एभरेष्ट दैनिक

स्थानीय तह चुनावलाई शनिबारदेखि मतपत्र छापिने, कर्णेलको नेतृत्वमा सुरक्षा प्रवन्ध

काठमाडौं, चैत ४ । स्थानीय तहको चुनावको लागि लागि चाहिने १ करोड ६० लाखप्रति मतपत्रको छपाइ शनिबारबाट सुरु हुने भएको छ। छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले शनिबारबाट मतपत्र छाप्न सुरु गर्ने जनाएको छ। मतपत्र छपाइका लागि चाहिने कागज, मसी, कर्मचारी र सुरक्षाको प्रबन्ध भइसकेको केन्द्रका निर्देशक कपिलदेव पोख्रेलले जानकारी दिए । मतपत्र छपाइ अवधिभर कर्णेलको नेतृत्वमा रहेको नेपाली सेनाले सुरक्षा प्रदान गर्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले स्थानीय तहको चुनावको लागि १ करोड ६० लाख प्रति मतपत्र छाप्ने तयारी भएको बताए ।  एक करोड ४० लाख जति मतदाता हुने र त्यसमा १५ प्रतिशत थप गरेर १ करोड ६० लाख प्रति छाप्नुपर्ने आयोगका प्रवक्ता शर्माले बताए । सरकारले घोषणा गरेर कार्यान्वयनमा ल्याएको ७४४ स्थानीय तहमा बैशाख ३१ गते चुनाव हुने भएको हो । एक करोड ६० लाखप्रति मतपत्र छाप्न करिब ५ सय मेट्रिक टन कागज चाहिने र उक्त संख्याको कागज आफूसँग स्टकमा रहेकाले कागजका लागि चिन्ता नभएको केन्द्रका निर्देशक पोख्रेलले बताए । यसपटक आधा फिटदेखि तीन फिटसम्म लम्बाइ हुने विभिन्न प्रकारका मतपत्र चाहिने छ। दलहरूको संख्याका आधारमा जिल्लाहरूलाई अहिले ६ किसिमका मतपत्र छाप्ने तयरी भइरहेको आयोगका प्रवक्ता शर्माले बताए । सबैभन्दा कम दल दर्ता भएको मनाङका लागि सबैभन्दा छोटो मतपत्र छापिने छ भने सबैभन्दा धेरै दल दर्ता भएको काठमाडौंका लागि सबैभन्दा लामो मतपत्र बन्ने छ । एउटा समूहमा परेका जिल्लामा एकै प्रकारको मतपत्र पठाउने आयोगको तयारी छ। त्यसैले, यसपालिको चुनावमा कतिपय गाउँपालिका वा नगरपालिकामा उम्मेदवार नभए पनि चुनाव चिन्ह हुनसक्ने आयोगका प्रवक्ता शर्मा बताउँछन् । दलको संख्याका आधारमा जिल्लाहरूको समूह बनाएर मतपत्र पठाउने हुँदा केही स्थानमा उम्मेदवार नभए पनि मतपत्रमा चुनाव चिन्ह भने हुनसक्ने उनले बताए । स्केच सौजन्य : अनलाइनखबर