एभरेष्ट दैनिक

अबको तीन महिनाभित्र नम्बर पोर्टाबिलिटी प्रविधि

काठमाडौँ, मंसिर २९ ।  के फोन नम्बर परिवर्तन नगरी चाहेको दूरसञ्चार प्रदायक कम्पनीको सेवा लिन सकिएला ? अबको केही समयभित्र नै फोन नम्बर परिवर्तन नगरी सेवा प्रदायक परिवर्तन सम्भव हुनेभएको छ । नेपाल दूरसञ्चार प्राधिकरण भन्छ, ‘अबको तीन महिनाभित्र जसरी भए पनि यो प्रविधि लागू गर्छौँ । ’ नेपाल दूर सञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले भने , ‘‘फोन नम्बर पोर्टाबिलिटी–एमएनपी प्रविधि अबको तीन महिनाभित्र लागू गर्न हामी प्रयासरत छौँ, यससम्बन्धी अध्ययन र परामर्शमा हामी लागिरहेका छौँ । ’’ उनले यो प्रविधि लागू गर्ने सन्दर्भमा दूरसञ्चार प्रदायक कम्पनीहरू (अपरेटर) तयार नहुँदा विगतमा लागू हुन नसकेको बताए । निर्देशक खनालले भने , ‘‘अहिले पनि दूरसञ्चार प्रदायकहरूले आफ्नो नेटवर्कमा यससम्बन्धी सिस्टम म्यानेजमेन्ट गरिरहेका छैनन् । अहिले हामी विज्ञ र अपरेटरहरूबीच फोन नम्बर पोर्टाबिलिटीका विषयमा अध्ययन तथा छलफल चलाउदैछौँ । ’’ विकसित मुलुकमा सञ्चालन हुँदै आएको फोन नम्बर पोर्टाबिलिटीको सेवा नेपालमा सुरु भएपछि प्रयोगकर्ताले कुनै पनि दूर सञ्चार प्रदायक कम्पनीको सेवा मन नपरे अर्कोमा सजिलै जान सक्छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छ  ।