शालीनदी माधवनारायण व्रतालुको परदेश यात्रा
काठमाडौँ । साँखुस्थित शालीनदीमा माधवनारायण व्रत बसेका व्रतालुले परदेश यात्रा शुरु गरेका छन् ।
माघ कृष्ण त्रयोदशी अर्थात् पुस ३० गते शालीनदीबाट–बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गरेर परदेश यात्रा शुरु भएको थियो । माघकृष्ण चतुर्दशीका दिन माघ १ गते व्रतालु साँखुबाट हिँडेरै बज्रयोगिनी र पशुपतिको दर्शन गरेका छन् ।
मंगलबार पशुपतिबाट फर्पिङ बास बसेका व्रतालु आज साँखु फर्कने छन् । माघ ६ गते शनिबार साँखुबाट पनौती बास बस्न जाने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष राजभाइ श्रेष्ठले राससलाई जानकारी दिनुभयो । माघ ७ गते आइतबार पनौतीबाट साँखु बास बस्ने गरी व्रतालु फर्कनेछन् ।
व्रतालुले माघ ८ गते सोमबार श्रीपञ्चमी पर्व मनाउने छन् । माघ १० गते मंगलबार लगला सप्तमी पर्व मनाएर माघ १२ गते शुक्रबार द्रोण नवमीका दिन व्रतालुलाई खीर (तस्मी) खुवाइन्छ ।
द्रोण नवमीको भोलिपल्ट साँखुबाट चाँगुनारायणमा बास बस्ने गरी परदेश यात्रा गर्ने माधवनारायण व्रत विधि छ । माघ १४ गते चाँगुनारायणबाट साँखुमा बास बस्न फर्कने तयारी भएको छ ।
माघ १६ गते मंगलवार देव निमन्त्रणा गरी माघ १७ गते बुधबार अश्वमेध यज्ञ अर्थात् व्रत साङ्गे गरिन्छ । माघ १८ गते बिहीबार व्रतालुले माघ गाउने (मिगा पूजा) गरिन्छ । व्रतालुले शिवरात्रिका दिन जाग्राम बस्नुपर्ने नियम रहेको समितिले जनाएको छ ।
परदेश यात्राका क्रममा व्रतालु खाली गोडा हिँडेरै जानुपर्ने नियम छ । यसरी हिँडेर यात्रा गर्दा माधवनारायणको मन्त्र जप गर्छन् । यस वर्ष महिला पुरुष गरी १९७ जनाले माधवनारायणको एक महिने कडोर व्रत गरेका छन् ।
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।