एभरेष्ट दैनिक

भादा खोला झोलुङ्गे पुलको उद्घाटन

बर्दिया, फागुन १२ । बर्दियाको गाविसस्थित बैदी गाउँमा रहेको भादा खोलामा नवनिर्मित झोलुङ्गे पुलको बुधबार उद्घाटन गरिएको छ । कुल ९१ मी लम्बाइ भएको झोलुङ्गे पुल विधिवत् रुपमा उद्घाटन गरिएको छ । एकहजार सातसय ५३ घरधुरी रहेको वडा नं ४, ५ र ९ का गाउँ र श्री जनसेवा मावि तथा जनसेवा बहुमुखी क्याम्पस जोड्ने पुल नहुँदा बर्खायाममा स्थानीय तथा विद्यार्थीलाई निकै समस्या थियो । पुल निर्माण भएपछि सम्पूर्णमा खुसियाली छाएको छ । विशेषगरी विद्यालय जाने/आउने विद्यार्थीलाई झोलुङ्गे पुल नहुँदा समयमै विद्यालय आवतजावतमा निकै समस्या परेको थियो । एकसयभन्दा बढी विद्यार्थीले साइकल खोला पारि नै राख्ने गरेका थिए । पुल निर्माण भएपछि स–साना बालबालिकालाई पनि विद्यालय आउन÷जान सहज भएको अभिभावक बताउँछन्। पुल क्षेत्रगत कार्यक्रमको स्थानीयवासी योगदानअन्तर्गत जिविसबाट रु एकलाख ४७ हजार, गाविसबाट रु एकलाख ४७ हजार, ९८ हजार एकसय ३४ बराबरको समुदायको श्रमदान र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको केन्द्रीय योगदानबाट रु ४२ लाख ३३ हजार र वस्तुगत अनुदान दुईलाख ८० हजार गरी कुल ४९ लाख ६ हजार सातसय १० मा पुल निर्माण कार्य अवधिभन्दा चार महिनाअगावै सम्पन्न भएको छ । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर बिष्टको अध्यक्षतामा भएको पुलको उद्घाटन कार्यक्रममा प्रसिद्ध फेनापति मन्दिरका पुजारी गङ्गाराम उपाध्यायले मन्त्रोच्चारण गरी पुलको पूजापाठ गर्नुभएको भएको थियो भने बर्दिया क्षेत्र नं २ का सांसद सञ्जयकुमार गौतमले रिबन काटेर पुलको उद्घाटन गरेका थिए । कार्यक्रममा सांसद गौतमले पुल निर्माण कार्यमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्नुका साथै सबै एकजुट भएमा विकास तीव्र र दिगो हुने पनि बताए । कार्यक्रममा विज्डम क्वालिटी बोर्डिंग स्कुलका प्रिन्सिपल तथा संस्थापक एवम् यस क्षेत्रका युवा समाजसेवी दीपक लम्सालले विकास निर्माणका कार्यमा युवाको सक्रियता अपरिहार्य रहेको बताए ।