एक सयको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णयसँग भारत असन्तुष्ट
२३ बैशाख, २०८१
काठमाडौं । नेपाल सरकारले चुच्चे नक्सासहितको रु एक सयको नोट जारी गर्न लागेकोमा भारतले असन्तुष्टि व्यक्त गरेको छ। भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको एकपक्षीय निर्णयले अवस्था नबदलिने बताएका छन् । शनिबार ओडिशाको भुवनेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेशमन्त्री जयशंकरले स्थापित संयन्त्र हुँदाहुँदै पनि नेपालले एकतर्फी निर्णय गरेको आरोप लगाए । ‘नेपालले नयाँ नक्सासहितको नोट निकाल्न थालेको कुरामा भारतको धारणा के हो ?, भन्ने प्रश्नमा विदेशमन्त्री जयशंकरले भने,‘मैले पनि त्यो रिपोर्ट देखेँ । मैले विस्तृतमा भने हेरेको छैन । तर यसमा हाम्रो धारणा प्रस्ट छ । नेपालसँग सीमा मुद्दाबारे स्थापित संयन्त्रमार्फत नै छलफल गर्दै आएका छौँ । त्यहीबीचमा एकपक्षीय ढंगबाट उनीहरूले निर्णय गरे । एकपक्षीय निर्णयले हामीबीचको अवस्था र जमिनी यथार्थ परिवर्तन हुँदैन ।’ अर्थ मन्त्रालयको प्रस्तावमा गत वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नोटमा नेपालको नयाँ नक्सा समावेश गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनेकी थिइन्, ‘हाल चलनचल्तीमा रहेको रुपैयाँ १ सय दरको बैंक नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नक्साको सट्टा नेपालको नयाँ नक्सा राखी रुपैयाँ १ सय दरको बैंक नोटको डिजाइन परिमार्जन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।’ अहिले प्रचलनमा रहेको सय रुपैयाँको नोटमा पुरानै नक्सा रहेको छ । नयाँ नक्सा जारी भएपछि सोहीअनुसार डिजाइन परिवर्तन गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन् । नेपालले २०७७ जेठ ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । नेपाल सरकारले सुगौली सन्धिअनुसार कालीनदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा लागू गरेको हो । भारतीय कब्जामा रहेका ती भूभाग यसअघि प्रचलनमा रहेको नेपालको नक्सामा थिएनन् । नेपालको नयाँ नक्सामा लिम्पियाधुरामाथिबाट बग्ने कालीनदीपूर्वका गुन्जी, नाभी, कुटीलगायतका भूभाग समेटिएको छ । ती क्षेत्र नेपाली नक्सामा समेटिएपनि भोगचलन भने भारतले नै गर्दै आएको छ ।
नेपाल र जापानका परराष्ट्रमन्त्रीबिच भेटवार्ता
२३ बैशाख, २०८१
कीर्तिपुरमा बस दुर्घटना त्रिविका प्राध्यापकको निधन
२३ बैशाख, २०८१
घट्यो नेप्से, कारोबार कति ?
२३ बैशाख, २०८१
फुलबारी साँस्कृतिक कार्यक्रम–२०२४ सम्पन्न
२३ बैशाख, २०८१
जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा
२३ बैशाख, २०८१
मेरो पहिलो नेपाल भ्रमण
२३ बैशाख, २०८१
काठमाडौंका यी स्थानमा ३ बजेसम्म विद्युत बन्द
२३ बैशाख, २०८१

