कैलालीमा गहुँ छर्ने समयमा किसानलाई मल अभाव
४ मंसिर, २०८२
कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–३ की काजल चौधरी सहकारी संस्थामा मल आयो भन्ने खबर सुन्नासाथ हतार–हतार दौडिन्छिन् । जुरपानीस्थित इभरग्रिन कृषि सहकारी संस्थाबाट रासायनिक मल पाउने आशामा उनले अहिलेसम्म चार पटकभन्दा बढी लाइन बसिसकेकी छिन् । बिहानै ४ बजेदेखि सयौँ कृषकसँगै लाइन बस्ने उनको पालो भने अझै आएको छैन । “जति पटक आएँ, पनि मल पाउनै गाह्रो भयो, लाइन बस्दा बस्दै फर्कनुपर्छ”, उनले दुखेसो पोखिन् । उनीसँगै घोडाघोडी–३ की सीता चौधरी पनि मलका लागि पटकपटक लाइन बसेर थाकिसके बताउँछिन् । धेरै पटकको प्रयासपछि उनले बल्लतल्ल एक बोरा युरिया मल हात पारिन् । एक बिघाभन्दा बढी जमिनमा गहुँ लगाउने योजना बनाएकी सीता भन्छिन्, “तीन बोरा डीएपी र दुई बोरा युरिया चाहिन्छ, तर सहकारीले एक बोरा युरिया मात्रै दिएको छ, एक बिघामा त छरिसके, अझै आठ कट्ठा खेतमा गहुँ छर्न बाँकी छ ।” घोडाघोडी नगरपालिका–१ स्थित चुरे कृषक सहकारी संस्थामा मल आउने बित्तिकै किसानहरूको भीड लाग्ने गर्छ । सहकारीले तोकेको परिमाणभन्दा बढी मल नपाइने, बिहान सबेरैदेखि लाइन बस्नुपर्ने, कहिले मालसामान नआएको भन्दै फर्काइने जस्ता समस्या कृषकले भोगिरहेका छन् । कतिपय किसान त मल नपाएरै गहुँ छर्न बाध्य भएका छन् । घोडाघोडी नगरपालिका–३ का ज्ञानु चौधरीले मलविना नै गहुँ छरिसकेको बताए । “समयमै गहुँ छर्नुपर्‍यो, मलको आस गर्दै बस्दा ढिला हुने भयो”, उनले भने। ज्ञानुले जस्तै घोडाघोडी–८ का डम्बर विष्टले मलविना नै गहुँ छर्नु भयो । जसोतसो सहकारीमा लाइन लागेर आज बल्ल पाएको उनले सुनाइन् । अहिले धेरै किसान मलको आशामा बसिरहेका छन् । गहुँ छर्ने मुख्य समय बित्दै जाँदा किसानको चिन्ता झन् बढ्दो छ । समयमै मल नपाउँदा उब्जनीमा असर पर्छ भन्ने चिन्तामा किसान छन् । युरिया मलको अभाव रहे पनि डिएपी मल धेरै जसो किसानहरूले पाइसकेका छन् । समयमै गहुँ नछर्दा उत्पादन घट्ने सम्भावना हुने घोडाघोडी नगरपालिका कृषि शाखा प्रमुख जनक धामी बताउँछन् । उनका अनुसार प्राविधिक हिसाबले तोकिएको समयमा बीउ नछरिँदा गहुँको बालामा दाना कम लाग्ने, बिरुवा राम्रोसँग नबढ्ने र कूल उत्पादनमा गिरावट आउने सम्भावना रहन्छ । कैलालीमा गहुँ छर्ने समय एक साता बाँकी छ । धेरै किसानले गहुँ रोप्नुअघि नै युरिया मल हाल्नुपर्छ भन्ने गलत धारणा राख्ने गरेको धामीको बुझाइ छ । युरियामा पाइने नाइट्रोजन डिएपीमा १८ प्रतिशत हुन्छ । त्यसैले सुरुमा डिएपी मल भए पुग्ने उनले बताए । धामीका अनुसार गहुँ रोप्ने सुरुवातमा पोटास मल प्रयोग गर्नु राम्रो हुन्छ । पोटासले गहुँको जरा बलियो बनाउने, बिरुवा स्वस्थ राख्ने र बीउको अङ्करण राम्रो बनाउन सहयोग गर्छ । तर किसानहरू प्रायः सुरुवातमै युरिया खोज्छन्, जसको अभावका कारण गहुँ छर्न ढिलाइ गर्छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका धेरै स्थानीय कृषि निर्भर छन् । सरकारले कृषिमा क्रान्ति ल्याउने अवधारण सार्वजनिक गरिरहँदा सुदूरपश्चिम प्रदेशका किसानलाई भने अझै पनि रासायनिक मल पाउनै सकस छ । यस वर्ष मात्रै होइन हरेक वर्ष यहाँका किसानहरूले समयमै पर्याप्त मल पाउन सक्दैनन् । डिएपी मल पाए पनि युरिया मल पाउँदैनन् । जसका कारण किसानहरू ढिलो गहुँ छर्ने गर्छन् । सुदूरपश्चिममा साल्ट ट्रडिङ कर्पोरेसनले ३० प्रतिशत र कृषि सामग्री केन्द्र लिमिटेड धनगढीले ७० प्रतिशत मल वितरण गर्दै आएका छन् । तर, दुवै निकायबाट किसानले पर्याप्त मल पाउन सकेका छैनन् । सुदूरपश्चिम प्रदेशमा केन्द्रबाट आएको मलमध्ये कैलालीमा ५४, कञ्चनपुरमा ३४ प्रतिशत र बाँकी अन्य जिल्लाका वितरण गर्ने गरेको साल्ट टे«डिङ कर्पोरेसन धनगढीका कार्यालय प्रमुख तेजबहादुर कुँवर बताउँछन्।
एसियन कप छनोट : नेपाल मलेसियासँग फेरि पराजित
४ मंसिर, २०८२
आज कुन विदेशी मुद्राकाे विनिमय दर कति ?
३ मंसिर, २०८२
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
३ मंसिर, २०८२
अलपत्र सडकका पच्चिस ठेक्का तोडिए
३ मंसिर, २०८२
जेन-जी अख्तियारमा ४२ करोड रुपैयाँ बराबरको क्षति
३ मंसिर, २०८२
माैसम पूर्वानुमान: कस्तो रहला आजकाे माैसम ?
३ मंसिर, २०८२
राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने
३ मंसिर, २०८२
पशुपतिनाथमा बाला चतुर्दशी मेला
३ मंसिर, २०८२
रैथाने खान्कीकाे स्वाद फर्किदै
३ मंसिर, २०८२

