एभरेष्ट दैनिक

ओलीलाई देउवाको कडा प्रश्न–‘हिजो सहमति गाँजा, रक्सी खाएर गरेको हो ?’

बागलुङ, पुस १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँग पहिले नै सहमति गरेर संविधान संशोधन प्रस्ताव ल्याएकोले विरोध गर्नुको कुनै कारण नभएको बताएका छन् । शनिबार नेपाली कांग्रेस क्षत्रीय समिति बागलुङले ४१ औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजना गरेको आमसभामा बोल्दै उनले प्रतिपक्षी दलले लगातार संसद अवरुद्ध गर्दै आइरहेकोमा आपत्ति जनाए । एमालेले झुटा कुरा गरेर देश विभाजन गर्ने षड्यन्त्र गरिरहेको देउवाले आरोप लगाए । एमाले अध्यक्ष केपी ओलीलाई उनले हिजो सम्झौता के खाएर गरेको भनेर प्रश्न गरे । ‘कि गाँजा, रक्सी खाएर सहिछाप गरेको हुँ भन्नुपर्‍यो, होइन भने आफैले सहमति गरेको प्रस्ताव मान्नुपर्‍यो ।’ संविधान संशोधनमाथिको छलफल गर्न संसद रोक्नु संसदीय मर्यादा विपरित भएको उल्लेख गर्दै देउवाले पूर्व पार्टी सभापति सुशिल कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच पहिले भएको सहमतिकै बिषय संशोधन प्रस्तावमा ल्याइएकोले विरोध गर्नुको तुक नभएको बताए । बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति ४१ वर्षपछि पनि उत्तिकै सान्दर्भिक र जरुरी भएको देउवाले बताए । कांग्रेसले सदैव मेलमिलापको नीतिमा देशको महत्वपूर्ण परिवर्तनमा नेतृत्व गरिरहेको स्मरण गर्दै मेलमिलाप नीति छोडे कि देश एक्लिने कि कांग्रेस एक्लिने भएकाले बिपिकै मेलमिलापको नीतिमा देश र कांग्रेस अघि बढ्ने उनले बताए । अबको १३ महिना भित्रमा तिनै तहको निर्वाचन गर्नुपर्ने बाध्यता रहेको भन्दै अब प्रतिपक्षलाई बखेडा झिक्न बन्द गरेर संसद खुल्ला गर्न आग्रहसमेत गरे । पाँच नम्बर प्रदेश टुक्राउने, चार नम्बर प्रदेश मिलाउने लगायतका बिषयमा समझदारी गरिएको आधारमा संशोधन प्रस्ताव ल्याइएकाले यसलाई पारित गर्न एमालेले समर्थन गर्नुपर्ने उनको भनाई थियो । एमालेकै सहयोगमा संविधान संशोधन प्रस्ताव पास भएरै छाड्ने उनको दावी थियो । देउवाले एमालेलगायतको केही दल संशोधन प्रस्तावको विपक्षमा देखिए पनि पास गरेर छाड्ने बताए ।