ट्रिय मान्यता दिने निर्णय मात्रै गरेनौं, शंखधर साख्वाले जस्तै हामीले पनि करिब किसानहरुको निश्चित रकम ऋण मिनाहको निर्णय पनि गर्यौं ।’ आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला गरिब किसानको ऋण मिनाह, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी मार्गलगायतका ठूला पूर्वाधारको सुरुवात गरेको स्मरण गर्दै दोस्रोपटक प्रधानमन्त्री हुँदा लोडसेडिङ अन्त्य गरेर उज्यालो नेपालको निर्माणहुँदै तेस्रोपटक प्रधानमन्त्री भएको बेलामा नेपाली इतिहासमै पहिलोपटक सरकारको अगुवाईमा भ्रष्टाचारविरुद्धको अभियान सुरु गरिएको बताउनुभयो । हरेकपटक माओवादी नेतृत्वको सरकारले ऐतिहासिक कामको थालनी गरेको उल्लेख गर्दै उहाँले यसलाई जनताको बीचमा लैजान नसक्नु कमजोरीको रुपमा रहेको बताउनुभयो । पछिल्लो समय आफ्नो नेतृत्वको सरकारले धेरै काम गर्न खोजेको देखेर सरकार ढालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सरकारमा हुँदा सुरु गरिएको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान अब पार्टीको मुख्य एजेण्डा हुने र २०८४ माओवादीको हुने बताउनुभयो । सरकारबाट निस्केपछि आफूले एकपटक प्रदेश तहमा पुगेर जनताको अवस्था बुझ्ने प्रयास गरेको उल्लेख गर्दै उहाँले देशभरि जनताले माओवादी र प्रचण्डलाई मायाँ गर्न थालेको बताउनुभयो । ‘३२ सिट हुँदा त माओवादीले यति काम गर्यो भने अब एकपटक बहुमत दिनुपर्छ कि भन्ने हिसाबले जनस्तरमा बहस चल्न थालेको छ, यो हाम्रा लागि निकै सकारात्मक कुरा हो’– उहाँले भन्नुभयो– ‘अब यसलाई हामीले अवसरको रुपमा बदल्नुपर्छ, आत्मविश्वास बलियो बनाउनुपर्छ, ८४ हाम्रो हो, माओवादीको अर्को जीतको वर्ष हुने छ ।’ माओवादी केन्द्र मध्यपुर थिमी नगर अध्यक्ष एवं मध्यपुर नरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शशी श्रेष्ठ, केन्द्रीय सदस्यहरु दिलिप प्रजापति र रामनारायण बिडारीले शुभकामना दिनुभएको थियो । कार्यक्रम सञ्चालन नगर समिति शिव श्रेष्ठले गर्नुभएको थियो । सो क्रममा सहिदहरु वैकुण्ठहरि श्रेष्ठ, सविन श्रेष्ठ र कृष्णमान श्रेष्ठका परिवारलाई अध्यक्ष प्रचण्डले सम्मान गर्नुभएको थियो ।
उपाधि जित्ने नेपालको सपना पुन: अधुरै
काठमाडौं। उपाधि जित्ने नेपालको सपना पुन: अधुरो बनेको छ। नेपालले साफ च्याम्पियनसिप २०२४ मा पुनः उपविजेतामा सीमित भएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको फाइनलमा बंगलादेशले २-१ पराजित गरेसँगै नेपाल उपविजेता मै खुम्चिन एपरेको हो । योसँगै बंगलादेशले लगातार साफ जित्न सफल भएको छ। अघिल्लो संस्करणको फाइनलमा पनि बंगलादेशले नेपाललाई यही मैदानमा ३-१ ले हराएको थियोे। बंगलादेशलाई मनिका चक्माले सुरुआती अग्रता दिलाइन्। उनले ५३औं मिनेटमा अमृता जैशीले गरेको गल्तीमा गोल गरेकी हुन्। गोलरक्षक एन्जिला तुम्बापोले बचाउने प्रयास गरेपनि सकिनन्। तर, त्यसको चार मिनेटपछि नै अमिषा कार्कीले गोल फर्काइन्। प्रीति राईको थ्रू बलमा अमिषाले काउन्टर अट्याकमा गोल गरेकी हुन्। ८१औं मिनेटमा बंगलादेशले पुन अग्रता लियो। ऋतु पोर्ना चक्माले अनिता केसीलाई बिट गर्दै प्रहार गरेको बललाई एन्जिलाले बाहिर पठाउने प्रयास गरेपनि असफल हुँदा नेपाल खेलमा पछि पार्यो।
कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यकः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताउनुभएको छ । नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्म शताब्दीको अवसरमा माओवादी केन्द्र, केन्द्रीय कार्यालयले आज काठमाडौंमा आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ बर्ष र आगामी कार्यभार’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । त्यस्तो आत्मसमीक्षा तीन तहमा हुनुपर्ने उल्लेख अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘कम्युनिष्ट आन्दोलनमा लागेका हरेक नेता कार्यकर्ताले आफैभित्र आत्मसमीक्षा गरौं । हरेक पार्टीभित्र इमान्दार आत्मसमीक्षा गरौं । अनि बल्ल कम्युनिष्ट पार्टीहरुको बीचमा आत्मसीक्षा गरौं ।’ हरेक कम्युनिष्ट नेता कार्यकर्ता र पार्टीहरुले क्रान्तिलाई किन सही रुपले अघि बढाउन सकेनौं र आम मानिसमा निराशा बढिरहेको भन्ने समस्याको पहिचान गर्न अब भाषण गरेर मात्र होइन, आत्ममीक्षालाई संघर्षकै रुपमा अघि बढाउनुपर्ने उहाँले स्पष्ट गर्नुभयो । ‘म देशभरिका कम्युनिष्टहरुलाई गम्भीर आत्मसीक्षाका लागि अपिल गर्न चाहन्छु’– उहाँले भन्नुभयो– ‘म आदर्शको रुपमा मात्र यसो भनिरहेको छैन, हाम्रो पार्टीभित्र गम्भीर आत्मसीक्षा सुरु गरेर मात्रै अरुलाई अपिल गर्न थालेको हुँ ।’ क्रान्तिकारीहरुले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आत्मसीक्षाले मात्रै कम्युनिष्ट पार्टीहरुमा एकता, रुपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु हुने बताउनुभयो । ‘हामीले सिद्धान्ततः दलाल नोकरशाहीविरुद्ध लड्नुपर्छ भनिरहेका छौं तर हामीभित्रै सुरु हुँदै गरेको खराबीविरुद्ध लड्न सुरु नगरी अरुलाई परास्त गर्न सकिदैन’– उहाँले भन्नुभयो– ‘हिजो व्यापक कम्युनिष्ट एकता गरेर समावादमा अघि बढ्न सकिन्छ कि भनेर अभ्यास गर्यौं । सँगै मिलेर चुनाव पनि लड्यौं तर वैचारिक स्पष्टता कायम गर्न नसक्दा क्षति व्यहोर्नुपर्यो । अब पहिले आफैभित्रै वैचारिक स्पष्टताका लागि संघर्ष गरौं । त्यही संघर्षको बीचमा रुपान्तरणसहितको एकताको थालनी गरौं ।’ कम्युनिष्ट नेता कार्यकर्ताहरुमा सिद्धान्त, विचार र कार्यशैली, आचरणको बीचमा ठूल्ठूला खाडल देखापर्दै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सिद्धान्त र व्यवहारको अन्तर्विरोध हल गर्नतिर जोड दिएर लाग्नुपर्ने बताउनुभयो । कम्युनिष्टहरुको नेतृत्वमा नेपालमा विश्वलाई चकित पार्ने राजनीतिक उपलब्धि प्राप्त भएको उल्लेख गर्दै उहाँले अब नयाँ समाजवादी क्रान्तिका लागि धेरै काम गर्न बाँकी रहेको र त्यसको प्रस्थानविन्दु वैचारिक स्पष्टता नै हुनुपर्ने बताउनुभयो । कम्युनिष्ट घटकहरुबीचको सम्बन्ध सुधारलाई उहाँले चार चरणमा विकास गर्न सकिने उल्लेख गर्दै भन्नुभयो– ‘सबैभन्दा पहिले विचारमा स्पष्टता कायम गरेका दलहरु मिल्ने जति मिलौं, मिल्न नसक्नेले मोर्चा बनाऔं, त्यो पनि नसके कार्यगत एकता गरौं । त्यति पनि नसके हरेकले आफूलाई बदलेर समाजवादी क्रान्तिका लागि तयार पारौं । त्यति गर्दा मिल्ने जति मिल्दै जान्छन्, छाँटिने जति छाँटिदै जान्छन् ।’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनभित्र रहेको दक्षिणपन्थी र जडसूत्रीय चिन्तनका विरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गर्दै उपलब्धि र कमजोरीको समीक्षा गरेर जानुपर्ने बताउनुभयो । जनवादी क्रान्तिको चरण सकिएकाले अब समाजवादी क्रान्तिको कार्यक्रम सुरु गर्नुपर्ने र नेपाली मोडलको समाजवादको खाकामा बहस गर्नुपर्ने बताउनुभयो । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले गणतन्त्र स्थापनामा कम्युनिष्ट आन्दोलनको नेतृत्वदायी भूमिका रहेकाले अब समाजवादी क्रान्तिको तयारी गर्नुपर्ने बताउनुभयो । समाजवादी कार्यक्रमलाई कार्यनीति वा रणनीति के बनाउने बहसको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले आफ्नो पार्टीभित्र रुपान्तरण गर्दै श्रेष्ठता हासिल गर्ने अभ्यास गर्दै जाँदा पुनः कम्युनिष्टहरुबीच सुदृढ एकता कायम हुने विश्वास व्यक्त गर्नुभयो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले आजको कम्युनिष्ट आन्दोलनको गहिरो समीक्षा गरेर पछाडि फर्कने होइन, अगाडि बढ्ने बाटो तय गर्नुपर्ने बताउनुभयो । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले नेपालमा गणतन्त्र कम्युनिष्टकै कारण आएको उल्लेख गर्दै कम्युनिष्ट घटकहरुबीचको साझा मोर्चालाई अघि बढाउनुपर्ने बताउनुभयो । माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन उपाध्यक्ष पम्फा भुसालले गर्नुभएको थियो भने सचिव गिरिराजमणि पोख्रेलले नरबहादुर कर्माचार्यको जीवनीसहित उहाँको स्मृतिमा गरिने कार्यक्रमको खाका प्रस्तुत गर्नुभएको थियो ।
आजदेखि नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ
काठमाडौं । आजदेखि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी समारोह आरम्भ गरिएको छ । नेकपा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको बंगलामुखी, कुम्भेश्वरमा रहेको कर्माचार्यको शालिकमा माल्यार्पण गरेपछि यो कार्यक्रम आरम्भ भएको हो । कर्माचार्यको जन्म भएको एक सय वर्ष पुगेकोको अवसर पारेर वर्षभरि नै कार्यक्रम गरिदैछ । माओवादी केन्द्रले कर्माचार्यको जन्दशताब्दीको अवसरमा देशैभरि कार्यक्रम गर्न पार्टी पंक्तिलाई निर्देशन दिइसकेको छ । आजै माओवादी केन्द्रले कर्माचार्यको जन्मशताब्दी आरम्भको अवसरमा ‘नेपाली कम्युनिष्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक विचारगोष्ठी गर्दैछ । अपरान्ह साढे १२ बजेदेखि सुरु हुने गोष्ठीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कम्युनिष्ट नेताहरु मोहन बैद्य, मोहनविक्रम सिंह, युवराज ज्ञवाली, अनिल शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ । विसं १९८१ कात्तिक १४ गते भाइटीकाको दिन ललितपुरको झपाटोलमा बुवा चन्द्रबहादुर र आमा श्रीकुमारीको कोखबाट जन्मिएका कर्माचार्यको २०७० साल साउन ९ गते काठमाडौँमा निधन भएको थियो । विसं २००६ मा भारतको कोलकातास्थित वडाबजारमा पुष्पलालको संयोजकत्वमा स्थापना भएको नेकपाको कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायणविलास जोशी सदस्य हुनुहुन्थ्यो । उहाँ विसं २००५ देखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी र मजदुर आन्दोलनमा सक्रिय सहभागी हुनुभएको थियो । पार्टी स्थापनापश्चात कर्माचार्य मजदुर सङ्गठनको संस्थापक अध्यक्ष बन्नुभएको थियो भने २०१६ सालको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुका साथै विसं २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनबाट नेकपाको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । पार्टी टुटफुट र विभाजनपश्चात विभिन्न क्रान्तिकारी व्यक्ति र समूहलाई एकीकृत बनाउन उहाँले निरन्तर पहल गरिरहनुभएको थियो । यही क्रममा कर्माचार्य २०३१ सालमा नेकपा चौमको केन्द्रीय सदस्य, २०४८ मा विभिन्न चार पार्टीको एकतापश्चात एकता केन्द्र निर्माण र केन्द्रीय सदस्य तथा जीवनको अन्तिम समयसम्म नेपाल कम्युनिष्ट पार्टीको संरक्षक र सक्रिय भूमिका निर्वाह गरिरहनुभयो । संस्थापक नेता कर्माचार्यलाई चरित्रवान, सामाजिक र लोकप्रिय व्यक्तित्व, विवादरहित, सादा जीवन र उच्च विचारका पर्यायका रूपमा लिइँदै आइएको छ । यसैबीच नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले पत्रकार सम्मेलन गरी वर्षभरि गरिने कार्यक्रम सार्वजनिक गरेको छ। कर्माचार्यको व्यक्तित्व, सपनाहरु र सपना पार्ने आगामी योजनामा केन्द्रित रहेर कार्यक्रम गर्ने प्रतिष्ठानका कार्यवाहक अध्यक्ष गिरिराजमणि पोख्रेलले जानकारी दिनुभयो।