सुखद भविष्यको प्रतीक्षामा नेपाली क्रिकेट, गल्ती सच्याउने अन्तिम अवसर

सुखद भविष्यको प्रतीक्षामा नेपाली क्रिकेट, गल्ती सच्याउने अन्तिम अवसर

काठमाडौं,माघ २० । यो साता नेपाली क्रिकेट समर्थकका लागि सुखद रह्यो । नेपाली युवा स्पिनर सन्दीप लामिछाने आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली डियरडेभिल्ससँग अनुबन्धित भए ।

त्यही साँझ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का सिनियर अधिकारी उपाध्यक्ष इमरान ख्वाजा नेतृत्वको टोलीले नेपाली क्रिकेटका सम्बद्ध अधिकारीहरूसँग छलफल गरी करिब १० महिनायता नेपाल क्रिकेट संघ (क्यान) माथि जारी निलम्बन फुकुवा गर्ने प्रक्रियामा अगाडि बढ्न महत्वपूर्ण सहमति गर्‍यो ।

नेपाली क्रिकेट निलम्बनमा रहँदा सबैभन्दा दुःखी बनेका समर्थकका लागि योभन्दा ठूलो समाचार अरू सायदै होला ।

स्वच्छ निर्वाचन गराउन नसकेको अनि सरकारी हस्तक्षेप भएको कारण देखाउँदै आईसीसीले गत वैशाख १२ गते नेपालको सदस्यता निलम्बन गरेको थियो । आईसीसीले त्यसयता नेपाली राष्ट्रिय टोलीलाई आफ्नै रेखदेखमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउँदै आएको छ ।

यद्यपि प्रशासनिक निकाय नै निलम्बनमा रहँदा घरेलु क्रिकेटको गतिविधि भने ठप्प छ । आईसीसीले राष्ट्रिय टोलीलाई आफ्नै व्यवस्थापनमा राख्ने निर्णय गरे पनि पछिल्लो १० महिनाको अनुभवलाई हेर्दा त्यो निकै मुस्किल देखिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको खस्कँदो प्रदर्शन त्यसैको परिणाम हो ।

सन् २०१४ को विश्वकप खेलिसकेको नेपाली टोलीले फेरि त्यो पाइला पछ्याउन सकेको छैन ।

डिभिजन दुईमा रहेको टोलीलाई आईसीसीले डिभिजन एकमा बढुवा गर्दासमेत टिक्न सकेन । आईसीसीको व्यवस्थापनमा खेल्न मुस्किल भएको राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले अन्नपूर्णसँगको हालैको अन्तर्वार्तामा पनि बताएका थिए । निरन्तरको विवाद र पछिल्लो निराशाजनक अवस्थाले गर्दा खेलाडीहरूबीच नै अब हलो जोत्न जाने ठट्टा चल्न थालेको प्रसंग पनि उनले सुनाएका थिए ।

क्यान निलम्बनमा पर्दा सबैभन्दा ठूलो क्षति नेपाली क्रिकेटले नै व्यहोरेको छ । अनि सबैभन्दा बढी दुःखी समर्थक भएका छन् । त्यसैले सन्दीप आईपीएलमा अनुबन्धित हुँदा होस् वा क्यानमाथिको निलम्बन फुकुवा हुने समाचारले होस्, सबैभन्दा खुःसी पनि समर्थक नै भएका छन् ।

ख्वाजाको भविष्यसँग जोडिएको मुद्दा

धेरैको अपेक्षा र विश्लेषण विपरीत घरेलु क्रिकेटमा दुई ध्रुवमा बाँडिएका पक्षबीच सहमति निस्किएको छ, जसमा आईसीसी उपाध्यक्ष ख्वाजाको दबाबपूर्ण भूमिका निर्णायक देखियो ।

आईसीसीले क्यानलाई निलम्बनमुक्त गर्ने प्रयासमा २०७३ साल भदौ १९ गते पूर्वअध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल, उद्योगपति वसन्त चौधरी, खेलकुद मन्त्रालयका प्रतिनिधिको रूपमा सहसचिव चूडामणि पौडेल तथा राखेपका प्रतिनिधिको रूपमा रोहित दाहाल रहने गरी ६ सदस्यीय सल्लाहकार समूह गठन गरेको थियो । सल्लाहकार समूहको जिम्मेवारी क्यानको पुरानो विधानलाई संशोधन गर्नु थियो ।

सल्लाहकार समूहमा २०७३ साल फागुन ७ गते क्यानको निर्वाचित समितिका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेल पनि थपिए । ख्वाजा नेपाली क्रिकेट विवाद समाधानको प्रक्रियामा सुरुबाटै जोडिँदै आएका आईसीसीका सिनियर अधिकारी हुन् ।

आगामी जुनमा हुने आईसीसीको निर्वाचन साधारणसभा नजिकिँदै गर्दा आफ्नो भविष्यसँगै जोडिने नेपाली क्रिकेटको विवादको मुद्दालाई ख्वाजाले त्यसअघि नै समाधानका लागि हदैसम्मको प्रयास गरिरहेका छन् । उनले यसपटकको भ्रमणमा नेपाली अधिकारीलाई आगामी जुनभन्दा अघि नै निलम्बन फुकुवा गरिदिने आश्वासन त दिए नै, सँगसँगै त्यसमा इमानदार भएर लाग्न सम्बन्धित सबैलाई सचेत पनि गराए ।

आगामी जुनअघि नै निलम्बन फुकुवा गर्न सफल भए आईसीसीको निर्वाचन साधारणसभामा नेपालको एक भोट पनि थपिनेछ । भोट काम नलागे पनि ख्वाजाले आईसीसीमा आफ्नो भविष्य सुनिश्चित गर्न लामो समयदेखि जारी नेपालको क्रिकेट विवादको मुद्दालाई किनारा लगाएको जश लिन सक्नेछन् । विवाद नमिले उनीमाथि नै असफलताको ट्याग झुन्डिन सक्ने डर पनि उत्तिकै छ ।

त्यसैले सहमति जुटाउने प्रयासमा यसअघिका सबै बैठकमा क्यानको निर्वाचित समितिप्रति आक्रामक देखिने उनी यसपटक भने अन्य पक्षतर्फ पनि आक्रामक रूपमा प्रस्तुत भएका थिए । ख्वाजाले नेपाली क्रिकेटलाई चाँडै नै निलम्बनमुक्त गर्नका लागि पछिल्लो सहमतिअनुसार अब समयसीमा तोकी काम अघि बढाइने बताएका छन् ।

त्यसका लागि पछिल्लो छलफलमा भएको सहमतिलाई समावेश गरिएको विधालाई निर्वाचित समितिको विशेष साधारणसभाले पारित गर्ने र आईसीसीको तीनसहित राखेप र निर्वाचित समितिएका एक÷एक सदस्य रहने गरी मनिटरिङ कमिटी बनाएर कामअघि बढाउने सहमति भएको छ । यो नेपाली क्रिकेटलाई निलम्बनमुक्त गराउने मात्र होइन, नेपाली खेल अधिकारीहरूका लागि यसअघि आफूबाट भएको गल्ती सच्याउने र आफू सच्चिने गतिलो अवसर पनि हो ।

बोली र व्यवहारमा फरक

आईसीसीसँगको छलफलपछि मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव विष्टले विनयराज पाण्डे र अशोकनाथ प्याकुरेलको समेत उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरेका थिए । सदस्यसचिव विष्टको प्रयास यसअघि दुई ध्रुवमा देखिएका यी दुईलाई सँगै राखेर विवाद मिलेको संकेत दिनु थियो ।

पत्रकार सम्मेलनमा पाण्डेले आफूहरूले सल्लाहकार समूहको बैठकमा जिल्लालाई बलियो बनाउनुपर्छ भनेर बढी जोड गरेको बताए । उनको बोलीको आशय जिल्लालाई बलियो बनाउनुपर्ने आफ्नो अडानमा निर्वाचित समितिका सदस्यहरूले विरोध गरेको भन्ने थियो ।

तर, सल्लाहकार समूहले तयार पारेको विधानको पहिलो मस्यौदामै पाण्डेसँगै पवन अग्रवाल र वसन्त चौधरीले जिल्लालाई केन्द्रको चुनावी साधारणसभामा सीधै प्रतिनिधित्व दिन नहुने लिखित अडान राखेका थिए ।

निर्वाचित समितिका पदाधिकारीको असहमतिपछि प्रत्येक जिल्लाबाट एक÷एक र प्रदेशबाट पनि प्रत्येक दुई जिल्लाबाट एकजना पर्ने गरी केन्द्रीय निर्वाचन साधारणसभामा पदाधिकारसहित प्रतिनिधि जाने व्यवस्था गरियो । त्यसअघि प्रदेशबाट प्रत्येक दुई जिल्ला बराबर एक हुनुपर्ने गरी प्रतिनिधि आउने व्यवस्था गरेको थियो । जसले केन्द्रको अध्यक्ष चुन्ने र अध्यक्षले बाँकी पदाधिकारी मनोनीत गर्ने व्यवस्थाको प्रस्ताव थियो । यसमा पनि निर्वाचित समितिका पदाधिकारीको विरोधपछि सबै पदाधिकारीका लागि निर्वाचन गर्ने सहमति भयो ।

अन्तिम चुनौतीहरू,

असहमति र विरोधबीच पनि सहमति खेजिएको छ । यद्यपि ती सहमतिअनुसार काम सहजै अघि बढ्नेमा आशंका छ । अब गठन गर्ने भनिएको मनिटरिङ कमिटीले यसअघि सम्पन्न भइसकेको निर्वाचनमध्ये विवाद देखिएका जिल्लामा पुनः निर्वाचन गराउने भनिएको छ ।

सदस्यसचिव विष्टले गरेको पत्रकार सम्मेलनमा निर्वाचित समितिका महासचिव प्याकुरेलले पनि यो समस्या राखेका थिए । यो सहमतिअनुसार प्रतिस्पर्धामा आएर पराजित भएका पदाधिकारीले पनि उजुरी गरे वा अदालती बाटो अवलम्बन गरे सम्पूर्ण प्रक्रिया नै बिथोलिन सक्ने सम्भावना पनि रहेको छ ।

यसदेखिबाहेक सहमतिको प्रक्रियामा आएका पदाधिकारीहरूको व्यवहार पनि महत्वपुर्ण हुनेछन् ।

उनीहरूले आफूले गरेको सहमतिअनुसार इमानदार भएर अघि बढे नेपाली क्रिकेटले मात्रै निकास पाउने छैन, उनीहरूप्रति अन्यको दृष्टिकोण पनि सकारात्मक हुनेछ । इमानदारिता गुमाए क्रिकेटसँगै उनीहरूको भविष्य पनि ओरालो लाग्नेछ । -अन्नपुर्णपाेष्टबाट

भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो ।  भारतकी ओपनर सिफालीले १ रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले ४ बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७  रन प्रहार गरिन् ।  जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो । महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ ।समूह ‘ए’बाट भारत यसअघि नै दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । नेपाललाई भने सेमिफाइनल प्रवेशका लागि आज फराकिलो जितको आवश्यकता थियो । समूह एको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको नेपालले तीन खेल खेल्दा दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो 

महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।  श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।  पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडिन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन। सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन। कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।  नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिदा फातिमा सानाले एक विकेट लिन सफल भइन् ।  समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ । एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ ।  समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।

महिला एसिया कपमा नेपालको ऐतिहासिक जित

काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङसँगै नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् । सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन् । यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६ थीर्थ सतिश ९ रनमा र समिरा धर्निधर्क १३ रनमा आउट भइन् । यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको यूएईलाई पाँचौं विकेटका लागि खुसी शर्मा र काविशा कुमारीले ४१ बलमा ३२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । काविशा २६ बलमा २ चौकासहित २२ रनमा आउट भइन् । नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो । अब नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ ।

नेपालले जित्यो  ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ। २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो। क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो। आईसीसीले नेपाली क्रिकेटको फेसबुकमा ४०० प्रतिशतले रिच वृद्धि भएको उल्लेख गरेको छ।

लोकप्रिय