एभरेष्ट दैनिक

एन्फाको लापरबाहीले थ्रीस्टार एएफसी कप खेल्न बञ्चित

काठमाण्डौ, मंसिर २४ । अखिल नेपाल फुटबल संघ एन्फाको चरम लापरबाहीका कारण नेपाली फुटबलको शीर्षस्थ क्लब थ्रीस्टार एएफसी कपको दोस्रो राउण्ड खेल्न बञ्चित हुने भएको छ, आजको कान्तिपुर दैनिकमा खबर छ । थ्रीस्टार गत अगस्टमा छनोट प्लेअफ जितेर एएफसी कपको दोस्रो चरणमा छानिएको थियो । टिम ४ अंक सहित समूह बी को विजेता बनेको थियो । थ्रीस्टारको अंक आयोजक मंगोलियाली इर्चिम एफसीको भन्दा १ ले बढी हो । तर एएफसीले बुधबार सार्वजनिक गरेको दोस्रो चरणमा सहभागी मुलुकको सूचीमा नेपालको थ्रीस्टार परेन । एएफसीले डिसेम्बर १३ मा खेलतालिका तय गर्ने भएको छ । एएफसीको वेबसाईटमा प्रकाशित सूची अनुसार नेपालको ठाउँमा मंगोलियाको इर्चिम एफसी परेको छ । प्रतियोगिताको दोस्रो चरण जनवरी २४ देखि फेब्रुअरी ७ सम्म हुनेछ । अन्तिम चरणचाहि फेब्रुअरी २० देखि नोभेम्बर ४ सम्म हुनेछ । जसको खेलस्थलबारे अझै निर्णय भइसकेको छैन । एएफसीले प्रतियोगिताको लागि टिम दर्ता गर्न एनफालाई बारम्बार स्मरण गराएको थियो ।