देशभर लोडसेडिङ अन्त्य हुँदै, माथिल्लो तामाकोशीबाट विजुली उत्पादन तयारी !

काठमाडौं, मंसिर २१ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम तीव्र रुपमा अगाडि बढिरहेको छ ।
आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार स्थानीय काब्रे भिरको ३ सय ३७ मिटर लामो सुरुङमार्ग निर्माण सम्पन्न भएको छ । भूकम्पले पहुँचमार्ग भत्काएपछि आयोजनाले जर्मनीबाट सुरुङ बनाउने मेसिन भित्र्याएको थियो ।

कुल ४ सय ५६ मेगावाट क्षमताको आयोजनालाई तोकिएको समयभन्दा शीघ्र सम्पन्न गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको कात्तिक २३ गते स्थलगत अवलोकन गरी निर्देशन दिनुभएपछि आयोजनाको कामले गति लिएको हो ।

प्रधानमन्त्रीले राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमार्फत राष्ट्रिय गौरवका आयोजनाको आफैँ निरीक्षण गर्ने निर्णय गर्नुभएको छ । निर्णय बमोजिम माथिल्लो तामाकोसीको स्थलगत अवलोकन गर्दै तोकिएको समयभन्दा छ महिना पहिले सम्पन्न गरे सरकारले पुरस्कृत गर्ने बताउनुभएको थियो ।
प्रवक्ता न्यौपानेका अनुसार आयोजनाको ८२ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलका लागि सुनकोसी नदीमा डाइभर्सन बनाएर सामान ल्याउने तयारीमा आयोजना रहेको छ । ‘विद्युत्गृहको काम पनि अन्तिम चरणमा पुगेको छ’ प्रवक्ता न्यौपानेले भन्नुभयो, ‘आयोजना आव २०७४/७५ मा सम्पन्न हुन्छ ।’

पूर्णरुपमा स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजना गएको वर्षको गोरखा भूकम्प र भारतीय नाकाबन्दीका कारण ६ महिनाभन्दा बढी समय अवरुद्ध भएको थियो । यस्तै प्रसारण लाइनको कुल १ सय २७ वटा टावरमध्ये ९६ वटा टावरको फाउन्डेसनको काम सम्पन्न भएको छ भने आधाभन्दा बढी टावरमा तार तान्ने काम भइरहेको छ ।

सरकारले आयोजनामा सहिद परिवार र विपन्न नागरिकलाई समेत सेयर उपलब्ध गराउने तयारी गरेको छ । स्थलगत अवलोकनका क्रममा प्रधानमन्त्रीले सरकारको ११ अर्ब रुपैयाँ सेयरमा बदल्ने तयारी गरेको बताउनुभएको थियो ।

अर्थमन्त्रालयले समेत प्रभावकारी रुपमा अगाडि बढेका आयोजनालाई रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ । थौरैमात्रै भौतिक तथा वित्तीय प्रगति भएका राष्ट्रिय गौरवका आयोजनामध्ये हालसम्मकै उल्लिखनीय आयोजनामा माथिल्लो तामाकोसी रहेको राष्ट्रिय योजना आयोगमा प्राप्त भएको प्रतिवेदनमा समेत उल्लेख छ । रासस