एभरेष्ट दैनिक

च्याम्पियन्स लिग फुटबल : लिभरपुल र बार्सिलोनाको जित

काठमाडौं, चैत २२ । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ । लिभरपुलको मैदान एन्फिल्डमा सम्पन्न दुई इंग्लिस क्लबहरुबीचको भिडन्तमा लिभरपुल ३–० ले विजयी भयो । खेलमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह, अक्सलेड चेम्बरलीन र सादियो मानेले एक–एक गोल गरे । क्वाटरफाईनल पहिलो लेगमा हात पारेको यो जितसँगै लिभरपुलले सेमिफाइनल प्रवेशको सम्भावना बलियो पार्दा पराजित टोली म्यान्चेस्टर सिटी भने दोस्रो लेगको खेलपूर्व दवावमा आएको छ । च्याम्पियन्स लिग क्वाटरफाइनल पहिलो लेगकै अर्को खेलमा बार्सिलोनाले एएस रोमालाई ४–१ ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा स्पेनिस क्लब बार्सिलोनालाई विजयी गराउन जेरार्ड पिके र लुईस सुवारेजले एक–एक गोल गरे । ईटालियन क्लब रोमाका ड्यानिएल डे रोसी र कोस्टान्टीनोस मानोलासले एक–एक वटा आत्माघाती गोल गरेपछि खेलमा बार्सिलोनाले २÷० को अग्रता लिएको थियो । पाहुना टोली रोमाका लागि भने एडिन जेकोले सान्त्वना गोल गरे ।