एभरेष्ट दैनिक

६३ वर्ष पुगे प्रधानमन्त्री प्रचण्ड, भन्छन् – जनताका लागि खाएका कसम अझै बाँकी छन्

काठमाडौं, मंसिर २६ । यतिखेर प्रचण्ड देशको कार्यकारी प्रमुख छन् । प्रधानमन्त्रीका रुपमा उनले इतिहासको जटिल कालखण्डको नेतृत्व गरिरहेका छन् । संविधान कार्यान्वयनको जटिल कार्यभार उनका सामु छ । एकातिर जनताका अपेक्षा र चाहना, अर्कोतर्फ संविधानको पूर्ण कार्यान्वयनमार्फत शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने जिम्मेवारीको पहाड छिचोल्नुपर्ने बाध्यता । तर प्रचण्ड हारेका देखिँदैनन् । प्रतिपक्षको चौतर्फी हमलाको कुशल प्रतिरक्षा गर्दै उनी अगाडि बढेका छन् । गत वर्ष हामीले प्रचण्डसँग जीवनका ६१ वर्ष पुरा भएको सन्दर्भममा कुराकानी गरेका थियौं । सोही आधारमा तयार पारिएको गत वर्षको सामग्री आजका लागि समेत सान्दर्भिक ठानेर यहाँ प्रस्तुत गरिएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो जीवनका ६२ वर्ष पुरा गरेका छन् । बिक्रम सम्बत २०११ सालको मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा उनी जन्मेका थिए । राजनीतिकरुपमा २०२८ सालदेखि संगठित जीवन शुरु गरेका प्रचण्ड २०५२ सालदेखि नेपाली राजनीतिको केन्द्रमा रही आएका छन् । जनयुद्धकालिन अवस्था र शान्ति प्रक्रियामा आइसकेपछि पनि प्रचण्ड राजनीतिक शक्ति केन्द्रको केन्द्रमा देखिएका हुन । राजनीतिमा जस्तोसुकै बोल्ड निर्णय गर्नसक्ने क्षमता रहेको नेताका रुपमा रहेका प्रचण्डले अझै सक्रिय राजनीतिक जीवन बाँच्ने बताएका छन् । एभरेष्टदैनिक डटकमसँग कुरा गर्दै प्रचण्डले भने, “जनताका लागि मैले कसम खाएका कतिपय कुरा पुरा भएका छैनन् । म अझै १०, १२ वर्ष सक्रिय राजनीतिमैं हुन्छु ।” नयाँ जनवादी राज्यसत्ताको सपना देखेका प्रचण्डले कार्यदिशा फेरिएपनि जनताको व्यवस्थाकै पक्षमा आफू निरन्तर लाग्ने समेत बताए । “कतिपय अवस्थामा शक्ति सन्तुलनको स्थिति हेरेर अगाडि या पछाडि जाने भन्ने हुन्छ तर मूल क्रान्तिकारी चरित्र र स्पिरिट त्याग्ने कुरा सपनामा पनि सोच्दिन । मैले जनताबाटै पाएँ, जनताकै बीच हुर्किएँ, जनताका लागि बाँकी जीवन समर्पित गर्छु ।” उनले बताए । पार्टीभित्रका विचलन, फूटले तत्कालमा तनाव दिने भएपनि यसले विचलित भने नबनाएको उनले बताए । “विचलन र फूटले निराशा पैदा गर्छ तर जीवनको पछाडिका कालखण्ड सम्झिँदा फेरी उर्जा पलाएर आउँछ । अझै गर्नु धेरै छ, थाकेर, हैरान भएर हुँदैन, नयाँ उर्जा बोकेर, सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन ।” उनी भन्छन् । आफ्नो राजनीतिक जीवनकालमा ४४ वर्ष सक्रिय राजनीति र २५ वर्ष भूमिगत जीवन बिताएका प्रचण्डले पहिलोपटक नेपालमा सशस्त्र संघर्षको कार्यदिशा अन्तर्गत “जनयुद्ध” शुरु गरेका थिए । नेपाली कम्युनिष्ट आन्दोलनमा आफ्नो बेग्लै विचारधारा निर्माण गर्ने प्रयासस्वरुप प्रचण्डले ‘प्रचण्डपथ’ अगाडि सारेका थिए । यद्यपी प्रचण्डपथ संस्थागत हुन भने सकेन । पिता मुक्तिराम र माता भवानीका ज्येष्ठ पुत्र प्रचण्डले रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी र एमपीएसम्म पढाई गरे । उनको नाम कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल राखिएको थियो । प्रचण्डले २०२६ बैशाखमा सीता पौडेलसँग विवाह गरे । उनका तीन छोरी र एक छोरा छन् । प्रचण्डले नारायणी विद्यामन्दिर मा।वि।शिवनगर (२०२९साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि,आरुघाट,गोरखा (२०३३(०३५ सालमा अध्यापन गरेका थिए । विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले  बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरे । उहाँ २०३४ सालमा चौथो महाधिवेशन, २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित प्रचण्ड, २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भएका थिए । उनी २०४० मा युवा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित भए । यसपछि उनी पूर्णरुपमा राजनीतिमै सक्रिय भए । विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकता केन्द्र)को महामन्त्री भए । एकता केन्द्रमा भने जनयुद्ध शुरु गर्ने विषयमा विवाद देखा पर्यो । प्रचण्ड महामन्त्री रहेको पार्टीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरे । २०५७ सालमा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसबाट प्रचण्ड नेकपा माओवादीको अध्यक्ष भए । यो कालखण्ड प्रचण्डका लागि राजनीतिक जीवनको महत्वपूर्ण अवस्था थियो । प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । प्रचण्डका नेपाली क्रान्तिका समस्या ९भाग १, २ र ३०, संस्कृति, कला र सौर्न्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरू(खण्ड १ र २ ) तथा ‘प्रचण्डका छानिएका सैन्य रचनाहरू’लगायतका पुस्तक प्रकाशित छन् ।