एभरेष्ट दैनिक

यसरी पुर्याउँदै छ कुमारी बैंकले ८ अर्ब चुक्ता पूँजी

काठमाडौं, फागुन १३ । राष्ट्र बैकले तोकेको चुक्ता पूँजी पुर्याउन कुमारी बैंकले अहिलेका सबै प्रकृया पूरा गरेर फेरी २० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गर्दै २१ प्रतिशत बोनस, ५० प्रतिशत हकप्रद तथा चार वित्तीय संस्थासँगको एक्विजिशन पूरा गरी कायम हुने पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कुमारी बैंकलाई नेपाल धितोपत्र बोर्डले ५० प्रतिशत हकप्रद निष्काशनको स्वीकृति दिएको तथा साधारण सभाका लागि एकै पटक बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकले फागुन २० गतेदेखि बुक क्लोज गरी चैत ९ गते साधारण सभा बोलाउने निर्णय पनि गरेको बैंकका एक अधिकारीलेजानकारी दिए । बैंकको ५० प्रतिशत हकप्रद तथा २१ प्रतिशत बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले फागुन १९ गतेसम्ममा सेयर खरिद गरिसक्नु पर्ने हुन्छ । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट २१ प्रतिशत बोनस सेयर बितरणको प्रस्ताव पनि गरिसकेको छ । बोनस बितरण पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब २६ करोड ५९ लाख रुपैंया पुग्ने छ । हकप्रद निष्काशन पछि बैंकको चुक्ता पूँजी ४ अर्ब ६१ करोड ५४ लाख ९४ हजार रुपैंया पुग्नेछ । साथै एनसीसी बैंकसँग मर्ज भाँडेर आफै ८ अर्ब चुक्ता पूँजी पु¥याउन कस्सिएको कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ । यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ नाघ्नेछ । उक्त चुक्ता पूँजीको २० प्रतिशत हकप्रद निष्काशन गरे पछि बैंकको चुक्ता पूँजी ८ अर्बको नजिक हुनेछ । चालु आर्थिक वर्षको कमाईबाट बोनस बितरण गरेर बैंकले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउनेछ ।