स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गरौं : प्रधानमन्त्री प्रचण्ड (सम्बोधनसहित)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आम नागरिक स्वस्थ नभइकन विकास र समृद्धि सम्भव नहुने बताएका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले सबै नेपाली नागरिकमा गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा आवश्यकता भएको बताएका हुन् । उनले भने , “स्वस्थ र निरोगी नागरिकहरूबाट नै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण सम्भव हुन्छ ।”
समुदायमा आधारित सेवा प्रवाह गर्नु प्रतिष्ठानको उत्तम पहल भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता कार्यक्रमलाई अन्य मिल्दोजुल्दो कार्यक्रमहरूलाई समेटेर अझ बढी सशक्त बनाएर अगाडि बढ्न निर्देशन दिए । उनले भने, “अन्य प्रतिष्ठान एवं शैक्षिक संस्थाहरूबाट पनि यस प्रकारको कार्यक्रम अगाडि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।”
स्वास्थ्य क्षेत्रमा दिन प्रतिदिन नयाँ–नयाँ चुनौतीहरू देखा परिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भविष्यमा देखापर्ने स्वास्थ्यका चुनौतीहरूको व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्न र अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिनुपर्ने बताए।
नेपाल अधिकांश भू–भाग ग्रामीण क्षेत्रले ओगटेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारको व्यवस्था मिलाउन दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित डाक्टर लगायतका स्वास्थ्यकर्मीहरू उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याए । उनले भने, “मानव विकास परिसूचकाङ्कमा पछि परेका तथा गुणस्तरीय स्वास्थ्य सेवामा कम पहुँच भएका नागरिकहरूलाई बढी लाभान्वित तुल्याउने गरी आफ्नो सेवामा सुधार ल्याउन प्रतिष्ठानलाई निर्देशित गर्दछु ।”
यस्तो छ प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
सबैभन्दा पहिला पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाह्रौं सभामा उपस्थित भई प्रतिष्ठानबारे जानकारी लिने एवं प्रतिष्ठानको नीति र निर्णयमा दिशानिर्देश गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गर्दछु ।
पाटन अस्पतालको सुदृढ जगमा स्थापित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा यससँग सम्बन्धित वैज्ञानिक अनुसन्धानहरू गरी समस्त स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान सह्रानीय छ । प्रतिष्ठानलाई आजको अवस्थासम्म ल्याउन सहयोग पु¥याउने सबै संघसंस्था, पदाधिकारी, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमा धन्यवाद व्यक्त गर्दछु ।
आम नागरिक स्वस्थ नभइकन नेपालको विकास र समृद्धि सम्भव छैन । यसका लागि सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको पहुँच पुग्ने गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा आजको आवश्यकता हो । स्वस्थ र निरोगी नागरिकहरूबाट नै मुलुकको आर्थिक र सामाजिक रूपान्तरण सम्भव हुन्छ । प्रतिष्ठानका उपकुलपतिले आज पेश गर्नुभएको प्रतिष्ठानको वार्षिक विवरण सुन्दा प्रतिष्ठानले आफ्नो क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको प्रतीत हुन्छ । आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गई समुदायमा आधारित सेवा प्रवाह गर्नु अनुकरणीय पहल हो । प्रतिष्ठानलाई यस कार्यक्रममा अन्य मिल्दोजुल्दो कार्यक्रमहरूलाई समेटेर अझ बढी सशक्त बनाएर अगाडि बढ्न आग्रह गर्दछु । साथै अन्य प्रतिष्ठान एवं शैक्षिक संस्थाहरूबाट पनि यस प्रकारको कार्यक्रम अगाडि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ध्यानाकर्षण गराउँछु ।
यस प्रतिष्ठानले आम जनसमुदायलाई पुर्याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्दै लाने कुरामा म विश्वस्त छु । राष्ट्रिय स्वास्थ्य विमा कार्यक्रमलाई सफल बनाउन ललितपुर महानगरपालिकासँग विशेषज्ञसहितको स्वास्थ्य सेवाप्रवाह गर्न भएको सम्झौता देशकै लागि नमुना कार्यक्रम बन्ने मैले विश्वास लिएको छु । यस कार्यका लागि यहाँ उपस्थित ललितपुर महानगरपालिका प्रमुख तथा प्रतिष्ठान परिवारमा बधाइ तथा शुभकामना व्यक्त गर्दछु ।
अस्पतालले समयानुकूल विभिन्न सेवा र प्रविधिहरू थप गरी आफ्नो सेवालाई नागरिकको आवश्यकताअनुसार विस्तार गर्दै लगेकोमा मलाई खुसी लागेको छ । विश्वव्यापी महामारीको रूपमा पैmलिएको कोभिड १९ बाट संक्रमितहरूको परीक्षण र उपचारमा उल्लेख्य योगदान पु¥याएको यस प्रतिष्ठानले डेंगुको प्रकोप पैmलिएको बेला छुट्टै आकस्मिक सेवा सञ्चालन गरी सेवा दिएको अत्यन्त प्रशंसनीय छ । साथै, स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अध्ययन, अनुसन्धानलाई प्रवद्र्धन गरी मुलुकको लागि आवश्यक दक्ष र गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन पनि त्यत्तिकै आवश्यक छ ।
स्वास्थ्य क्षेत्रमा दिन प्रतिदिन नयाँ–नयाँ चुनौतीहरू देखा परिरहेका छन् । भविष्यमा देखापर्ने त्यस्ता चुनौतीहरूको व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्न र अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिने विश्वास लिएको छु । सुलभ र गुणस्तरयुक्त शिक्षा तथा स्वास्थ्य सेवा प्रवाह गरी आर्जित आयबाट आत्मनिर्भर संस्थाको रूपमा सञ्चालनमा रहेको यस प्रतिष्ठानको भौतिक पूर्वाधार विकासका लागि प्रतिष्ठानले तयार गरेको गुरूयोजना अनुरूप आवश्यक भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्न नेपाल सरकारका सम्बन्धित सबै निकायहरुलाई निर्देशित गर्दछु । विश्वास छ– सम्बन्धित सबैबाट पनि आवश्यक सहयोग हुने नै छ ।
नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्रले ओगटेको सन्दर्भमा ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारको व्यवस्था मिलाउन दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट अभिप्रेरित डाक्टर लगायतका स्वास्थ्यकर्मीहरू उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो छ । यस तथ्यलाई मध्यनजर गरी मानव विकास परिसूचकाङ्कमा पछि परेका तथा गुणस्तरीय स्वास्थ्य सेवामा कम पहुँच भएका नागरिकहरूलाई बढी लाभान्वित तुल्याउने गरी आफ्नो सेवामा सुधार ल्याउन प्रतिष्ठानलाई निर्देशित गर्दछु ।
सार्वजनिक स्वास्थ्य संस्थाहरू सवल र सुदृढ भए मात्र सर्वसाधारण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड १९ महामारीले स्पष्ट पारिसकेको छ । यस कुरालाई हृदयङ्गम गरी नेपाल सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको छ । दुर्गममा रहेका सार्वजनिक स्वास्थ्य संस्थाहरूको गुणस्तर र क्षमता विकास गर्न प्रतिष्ठानले गम्भीर पहल लिने विश्वास लिएको छु ।
अन्तमा, प्रतिष्ठानको बाह्रौँ बैठकले तर्जुमा गरेका महत्वपूर्ण नीति र लिइएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनको निर्देशनसहित यो बैठक यहीँ समापन भएको घोषणा गर्दछु । धन्यवाद ।
पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट ज्ञानदेवी पुन सिफारिस
रकुम । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रको तर्फबाट ज्ञानदेवी पुन सिफारिस हुनुभएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट पुन सिफारिस हुनुभएको हो। नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटीको २ दिन सम्म चलेको विस्तारित बैठकले पुनलाई सर्वसम्मत सिफारिस गरिएको नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हर्क बहादुर कामीले बताउनुभयो । अध्यक्ष कामीका अनुसार १० जना आकाङ्क्षी मध्यबाट आपसी सहमतिमै पुन सिफारिस हुनुभएको हो । १० जना आकाङ्क्षीहरु आफै सहमति गरेर १ जनामा केन्द्रीकृत हुनु नै विजयको सन्देश दिनु भएको नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनले बताउनुभयो । माओवादीको आधार इलाकाले परिचित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा माओवादी केन्द्रले काङ्ग्रेस एमालेको संयुक्त उमेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको मन्त्री पुनले बताउनुभयो । गत महिना भाद्र २८ गते बाङ्लुङ भुङखानीमा भएको जिप दुर्घटनामा परि पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, वडा नं. २ का वडा अध्यक्ष जस बहादुर श्रीपाली र उपाध्यक्षको आमा गोपीमायँ बुढासहित निधन भएका कारण उपाध्यक्ष पद र वडा अध्यक्ष पद रिक्त भएको थियो ।
प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ । उहाँहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।
पुटिनले राष्ट्रपती ट्रम्पलाई बधाई दिंदै के भने ?, हेर्नुहोस्
सोची, रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार पुटिनले ट्रम्पलाई बधाई दिएका हुन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नोभेम्बर ७ मा भल्दाई इन्टरनेशनल डिस्कसन क्लबको पूर्ण सत्रमा बोल्दै डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका हुन् । पुटिनले आफ्नो बधाई सन्देशमा भनेका छन्, “म उहाँ (डोनाल्ड ट्रम्प) अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएकोमा बधाई दिन चाहन्छु । मैले पहिले नै भनेको छु, हामी अमेरिकी जनताले विश्वास गर्ने राष्ट्र प्रमुखसँग काम गर्नेछौँ ।” बधाई दिएको भएपनि अहिलेसम्म औपचारिक रुपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई पत्र भने पठाएका छैनन्। यसपटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि ट्रम्पले हालसम्म युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका ७० नेतासँग टेलिफोनमा कुरा गरिसकेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।
बेपत्ता छानबिन र सत्य निरुपण आयोगको अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान
काठमाडौं । बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्न आवेदन आह्वान भएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिस समितिको सचिवालयले आज सूचना प्रकाशन गरी आवेदन आह्वान गरेको हो । बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ ले आयोगमा अध्यक्षसहित पाँच सदस्य रहने निर्धारण गरेको छ। त्यसमा कम्तिमा एकजना महिला अनिवार्य हुनुपर्ने भनिएको छ । अध्यक्ष तथा सदस्य बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको, कुनैपनि राजनीतिक दलको सदस्य नरहेको, उच्च नैतिक चरित्र भएको, मानवअधिकार, शान्ति, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेको, ३५ वर्ष उमेर पूरा भएको लगायतका योग्यता तोकिएको छ । अध्यक्षको हकमा सर्वोच्च अदालतको न्यायाधीश वा पुनरावेदन अदालतको मुख्य न्यायाधीश भइसकेको, नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको पदमा काम गरिसकेको वा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको हुनुपर्ने उल्लेख छ।