दसैँ–तिहारमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन अनिश्चित
८ असोज, २०८२
काठमाडौं । सरकारले दसैँ–तिहार लक्षित गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने तयारी गरे पनि हालसम्म टुङ्गो लाग्न सकेको छैन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले असोज ४ गते मन्त्रालयमा बसेको बैठकमा चाडपर्वका लागि सुरुङमार्ग खोल्ने निर्देशन दिएका थिए । तर आवश्यक तयारी नपुगेकाले निर्माण कम्पनी र परामर्शदाता कम्पनीले तत्काल सञ्चालन असुरक्षित हुने भन्दै स्वीकृति नदिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव ई. केशवकुमार शर्माका अनुसार परीक्षण र सुरक्षा पूर्वतयारी अधुरो हुँदा सुरुङमा सवारी चलाउँदा दुर्घटना, उद्धार कठिनाइ तथा आक्सिजन अभावजस्ता जोखिम रहन्छन् । सम्झौता अनुसार निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण नगरेसम्म सुरुङ सञ्चालनको अधिकार निर्माण कम्पनीकै रहने भएकाले उनीहरूको स्वीकृतिबिना संचालन गर्न नपाइने आयोजनाका प्रमुख ई. सञ्जय पन्थीले स्पष्ट पारे । पन्थीका अनुसार सुरुङमार्गको भौतिक प्रगति करिब ९५ प्रतिशत पुगेको छ । सुपर स्ट्रक्चरको काम सकिएको छ भने परीक्षण र फिनिसिङ बाँकी छ । निर्माण कम्पनीले पुस मसान्तसम्म काम सकाएर सरकारलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । त्यसपछि मात्र ठेक्कामार्फत नियमित सञ्चालन सुरु हुने र सञ्चालनको सम्पूर्ण जिम्मेवारी तोकिएको कम्पनीको हुने उनले बताए । गत वर्ष असोजमा पहिरोका कारण नागढुङ्गा–नौबिसे सडक अवरुद्ध हुँदा उद्धारका क्रममा सुरुङमार्ग केही समय प्रयोग गरिएको थियो । तर हालको अवस्थामा नियमित सञ्चालनका लागि थप समय लाग्ने निर्माण कम्पनीको भनाइ छ ।
बडादसैं प्रारम्भ, आज घटस्थापना
६ असोज, २०८२
राजविराज नगरपालिकामा एउटै कोठाबाट सेवा
४ असोज, २०८२
बालबालिकामा अटिजम बढ्दो समस्या
३ असोज, २०८२
संविधान दिवस आज, देशभर मनाइँदै
३ असोज, २०८२

