दृष्टिविहीन भएर पनि बाख्रापालन व्यवसाय !

भीमदत्तनगर, पुस १९ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ रामनगरका अति विपन्न परिवारका ५१ वर्षीय जीतबहादुर चौधरी जन्मदेखि नै दृष्टिविहीन हुन् । संसार देख्न नपाएका चौधरीले यतिबेला बेलौरी नगरपालिकामा बाख्रापालन व्यवसाय गर्दै आएको छ ।

जीतबहादुरले रामनगरस्थित हिमचुली बाख्रापालन समूहमा आबद्ध भएर बाख्रापालन गर्दै आएका छन् । ‘दिनभर बाख्राखोरमै काम गर्छु,’ उनले भने– “बाख्राका लागि डोरी बनाउनेदेखि घाँसपातको व्यवस्थापनमा समय खर्चिन्छु ।’ गाउँमा रहेको सामुदायिक वनले चौधरीलाई बासका लागि टहरा बनाउन जग्गा उपलब्ध गराएको छ ।

‘सम्पत्तिका नाउँमा सामुदायिक वनले टहरा बनाउन दिएको जग्गा मात्रै हो,’ चौधरीले भने– ‘बाख्रापालनबाट आम्दानी गर्न सकिन्छ कि भनेर समूहमा आवद्ध भएको छु ।’ चोधरी दम्पती शारिरीक रुपले अशक्त भएका कारण विगतमा गाउँमा मजदुरी गरेरै परिवारको लालनपालन गर्दै आएका छन् ।

उक्त समुहले १७५ वटा बाख्राबाट बाख्रापालन सुरु गरेको हो । समुहमा आवद्ध प्रायः आदिवासी र विपन्न परिवारका छन् । हिमचुली बाख्रापालन समुहका अध्यक्ष हरिदास चौधरीका अनुसार दृष्टिविहीन जीतबहादुर निकै सक्रिय रुपमा बाख्रापालनमा संलग्न रहेको बताए ।

उनका दुई छोरी र एक छोरा छन् । जेठी छोरीले गाउँमै सामान्य किराना पसल सञ्चालन गरेको छ । दुई छोरा छोरी गाउँकै सरकारी स्कूलमा पढ्दै आएका छन्। शुक्लाफाँटा आरक्षबाट विस्थापित भएर उनीहरु रामनगर पुगेका हुन् ।

आरक्षका कारण विस्थापित भएपछि सरकारले दिएको दश कठ्ठा जग्गामा चौधरीका पाँच दाजुभाई बस्दै आएको छ । लामो समयसम्म गाउँलेले चौधरीलाई खाद्यान्न उपलब्ध गराएका थिए ।

‘खान लगाउनै समस्या छ, छोरीले पसल संञ्चालन गरेपछि सामान्य घरखर्च जुटेको छ,’ उनले भने । दुवैजना अपाङ्ग भएकै कारण सरकारले मासिक रु तीन–तीन सय भत्ता उपलब्ध गराउँदै आएको छ ।

बत्ति बालेरै मुलुकलाई विद्युतभार कटौतीमुक्त गरिने–ऊर्जामन्त्री

पोखरा, पुष १६ । ऊर्जामन्त्री जनार्दन शर्माले सरकारले घोषणा गरेर नभई बत्ति बालेर मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने अभियानमा जुटेको बताएका छन् । कास्की जिल्लाको सिल्दुजुरे गाविस–९ बाहुनडाँडामा निर्माण सम्पन्न भएको २५ मेगावाटको माथिल्लो मादी जलविद्युत् आयोजनाको  शुक्रबार उद्घाटन गर्दै उनले प्राविधिक कारणले तराईका केही जिल्लाबाहेक हाल मुलुकमा कहीँपनि विद्युत्भार कटौती नभएको बताए । जलविद्युत् आयोजना निर्माणमा स्थानीय जनसहभागिता अपरिहार्य रहेको बताउँदै उनले उत्पादित विद्युत् खपतका लागि मुलुकमा ठूला उद्योग सञ्चालनमा निजी क्षेत्रको ध्यान केन्द्रित हुनुपर्ने बताए । ‘नेपालको पानी जनताको लगानी’ भन्दै उनले विद्युत् उत्पादनसँगै औद्योगिकीकरण गरेर पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र सडकको विकास निर्माणमा जुट्नुपर्नेमा जोड दिए। व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले अबको राजनीति भाषणको नभई उद्योमशीलता र मुलुकको समृद्धिका लागि गर्नुपर्ने बताए  । सांसद यज्ञबहादुर थापाले निजी क्षेत्रको व्यावसायिक कौसलतालाई प्रयोग गरेर अगाडि बढ्नुपर्ने बताउँदै लोकतन्त्रको रक्षाका लागि मुलुकमा निर्वाचन हुनुपर्नेमा जोड दिए । उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले नेपालको निजी क्षेत्र जस्तोसुकै चुनौतीको सामना गर्न तयार रहेको बताउँदै सरकारले लगानीको सुनिश्चितता दिन माग गरे । रु पाँच अर्ब २८ करोड बराबरको स्वदेशी तथा वैदेशिक लगानी जुटाएर निर्माण सुरु गरिएको सो आयोजना अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, भूकम्प र सुरुङ खन्नेक्रममा पहिरो जाँदा लागत बढेर रु सात अर्ब पुगेको जलविद्युत् आयोजनाका अध्यक्ष विजयबाबु मल्लले जानकारी दिए । उनका अनुसार आयोजनाको २० प्रतिशत र चाइना अन्तर्राष्ट्रिय वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई) को ८० प्रतिशतको आर्थिक सहयोगमा विसं २०६९ को पुस महिनाबाट आयोजनाको निर्माण कार्य सुरु गरिएको हो । रासस

२ सय बढी लगानीकर्ताले घेराउ गरे शेयर बजार

काठमाडौं, पौष १४ । शेयर बजारसँग सम्बन्धित बिभिन्न माग राख्दै दुईसय भन्दा बढी शेयर लगानीकर्ताहरुले बिहिबार स्टक एक्जचेन्जको कार्यालय घेराउ गरेका छन् । शेयर बजारलाई व्यवस्थित पार्न काठमाडौं बाहिर ७० वटा शाखा खोल्नुपर्ने मुख्य माग सहित विगत केही दिनदेखि शेयर दलालहरु आन्दोलनमा रहेका छन् । शेयर बजारलाई अनलाइन सिष्ष्टम तत्काल लैजानुपर्ने, शेयर कारोबारलाई पारदर्शी र सजिलो पार्न अनलाईन सिष्टमको विकास गरिनुपर्ने, काठमाडौं बाहिर आर्थिक कारोबारको सम्भावना भएका देशका बिभिन्न शहरमा शेयरको कारोबार गर्न संयन्त्र निर्माण गरिनुपर्ने लगायतका माग उनीहरुले राखेका छन । राजधानीको पुतलीसडकमा स्थित नेप्सेको कार्यालयमा ब्रोकरहरुलाई यथाशीघ्र उपत्यकाबाहिर शाखा खोल्न दिइयोस, गैर आवासीय नेपालीलाई पूँजि बजारमा ल्याउन पहल गरियोस्, अनलाईन सिष्टम यथाशीघ्र कार्यान्वयन गरियोस लगायतका  प्लेकार्डसहित धर्ना दिएका हुन । धितोपत्रको कारोबार गर्दै आएका कुल ५० सेयर ब्रोकरमध्ये २४ ले ‘तत्काल शाखा खाल्न पाऊँ’ भनी निवेदन दिएपनि त्यसको सुनवाई नभएको उनीहरुको आरोप छ । ब्रोकरहरुको एउटै कम्पनीले आठ स्थानसम्म शाखा बिस्तारको प्रस्ताव गरेको छ । प्रस्ताव गरिएका स्थानमा भक्तपुर, विराटनगर, इटहरी, दमक, धरान, भरतपुर, बनेपा र बुटवललगायत स्थान रहेका छन् । त्यसरी माग गर्नेमा एबिसी सेक्युरिटीजले छ, अनलाइन सेक्युरिटीजले पाँच, मल्ल एन्ड मल्ल, नाशा, त्रिशक्ति, अक्सफोर्ड, श्वेता र एसियनले चार स्थानमा शाखा खोल्ने अनुमति मागेको महाप्रबन्धक थपलियाको भनाइ छ । यस्तै तीन स्थानमा शाखा स्थापनाको अनुमति माग गर्ने ब्रोकर कम्पनीको सङ्ख्या चार रहेको छ । सेयर बजारलाई राजधानी बाहिरका जनताको पनि पहुँचमा पु¥याउन ब्रोकरको शाखा विस्तार गर्नेबारे लामो समयदेखि चर्चा चल्दै आएको भए पनि प्रक्रिया भने अगाडि बढ्न सकेको थिएन । स्टकका अनुसार हालसम्म नौ ब्रोकर कम्पनीले राजधानी बाहिर एक÷एक वटा शाखा विस्तार गरेका छन् । ४१ ब्रोकर कम्पनीले भने हालसम्म शाखा विस्तार गरेका थिएनन् । धितोपत्र बजार सुधार सम्बन्धमा गठित अध्ययन समितिले तत्काल ब्रोकरलाई शाखा विस्तारको अनुमति दिन सिफारिस गरेको छ । सोही आधारमा स्टकले नेपाल धितोपत्र बोर्डमा अनुरोधसमेत गरिसकेको छ ।

अपडेटः १ घण्टापछि इन्द्रचोकको आगलागी नियन्त्रणमा

काठमाडौं, पुस १२ । काठमाडौंको इन्द्रचोकमा लागेको आगो नियन्त्रणमा आएको छ । इनद्रचोकको मखनगल्लीमा रहेको सुरज आर्किडमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा आएको हो । दमकल स्थानीयबासी र सेना प्रहरीले आगोलाई नियन्त्रणमा लिएका हुन् । बाक्लो बस्तीका कारण दमकल जाने ठाउँ नभएर आगलागी नियन्त्रण लिन एक घण्टा लागेको थियो । नेपाली सेनाले नजिकैको घरको छतमा चढेर पानी फोहरा पालेका थिए । अागलागीमा भएको क्षति विवरण आइसकेको छैन

लडेर नेपाल बैंकका प्रबन्धकको मृत्यु

सुरुङ्गा, पुस ११ । नेपाल बैंक लिमिटेड बिर्तामोड शाखाका प्रबन्धकको लडेर मृत्यु भएको छ । गएराति आफ्नै घरको बाथरुममा चिप्लिएर लड्दा प्रबन्धक उमेशचन्द्र घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । बाथरुममा लडेर अचेत भएको घिमिरेलाई उपचारका लागि तत्काल बिर्तामोडस्थित पूर्ण टुङ बिर्तासिटी हस्पिटल पुर्याइएको भएपनि अस्पताल पु¥याएलगत्तै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । एकचालिस वर्षीय घिमिरे डेढ वर्षयता बिर्तामोडस्थित नेपाल बैंकको शाखा कार्यालयमा प्रबन्धकको काम गर्दै आएका थिए । काठमाडौँ स्थायी घर भएका उनी बिर्तामोड शाखामा कार्यरत थिए ।

इतिहासमैं सबैभन्दा बढी अरबौं किलो धान फल्यो यसवर्ष

काठमाडौं, पुष १० । नेपालमा यसवर्ष सबैभन्दा बढी धान फलेको छ । आजसम्म यति बढी धान नफलेको कृषि मन्त्रालयले जनाएको छ । तथ्यांक अनुसार, यस वर्ष करिब ५२ लाख मेट्रिक टन (पाँच अर्ब २० करोड किलो) धान उत्पादन भएको छ । कृषि मन्त्रालयले गत आर्थिक वर्ष २०६८६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यसवर्ष इतिहासकै रेकर्ड तोडिएको जनाएको छ । मन्त्रालयले यसबारे आधिकारिक रूपमा सोमबार यो जानकारी दिन गइरहेको छ । बजारमूल्यअनुसार एक खर्ब चार अर्ब मूल्यबराबरको धान उत्पादन भएको छ । बजारमा धानको औसत मूल्य २० रुपैयाँ प्रतिकिलो छ । सहप्रवक्ता शंकर सापकोटाका अनुसार धान उत्पादनमा आएको उल्लेख्य प्रगतिका कारण चालू आर्थिक वर्षमा ठूलो परिमाणमा चामल आयात नहुने दाबी गरे ।

पर्यटनको विकासका लागि सरकार गम्भीर छः प्रधानमन्त्री

काठमाडौं, पौष ८। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटन उद्योग र पर्यटन व्यवसायको विकासका लागि सरकार गम्भीर भएको बताएका छन्। शुक्रबार पर्यटन व्यवसायमा क्रियाशील संस्था टानको ३८ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले पर्यटनको विकासमा सरकार गम्भीर भएको बताएका हुन् । साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने, ‘नेपाल अथाह पर्यटकीय सम्भावना बोकेको मुलूक हो । नेपालको अर्थतन्त्रमा पर्यटन व्यवसायको महत्वपूर्ण योगदान रहँदै आएको छ । हामीमा ईच्छाशक्ति भयो र इमान्दार भयौं भने मात्रै नेपालको पर्यटन व्यवसायमा निकै ठूलो प्रगति हासिल गर्न सकिन्छ ।’ नेपालको पर्यटन प्रवद्र्धनका लागि सरकारले पहल गरिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘यस अवधिमा मैले पाथिभरा, खप्तड, रारा लगायतका पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण गरें । हामीमा ईच्छाशक्ति भयो भने थुप्रै सम्भावनालाई अवसरमा बदल्न सकिन्छ । भर्खरै मात्र काठमाडौं–निजगढ दु्रतमार्ग नेपालले नै बनाउने पहल गरेका छौं । केरुङ नाका सञ्चालनका लागि कुराकानी गरिएको छ । किमाथान्का र हिल्साजस्ता उत्तरी नाकाको सडक निर्माणले तिब्रता पाएको छ । अब हामीले पर्यटनको क्षेत्रमा गुणात्मक उपलब्धि हासिल गर्न सक्छौं । यसका लागि उत्साहजनक रुपमा नीजि क्षेत्रको साझेदारी आवश्यक छ ।’ कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले भूकम्पपछि नेपालमा पर्यटक आगमनको क्रम घटेकोमा क्रमशः पर्यटक आगमनमा प्रगति भएको भन्दै व्यवसायिक वातावरणका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेका थिए ।

नागढुङ्गा–नौबिसे सुरुङमार्ग जापानले बनाउने, बिहिबार भयो सम्झौता

काठमाडौं, पुस ७ । नेपालकै पहिलो सुरुङ मार्ग जापान सरकारले बनाउने भएको छ । काठमाडौं– नागढुङ्गा–नौबिसे साढे २ किलोमिटर सुरुङ बनाउन नेपाल र जापान सरकारबीच बिहीबार सम्झौता भएको हो । उक्त परियोजना निर्माणको कागजातमा बिहीबार अर्थ मन्त्रालय सचिव शान्ताराज सुवेदी तथा तथा जापानी राजदूत मासाही ओगावाले तर्फबाट हस्ताक्षर गरेका छन्। जापान सरकारको १५ अर्ब २८ करोड रुपैयाँ ऋण सहयोग सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्याल तथा जापान अन्तरार्ष्ट्रिय सहयोग नियोग जाइकाका प्रमुख जुन साकुमाले हस्ताक्षर गरे। अर्थमन्त्री कृष्णबहादुर महरा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक सम्झौता समारोहमा उपस्थित थिए। सम्झौतासँगै नागढुङ्गा–नौबिसे सुरुङमार्ग निर्माणले आधिकारिक रुपमा गति पाएको हो। परियोजनाको कूल लागत २० अर्ब ४० करोड रुपैयाँ हुने अनुमान जाइकाको छ। जापान सरकारको अफिसियल डेभलपमेन्ट असिस्टेन्स (ओडिए) अन्तर्गत प्राप्त हुने ऋणको ब्याजदर ०.०१ प्रतिशत रहनेछ। ऋण भुक्तान गर्ने अवधि ४० वर्षको रहनेछ। यस्तो हुनेछ सुरुङ सम्झौताअनुसार धादिङको सिस्ने खोलादेखि काठमाडौंको बस्नेतछापसम्म दुई लेनको टनेल निर्माण गरिनेछ। सुरुङमार्गमा सिस्नेखोलातर्फ विश्राम कक्ष, रेष्टुरेन्ट, पसलहरु, पार्किङ, सुरुङ सञ्चालन कार्यालयलगायतका पूर्वाधारसमेत निर्माण गरिनेछ। दुवैतिर उक्त टनेललाई जोड्न कुल २.६ किलोमिटरको सडक, २ ओटा पुल उक्त परियोजना अन्तर्गत निर्माण गर्नु पर्नेछ। यो परियोजनाअन्तर्गत सुरुङको सिस्नेखोलातर्फ विश्राम कक्ष, रेष्टुरेन्ट, पसलहरु, पार्किङ, सुरुङ सञ्चालन कार्यालयलगायतका पूर्वाधारसमेत निर्माण गरिनेछ। सुरुङलाई सुरक्षित बनाउन बत्ति, आकस्मिक पार्किङ, लाउड स्पिकर, सीसीटीभी क्यामेरा, बाहिर निस्कने मार्ग, पर्याप्त अक्सिजनका लागि भेन्टिलेशन लगायतका व्यवस्था गरिनेछ।

कृषिको आधुनिकीकरणबाट आर्थिक समृद्धि–प्रधानमन्त्री प्रचण्ड

कैलाली, पुष ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिको आधुनिकीकरणबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् । बुधबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कैलालीको उदासीपुरमा सञ्चालन हुने (गहुँ खेती) सुपरजोन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले कृषिको आधुनिकीकरणबाट आर्थिक समृद्धिको जग बसाल्न सकिने बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– ‘राजनीतिक परिवर्तनपछि अबको हाम्रो प्राथमिकता आर्थिक समृद्धि हो । आर्थिक क्रान्तिले मात्रै राजनीतिक स्थिरता हासिल गर्न र प्राप्त उपलब्धि जोगाउन सकिन्छ । अहिले सञ्चालन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने परियोजना हो । सरकार कृषिको आधुनिकीकरणमार्फत् आर्थिक समृद्धि हासिल गर्न चाहन्छ ।’ कार्यक्रममा प्रधानमन्त्रीले निर्वाहमूखी खेती प्रणालीलाई बदलेर जमिनको चक्लाबन्दीसहित आधुनिक कृषि प्रणालीमा जानुपर्ने आवश्यकता औल्याए । प्रधानमन्त्रीले भने– ‘हाम्रो खेती प्रणाली निर्वाहमूखी छ, यसलाई बदल्नुपर्छ । जमिनको चक्लाबन्दी गरेर आधुनिक प्रविधिमार्फत् कृषिको आधुनिकीकरण गर्न जरुरी छ । सरकारले कृषिको आधुनिकीकरणका लागि देशब्यापी रुपमा अभियान सञ्चालन गर्नेछ ।’ उद्घाटन कार्यक्रममा समसामयिक राजनीतिबारे बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान कार्यान्वयनका लागि राजनीतिक सहमति जुटाउने कोशिस भइरहेको छ । हिमाल, पहाड र तराई मिलाएर राष्ट्रिय एकता हासिल गर्ने र निर्वाचनमा जाने तयारी हुँदैछ । प्रमूख दलहरुको सहमतिमा निर्वाचनको मिति घोषणा हुन्छ र संविधान कार्यान्वयनले तिब्रता पाउँछ ।’ कार्यक्रममा कृषिमन्त्री गौरीशंकर चौधरीले कृषि मन्त्रालयले किसान लक्षित भएर कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिएको बताउँदै सुपरजोन कार्यक्रम सात वटै प्रदेशमा सञ्चालन गरिने बताए । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत देशका सात वटै प्रदेशमा स्थानीय प्रमूख बालीको उत्पादनमा जोड गर्ने, कृषिको आधुनिकीकरण, बजारीकरण र किसानहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कृषि विकास मन्त्रालयका सचिव डा. सुरोज पोखरेलले जानकारी दिए ।

कृषि परियोजनामा व्यावसायिक कृषक छनौटमा अनियमिता भएको भन्दै अख्तियारले छानविन गर्दै

सप्तरी, पुस ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि मन्त्रालय अन्तर्गत रहेको व्यावसायिक कृषि परियोजना (प्याक्ट) द्वारा पूर्वाञ्चलको चारवटा जिल्लामा व्यावसायिक कृषकको छनोटमा आर्थिक अनियमितता भएको भन्दै छानविन सुरु गरेको छ । उक्त परियोजना (प्याक्ट) द्वारा छनौटमा परेका निजी कृषक व्यवसायीलाई रु एक करोड तथा समूहमा रहेका कृषक व्यवसायीलाई रु ३५ लाखसम्म दिने कार्यक्रमका लागि छनोट गर्ने परियोजनाका पदाधिकारी तथा व्यवसायीबारे छानविन सुरु गरिएको अख्तियारले जनाएको छ । अख्तियारले मोरङ, सुनसरी, सप्तरी र सिरहाका व्यावसायिक फर्मको छानबिन सुरु गरेको छ । विश्व बैँकको सहयोगमा सञ्चालित उक्त परियोजनाका लागि सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापालगायत १६ जिल्लाका करिब ६०० कृषि तथा पशुपछी व्यवसायमा संलग्न कृषकले पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरमार्फत आवेदन दिएका थिए । आवेदन दिएकामध्ये करिब दुई सय किसानको व्यावसायिक फर्मको स्थलगत निरीक्षण गरी निर्देशनालायले छनौट गरेका थिए । छनौटमा परेका मध्येबाट व्यावसायिक प्रस्ताव लेखन र त्यसको जाँच गर्दा प्रयोजनाको केन्द्रीय कार्यालयले सिरहा र सप्तरीका करिब एक दर्जनलाई मात्र उत्कृष्ट छनोट गरेको थियो भने अन्य व्यावसायिक फर्मलाई अस्वीकार गरेको थियो । छनौटमा अनियमितता भएको भन्दै मोरङ र सप्तरीका व्यावसायिक कृषकले अख्तियारमा उजुरी गरेका थिए । छनौटमा नपरेका सावित्रा बाख्रा फार्मका सञ्चालक फणिन्द्र सुवेदीले आफुले व्यावसायिकरुपमा खसी–बोका तथा पशुपालनको कारोबार गरेको, स्थलगत निरीक्षण र प्रस्ताव लेखनमा उत्तीर्ण भएपनि छनोटमा नपारिएको बताए । ‘पहुँच भएका छनोटमा परे, नहुने बाहिरिए,’ उनले आरोप लगाए । सो परियोजनाको छनोटमा दुई वर्ष लागेको बताइएको छ ।

मल्कावाङमा ४२ किलोवाट विद्युत् उत्पादन

बेनी (म्याग्दी),  पुस १ । म्याग्दीको दुर्गम गाविस मल्कावाङमा ४२ किलोवाट क्षमताको नन्दीवाङखोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोग र डिसिआरडिसी बागलुङको प्राविधिक सहयोगमा कुल रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो जलविद्युत् आयोजना निर्माण भएको निर्माण समितिका सहसचिव हरिबहादुर छन्त्यालले जानकारी दिनुभयो । सहसचिव छन्त्यालले दिएको जानकारीअनुसार जनश्रमदान रु ५९ लाख ५५ हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८१ लाख ९० हजार, प्रवासी मल्कावाङवासीको रु ४९ लाख, जिविस म्याग्दीको रु दुई लाख, मल्कावाङ गाविसको रु तीन लाख २० हजार, स्थानीय जनजागरण आमा समूह र सनलाइट युवा क्लबको रु २८ लाख गरी जम्मा रु दुई करोड २३ लाख ६५ हजारको लागतमा सो आयोजना निर्माण भएको हो । आयोजना निर्माणपछि मल्कावाङ–२ देखि ६ सम्मका २१२ घरमा बिजुली बलेको जलविद्युत् आयोजना उपभोक्ता समितिका अध्यक्ष लालबहादुर छन्त्यालले बताउनुभयो । “बिजुली बलेपछि हामी अत्यन्त खुसी छौँ, यस्तो दुर्गम गाउँमा पनि बिजुली बाल्न पाउँला भनेर सोचेकै थिएनौँ”, स्थानीयवासी तिलकुमारी छन्त्यालले भन्नुभयो । रासस

कृषिमा आधुनिकीकरणमासहयोग गर्न तत्पर: राजदूत मेयर

दमक, पुस १। नेपाली किसानलाई कृषिको नयाँ प्रविधि भित्र्याउन सहयोग गर्न इजरायल सरकार इच्छुक रहेको नेपालका लागि इजरायलका राजदूत यारोन मेयरले बताउनुभएको छ । गौरादह नगरपालिका महारानीझोडामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै राजदूत मेयरले नेपालमा कृषि प्रवद्र्धनका लागि प्रत्येक वर्ष ५०० नेपाली युवालाई इजरायलमा कृषि तालिममा लैजाने गरेको उल्लेख गर्नुभयो । इजरायलमा गएका नेपालीले त्यहाँ सिकेको सीप नेपालमा ल्याएर प्रयोग गरे प्रशस्त रोजगारीका अवसर सिर्जना हुनसक्ने उहाँको भनाइ छ । राजदूत मेयरले नेपालले कृषिमा आधुनिकीकरण गर्न सके प्रचुर आम्दानी लिन सकिने हुने बताउँदै इजरायलमा एउटा गाईले दैनिक ५० देखि ६० लिटर दूध दिने हुँदा त्यस्ता गाईलाई नेपाल ल्याएर दूध उत्पादन बढाउने प्रविधि प्रदान गर्न सकिनेछ भन्नुभयो । कार्यक्रममा पूर्वमन्त्री अग्नि खरेलले निर्वाहमुखी कृषिलाई छाडेर आधुनिक कृषि औजारको प्रयोग गरी आफ्नै गाउँबाट मनग्य आम्दानी लिन सकिने भएकाले विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न सकिने धारणा राख्नुभयो । संस्थाका अध्यक्ष मीना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले हलो जुवाको भरमा कृषि उत्पादन नहुने बताउनु हुँदै समयअनुसार कृषिमा वैज्ञानिकीकरण गर्न किसान पनि लाग्नुपर्छ भन्नुभयो । कार्यक्रममा संस्थाका कृषि प्राविधिक हरि सिलवालले महारानीझोडाको सहकारीको नमूना एकीकृत सहकारी खेतीको गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । सो अवसरमा राजदूत मेयरले सहकारीले सञ्चालन गरेको सामुदायिक बीउ प्रशोधन तथा भण्डार केन्द्र, नमुना एकीकृत सहकारी खेती, गाईपालनको अवलोकनसमेत गर्नुभएको थियो । रासस

सेयर बजार तेह्र अङ्कले बृद्धि

काठमाडौँ, मंसिर ३० । लगातार घट्दै आएको धितोपत्र बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बजार १३.९८ प्रतिशतले बढेको हो । कुल १३८ कम्पनीको छ लाख ६८ हजार ९२५ कित्ता सेयर रु ४९ करोड ३९ लाख ३० हजार ५०५ मूल्यमा खरिद बिक्री भएको छ । ‘क’ वर्गका सेयरको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज २.८५ प्रतिशतले बढेको छ । आज उत्पादन कम्पनीको बाहेक अन्य समूहका सेयर भने बढेको छ । स्टकका अनुसार बैंकिङ ०.९३, होटल १.८२, विकास बैंक १.२९, जलविद्युत् ०.४७, फाइनान्स ०.९ र बिमा १।२८ प्रतिशतले बढेको छ । उत्पादन समूह ०.२९ घटेको छ भने अन्य समूह सामान्य अवस्थामा रहेको छ ।

रिलायबलको १८ अाै‌ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ, मङ्सिर २९ । रिलायबल बचत तथा ऋण सहकारी संस्था लि. शङ्खमूलको १८ औँ वार्षिक साधारणसभा मङ्गलबार सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथि पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव वडालले हुने र नहुनेबीच असमानताको खाडल भएको विश्व अर्थ व्यवस्थामा सहकारी नै सहयोगी सिद्ध हुने बताए । काठमाडौँबाट नजिकैका बस्तीमा पनि कर्णालीको जस्तो आर्थिक विपन्नता देखिने बताउँदै अध्यक्ष वडालले यस्तो स्थितिको अन्त्य गर्न सहकारी अर्थतन्त्रलाई अघि बढाउनुपर्ने बताए । कार्यक्रममा विशिष्ट अतिथि पूर्वसहकारी सचिव शङ्कर पाण्डेले सहकारीका पदाधिकारी र कर्मचारीको मेहनतले संस्थाले प्रगति गर्न सफल भएको बताउँदै सहकारीमार्फत नै जनताको जीवनस्तर उकास्न सकिने बताए। प्रतिवेदन प्रस्तुत गर्दै सांसद तथा संस्थाका अध्यक्ष ओमदेवी मल्लले संस्थाका बचतकर्ता तथा ऋणी एवम् कर्मचारीको लगनशीलताले संस्थाले राम्रो कार्य गरिरहेको र आगामी दिनमा योजनाबद्ध रुपले घरजग्गा लगायतमा लगानी गरिने बताएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केवी उप्रेती, राष्ट्रिय सहकारी सङ्घका सञ्चालक रवीन्द्र केसी, सुरेन्द्र भण्डारी, चन्द्रप्रसाद ढकाल, भानुभक्त ढकाल, अधिवक्ता सुरेन्द्र कोइराला, संस्थाका सचिव लोकविक्रम थापा, विपिन शर्मा आदिले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । कार्यक्रममा संस्थाका कर्मचारी लेखापाल कृष्णप्रसाद अधिकारी र शान्ति श्रेष्ठलाई उत्कृष्ट कर्मचारीका रुपमा तथा उत्कृष्ट निक्षेपकर्ता तथा ऋणीलाई पनि सम्मान गरिएको थियो ।

खाडी जाने कामदारको स्वास्थ्य परीक्षण शूल्क बढ्यो

काठमाडौं, मंसिर २५ । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारको मेडिकल शूल्क बढेको छ । पुस १७ देखि साउदी, ओमन र बहराइन जाने कामदारले तिर्ने रकम ११ सय रुपैयाँले बढेको हो । खाडी क्षेत्रका देशहरुको संगठन गल्फ अपरेसन काउन्सिलको स्वास्थ्य मन्त्रीहरुको परिषदले विदेशबाट लिने कामदारका मेडिकल परीक्षणको रजिष्ट्रेशन शुल्क १० डलर बढाएका हुन् । अहिले मेडिकल शुल्क वापत ५५ सय तिर्दै आएका कामदारले अब ६६ सय तिर्नुपर्नेछ । यि देशमा रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने गाम्का नेपालले जनवरी १ देखि निर्णय कार्यान्वय हुने जानकारी दिएको छ । अहिले यो संस्थाअन्तरगत स्वास्थ्य परीक्षण गरिरहेका १२ वटा मेडिकल सेन्टरले शुल्क बढाएर लिनेछन् ।

झापामा घर बनाउन रु तीन करोड

सुरुङ्गा (झापा), मङ्सिर २३। जनता आवास कार्यक्रम सञ्चालनका लागि झापामा रु तीन करोड बजेट विनियोजन भएको छ । नेपाल सरकारको वार्षिक कार्यक्रमअन्तर्गत यस वर्षदेखि जनता आवास कार्यक्रम सञ्चालनमा आएको हो जसअनुसार झापालाई रु तीन करोड बजेट विनियोजन भएको सहरी विकास तथा भवन निर्माण कार्यालय, इलाम अन्तर्गतको फिल्ड कार्यालय भद्रपुरले जनाएको छ । कार्यालयका इन्जिनियर सुमनकुमार मिश्रका अनुसार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागको निर्णयअनुसार झापामा जनता आवास कार्यक्रम सञ्चालन हुन लागेको हो । यसअन्तर्गत चालू आवमा पाँचसय विपन्न परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत निःशुल्क घर बनाइदिन लागेको बताइएको छ जसका लागि सांसद अमृतलाल राजवंशीको संयोजकत्वमा सांसद दीपक कार्की र सांसद भक्तबहादुर विश्वकर्मा सदस्य मनोनयन भएका छन् । विभागको निर्देशिकाअनुसार दलित, विपन्न, मुस्लिम, लोपोन्मुख र अति सीमान्तकृत समुदायलाई यस कार्यक्रममा सहभागी गराइने उल्लेख छ । रासस