एभरेष्ट दैनिक

राष्ट्रपतिलाई रनिङ सिल्डको निमन्त्रणा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति पौडेललाई निमन्त्रणा पत्र प्रदान गरे। सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा र आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोख्रेलको उपस्थिति रहेको थियो । राष्ट्रपति रनिङ सिल्ड बैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सातै प्रदेशबाट आठ सय पाँच खेलाडीको सहभागिता रहने छ । जसमा ५० स्वर्ण, ५० रजत र ६६ कांस्य गरी जम्मा एक सय ६६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । लुम्बिनी प्रदेश गत संस्करणमा पनि टिम च्याम्पियन बन्दै लगातार तेश्रोपटक उपाधि जित्न सफल भएको थियो ।