एभरेष्ट दैनिक

सहमतिमै संशोधनको प्रस्ताव गरियाे, एमालेकाे टाउकाे दुखाई किन ?

दाङ, २२ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता नहुने बताएका छन् । संविधान संशोधनको प्रस्ताव दलहरुको समहतिमै गरिएको र हाल आएर एमालेले त्यसरी टाउको दुखाउन नहुने उनले बताए । सडकमा उफ्रिएर आन्दोलन गरेर संशोधन प्रस्ताव फिर्ता नहुने उनको भनाई छ । राप्ती नदीमा निर्माण गर्न लागिएको सिसाहनिया महादेव पुलको शिलान्यास कार्यक्रममा त्यहाँ पुगेका प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यकाल रहुन्जेलसम्म संविधान संशोधन प्रस्ताव फिर्ता नहुने स्पष्ट पारेका छन् । अहिलेको नेपालको समस्याको निकास संविधान संशोधनबाट मात्रै संभाव रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले दलहरुको सहमतिमै संशोधनको प्रस्ताव गरिएकाले कुनै पनि हालतमा संशोधन प्रस्ताव फिर्ता नहुने जिकिर गरे । प्रचण्डले भने, ‘म प्रधानमन्त्री रहँदासम्म यो संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन ।’ प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले संसदमा दर्ता गरेको संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दा फिर्ता गर्न दवाव दिदै आएका बेला प्रधानमन्त्रीले फिर्ता गर्न नसकिने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले अहिले आन्दोलनरत एमालेले पनि गल्ती महसुस गर्ने बताए । ‘सरकारले हिमाल पहाड तराई जोडेर एकताबद्ध गर्न खोजेको तर आफूहरुले बिखण्डन गर्न खोजेका रहेछौं’ भनेर उनीहरुलाई आफ्नो गल्ती महशुस हुने प्रधानमन्त्री प्रचण्डले बताए । उनले अहिलेको सडक आन्दोलनको कुनै औचित्य नरहेको बताउँदै उनले छलफल र सहमति बाटै समास्याको निकास खोज्न एमाले लगायतका दलहरुलाई आग्रह गरे । रु ९२ करोडको लागतमा बन्न लागेको उक्त पुलको निर्माण कार्य चार वर्षमा सकिने लक्ष्य रहेको छ । पुलको लम्बाइ ८६० मिटर रहने छ । पुल निर्माण भएपछि दाङ्का गडहवा, सिसाहनिया, राजपुरलगायतका जनतालाई आवतजावत गर्न सजिलो हुनेछ ।