एभरेष्ट दैनिक

घरमै सामाजिक सुरक्षाभत्ता

पर्वत, चैत २४ । पर्वतको कुस्मा नगरपालिका– ७ ले तेस्रो पटक सामाजिक सुरक्षा भत्ता वडामा नै वितरण गरेको छ । बैंकमा पुगेर रकम झिक्न वृद्धहरुलाई असहज भएपछि बैंकका कर्मचारीलाई गाउँमै बोलाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । कुस्मा नगरपालिका–७ ले शुक्रबार तीन सय ७६ वृद्धवृद्धा, एकल महिलालाई वडा कार्यालयमा नै रु २० लाख भन्दा बढी सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । सदरमुकाम कुस्मामा रहेको बैंकमा पुगेर रकम लिन बुढाबुढीलाई कठिन हुने भएकाले गाउँमा नै बोलाएर रकम वितरण गरिएको वडा अध्यक्ष तेजप्रसाद पाध्याले जानकारी दिनुभयो । कुस्मामा रहेको गण्डकी विकास बैंकको शाखा कार्यालयमा वृद्धवृद्धा र एकल महिलाको बैंक खाता खोलिएको छ । सबैको रकम बैंकमा जम्मा भएपछि गाउँमा चेक संकलन गरेर भुक्तानी दिइँदै आएको छ, भने कुस्मा र पोखरालगायतका शहरमा बस्नेले भने बैंकबाट नै रकम लिँदै आएका छन् । जनप्रतिनिधि आएपछि गाउँमा नै सेवा दिने उद्देश्यले अनुरोध गरेपछि गाउँमै पुगेर भत्ता वितरण गरिएको बैंकका शाखा प्रबन्धक केशव आचार्यले बताउनुभयो । कुस्मा नगरपालिका–७ मा मात्रै चार सय ५० जना भन्दा बढी बैंक खातामा जम्मा भएको सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम झर्नुपर्ने भएपछि पर्वतमा जनप्रतिनिधिले घरघरमै वितरण गर्न थालेका छन् । सामाजिक सुरक्षाभत्ता लिन वृद्ध सदरमुमकाम झर्नुपर्ने बाध्यता हटाउन र जनप्रतिनिधि आएपछि जन उत्तरदायी बन्न पनि बैंकलाई गाउँमै बोलाएर सामाजिक सुरक्षाभत्ता वितरण गर्ने अभियान नै चल्न थालेको छ । कुस्मा नगरपालिकाका– १४ ले पनि यसअघि सामाजिक सुरक्षाभत्ता गाउँमै वितरण गरेको थियो, भने पर्वतको फलेवास नगरपालिका, महाशिला गाउँपालिकाका सबै वडामा नै घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण हुँदैआएको छ । यसैबीच कुस्मा नगरपालिका–३ ले ८० वर्षभन्दा माथिका वृद्धवृद्धालाई सम्मान गरेको छ । वडा कार्यालयले ८० वर्ष काटेका ८० जना वृद्धवद्धालाई दोसल्ला ओढाएर सम्मान गरेको हो । सो कार्यक्रममा गाउँमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेकामा गण्डकी विकास बैंकका कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।