सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोनाम ल्होछार तामाङको सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानको प्रतिविम्ब भएको बताएका छन् ।
सोनाम ल्होछारका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ‘प्रचण्ड’ले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा सङ्घीयता कार्यान्वयनले गुणात्मक फड्को मार्न सकिने बताएका हुन् ।
“म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । प्रधानमन्त्री प्रचण्डले भने, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।”
आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूप कार्यालयहरूको स्थापनामा महत्त्वपूर्ण कामहरू भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको स्पष्ट पारे ।
यही अवधिमा राष्ट्रिय समन्वय परिषद्का दुई बैठक सम्पन्न भएको बताउँदै उहाँले कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा रहेको जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले भने, “मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्त्व दिएको छु । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।”
पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्नका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।”
उनले राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
राष्ट्रिय सोनाम ल्होछार–२८६० को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको सम्बोधनको
सर्वप्रथम तामाङ समुदायको मुख्य पर्व राष्ट्रिय सोनाम ल्होछार २८६० को ऐतिहासिक अवसरमा उपस्थित आदरणीय जनसमुदाय एवं स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । शेर्पा र भोटेलामा समुदायको ग्याल्बो ल्होछारको अवसरमा उहाँहरूमा समेत यसै मञ्चमार्फत हार्दिक शुभकामना व्यक्त गर्दछु ।
तामाङ जातिको सामाजिक, सांस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहिआएको तथ्यमा हामी सबै स्पष्ट नै छौँ । गणितमा आधारित ल्हो परम्परा तामाङ संस्कृतिकै अभिन्न अङ्ग हो । यसले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानसमेत प्रतिविम्बित गर्दछ । ‘ल्हो’ को अर्थ साल, सम्वत्, वर्ष, उमेर र ‘छार’ को अर्थ नयाँ अर्थात् ल्होछारको अर्थ नयाँ वर्ष हो । यसर्थ, प्रकृति विज्ञानमा आधारित सोनाम ल्होसार तामाङहरूको मौलिक र ऐतिहासिक पर्व त हो नै, सभ्यताको सङ्गम, संस्कृतिको संकेन्द्ररण र उत्पादन पद्धतिमा अन्तरआवद्धता रहेको विशिष्ट पर्व हुनुको नाताले ल्होछार सम्पूर्ण नेपालीहरूको साझा पर्वसमेत हो ।
नेपालमा मात्र होइन चीन, मंगोलिया, जापान, हङकङ, भियतनाम, लाओस, थाइल्याण्ड, ताइवान, मलेसिया, सिंगापुर आदि देशहरूमा पनि चन्द्रमासमा आधारित यही ल्होछार (नयाँ वर्ष) मनाउने गर्दछन् । नेपालका ह्योल्मो, मनाङ्गे, हुम्ली तामाङ, डोल्पो, तोप्केगोला, सिङ्सा, ताङ्बे, थकाली, जिरेल, खाममगर, दुरा, भोटे, नेस्याङबा र केही शेर्पा आदिले मान्दछन् । यसरी नै विश्वमा छरिएर बसेका तामाङ समुदायले पनि यसै दिन यो पर्व धुमधामसँग मनाउने गर्दछन् ।
सोनाम ल्होछार पर्व माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म तामाङहरूले ल्होछार विभिन्न गुम्बा, घर–घरमा पूजा गरी घर लगायत सार्वजनिक स्थानहरूमा दज्र्यू गाड्ने, छो प्रसादहरू वितरण गर्ने, शुभकामना आदानप्रदान गर्ने, मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने, चेलीबेटी, इष्टमित्र, कुटुम्बको भेटघाट र सामूहिक प्रितिभोज र साँस्कृतिक कार्यक्रम गरेर मनाउँछन् ।
नेपाल भौगोलिक पूर्वमा सानो भएर पनि सभ्यता, संस्कृति र जातीय–भाषिक विविधताका दृष्टिले विश्वमै वैभवशाली देश हो । तर, विगतको सामन्ती, एकात्मक तथा केन्द्रीकृत राज्यसत्ताले जातीय, भाषिक, सांस्कृतिक, सामाजिक र क्षेत्रीय विविधतालाई राज्यको ठूलो सम्पत्तिको रूपमा ग्रहण गर्दै सम्वद्र्धन, विकास र बिस्तार गर्नुको सट्टा एकल जाति, एकल भाषा, एकल धर्म र संस्कृतिलाई प्रोत्साहित गर्ने र अरूमाथि दमन गर्ने नीति अख्तियार ग¥यो ।
हामीले जनयुद्धपूर्व नै नेपाली समाजको विविधतासहितको राष्ट्रिय एकतामा जोड दिएका थियौँ । महान् जनयुद्ध र संविधान निर्माणको दौरानमा पहिचान र सामथ्र्यमा आधारित राज्यको पुनर्संरचनाका निम्ति म र हाम्रो पार्टीले अन्तिमसम्म सङ्घर्ष गरेको कुरा तपाईहरूलाई जानकारी नै छ । त्यही सङ्घर्षको परिणामतः अपेक्षा गरिएअनुरूप अधिकारहरू संस्थागत गर्न नसकिए पनि संविधानमा गुणात्मक र महत्वपूर्ण अधिकारहरू स्थापित गरिएको छ ।
संविधानको प्रस्तावनामा नै ‘‘सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प’’ गरिएको छ । हाम्रा माग र मुद्दाको सम्बोधनका दृष्टिले यो पूर्ण नभए पनि विगतका संविधानहरूको तुलनामा गुणात्मक परिवर्तन हो, क्रान्तिकारी छलाङ हो । यो यथार्थलाई हामी सबैले गहिरो गरी आत्मसात गर्नैपर्दछ ।
नेपालको संविधानमा ३० भन्दा बढी मौलिक हकको प्रबन्ध गरिएको छ, जसले नेपाली समाजको विविधता र नागरिकको अधिकारलाई प्रतिविम्बित गर्दछन् । सामाजिक न्यायको हकमा ‘‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तीकृत, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पपसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिकरूपले विपन्न खस आर्यलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुने’’ व्यवस्था गरिएको छ ।
राज्यका निर्देशक सिद्धान्तहरूमा ‘‘परस्पर सहयोगमा आधारित संघीयताका आधारमा संघीय इकाइहरूबीचको सम्बन्ध सञ्चालन गर्दै स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको आधारमा शासन व्यवस्थामा समानुपातिक सिद्धान्तलाई आत्मसात् गर्दै लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने अवस्था सुनिश्चित गर्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढ गर्ने राज्यको राजनीतिक उद्देश्य हुनेछ’’ भनिएको छ । यो पनि सामान्य सङ्घर्षले प्राप्त भएको अधिकार होइन ।
त्यसैगरि संविधानको धारा २५८ मा राष्ट्रिय समावेशी आयोग, धारा २६१ मा आदिवासी जनजाति आयोग, धारा २६२ मा मधेशी आयोग, धारा २६३ मा थारू आयोग र २६४ मा मुस्लिम आयोगको व्यवस्था गरिएको छ । संवैधानिक आयोगका रूपमा स्थापित यी आयोगहरू पहिचान र अधिकारको संरक्षण र प्रवद्र्धन गर्न दूरगामी महत्वका रहन्छन् भन्ने तथ्य हामीले भुल्नु हुँदैन । साथै धारा २६५ ले ‘‘यस भाग बमोजिम गठन भएका आयोगहरूको संघीय संसदले यो संविधान प्रारम्भ भएको मितिले दश वर्षपछि पुनरावलोकन गर्नेछ’’ भन्ने प्रबन्ध गरिएकाले भविष्यमा थप अधिकारको ढोकासमेत खुला राखिएको छ ।
पहिचान र अधिकार स्थापित गर्न वर्तमान संविधानमा जे–जति अधिकारको व्यवस्था गरिएको छ, यी सानो सङ्घर्ष र मेहेनतले प्राप्त भएका अधिकार होइनन् । यसका लागि दशौँ हजार वीरयोद्धाहरूले बलिदान गर्नुभएको छ, हजारौँ योद्धाहरू बेपत्ता हुनुहुन्छ । लाखौँ योद्धाहरूले सम्पूर्ण जीवन परिवर्तनका निम्ति समर्पित गर्नुभएको छ । लाखौँ जनसमुदायले परिवर्तनका पक्षमा उच्च योगदान गर्नुभएको छ । यो यथार्थलाई बोध गर्दै क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशीला खडा हुन सक्दछ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।
मेरो दोस्रो प्रधानमन्त्रीत्वकालमा ७५३ स्थानीय तहको निर्धारण, स्थानीय तहको निर्वाचन, सङ्घीयताअनुरूपमा कार्यालयहरूको स्थापनामा महत्वपूर्ण कामहरू भएका थिए । अहिले तेस्रो कार्यकालमा सङ्घीयता कार्यान्वयनलाई उच्च प्राथमिकतामा रहेर काम गरिरहेको कुरा तपाईहरूले बुझ्नुभएकै छ । मुख्यतः सङ्घीय निजामती सेवा ऐन, सङ्घीय शिक्षा ऐन, सङ्घीय प्रहरी ऐन लगायतका सङ्घीय ऐनहरू पारित गर्न मैले उच्च महत्व दिएको छु । यही अवधिमा राष्ट्रिय समन्वय परिषदका २ वटा बैठकहरू सम्पन्न भएका छन्, कार्यविस्तृतिकरण प्रतिवेदन परिमार्जनको अन्तिम प्रक्रियामा छ । प्रहरी समायोजनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । पहिचान र अधिकारका पक्षधर तपाई उत्पीडित वर्ग, जाति र समुदायको सहयोग रह्यो भने सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को हान्न सकिन्छ । म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु– पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईहरूले राम्रोसँग चिन्नुस्, यसको वरिपरि गोलबन्द हुनुस् । फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभारहरू पूरा हुनेछन् ।
अन्त्यमा, राष्ट्रिय सोनाम ल्होछार–२८६० ले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकतावद्ध भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा मिलोस् । फेरि एकपटक तपाईहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
नेपाली समाज यूएईद्वारा क्षमता अभिवृद्धि तालिम सम्पन्न
दुबई ।नेपाली समाज यूएईले गत आइतबार दुबईस्थित अरबियन कोर्टयार्ड होटलको द बोधी लाउन्ज हलमा सार्वजनिक भाषण, माइन्युट लेखन तथा आधारभूत पत्रकारितासम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ। नेपाल पत्रकार महासंघ यूएई शाखाको समन्वयमा आयोजित उक्त तालिममा यूएईमा क्रियाशील विभिन्न सामाजिक संघ–संस्थाका सचिव तथा महासचिवहरूलाई लक्षित गरिएको थियो। आयोजकका अनुसार तालिमको उद्देश्य सामाजिक अभियन्ताहरूको नेतृत्व, सञ्चार र व्यक्तित्व विकासमा योगदान पुर्याउनु हो। कार्यक्रममा अनुभवी प्रशिक्षक निमेश गिरी, लक्ष्मण खनाल र मेघराज सापकोटाले प्रशिक्षण प्रदान गरेका थिए। तालिममा ७० भन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूलाई आरम्भ लाइफजेन स्पिच हब प्रा. लि. तर्फबाट प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ। तालिममा सहभागी स्याङ्जा समाजका बिष्णु गैरेले आफुहरुले तालिमबाट धेरै कुरा सिक्न पाएको बताए। एनआरएनए यूएईकी उपाध्यक्ष शोभा शर्माले पब्लिक स्पिकिंग तालिमले आफुलाई बोल्न आत्मबल मिलेको भन्दै आयोजकलाई धन्यबाद दिएकी छिन्। पार्षद अध्यक्ष कमल गिरीले निकट भविष्यमा अझ बृहत तालिम कार्यक्रमको आयोजना गर्ने बताए । कार्यक्रम आवश्यक र महत्वपूर्ण रहेछ भन्ने महशुस भएको र छिट्टै नै अर्को कार्यक्रमको आयोजना गरिने भन्दै नेपाल पत्रकार महासंघलाई सहयोगको लागि धन्यबाद दिए। नेपाली समाजका सल्लाहकार गोबिन्द ढकालले तालिममा सिकेको कुरा कार्यन्वयनमा ल्याउन जोड दिए। नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानले यूएईमा सामाजिक संस्थाहरूको सक्रियता बढ्दै गइरहे पनि व्यक्तित्व विकास र सञ्चार सीप अभाव महसुस भएको बताए। उनले भविष्यमा अझ व्यापक र प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उल्लेख गरे।
उत्तरपूर्वी जापानमा ७.५ को शक्तिशाली भूकम्प : ३० जना घाइते, ९० हजारलाई सुरक्षित स्थानमा जान आग्रह
एजेन्सी – सोमबार राति उत्तरपूर्वी जापानमा गएको ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३० जना घाइते भएका छन् भने करिब ९० हजार बासिन्दालाई आफ्नो घर छोडेर सुरक्षित स्थानमा जानुपरेको छ। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार, भूकम्प स्थानीय समयअनुसार राति ११:१५ बजे आओमोरी क्षेत्रको तटबाट करिब ८० किलोमिटर टाढा र ५० किलोमिटर गहिराइमा केन्द्रित थियो। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको थियो, जुन अहिले हटाइएको छ। यद्यपि, ७० सेन्टिमिटर (२७ इन्च) सम्मका छालहरू देखिएका थिए। भूकम्पका कारण केही रेल सेवाहरू स्थगित भएका छन् भने हजारौँ घरहरूमा बिजुली आपूर्ति बन्द भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार, अधिकारीहरूले आगामी दिनहरूमा अझ शक्तिशाली कम्पन आउन सक्ने चेतावनी दिँदै कम्तीमा एक हप्तासम्म उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्। रोयटर्स समाचार एजेन्सीका अनुसार, करिब ९०,००० बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको थियो। आओमोरी प्रिफेक्चर सरकारले करिब २,७०० घरमा बिजुली आपूर्ति बन्द भएको बताएको छ। पूर्वी जापान रेलवेले पनि उत्तरपूर्वी तटमा केही सेवाहरू स्थगित गरेको छ। मन्त्रिपरिषद्का सचिव मिनोरु किहाराका अनुसार, जापानी सरकारले प्रधानमन्त्रीको संकट व्यवस्थापन केन्द्रभित्र एउटा प्रतिक्रिया कार्यालय स्थापना गरी आपत्कालीन टोली बोलाएको छ। उनले थपे, ‘हामी उद्धार र राहत कार्यहरू सहित क्षतिको आकलन गर्न र आपत्कालीन विपद् प्रतिक्रिया उपायहरू लागू गर्न हरसम्भव प्रयास गरिरहेका छौं।’ कम्पनपछि जापानी बिजुली कम्पनी तोहोकु इलेक्ट्रिक पावरले आफ्ना हिगाशिदोरी र ओनागावा आणविक ऊर्जा केन्द्रहरूमा भूकम्पको परिणामस्वरूप कुनै अनियमितता रिपोर्ट नगरिएको बताएको छ। जापानी अधिकारीहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लाई निष्क्रिय पारिएको फुकुशिमा आणविक ऊर्जा केन्द्र स्थलमा पनि कुनै समस्या नदेखिएको जानकारी दिएका छन्। स्मरण रहोस्, सन् २०११ को मार्च ११ मा देशको पूर्वी तटमा आएको ९.० म्याग्निच्युडको भूकम्पले फुकुशिमामा क्षति पुर्याएको थियो। जापानमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिएको उक्त भूकम्पले सुनामी निम्त्याएको थियो, जसले होन्शुको मुख्य टापुमा १८,००० भन्दा बढी मानिसको ज्यान लिएको थियो।
नखिल गोर्खा फुटबल क्लबले जित्यो दोस्रो ज्योलुकास एक्सचेन्ज धरान हेल्पिङ ह्याण्ड्स कप–२०२५
दुबई । दोस्रो ज्योलुकास एक्सचेन्ज धरान हेल्पिङ ह्याण्ड्स फुटबल प्रतियोगिता–२०२५ को उपाधि अबुधाबीस्थित नखिल गोर्खा फुटबल क्लबले हात पारेको छ। धरान हेल्पिङ ह्याण्ड्स र धरान युनाइटेड क्लब यूएईको संयुक्त आयोजना तथा यूएई नेपाली फुटबल संघ (UNFA) को संयोजनमा दुबईको डल्सको खेल मैदानमा सम्पन्न फाइनल खेलमा नखिल गोर्खाले ग्रीन सिटी इलामलाई २–० गोलले पराजित गर्दै च्याम्पियन बनेको हो। यूएईको नेपाली समुदायमा सबैभन्दा ठूलो पुरस्कार राशी राखिएको प्रतियोगितामा विजेता नखिल गोर्खाले ८ हजार ४ सय ११ दिराम र उप–विजेता ग्रीन सिटी इलामले ४ हजार चार सय ११ दिराम प्राप्त गरे । त्यसैगरी धरान युनाइटेड एफसी ले फेयर–प्ले अवार्ड हासिल गर्यो । विशेष सम्मान र पुरस्कार वितरण विजेता–उपविजेता टोलीलाई ट्रफी तथा पुरस्कार प्रदान गरिएको कार्यक्रमको विशेष आकर्षणको रूपमा यूएईमा नेपाली फुटबल विकासमा महत्वपूर्ण योगदान पुर्याउने १२ जना व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तिहरूमा UNFA अध्यक्ष अनिल शेर्पा, संरक्षक मुक्ति गुरुङ र कूल लेप्चा, वरिष्ठ खेलाडी राजु तमाङ, पूर्व राष्ट्रिय खेलाडी सुरज बिक, कप्तान सुमन लिम्बु, क्लब हेड स्विकार राई, मानधोज आले, खेमनसिंह गुरुङ, गुप्त शेखर पौडेल, अजय मगर र डुर्गा बहादुर थापा रहेका थिए। व्यक्तिगत पुरस्कारतर्फ ग्रीन सिटी इलामले उत्कृष्ट प्रदर्शन गर्दै बेस्ट प्रशिक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट मिडफिल्डर र बेस्ट स्ट्राइकर का उपाधि जित्यो। यस्तै उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, बेस्ट म्यानेजर र बेस्ट डिफेन्डर उपाधि पनि सम्बन्धित खेलाडीहरूले प्राप्त गरे। यूएईका विभिन्न नेपाली व्यवसायिक संस्थाहरूको सहयोगमा सम्पन्न प्रतियोगिता आगामी वर्ष पनि निरन्तरता दिइने आयोजक समितिले जनाएको छ। आयोजकका अनुसार, प्रतियोगिताले यूएईमा नेपाली खेलकुद, प्रतिभा पहिचान, समुदायिक एकता र फुटबल उत्साह बढाउन महत्वपूर्ण भूमिका खेलेको छ।
नेपाली दुतावास अबुधावीबाट श्रम स्विकृति प्रदान गरिने
फडिन्द्र ढकाल, अबुधावी । श्रम स्विकृति नलिईकन यूएई पुगेका नेपाली श्रमिकहरूलाई बैधानिक प्रक्रियामा समेट्न नेपाली दूतावास अबुधावीले जुलाई १९ शनिबार देखि स्विकृति प्रदान गर्न सुरु गरेको छ । सन् २०२४ सेप्टेम्बर २४ सम्म कुनै पनि भिसामा यूएई पुगेर कामदार भिसामा परिबर्तन भएका श्रमिकहरूले यो सेवा लिन सक्ने दूतावासका काउन्सिलर दिपेन्द्र पौडेलले बताए । ‘दूतावास स्तरीय श्रम बैधानिकीकरण सेवा’ नाम दिइएको यो कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार नियमित रूपमा सञ्चालन हुनेछ । सेवाको पहिलो दिन गत शनिबार १९ जुलाईमा श्रमिकहरूको दूतावासमा उपस्थिति देखिन्थ्यो । उनीहरूलाई श्रम काउन्सिलर पौडेल र श्रम सहचारी पंकज लाभकर्णले आवश्यक जानकारी प्रदान गरे । मिठो व्यवहार र मिठाइले गर्दा सेवाग्राहीहरुमा सकारात्मक सन्देश प्रवाह भएको थियो । दूतावासका अनुसार सेवा प्रारम्भ गर्न करिब पाँच महिना अघि नै तयारी थालिएको थियो । तर प्राविधिक पक्षमा केही ढिलाइ हुँदा गत शनिबार देखि मात्रै औपचारिक रूपमा सेवा सुरु गरिएको हो । यो सेवाबाट यूएईमा रहेर श्रम स्वीकृति नलिएका नेपाली श्रमिकहरू लाभान्वित हुनेछन् । सेवा प्रकृयाः • सामाजिक सुरक्षा कोष र बीमा शुल्क श्रमिकले स्वयं तिर्नुपर्नेछ । • आवश्यक फारमहरू भरे पछि बायोमेट्रिक प्रक्रियाको लागि दूतावासमा उपस्थित हुनुपर्नेछ। • सेवा पूर्णतः निःशुल्क परामर्शमुखी हुनेछ । श्रम काउन्सिलर पौडेलका अनुसार सेवा केवल कागजी प्रक्रिया पूरा गर्न नभई श्रमिकमा कानुनी अधिकार र कर्तव्यबारे चेतनाअभिवृद्धि गर्ने लक्ष्य सहित ल्याइएको हो । “काम गर्ने कम्पनी, तलब, र कार्यस्थलको अवस्था बुझेरै मात्रै प्रक्रिया अघि बढाउन सकिन्छ,” उनले भनेका छन् । कम्पनी छाडेर अलपत्र परेका, पासपोर्ट नभएका श्रमिकलाई ट्राभल डकुमेन्टको माध्यमबाट सहयोग गर्ने प्रबन्ध पनि गरिएको छ । दूतावासले थप स्पष्ट पारेको छ कि श्रमिक समस्यामा परेमा तुरुन्तै दूतावास, श्रम मन्त्रालय, वा यूएईको श्रम मन्त्रालयको हेल्पलाइन ८००८४ मा सम्पर्क गर्न सकिन्छ । साथै, कसैले बिरामी भएको देखिएमा प्रहरी ९९९ मा तुरुन्त खबर गर्नुपर्ने जानकारी दिइएको छ । रक्सी सेवन, झगडा, सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी जस्ता गतिविधि यूएईको कानुन अनुसार आपराधिक मानिने भएकोले सतर्क रहन आग्रह गरिएको छ । साप्ताहिक कार्यक्रमको निरन्तरता श्रम सहचारी पंकज लाभ कर्णका अनुसार सरकारले दिएको जिम्मेवारीअनुसार बिदा नभनी निरन्तर सेवा दिने प्रतिबद्धता दूतावासले लिएको छ। हालसम्म केही अलपत्र श्रमिकलाई सेवा उपलब्ध गरिएको छ । यसगैरी गत हप्ता दुबई प्रहरीसँगको सहकार्यमा श्रमिकका लागि जनचेतना कार्यक्रम गरिएको थियो । त्यसअघि लेबर क्याम्प पुगेर श्रमिकहरूलाई अधिकार, स्वास्थ्य र सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो । अबुधाबी स्थित नेपाली दूतावासबाट सुरु गरिएको श्रम सेवा कार्यक्रमले केवल प्रशासनिक सुविधा मात्र प्रदान गरिरहेको छैन कि नेपाली श्रमिकहरु र राज्यबीचको सम्बन्धलाई बलियो बनाउने अवसर समेत बनेको छ । श्रमिकहरूलाई ‘सेवाग्राही’ होइन, राज्यका साझेदार ठानी गरिएको व्यवहारले उनीहरूमा विश्वास र सुरक्षाको अनुभूति दिलाएको छ, श्रम सहचारी कर्णले भने ।



