एभरेष्ट दैनिक

राजालाई दाम राख्ने धनुष्टंकारेहरु अझैपनि प्रतिगमनको बाटोमा : अध्यक्ष न्यौपाने

रुकुम, मंसिर २२ । अखिल(क्रान्तिकारी)का अध्यक्ष नरेन्द्र न्यौपानले हिजो राजालाई दाम राख्ने धनुष्टंकारेहरुलाई अझै पनि लोकतन्त्र र संघीयता मन नपरेकाले उनीहरु प्रतिगमनतर्फ लागेको बताए । अखिल(क्रान्तिकारी) रुकुमको २५ औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै न्यौपानेले त्यस्ता धनुष्टंकारेहरुले अझै पनि गणतन्त्र र संघीयता स्विकार नगरिसकाले तिनीहरु अझैपनि मौका पर्नसाथ प्रतिगमन तर्फ फर्कन उद्धत रहेको आरोप लगाएका छन्। एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै न्यौपानेले प्रश्न गरे, ‘राजाविरुद्ध आन्दोलन गर्नु भनेको गोरुगाडा चढेर अमेरिका जानू जस्तै हो भन्नेहरुलाई गणतन्त्र र संघीयता कसरी मनपर्छ र ।’ फरक प्रसङ्गमा न्यौपानेले सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरु विचको खाडल अन्त्य हुनुपर्ने वताए। स्थानीय तहको निर्वाचन गराएर मात्र संविधान कार्यान्वयन नहुने भन्दै न्यौपानेले थपे ‘संविधानले व्यवस्था गरेको माध्यामिक तहसम्मको निशुल्क शिक्षा लगायतका व्यवस्था व्यवहारमा लागु नभएसम्म संविधान कार्यान्वयन हुंदैन ।’ रुकुमको मुसिकोट स्थित खलंगा वहुमुखी क्याम्पसमा आयोजित सम्मेलनमा माओवादी केन्द्रका नेता गोपाल शर्मा, क्रान्तिकारी उपाध्यक्ष पञ्चा सिंह, ६ नं. प्रदेश इन्चार्ज खेम सिंह, ५ नं. प्रदेश इन्चार्ज ध्रुवविक्रम वली, ५ नं. प्रदेश संयोजक सुन्दर वली, दुर्गा बुढाथोकी,केशव रावल लगायतका विद्यार्थी नेताहरुहरुले संविधान कार्यान्वयनमा जुट्न अपिल गरेका थिए।