सातौं राष्ट्रिय खेलकुदः नेपाली सेना १२१ पदकसहित अग्रस्थानमा

सातौं राष्ट्रिय खेलकुदः नेपाली सेना १२१ पदकसहित अग्रस्थानमा

सुनसरी, पुस १२ । पूर्वाञ्चलमा जारी सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सोमबारसम्म सम्पन्न खेलमा एक सय ३४ स्वर्ण, एक सय ३४ रजत तथा एक सय ९७ कास्यसहित कुल चार सय ६४५ पदकको छिनोफानो भइसकेको छ ।

हालसम्म नेपाली सेनाले ६५ स्वर्ण, ३५ रजत तथा २१ कास्य पदकसहित एक सय २१ पदक प्राप्त गर्दै अग्रस्थानमा रहेको छ । यस्तै नेपाल प्रहरी २४ स्वर्ण, २२ रजत र २५ कास्यसहित ७१ पदकका साथ दोस्रो तथा सशस्त्र प्रहरी १८–८ स्वर्ण र रजत तथा २९ कास्यसहित ६५ पदकले तेस्रो स्थानमा छ ।

बास्केटबल

बास्केट बल महिलातर्फका प्रतिस्पर्धामा मध्यमाञ्चल विजेता बनेको छ । धरानमा सोमबार सम्पन्न फाइनलमा मध्यमाञ्चलले विभागीय टोल नेपाली सेनालाई ४०–२७ अङ्कले पराजित ग¥यो । मध्यमाञ्चलका लागि एलिना गुरुङले १३ अङ्क जोडिन् ।

यस्तै मध्यपिश्चमाञ्चलले पूर्वाञ्चललाई ३४–७ अङ्कले हराउँदै कास्य पदक पायो । पुरुषतर्फ मध्यमाञ्चल पूर्वाञ्चललाई ६२–५८ तथा पश्चिमाञ्चल मध्यपश्चिमाञ्चललाई १०६–५४ अङ्कले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

कराँतेमा मुकुन्द्रद्वारा ह्याट्रिक

सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले राष्ट्रिय खेलकुद प्रतियोगितामा लगातार तीन स्वर्ण जित्दै सोमबार ह्याट्रिक गर्नुभएको छ । उहाँले सोमबार कराँतेको ६७ किलो तौलमा स्वर्ण पदक जित्नुभएको हो । मुकुन्द्रले यसअघि पाँचौँ र छैटाैँ राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको थियो । सो प्रतिस्पर्धामा सुदूरपश्चिमका मोहमद शेखु आलमले रजत तथा नेपाल प्रहरीका भूपेन्द्र खड्का र मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक जिते ।

कराँतेकै पुरुष ६० किलो तौलमा नेपाल प्रहरीका रवीन्द्र कार्कीले स्वर्ण, एपिएफका मोहन कार्कीले रजत तथा मध्यमाञ्चलका राजकुमार रसैली र मध्यपश्चिमका प्रकाश घर्ती मगरले कास्य पदक पाए ।

पचहत्तर किलोमा सेनाका सुभाष घतानेले स्वर्ण, प्रहरीका गङ्गाराम कसुवारले रजत तथा एपिएफका वीरबहादुर रनेली र पूर्वाञ्चलका सन्त राईले कास्य पदक जिते ।

यस्तै पुरुष ८४ किलोमुनिको तौलमा प्रहरीका दिवस श्रेष्ठले स्वर्ण, पश्चिमाञ्चलका सुनित घर्ती मगरले रजत तथा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्रका भीमबहादुर तामाङले कास्य पदक पाएका छन् ।

यसैगरी महिलातर्फ ५० किलो तौलमा सशस्त्रका अनु अधिकारीले स्वर्ण, सेनाका मिस्ली श्रेष्ठले रजत तथा पूर्वाञ्चलका जीना सुब्बा र मध्यपश्चिमका मुस्कान शाहीले कास्य पदक जित्नुभयो । पचपन्न किलो तौलमा सशस्त्रका मनिषा चौधरीले स्वर्ण, पूर्वाञ्चलका रमिता थापाले रजत तथा पश्चिमाञ्चलका पूजा दर्नाल र प्रहरीका मलिका थापाले कास्य पदकमा चित्त बुझाए ।

यस्तै ६१ किलोमा सशस्त्रका सपना लामालाई स्वर्ण, प्रहरीका सुनिता महर्जनलाई रजत तथा पश्चिमाञ्चलका अनु गुरुङ र मध्यपश्चिमका प्रतीक्षा बिसीलाई कास्य पदक प्राप्त भयो । अठ्सठ्ठी किलोमुनिको तौलमा प्रहरीका विभूषा थापाले स्वर्ण, प्रहरीकै अनुपमा थापाले रजत तथा पूर्वाञ्चलका मिसदोना राई र मध्यमाञ्चलका पूजा खनालले कास्य जिते ।

अठसठ्ठी किलोमा सशस्त्र प्रहरीका कल्पना बस्नेतले स्वर्ण, सेनाका रीता कार्कीले रजत तथा मध्यमाञ्चलका रोजिता रञ्जित र प्रहरीका मनिता मोक्तानले कास्य पदक जिते । कराँतेतर्फ १७ स्वर्ण पदकका लागि भएको खेलमा सशस्त्र प्रहरीले आठ, नेपाली सेनाले पाँच तथा नेपाल प्रहरीले चारस्वर्ण पदक प्राप्त गरेका छन् ।

सेपाकताक्रोे

सेपाकताक्रो खेलमा सोमबार महिला डबल्सतर्फ पश्चिमाञ्चले स्वर्ण जितेको छ । धरानमा सम्पन्न फाइनलमा उसले सेनालाई २१– १२ र २१–१२ ले लगातार पराजित गरेको हो । मध्यमाञ्चलले कास्य पदक लियो । पुरुष टिम इभेन्टस्मा मध्यमाञ्चलले मध्यपश्चिमाञ्चलसँग तथा सेनाले सुदूरपश्चिमाञ्चलसंँग फाइनल प्रवेशका लागि आज प्रतिस्पर्धा गर्नेछन् ।

फुटबल

पुरुष फुटबलमा नेपाल प्रहरी र मध्यमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ख’ बाट प्रहरी विजेता तथा मध्यमाञ्चल उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।

धरानमा सोमबार पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३– १ गोलले हराएपछि प्रहरी हेड ‘टु’ हेडका आधारमा समूह विजेता हुँदै सेमिफाइनल पुग्न सफल भएको हो । आज सशस्त्र प्रहरी र नेपाली सेनाबीच तथा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलकाबीच खेल हुनेछ ।

बुद्धिचाल

धनकुटामा जारी बुद्धिचाल प्रतियोगितामा नेपाली सेनाका भूपेन्द्र निरौला र मध्यमाञ्चलका मदनकृष्ण कायस्थले अग्रता बनाएका छन् । प्रतियोगिताअन्तर्गत सोमबार चौथो तथा पाँचौँ चरणका खेल सम्पन्न भएका छन् ।

भूपेन्द्रले चौथो चरणमा मध्यमाञ्चलका आशिष फुयाँललाई तथा पाँचौँंमा पूर्वाञ्चलका परशुराम राईलाई पराजित गर्नुभयो । यस्तै चौथो चरणमा मध्माञ्चलका रिजेन्द्र राजभण्डारीलाई पराजित गर्नुभएका मदनले पाँचौँं चरणमा सेनाका केशव श्रेष्ठमाथि जित हासिल गर्नुभयो । पाँचौँ चरणको खेल सकिँदासम्म भूपेन्द्र र मदनको समान ४ दशमलब ५ अङ्क छ ।
यस्तै सेनाका हिमाल लामाको चार अङ्क भएको छ । हिमालले चौथो चरणमा पूर्वाञ्चलका प्रकाश नेपाल तथा पाँचौँ चरणमा पूर्वाञ्चलकै सिङ्गेश्वर दासलाई पराजित गरे । सेनाका केशव श्रेष्ठ तथा सजिन महर्जन, मध्यमाञ्चलका क्षितिज भण्डारी, रिजेन्द्र राजभण्डारी र नवीन तण्डुकार तथा पूर्वाञ्चलका परशुराम राईको समान ३ दशमलब ५ अङ्क छ ।

यस्तै सशस्त्रका सुमित पन्त, मध्यमाञ्चलका आशिष फुयाँल, सुरज पण्डित र राजीव कार्की, पूर्वाञ्चलका प्रकाश नेपाल, सिङ्गेश्वर दास र सुमन श्रेष्ठ तथा सुदूरपश्चिमाञ्चलका प्रकाश ओझा र मोहनप्रसाद भट्टको समान तीन तीन अङ्क रहेको छ ।

महिलातर्फ सेनाका सिन्दिरा जोशी र मोनालिसा खम्बुको समान ४ दशमलव ५ अङ्क छ । सिन्दिरा र मोनालिसाबीच पाचौँं चरणको खेल बराबरीमा टुङ्गिएको छ । सशस्त्र प्रहरीका शान्ता थापा, मध्यमाञ्चलका पूर्णिमा जयसवाल र पूर्वाञ्चलका खुस्बु थापाका समान चार अङ्क छ ।

सेनाका सुजना लोहनी र सुरुचि थिङ, मध्यमाञ्चलका सविना श्रेष्ठ र बिना जयसवाल, पूर्वाञ्चलका कृपा अधिकारी र आश्मा थापा तथा पश्चिमाञ्चलका अञ्जु शर्माका समान तीन अङ्क रहेको छ ।

यस्तै पूर्वाञ्चलका सुशीला गुरुङ र पश्चिमाञ्चलका नमन सेढाईंको समान २ दशमलव ५ अङ्क छ । प्रतियोगिताअन्तर्गत आज छैटौँ र सातौं चरणका खेल हुनेछन् ।

एथलेटिक्स 

एथलेटिक्सको दुई सय मि दौडको पुरुषतर्फ मध्यपश्चिमाञ्चलका यामसाजन सुनार र महिलातर्फ नेपाली सेनाका कृष्णा चौधरीले सोमबार स्वर्ण जितेका छन् ।

यसअघि दुवैले एक सय मि दौडमा समेत स्वर्ण पदक जितेका थिए । सुनसरीको इटहरी रङ्गशालामा सम्पन्न खेलमा सुनारले निर्धारित दूरी २१.७० सेकेन्ड तथा कृष्णाले २६.९० सेकेन्डमा पूरा गरे ।

यस्तै महिला आठ सय मि दौडमा सेनाका सरस्वती भट्टराईले दुई मिनेट १९.४२ सेकेन्डमा निर्धारित दूरी पार गर्दै स्वर्ण जित्नुभयो । महिला ४०० मि हर्डल्समा सेनाका दुर्गा देवकोटाले एक मिनेट १०.०२ सेकेन्ड समय खर्चेर स्वर्ण जिते ।

महिला ट्रिपल जम्पमा प्रहरीका केशरी चौधरीले ११.६७ मिटर जम्प गर्दै स्वर्ण पदक हात पार्नुभयो भने पुरुषतर्फ सेनाका डिल्ली खत्रीले १४.०४ मि जम्प गर्दै स्वर्ण जित्नुभयो । डिस्कस थ्रोको पुरुषतर्फ सेनाका विनोद राई तथा महिलातर्फ सेनाका अमृता महतोले स्वर्ण जितिन ।

टेबल टेनिस

टेबल टेनिसतर्फ मिक्स डबल्समा नेपाल प्रहरीका दीप साउन र नवीता श्रेष्ठको जोडीले आफ्नै टोलीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–८, ११–५ र ११–४ अङ्कले पराजित गर्दै स्वर्ण पदक जित्यो । यस्तै सशस्त्रका पुरुषोत्तम वज्राचार्य र सोनु थापा मगर तथा सेनाका कृष्ण थापा मगर र रोविना महर्जनको जोडीले कास्यमा चित्त बुझायो ।

भारोत्तोलनमा कमला र कमल

राजविराजमा जारी भारोत्तोलनको महिला ५८ किलोमा सेनाका कमला श्रेष्ठ र पुरुषको ८५ किलोमा कमलबहादुर अधिकारीले राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । कमलाले स्न्याचमा ६६ किलो र क्लिन एन्ड जर्कमा ७९ किलो भार उठाउँदै तीनै स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गर्नुभयो । स्न्याचमा कमलाले झन्ट कटवालले २०६२ सालमा बनाएको ६५ किलोको कीर्तिमान भङ्ग गर्नुभयो ।

त्यस्तै कुलमा पनि कमलाले झन्टले नै बनाएको १४२ किलोको कीर्तिमान तोडे । क्लिन एन्ड जर्कमा उहाँले २०६८ सालमा उत्तम खत्रीले वीरगन्जमा बनाएको ७८ किलोको कीर्तिमान तोडेका हुन् ।

१० अौं सागका स्वर्णधारी कमलले क्लिन एन्ड जर्कमा १५५ किलो भार उठाउँदै श्रीलङ्कामा भएको १० आैँ सागमा ज्ञानबहादुर श्रेष्ठले स्थापित गरेको १५४ किलोको कीर्तिमान तोडे । उहाँले स्न्याचमा १०५ किलोसहित २६० किलो भार उचाले।

पुरुषतर्फ ६९ किलोमा मध्यपश्चिमाञ्चलका प्रकाश केसीले स्न्याचमा ९६ र क्लिन एन्ड जर्कमा १२५ किलो भार उचाले । यस्तै पुरुष ७७ किलोको स्न्याचमा ८५ किलो र क्लिन एन्ड जर्कमा १२० किलो तौल उठाउँदै सेनाका सुरेन्द्र श्रेष्ठले स्वर्ण जिते ।

कबड्डी  
कबड्डी महिलातर्फ नेपाल प्रहरी, सेना, मध्यमाञ्चल र पश्चिमाञ्चल सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुषतर्फ सेना र सशस्त्रबीच तथा पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलबीच सेमिफाइनलमा आज भिडन्त हुनेछ ।

अहिलेसम्मको खेलको पदक तालिकाः टोली स्वर्ण रजत कास्य जम्मा
नेपाली सेना ६५ -३५- २१ -१२१


नेपाल प्रहरी २४ -२२- २५ -७१


सशस्त्र प्रहरी १८ -१८ -२९ -६५


मध्यमाञ्चल १२- २४- ३०- ६६


पूर्वाञ्चल ४- ८- २४- ३६


पश्चिमाञ्चल ४- १६- १६- ३६


सुदूरपश्चिमाञ्चल २- ५- ३०- ३७


मध्यपश्चिमाञ्चल ५ -६ -२२- ३३


जम्मा – १३४- १३४- १९७- ४६५
रासस

पारालिम्पिक्समा पदक विजेता पलेशालाई भव्य स्वागत

काठमाडौं । पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उहाँसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो । परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो । पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक प्राप्त गर्नुभएको थियो । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

पदक विजेता पलेसाको सम्मानमा आज नगर परिक्रमा

काठमाडौं । पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवर्धननको सम्मानमा आज नगर परिक्रमा गराइने भएको छ । फ्रान्सको राजधानी पेरिसमा भएको पारालिम्पिकको के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेसाले कांस्य पदक जित्नुभएको थियो ।  नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो । ऐतिहासिक पदक विजेता पलोसा आज बिहान काठमाडौं आएपछि उहाँसहित नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगर परिक्रमासहित स्वागत गर्न लागेको हो । राखेपका अनुसार बुधबार बिहान साढे बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍याली सुरु हुनेछ । र्‍याली गौशाला, नयाँबानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुग्नेछ । पलेसासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि आज स्वदेश फर्कदै हुनहुुन्छ । १० वर्षको कलिलो उमेरदेखि तेक्वान्दो खेल्न सुरु गरेकी पलेसा सन् २०१६ मा राष्ट्रिय पारा तेक्वान्दो टिममा आबद्ध हुनुभएको थियो । सन् २०१७ मा दक्षिण कोरियाको छुन्चियोनमा भएको एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप पलेसाको डेब्यु अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यो प्रतियोगितामा उहाँले पाँचौं स्थान हासिल गर्नुभएको थियो ।  २१ वर्षीया पलेसाले पेरिस पारालिम्पिकसहित ६ अन्तर्राष्ट्रिय पदक जित्नुभएको छ, जसमातीन स्वर्ण र तीन कांस्य छ । पलेसासँग लन्डन र टर्कीमा भएको दुई विश्व च्याम्पियनसिप, जोर्डनमा भएको पाँचौं एसियाली खुला पारा तेक्वान्दो च्याम्पियनसिप, टोकियो पारालिम्पिकको छनोट, टोकियो पारालिम्पिक, साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स तथा भियतनाममा भएको नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप खेलेको अनुभव छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा नेपालगञ्ज रंगशालाको अवलोकन

नेपालगञ्ज, १६ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान नेपालगञ्ज रंगशालाको अवलोकन गर्नुभएको छ । सो क्रममा उहाँले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताउनुभयो । हिजो मात्रै सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको अवलोकन गर्नुभएका अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताउनुभयो । ‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुद मन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो’– उहाँले भन्नुभयो– ‘त्यसैले पनि यो हाम्रा लागि विशेष महत्वको छ ।’ यही वर्ष कर्णालीमा दशौं राष्ट्रिय खेलकुद हुने भएकाले नजिकको नेपालगञ्जका खेल पूर्वाधारहरु पनि आवश्यक पर्ने उल्लेख गर्दै नेपालगञ्ज रंगशालाको उयोग गरेर फाइदा लिन अध्यक्ष प्रचण्डले खेलाडीहरुलाई आग्रह गर्नुभयो । उहाँले दशौं राष्ट्रिय खेलकुदको सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो । खेलकुद व्यक्तिको स्वास्थ्य र देशको गौरवसँग जोडिएकाले आफ्नो पार्टीले सरकारमा हुँदा वा नहुँदा खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर अघि बढेको उहाँले स्पष्ट गर्नुभयो । सो क्रममा विभिन्न खेलको अभ्यासमा जुटेका खेलाडीहरुले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए । उहाँसँगै नेता शक्ति बस्नेत, चक्रपाणि खनाल, महेश्वर गहतराजलगायतको सहभागिता रहेको थियो ।  

पारा ओलम्पिक विजेता पलेशालाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक हात पारेकोमा बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत उहाँले ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदकका लागि बधाई दिनुभएको हो । ‘नेपालकी पलेशा गोवर्धनले पाराओलम्पिक खेलकुदमा पदक जित्ने हिमाली एसियाली राष्ट्रबाट पहिलो खेलाडी बनेर इतिहास रचेकी छिन्’– उहाँले भन्नुभएको छ– ‘पलेशालाई यस उल्लेखनीय उपलब्धिको लागि बधाई छ, जसले सम्पूर्ण नेपालीहरूलाई गौरवान्वित बनाएको छ।’  

लोकप्रिय