एभरेष्ट दैनिक

बेलायतको संसद् भवनमा हमला प्रयास, कम्तीमा चारजनाको मृत्यु

काठमाडौं, फागुन  १० ।  बेलायतको संसद् भवनमा बिहीबार हमला प्रयास भएको छ । संसद् भवनबाहिर भएको हमलामा कम्तीमा चारजनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते भएको बिबिसीले जनाएको छ । मारिनेमा एक प्रहरी अधिकारी, दुई सर्वसाधारण र एक आतंककारी रहेको प्रहरीले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समयअनुसार दिउँसो २ः३० बजे हमला भएको हो । कालो कारमा रहेका आतंककारी संसद् भवनको ‘निषेधित क्षेत्र’ तोडेर जबर्जस्ती भित्र प्रवेश गर्न खोजेका थिए । प्रहरीले अवरोध पुर्या‍एपछि आतंककारीले प्रहरीमाथि गोली चलाएका थिए । त्यसक्रममा एक प्रहरी अधिकारीको मृत्यु भएको हो । लगत्तै प्रहरीले जवाफी कारबाही गर्दा आक्रमणकारीको मृत्यु भएको बिबिसीले जनाएको छ । मारिएका दुई सर्वसाधारणमध्ये एकजना प्रहरीको गोली लागेर घाइते भएकी महिला रहेको जनाइएको छ । अर्का एकजनाको गाडीको आक्रमणबाट मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । संसद् भवनको पर्खालमा ठोक्किनुअघि कारले थुप्रै सर्वसाधारणलाई ठक्कर दिएको थियो । कारको ठक्करबाट वेस्टमिनिस्टर पुलमा हिँडिरहेका केही विद्यार्थीसमेत घाइते भएका छन् । घटनापछि संसद्को कारबाही स्थगित गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको भन्दै आक्रमणलाई आतंककारी आक्रमणको संज्ञा दिएको छ । संसद् भवनबाहिर आतंककारी हमलाको प्रयास हुँदा बेलायती प्रधानमन्त्री थेरेसा मे भवनभित्रै थिइन् । आक्रमणलगत्तै प्रधानमन्त्री थेरेसालाई विशेष सुरक्षासहित संसद् भवनबाट निवास पुर्या‍इएको थियो । भवनभित्रै रहेका बेलायतका शीर्ष नेतालाई स्कटल्यान्ड यार्डबाट बाहिर निकालिएको थियो । बेलायती मिडियाहरूले आक्रमणकारीले सात इन्च लामो चक्कु बोकेको जनाएका छन् । उनले विवाह समारोहमा लगाउने दुलाहाको लुगा लगाएका थिए । आक्रमणपछि वेस्टमिनिस्टर दरबारस्थित संसद् भवनको वरिपरिको सुरक्षा व्यवस्था झन् कडा पारिएको छ । यो समाचार तयार पार्दासम्म संसद् भवनभित्र आतंककारी हुन सक्ने डरले स्थानीय प्रहरीले भवनका प्रत्येक कोठा तथा तला निरीक्षण गरिरहेका छन् भने संसद् भवनको सुरक्षार्थ दर्जनौँ अति आवश्यक सवारी परिचालन गरिएका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।