एभरेष्ट दैनिक

अनसनरत डा. केसीका समर्थकले मागे उपकुलपति खनियाँको राजीनामा !

सागर न्यौपाने/ काठमाडौं तस्वीर : पुष्पा महरा/एभरेष्टदैनिक काठमाडौं, मंसिर १८ । २१ दिनदेखि आमरण अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि शनिबार प्रदर्शन गरिएको छ । डा केसीको जीवन रक्षाका लागि दवाव दिन उनका समर्थकले शनिबार विहान राजधानीको माइतीघरमा बृहत प्रदर्शन गरेका हुन् । चिकित्सा शिक्षा र सेवा सधुारको माग गर्दै दशौं पटक अनसन बसेका डा. केसी अघि सारेका दश बुँदे माग सरकारले पूरा नगर्दा उनको स्वास्थ्य अबस्था नाजुक बन्दै गएको भन्दै व्यापक प्रदर्शन भएको हो । आमरण अनशनरत डा. केसी र सरकारबीच बिहिबार र शुक्रबार राती अबेरसम्म वार्ता भएपनि निष्कर्षमा नपुेको कारण उनले अनसन लम्बिदै गएको छ । अनसन लम्बिदै जाँदा उनको स्वास्थ्यमा कुनैपनि बेला दुर्घटना हुनसक्ने भएकोले जीवन रक्षाको माग गर्दै प्रदर्शन गरिएको उनका समर्थकले बताए । डा.केसीको माग बमाेजिम शुक्रबार चिकित्साशास्त्र अध्ययन संस्थान (अाइअोएम)का डीन डा. केशब प्रसाद(केपी) सिंहले राजिनामा दिएका छन् । सिंहको राजीनामापछि आइओएममा वरिष्ठताका आधारमा डीन नियुक्त गर्ने वातावरण बनेको छ । तर, गएराती झण्डै ७ घण्टा भएको वार्ता भने डीन नियुक्तीको बिषयमा सहमति हुन नसकेपछि निश्कर्षमा पुग्न  नसकेको बताइएको छ । निरन्तरको छलफलपछि सरकार र अनसनरत केसीका प्रतिनिधिले तयार पारेको सहमतिको मस्यौदामा त्रिविका उपकुलपतिको राजीनामालाई लिएर डा‍. केसीले आफ्नो अडान नछाडेपछि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।उनले उठाएका वरिष्ठताका आधारमा डीन नियुक्त गर्ने मुख्य मागलाई तत्काल सम्बोधन गर्न प्राविधिक कठिनाइ भएको भन्दै सरकारी पक्षले ठोस निर्णय लिन सकेको छैन । केसीले अघि सारेका त्रिविका उपकुलपतिको राजीनामा सम्बन्धि माग बाहेक अन्यमा सहमतिको १० बुँदे ड्राफ्ट तयार पारेर केसीलाई देखाउन उनका सहयोगीको एउटा टोली राति अबेर शिक्षण अस्पताल पुगेको बताइएको छ । सरकारले त्रिविका उपकुलपतिको निर्णय गर्न उच्चस्तरिय समिति बनाउने र बांकी माग पुरा गर्दै जाने प्रस्ताव गरेको छ । तर अामरण अनसनरत डा. केसीले उपकुलपतिको बर्खास्तगी वा राजीनामा नभइ अनसन नतोड्ने अडान जारी राखेपछि शनिबार पनि वार्ता हुने भएका हो ।