कोरलाले बढायो रोजगारी र व्यवसाय
४ असोज, २०८२
मुस्ताङ । उपल्लो मुस्ताङको ल्होमान्थाङ–१ छोसेरका नहर्बु दोर्जे तिब्बतको ढोङ्वासेन हुँदै कोरला नाकामा भित्रिने विद्युतीय गाडी (इभी) २४ नम्बर सीमास्तम्भबाट नेचुङ भन्सारसम्म पुर्‍याउन एक सातादेखि व्यस्त छन् । प्रतिगाडी चार हजार रुपैयाँ लिँदै आएका उनीसँगै छोसेरका सोनम गुरुङ पनि यही कामबाट राम्रो कमाइ गरिरहेका छन् । नेचुङ–लिजी भन्सारमा आयात–निर्यातकर्ताका इभी गाडी, इलेक्ट्रोनिक्स, तयारी पोसाक, हस्तकला, मूर्ति र कस्मेटिकसहितका कन्टेनरबाट मालसामान लोड–अनलोड गर्दा ल्होमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानीयले राम्रो आम्दानी पाउन थालेका छन् । चीनसँगको प्रमुख व्यापारिक रसुवा र तातोपानी नाका बाढी–पहिरोका कारण ठप्प भएपछि वैकल्पिक रूपमा कोरला नाका प्रयोग हुन थालेको हो । यसले उपल्लो मुस्ताङका चालक र मजदुरलाई रोजगारी सिर्जना गरेको ल्होमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले बताए । उनका अनुसार कन्टेनरबाट सामान उतार्ने, नेपाली ट्रकमा लोड गर्ने, इभी गाडीलाई सोरुमसम्म लैजाने जस्ता काममा स्थानीय संलग्न छन् । कोरला नाकाबाट नेचुङ भन्सारसम्म करिब १४ किलोमिटर सामान ढुवानी गर्न स्थानीय ट्र्याक्टरसहितका सवारीसाधन नेपाली व्यवसायीले भाडामा लिएका छन् । हाल करिब ८०–१०० जनाले अस्थायी रोजगारी पाएका छन् । मजदुरले दैनिक करिब पाँच हजार र चालकले १५ हजार रुपैयाँसम्म कमाइ गर्छन् । नाकामा सामानको आवतजावत बढेसँगै पर्यटन र पशुपालनबाहेक कृषि तथा निर्माण क्षेत्रमा रोजगारी सहज भएको ल्होमान्थाङ–२ छोसेरका वडाध्यक्ष कर्म नाम्ङग्याल गुरुङले बताए । उनका अनुसार नाका नियमित सञ्चालनमा आए वैदेशिक रोजगारीका लागि पलायन हुनुपर्ने बाध्यता घट्नेछ । अहिले मुस्ताङमा मजदुरी गर्न तल्लो मुस्ताङ र अन्य जिल्लाका श्रमिक समेत उपल्लो मुस्ताङ पुगेका छन्। चीनको सिगात्से हुँदै विद्युतीय सवारी भित्रिन थालेपछि लोघेकर दामोदरकुण्ड–१ चराङमा पहिलो पटक इभी चार्जिङ स्टेसन स्थापना भएको छ। यससँगै उपल्लो र तल्लो मुस्ताङमा थप फास्ट चार्जिङ स्टेसन सञ्चालनको तयारी भइरहेको छ। लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्टका अनुसार रसुवा र तातोपानीसरह कोरला नाका सञ्चालनयोग्य भएको हालको आयात–निर्यातले प्रमाणित गरेको छ। उनले भन्सार क्षेत्र र सडक संरचना अझ व्यवस्थित गर्नुपर्ने आवश्यकता औँल्याए। २०७८ कात्तिक २७ मा औपचारिक उद्घाटन गरिएको यो नाकालाई नेपाल सरकारले प्राथमिकतामा राखे चीनसँगको सबैभन्दा उपयुक्त नाका बनाउन सकिने उनको भनाइ छ। मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काका अनुसार समान आयातबाट तीन दिनमै नौ करोड ७० लाख ६४ हजार रुपैयाँ राजस्व संकलन भएको छ। चिनियाँ भन्सारबाट आउने सबै सामान जाँच–पास भएपछि राजस्व अझ बढ्ने अपेक्षा गरिएको छ।
दैलेखमा लेखा अधिकृत एक लाख घुससहित पक्राउ
४ असोज, २०८२
सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु
४ असोज, २०८२
नेपालबाट मनसुन बर्हिगमन हुन अझै समय लाग्ने
३ असोज, २०८२
बजार झरे लेकाली भेडा च्याङ्ग्रा
३ असोज, २०८२
सुनसान बागलुङको ‘कर्लिम गाउँ’
२ असोज, २०८२

