एभरेष्ट दैनिक

एसइई परीक्षामा शिक्षा राज्यमन्त्रीसहित टोली अनुगमन

भक्तपुर, चैत ६ । चैत्त ३ गतेदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन भएका यहाँका विद्यालयमा आज शिक्षा राज्यमन्त्री धनमाया विकसहितको टोलीले अनुगमन गरेको छ । राज्यमन्त्री विकले एभरेस्ट मावि, मेधा मावि, शान्ति निकेतन मावि र चाणक्य मावि, सचिव शान्तबहादुर श्रेष्ठले आदर्श मावि सानोठिमी र शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले खरिपाटीस्थित श्रीकृष्ण मावि परीक्षा केन्द्रको अनुगमन गर्नुभयो । प्रवेशिका परीक्षाको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को परीक्षा सञ्चालन कसरी भइरहेको छ भन्नेबारेमा जानकारी लिन टोलीले फरक फरक विद्यालयमा अनुगमन गरेको जिल्ला शिक्षा अधिकारी अर्जनु श्रेष्ठले जानकारी दिनुभयो । टोलीमा राज्यमन्त्री विक, शिक्षा मन्त्रालयका सचिव श्रेष्ठ, विभागका महानिर्देशक पौडेल, जिल्ला शिक्षा अधिकारी श्रेष्ठसहित हुनुहुन्थ्यो ।