एभरेष्ट दैनिक

स्थानीय निर्वाचनका लागि मोर्चालाई पनि समेट्नु पर्छ : नेता डा.महत

धुलिखेल, चैत ५ । नेपाली काँग्रेसका नेता डा. रामशरण महतले मधेसी मोर्चाको मागलाई सम्बोधन गरेर मोर्चालाईसँगै लान सकेमा मात्र स्थानीय तहको निर्वाचन सफल हुनसक्ने बताएका छन् । नेपाली काँग्रेस बनेपा नगर कार्यसमितिले आज ‘स्थानीय निर्वाचनमा क्रियाशील सदस्यले खेल्नुपर्ने भूमिका विषयक’ अन्तक्र्रियामा उनले स्थानीय तहको निर्वाचन अब कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन् । काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका नेता महतले भने, “निर्वाचन सम्पन्न गर्न आर्थिक, प्राविधिक, प्रशासनिक रुपमा निकै चुनौतीपूर्ण छ, यसलाई सम्पन्न गर्न सरकारले युद्धस्तरमा काम गर्नुपर्छ र यस कार्यमा सरकार जुटिसकेको पनि छ ।” निर्वाचनलाई सम्पन्न गर्न सरकारले जस्तोसुकै परिस्थितिको सामना गर्न सरकार तयार हुनुपर्ने भन्दै उनले भने, “स्थानीय तह हिजोको गाविस जस्तो कमजोर नभई विकेन्द्रीकरणको सिद्धान्तअनुसार संविधानमै शक्तिशाली बनाएको छ ।” नेता महतले “स्थानीय निकायमा जाने व्यक्ति क्षमतावान् हुनुपर्छ, नेताको कोटको खल्तीबाट होइन, कार्यकर्ता र जनताले रुचाएको व्यक्ति मात्र जानसक्छ” भन्दै काँग्रेसभित्र अहिले पनि केहि असन्तुष्टी छ, ती असन्तुष्टिलाई अन्त्य गरी अब देशभर काँग्रेसमय बनाउनुपर्नेमा जोड दिए ।’ काँग्रेस बनेपा नगरसभापति राम जोशीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सभासद् तथा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे, काँग्रेस काभ्रेका समापति मधु आचार्य, उपसभापति अच्युत पौडेल, नेपाल महिला सङ्घ काभ्रेका सभापति शुभलक्ष्मी मानन्धर, नेपाल सांस्कृतिक सङ्घ काभ्रेका सभापति हरि कर्माचार्यलगायतले नेपाली काँग्रेसलाई जिताउन सबै लागिपर्नुपर्नेमा जोड दिए ।