एभरेष्ट दैनिक

हात छैनन, तर हिम्मत छ, खुट्टाले एसइई परीक्षा दिँदै सम्झना

खोटाङ, चैत ६ । दुबै हात नभएकी खोटेहाङ गाउँपालिका–२ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छन् । भगवती दिनानाथ मावि खोटाङबजारमा कक्षा–१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छन् । शारीरिकरुपमा अशक्त सम्झनाले खुट्टाले लेखेरै भएपनि समयमै सबै प्रश्नको उत्तर लेख्ने गरेको केन्द्राध्यक्ष राजन ढकालले बताए । १७ वर्षीया सम्झना इन्द्रेणीपोखरीस्थित मावली बसेर भगवती दिनानाथ माविमा अध्ययन गरेकी हुन् । भगवती दिनानाथ माविका प्रधानाध्यापक कुमार पराजुलीकाअनुसार उनी विद्यालयको जेहेन्दार र अनुशासित विद्यार्थीमा पर्छिन् । परीक्षा केन्द्रनजिकै सिम्पानीबजारमा कोठा भाडा लिएर परीक्षा दिइरहेकी सम्झनालाई सघाउन उनकी आमा सुमित्राले साथ दिइरहेकी छन् । ‘आर्थिक अवस्था कमजोर भएकाले मावली बसाएर पढाइयौं’–आमा सावित्राले भनिन् । सम्झनालाई अहिलेसम्म अध्ययनमा लागेको सबै खर्च विद्यालयको तर्फबाट व्यहोरिएको प्रअ पराजुलीले जानकारी दिए । जन्मजात दुबै हात नभएकी सम्झनालाई अध्ययन तथा सहज जीवनयापनका लागि यसअघि खोटाङ सेवा समाज बेलायतबाट रु चार लाख ६९ हजार ७६० आर्थिक सहयोग प्राप्त भएको थियो । समाजले उपलब्ध गराएको रकम उच्च शिक्षा अध्ययनमा खर्च गरिने आमा सुमित्राले बताइन् । गरिब परिवारमा जन्मिएकी सम्झनाले आफू अशक्त भएपनि पढेर समाजको सेवा गर्नमा आफ्नो जीवन बेतित गर्ने बताइन् । रासस तस्वीरः युवराज रोइला/इमेज