एभरेष्ट दैनिक

सहमति जुटाउन बोलाएको बैठक गालीगलौजमा सीमित, सुरुमै बाहिरिए केपी ओली

काठमाडौं, मंसिर २० । व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमा सहमति जुटाउन राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक गालीगलौजमा सीमित भएको छ । सहमतिको प्रयासका लागि भण्डारीले पहल गरेपनि बैठकको शुरुमा बोल्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संशोधनको औचित्य नै नभएको भन्दै चर्को कुरा गरेपछि बैठक एकले अर्कोलाई आलोचना गर्नेमा पुगेको हो । बैठकको शुरुमा बोल्दै अध्यक्ष ओलीले संविधान संशोधनको औचित्य नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए । करिब १५, १६ मिनेट लामो भनाई राख्दै ओलीले मधेसी मोर्चा र सरकारको चर्को आलोचना गरे । आफ्नो भनाई राखेपछि अध्यक्ष ओली बाहिरिएका थिए । “वहाँको मनशाय नै भाँड्ने देखियो । पूर्वाग्रही मात्रै थियो वहाँको प्रस्तुती पनि । सहमति या निकास खोज्ने मनशाय भएको भए अरुको कुरा सुन्नुहुन्थ्यो तर गाली गर्नुभयो अनि हिँड्नुभयो ।” बैठकमा सहभागी एक नेताले बताए । “बैठकको शुरुमा अध्यक्ष ओलीले संयमित भएर प्रस्तुत भएको भए आजको बैठक अहिलेको गतिरोधको निकासका लागि महत्वपूर्ण हुने थियो” उनले भने । ओलीले निषेधको भाषा प्रयोग गरेपछि उनीपछि बोल्ने अन्य वक्ताहरुले ओलीको चर्को आलोचना गरे । मधेसी मोर्चाका नेताहरुले संशोधनको प्रस्ताव पूर्णरुपमा मान्य नभएपनि संशोधन नै नचाहने कुरा कुतर्क र राजनीतिलाई मुडभेडमा लैजान खोजेको आरोप लगाए । बैठकमा बोल्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले एमाले अध्यक्ष ओललाई दोहोरो चरित्र देखाएकोमा चर्को आलोचना गरे । “हिजो २ नं. प्रदेश बनाउँदा तपाईले नै हैन हस्ताक्षर गरेको ?” देउबाले भने, “अहिले किन पूर्वाग्रही भएर दोधारे चत्रिर देखाउनुहुन्छ ?” देउबाले एमालेले मुलुकलाई पश्चगमनतर्फ लैजान खोजेको भन्दै संशोधन प्रस्तावमा सदनमा छलफल गर्नका लागि दर्ता गरिएको बताए । बैठकमा प्रधानमन्त्री प्रचण्डले संशोधनको प्रस्ताव पूर्ण छ भनेर सदनमा दर्ता गरेको नभई सबै पक्षका धारणा राखेर परिमार्जनसहित संशोधनको मनशाय राखेर पेश गरिएको बताए । “तर छलफल नै हुन नदिने, सदन नै चल्न नदिने हो भन्े यसले मुलुकलाई कहाँ पुर्याउँछ ? के गर्न खोजेको हो प्रतिपक्षीले ?” उनले आक्रोश व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन फेरी पनि गर्न सकिने, सदनमा यसबारेमा पर्याप्त छलफल चलाउन सकिने र सबैका बीच सहमति जुटाएर जान सकिने सम्भावना हुँदाहुँदै जनमनोावलाई निहित राजनीतिक उद्देश्य राखेर प्रतिपक्षीले उचाल्न खोजेको आरोप लगाएका थिए । बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुुर केसीलगायतले भने संशोधन प्रस्तावको बिरोध गरेका थिए ।