एभरेष्ट दैनिक

अभिनेता सैफ अली खानमाथि आक्रमणको मुख्य आरोपी पक्राउ

मुम्बई: बलिउड अभिनेता सैफ अली खानको घरमा चोरी प्रयास र आक्रमणमा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । आरोपीलाई मुम्बइको ठाणेबाट शनिबार राति पक्राउ गरिएको हो। आइतबार बिहान मुम्बई प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनाबारे विस्तृत जानकारी दिएको छ। प्रहरीका अनुसार आरोपी चोरीको उद्देश्यले सैफको घरमा प्रवेश गरेको थियो। पक्राउ परेका आरोपीको वास्तविक नाम मोहम्मद शरीफुल इस्लाम शहजाद हो, जसको उमेर ३० वर्ष छ। प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ कि उनले भारतमा गैरकानूनी रूपमा प्रवेश गरेपछि आफ्नो नाम परिवर्तन गरी विजय दास राखेका थिए। आरोपीसँग भारतको कुनै वैध कागजात नभएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनलाई बंगलादेशी नागरिक भएको शंका गरिएको छ। पृष्ठभूमि: शरीफुल इस्लाम पाँच–छ महिनाअघि मुम्बई आएका थिए। यहाँ आएपछि उनी एक हाउसकीपिंग एजेन्सीमा काम गर्दै आएका थिए।   प्रहरीका अनुसार आरोपी पहिलो पटक सैफ अली खानको अपार्टमेन्टमा प्रवेश गरेका थिए। चोरी गर्ने योजना बनाएर उनी अपार्टमेन्टमा प्रवेश गरेको बताइएको छ। प्रहरीले घटनास्थलमा भेटिएका सामग्रीहरूको अनुसन्धान गर्दै आरोपीको परिचय र योजनाबारे थप विवरण पत्ता लगाएको छ।   आरोपीलाई पक्राउ गर्न ३५ वटा प्रहरी टोली परिचालित थिए। प्रहरीले यस मामिलामा ५० भन्दा बढी व्यक्तिसँग सोधपुछ गरिसकेको छ। यसअघि शनिबार छत्तीसगढको दुर्ग जिल्लाबाट एकजना संदिग्धलाई हिरासतमा लिइएको थियो।   आरोपीलाई आइतबार अदालतमा पेश गरिनेछ। मुम्बई प्रहरीले आरोपीलाई हिरासतमा लिएर थप अनुसन्धानका लागि कस्टडी माग गर्ने तयारी गरेको छ।