एभरेष्ट दैनिक

शिक्षा मन्त्री पौडेलले गरे ‘सेकेण्डरी एडुकेशन इक्जाम’को अनुगमन

काठमाडौं, चैत ३ । शिक्षा मन्त्री धनिराम (डिआर) पौडेलले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइइ) सञ्चालन भएका केही परीक्षा केन्द्रहरुको बिहिबार आकस्मिक अनुगमन गरेका छन् । बिहिबारदेखि नै सुरु भएको परीक्षाको पहिलो दिन मन्त्री पौडेलले काठमाडौं र ललितपुरका केही परीक्षा केन्द्रमा पुगी परीक्षाको अनुगमन निरिक्षण गरेका हुन् । मन्त्री पौडेलले काठमाडौंको शिवपुरी मावि बालुवाटार, पद्मकन्या विद्याश्रम मावि डिल्लीबजार, नन्दी मावि, नक्साल, पाटनढोका मावि ललितपुरका परीक्षा केन्द्रमा पुगी एसइइ परीक्षाको स्थलगत अनुगमन गरेका हुन् । त्यसक्रममा उनले शान्तीपूर्ण र मर्यादित ढंगले परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्ष, निरिक्षक र जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिए । मन्त्री पौडेलले परीक्षामा सहभागी विद्यार्थीहरुलाई परीक्षा राम्रो होस् भनने कामना गरे । साथै उनीहरुको उज्वल भविष्य बनाउन मिहेनेत गर्न सुझाव दिए । पूर्व जानकारी नदिई मन्त्री पौडेल परीक्षा केन्द्रहरुको अनुगमनमा निस्किएका हुन् । पूर्व जानकारी विनै शिक्षा मन्त्री अनुगमनमा आउँदा आफूलाई खुशी लागेको पद्मकन्या विद्याश्रम मावि, डिल्लीबजारकी केन्द्राध्यक्ष रीता तिवारीले बताइन ।