एभरेष्ट दैनिक

हङकङद्वारा नेपाललाई २१५ रनको चुनौति पेश

ढाका, चैत १७ । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा हङकङद्वारा नेपाललाई २१५ रनको चुनौति प्रस्तुत गरेको छ । बंगलादेशको कक्स बजारस्थित सेख कमल अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर व्याटिङको निम्तो पाएको हङकङले निर्धारित ५० ओभरमा अलअाउट भएर २१४ रन बनाएको हो । नेपालका लागि अविनाश कर्णले सर्वाधिक ३ विकेट लिए । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल, सुशन भारी र भुवन कार्कीले समान दुई दुई विकेट लिएका छन् । सन्दीप लामिछानेले १ विकेट लिए । लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगितामा अंक विहीन दुवै टोली प्रतियोगिताको सुखद अन्त्य गर्ने दाउँमा छन् । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको निर्णायक खेलमा भिड्ने तयारीमा रहेका दुवै टोलीले आजको प्रतिस्पर्धालाई एक अर्काको कमजोरी पत्ता लगाउने महत्वपुर्ण अवसरको रुपमा लिईएका छन् । नियमित कप्तान पारस खड्का सहित केही मुख्य खेलाडीलाई आराम दिदै बंगलादेश भ्रमणमा निस्किएको नेपाली क्रिकेट टोली प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले र बंगलादेशसंग ८३ रनले पराजित भएको थियो । हङकङ पहिलो खेलमा बंगलादेशसंग ८ विकेटले पराजित भएको थियो भने पाकिस्तानसंग २ सय ४८ रनको हार ब्यहोरेको थियो ।