नेत्र सुवेदीको “समृद्धिका आयाम” काे नयाँ सँस्करण बजारमा

काठमाडौं । प्रशासक एंव अर्थक्षेत्रका अध्येता नेपाल सरकारका सहसचिव नेत्रप्रसाद सुवेदीले “समृद्धिका आयाम” नामक पुस्तकको नयाँ संस्करण बजारमा ल्याएका छन् । सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको प्रवक्ता समेत रहेका सुवेदीले यसअघि २०७८ मा प्रकाशित पुस्तकलाई नयाँ सन्दर्भहरू समेटी तथ्यांक अध्यावधिक सहित परिमार्जित सहित प्रकाशन गरेका हुन् ।

“समृद्धिका आयाम” पुस्तकमा लोकसेवातर्फको सहसचिव, उपसचिव र शाखा अधिकृतको परीक्षाका लागि आवश्यक विषयगत ज्ञान, सन्दर्भजन्य अनुभवहरू र सिर्जनशील सुझावहरू समावेश छन् ।

समृद्धिका आयाम नेपालको समग्र समृद्धिका लागि आवश्यक आयामिक विषयमा जानकारीलाई गहिराईमा पुग्न जुनसुकै क्षेत्रका पाठकहरूले अध्ययन गर्न, संग्रह गर्न र उपहारका रुपमा प्रयोग गर्न सकिने लेखक सुवेदी बताउँछन् ।

५२० पृष्ठ मा रहेको पुस्तकमा ६९ वटा आलेखहरू समेटिएका छन् । जसमा मुलुकको समृद्धिका लागि बहुपक्षीय विश्लेषण गरिएको छ भने ३० भन्दा बढी व्यक्तित्वहरूले शुभकामना र शुभेच्छा व्यक्त गरेका छन् ।

गजलकार जय गौडेललाई गजल प्रतिभा पुरस्कार

पोखरा । गजल प्रतिभा पुरस्कार-२०७९ युवा गजलकार जय गौडेललाई प्रदान गरिने भएको छ । समाजसेवी लालबहादुर गुरुङद्वारा स्थापित तथा गजल सन्ध्या, पोखराद्वारा सञ्चालित पुरस्कार नगद रु. १५ हजार ५५५, दोसल्ला र सम्मानपत्र रहेको छ । सन्ध्याले मोती जयन्तीका अवसरमा एक वर्ष गजल प्रतिभा पुरस्कार तथा अर्को वर्ष गजल प्रतिभा सम्मान अर्पण गर्दै आएको छ । यस वर्षको पुरस्कार गजलकार गौडेललाई आगामी भदौ ११ गते शनिबार १५७ औँ मोती जयन्तीका अवसरमा पोखराको न्युरोडस्थित रिडर्स कर्नरमा हुने एक विशेष कार्यक्रममा प्रदान गरिने सन्ध्याका उपाध्यक्ष सुरज उपाध्यायले जानकारी दिए । सन्ध्याका पूर्व अध्यक्ष दीपक समीपको संयोजकत्वमा पूर्व अध्यक्षद्वय रुपिन्द्र प्रभावी र कपिल शर्मा सदस्य तथा अध्यक्ष वसन्त विनोद र सचिव त्रुपक पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा गजलकार गौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको सन्ध्याले जनाएको छ । स्याङ्जाको अर्जुनचौपारीमा वि. सं.२०४१ मा जन्मेका गजलकार गौडेलको ‘आशाका बयलीहरू’ नामक गजलसङ्ग्रह २०६४ मा प्रकाशित छ । अनाममण्डलीका पूर्व महासचिव गौडेल रचना वाचन युट्युब च्यानलका संयोजक पनि हुन् । शिक्षणसँगै साहित्यिक क्षेत्रमा क्रियाशील उनी गजलकार, गीतकार र कविका रूपमा चर्चित छन् । उनको तरन्नुम शैलीको गजल प्रस्तुतिले पाठकरस्रोता मन्त्रमुग्ध हुने गरेका छन् । यसअघि सो पुरस्कारबाट रुपक वनबासी, इन्द्रकुमार विकल्प, गोविन्दराज विनोदी, कमल पौडेल ‘अथक’, दीपक समीप, आर। के। अदिप्त गिरी, कपिल शर्मा, जनार्दन दाहाल, जीवनपानी, बाबु त्रिपाठी र निरज भट्टराई पुरस्कृत भइसकेका छन् । पुरस्कार अर्पण कार्यक्रमसँगै नेपाली गजलमा मोतीरामको योगदानको चर्चासमेत गरिने अध्यक्ष वसन्त विनोदले जानकारी दिए ।

भ्रष्टाचारविरुद्ध देशव्यापी जनचेतना जगाउन इटहरीमा कार्टुन प्रदर्शन

इटहरी । भ्रष्टाचारविरुद्ध देशव्यापी जनचेतना जगाउने उद्देश्यका साथ दुईदिने कार्टुन प्रदर्शनी गरिएको छ । सोमबार इटहरीस्थित इटहरी म्याट्रिक्स सांस्कृतिक केन्द्र भवनमा आयोजित प्रदर्शनीको उद्घाटन प्रदेश १ का सांसद लोकप्रसाद संग्रौलाले गरे । उनले राजनीतिक रुपमा भ्रष्टाचार समाजका विविध तहमा जरा गाडेको जिकिर गर्दै जागरण ल्याउने लक्ष्य राखेर गरिएको प्रदर्शनीले सचेतना जगाउने विश्वास व्यक्त गरे । कार्टुनिस्ट क्लबको आयोजना तथा सिएमआरको सहकार्यमा भएको प्रदर्शनीमा सांसद संग्रौलाले आफूले राजनीतिमा लागेर पुस्तेनी सम्पत्ति सिध्याएको तर हालसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको जिकिर गरे । उनले भ्रष्टाचारविरोधी अभियान लिएर कार्टुनिस्ट क्लब इटहरी आएर प्रदर्शनी गरेकोमा विशेष धन्यवादसमेत दिए । उनले भने, ‘कलामार्फत गरिएको जागरण अभियानलाई सफल बनाउन सबै नागरिकले सहयोग गर्नुपर्दछ ।’ उनले भ्रष्टाचार समाजको दुर्गन्ध भएको बताउँदै यसलाई फ्याक्न राजनीतिक दल, नागरिक समाज तथा सबै नागरिक जागरुक हुनुपर्नेमा जोड दिए । कार्टुनिस्ट क्लब अफ नेपालको आयोजनामा ‘निसाना’ भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनीमा तीन दर्जन कार्टुनिस्टका ५० कार्टुन राखिएको छ । कार्यक्रममा इटहरी उपमहानगरपालिकाका उपमेयर संगीता चौधरीले भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उपमहानगरमा भ्रष्टाचार हुन नदिने जिकिर गरिन् । उनले आफूले जिन्दगीभर भ्रष्टाचार नगर्ने जनाउँदै यदि कसैले आफ्नो पालिकाभित्र भ्रष्टाचार गरेका कानुनी कारबाही गर्ने बताइन् । कार्यक्रममा वरिष्ठ कार्टुनिस्ट रविन सायमीले क्लबले भ्रष्टाचारविरुद्ध निसाना साँधिरहेको र यसमा अन्य पेशाकर्मीले समेत आ–आफ्नो क्षेत्रबाट धावा बोल्नुपर्ने विचार व्यक्त गरे । उनले समाज रुपान्तरणका लागि कलाकारसँगै सबै नागरिक सचेत हुनुपर्ने बताए । उनले कार्टुनमार्फत कलाकारले हरेक दिन पत्रपत्रिकामार्फत राजनीतिक दल, सत्ता तथा समाजका विभिन्न तह र तप्कामा रहेका विकृति विसंगतिलाई उजागर गर्दै आएको सुनाए । यस्तै, नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले प्रदर्शनीमार्फत समाजमा जागरण ल्याउने लक्ष्य राखेर अभियान थालिएको धारणा व्यक्त गरे । उनले भने, ‘कार्टुन कलाको माध्यमबाट समाजमा व्याप्त रहेको भ्रष्टाचारलाई बाहिर ल्याउनु प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ । कार्टुनका माध्यमले राजनीति, समाज लगायतका क्षेत्रमा रहेको विकृत पक्षलाई प्रहार गर्दै सचेत बनाउने कार्यमा कलाकारले सधैं कलामार्फत काम गर्दै आएका छन् । यसैको कडिका रुपमा कार्टुन प्रदर्शनी गरिएको हो ।’ खनालले भ्रष्टाचारलाई निर्मुल पार्न राजनीतिक नेृतत्वले दह्रो गरी खुट्टा टेक्नुपर्ने जनाउँदै देश र जनताप्रति उत्तरदायी हुने हो भने मात्रै यसले सार्थकता पाउन सक्ने विचार व्यक्त गरे । सिएमआरका अध्यक्ष तृष्णा आचार्यले समाजमा व्याप्त खराब पक्षलाई बाहिर ल्याइ जागरण ल्याउने लक्ष्य प्रदर्शनीको रहेको बताइन् । उनले लोकतन्त्रलाई बलियो बनाउन कार्टुनमार्फत कलाकारले गरेको प्रयास निकै सराहनीय बन्न गएको विचार व्यक्त गरिन् । उनले भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनीको अभियानले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । सेन्टर फर मिडिया रिसर्च (सिएमआर) की अध्यक्ष आचार्यले प्रदर्शनीमा राखिएको भ्रष्टाचारविरोधी कार्टुनबाट आफू निकै प्रभावित भएको र कतिपय नौलो विषयसमेत सिक्न पाएको बताइन् । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्टुनिस्ट तथा नेपाल पत्रकार महासंघका एसोसिएट प्रदेश समिति सचिव योगेश खपाङ्गीले अहिले नेपालका कतिपय मिडिया पेड मिडिया बनिसकेको र गोयबल्स शैलीमा झुट फैलाउने काम गरिरहेको बताए । उनले त्यस्ता क्रियाकलापले अन्ततः भ्रष्टाचारीलाई नै लाभ पुग्ने जिकिर गरे । उनले भने, ‘यस्तो अवस्थामा हालसम्म कार्टुन विधाले मात्र निर्धक्क सत्योद्घान गर्दै आएको छ ।’ त्यसैगरी इटहरी मेट्रिक्सका अध्यक्ष बिक्रम श्रीले भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनी प्रदेश १ मा पहिलो पटक भएको बताए । उनले यस्ता कार्यक्रमले समाजमा जनचेतना जगाउन र भ्रष्टाचारीलाई खबरदारी गर्न सफल हुने भनाइ राखे । उनले भने, ‘भ्रष्टाचारविरोधी कार्टुन प्रदर्शनीले आममानिसलाई सचेत बनाउने मात्र नभइ नागरिकलाई उत्तरदायी बन्न अभिप्रेरितसमेत गरेको छ ।’ क्लबका महासचिव रवि मिश्रले कार्टुनमार्फत खराब आचरणविरुद्ध जागरण ल्याउने लक्ष्यका साथ देशका सातै प्रदेशमा प्रदर्शनी गर्न लागिएको जानकारी दिए । उनले भने, ‘प्रदर्शनी दुई उद्देश्य थियो । जसमा पाठकसँग प्रत्यक्ष संवाद गर्नु र अर्को भ्रष्टाचारविरुद्ध जागरण ल्याउनु रहेको छ ।’ महासचिव मिश्रले प्रदर्शनीमा राजनीतिक, सांस्कृतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पर्यावरण, मानवअधिकार, न्यायक्षेत्र लगायतमा हुने भ्रष्टाचारका विविध पक्षमा केन्द्रित रहेका कार्टुन प्रर्दशनिको लागि राखिएको जानकारी दिए । उनले कार्टुन प्रदर्शनीको औचित्यमाथि प्रकाश पार्दै समाजमा विद्यमान विकृतिप्रति कार्टुनिस्टले व्यंग्यमार्फत सचेतना जगाउदै आएको बताए । सो अवसरमा क्लबले नेपालको पूर्वी क्षेत्रमा रहेर कार्टुन विधामा काम गरिरहेका कलाकार पवन राजवंशी, बिक्रमश्री र प्रनोद दत्तलाई सम्मान समेत गरेको थियो । क्लबले यसअघि बागमती प्रदेशको काठमाडांै, गण्डकी प्रदेशको पोखरा, मधेश प्रदेशको जनकपुरमा प्रदर्शनी गरिसकेको मिश्रले जानकारी दिए । प्रदर्शनीमा दुर्गा बराल ‘वात्स्सायन’, मोहनश्याम महर्जन खोकना, गेहेन्द्रमान अमात्य, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, अशोकमान सिंह, रविन सायमी, अविन श्रेष्ठ, राजेश केसी, सुषमा राजभण्डारी, वासु क्षितिज, देवेन्द्र थुम्केली, रवि मिश्र, भानु भट्टराई, रविन्द्र मानन्धर, योगेश खपाङ्गी, केशव राज खनाल, राजेश मानन्धर, कृष्णगोपाल श्रेष्ठ, सुजिता महर्जन, रामकृष्ण थापासहितका कार्टुनिस्टका कार्टुन राखिएको छ ।  

कृषिमा समाजवादी रुपान्तरणका चुनौती र अबको बाटो

मिनेन्द्र रेग्मी समाजवाद शब्द हाम्रो लागि नौलो होइन । अहिले नेपालमा सबै भन्दा धेरै सुनिने र बिक्री हुने शब्द नै ‘समाजवाद’ हुन पुगेको छ । सकारात्मक होस् वा नकारात्मक कोणबाट यतिखेर समाजवाद शब्द चर्चित र लोकप्रिय बन्न पुगेको छ । नेपालको संविधानको प्रस्तावनामा नै समाजवादप्रति प्रतिबद्धता जनाइएको छ । संविधानले धारा ४ मा नेपाललाई समाजवाद उन्मुख राज्यको रूपमा परिभाषित नै गरेको छ जुन कुरा कृषिको समाजवादी रुपान्तरण बिना असम्भव प्राय छ । नेपाल कृषि प्रधान देश हो । तथ्यांक विभागका अनुसार ६५ प्रतिशत भन्दा धेरै मानिसहरु कृषिमा निर्भर छन् । कृषि नेपाली समाजको पुरानो र भरर्पर्दो पेसा पनि हो । तर आज समग्रमा हेर्ने हो भने नेपालको कृषि उत्पादकत्व दक्षिण एसिया कै न्यून छ । कृषिमा परनिर्भरता बढ्दै जानु चिन्ताको विषय बनेको छ । आज संसारका अधिकांश मुलुकहरुले खाद्यान्न आपूर्ति र कच्चापदार्थ नवीकरणको आधार कृषिलाई मान्ने गर्दछन । जस्तो कच्चापदार्थको रूपमा सुर्ती, धागोदेखि खर अनि जडिबुटी नगदे बाली र सम्पूर्ण उद्योगका कच्चापदार्थ कृषिबाटै प्राप्त हुन्छ । संसारका विकासित मुलुहरुलाई हेर्ने हो भने पनि औद्योगिक क्रान्तिको आधार कृषि क्रान्तिबाट मात्रै सम्भव भएको मानिन्छ । आज हाम्रो देशको यो हविगत हुनुको प्रमुख कारण हो देशको कुल गाह्रस्थ उत्पादन प्रत्यक्ष गाँसिएको कृषी क्षेत्र सरकारको प्राथमिकतामा नपर्नु । यदि सरकारको पहिलो प्राथमिकता कृषि उत्पादनलाई गर्ने हो भने समग्र देश विकासको मेरुदण्डको रुपमा कृषि देखिने थियो । तर दुर्भाग्यवश संसारकै ठुलो सगरमाथा भएको देश विविधतामा एकता भएको अनि सबै प्रकारको भु–भाग र स्वर्ग मुलुक पाउदां पनि हामी नेपालीहरु गरिब मुलुकको रुपमा संसारमा चिनिनु परेको छ । आज राज्य व्यवस्था बहुसंख्या जनताको आश्रित हुने क्षेत्रमा लगानी गर्नुको सट्टा र राष्ट्रिय उत्पादनलाई जोड दिनु भन्दा आयातलाई जोड दिने प्रवृति नै मौलाउदा मुलुकको अर्थतन्त्र सकंटमा धकेलिएको छ । यद्यपी माओवादी केन्द्रका नेता अर्थमन्त्री जनार्दन शर्माले कृषिलाई केन्द्रीत गरेर ल्याएको बजेट पूर्णरुपमा कार्यान्वय गर्न सके केही परिर्वतन हुनसक्ने देखिन्छ । त्यसैले आत्मनिर्भरता तर्फ देशलाई लैजान कृषिलाई प्राथमिकता दिने मन्त्री ज्यूको यो प्रयासलाई धन्यवाद दिनैपर्छ । तरपनि सन्तुष्ट हुने आधारहरु भने अझैपनि छैनन् । जमिन बाझोः मान्छे बेरोजगार ? कृषकलाई हेयको दृष्टिले हेरिने गर्दछ ? उखु किसानले श्रमको मुल्य नपाउने? तरकारी सडकमै फाल्नुपर्ने अवस्था सृजना हुने? किसानको सम्मान र मर्यादा नहुने ? नेपाली तरकारीले भन्दा भारतीय तरकारीले बजार भाउ पाउने ?खेति गर्ने समयमा बिउबिजन नपाउने? किसानहरुले समयमा मल नपाउने ? उत्पादित कृषि उपजल बजार नपाउने ? मुल्य नपाउने ? अनि देश चाहिँ कसरी कृषि प्रधान भन्न मिल्छ ? निरवाहमुखी कृषि, आयातमुखी अर्थतन्त्र ? अनि संविधान देखि नेतृत्वको भाषणसम्म जतासुकै कुरा चाहिं समाजवादका ? यस्तो व्यवस्थाले समाजवादी कृषिको यात्रा तय हुन्छ त ? कृषि क्षेत्रका लागि तजुर्मा गरिएका कार्यक्रम लक्ष्यित बर्गसम्म पुग्न नसक्नु। वास्तविक किसानले सहुलियत नपाउनु र टाठाबाठाले मात्र अवसर पाउने प्रणालीले समाजवादी कृषीको आधार तय हुन्छ त ? तसर्थ संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेता पनि व्यवहारत राज्य दलाल पँुजिपति वर्गकै उत्थान कर्ता जस्तो अनुभुत भएको छ । अब यहि निरबाट ध्यान दिन जरुरी छ, हामीले कृषि क्षेत्रमा कस्तो समाजवादी मोडेल अपनाउने र नेपालको माटो सुहाउँदो नीति तथा कार्यक्रम र योजना निर्माण गर्ने कुरामा पनि स्पष्ट हुन जरुरी छ । १) हाम्रो धरातलीय आधार, ऐतिहासिक भूगोल, कृषकलाई मल बीउ किटनासक उपकरण सिँचाई प्राविधि र प्राबिधिक उपलब्ध गराउने । मुख्यत हाम्रो जोड भनेको प्रविधि दिने प्रबिधिक नदिने, कतै प्राबिधिक दिने प्रविधि नदिनाले हामीले उल्लेखय प्रगति गर्ने सकेका छैनांै। कुनै पनि क्षेत्रको दिगो र अपेक्षित विकासको लागि प्रविधि र प्राबिधिकसँगै हुनुपर्छ । २) कृषीमा व्यवसायीकरण र यानत्रिकरण गर्ने कार्यक्रमलाई अझै ससक्त ढंगले आगाडी बढाउनु पर्छ । ३) सरकारले हरेक बर्ष कृषिमा लगानी बढाउदै सिंचाई, कृषि सडक, कृषि बजारको उचित व्यवस्था गर्नुपर्छ र कृषीमा सरकारी– निजि क्षेत्रको साझेदारी र सहकार्यको माध्यमबाट लगानी बढाउन अनुकुल वातावरण बनाउनुपर्छ । ४)गाँउका गरिब, सुकुम्बासी एंव ग्रामीण महिलालाई विभिन्न मध्यमबाट कृषिजन्य उत्पादनमा सलंग्न गराउन विशेष कार्यक्रम ल्याउनुपर्दछ । यसरी कृषिमा आमूल परिवर्तन गरि कृषि उत्पादन र उत्पादकत्व बढाउने रोजगारी बढाउने र गरिबी न्यूनीकरण गर्ने कार्यक्रम अगाडी बढाउनुपर्छ । ५)कृषि उद्योगको विकास र कृषिको व्यावसायीकरण नभएको कृषि क्षेत्रको नाफा सुनिश्चित छैन । त्यसैले किसानलाई आवश्यक पर्ने कृषि कर्जा घरदैलोमै सरल र सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरिनुपर्छ । ६) सरकारले किसानले उत्पादन गरेको कृषि उपज बजार सम्म पुग्ने वातावरण बनाईदिनु पर्छ विशेषत स्थानीय तहबाट कृषि उत्पादन खरिद गर्ने व्यवस्था मिलाइनुपर्छ । सरकारले यस आर्थिक बर्ष २०७९÷८०को बजेटमा कृषि क्षेत्रका लागि १ खर्ब ४५ अर्ब रुपैया विनियोजन गरेको छ जुन अघिल्लो बर्षको भन्दा ४३ अर्ब धेरै छ । येसै गरि यस आर्थिक बर्षदेखि योगदानमा आधारित किसान पेन्सन योजना सुरु गर्न किसान हितकोष स्थापना गर्ने कुरा उल्लेख छ । किसान परिचयपत्रका आधारमा किसानहरूलाई सार्वजनिक सेवामा सहुलियत तथा छुट दिन व्यवस्था मिलाइएको कुरा उल्लेख छ। किसानलाई आवस्यक पर्ने कृषि कर्जा घरदैलोमै सरल र सहज रुपमा उपलब्ध गराउने कुरा बजेटमा उल्लेख छ । त्यसैगरी कृषिको रुपान्तरण अभियानमा उत्कृष्टता हासिल गर्ने प्रत्येक प्रदेशका तिनवटा स्थानीय तहलाई ५ करोड रुपैयाका दरले प्रोत्साहन अनुदान उपलब्ध गराउने कुरा पनि उल्लेख गरिएको छ । यस बर्षको समग्र कृषि क्षेत्रको बजेट हेर्दा समाजवाद उन्मुख नै देखिए पनि कार्यान्वयन कै चरणमा छ । त्यसैले बजेट भाषणमा उल्लेख गरिएका कुराहरुको उचित कार्यान्वयन हुन सकेमा कृषि क्षेत्रमा मात्रात्मक होइन, गुणात्मक परिवर्तनको प्रचुर सम्भावना रहेको छ । (लेखक मिनेन्द्र रेग्मी कृषि अध्यनरत विद्यार्थी हुन् । )

टुहुरेको सम्झना : धरानमा

काठमाडौं । जनगायक जेवी टुहुरेको प्रथम वार्षिकीको अवसर पारेर आगामी भदौ १० गते धरानमा ‘जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम २०७९’ हुने भएको छ । धरानको खड्की समाजमा शनिबार एक कार्यक्रमको आयोजना गरी जेवी टुहुरे फाउण्डेसनले स्थानीय बुद्धिजीवी, स्रष्टा, कलाकार, विभिन्न राजनीतिक दलका नेता, समाजसेवी लगायतको उपस्थितिमा कार्यक्रमको जानकारी गराइएको हो । टुहुरेको जन्म नगरी धरानमा हुने कार्यक्रमको लागि मूल आयोजक समितिसँगै १६ वटा विभिन्न उपसमिति गठन गरिएको छ । फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेका अनुसार कार्यक्रममा गायक जीवन शर्मा, शम्भु राई, नन्दकृष्ण जोशी, भिषण मुकारुङ, दीपक लिम्बू, बाबु बोगटी, प्रदेश लिम्बू, सबिन लिम्बू, रुपक डोटेल लगायतका कलाकारको सांगीतिक प्रस्तुति रहनेछ । उनीहरुलाई वाद्यवादनमा मनोहर सुनाम (सेक्सोफोन), बलराम समाल (बाँसुरी), भरत नेपाली (सारंगी), भरत बुढाथोकी (तबला), राम सुस्लिङ्ग र पोषण घर्ती मगर (मादल), नारायण जर्घा (हार्मोनियम), भागिरथ सुस्लिङ्ग (ढोलक), देव चाम्लिङ (बेस गिटार), दिवस श्रेष्ठ (रिदम गिटार), दुर्गा डंगोल (अक्टोप्याड), राहुल भुजेल (किबोर्ड) लगायतले साथ दिने जनाइएको छ । ‘म यो कार्यक्रमलाई लिएर एकदम उत्साहित पनि छु । अलि भावुक पनि भा’छु, बुवालाई सम्झिरहेको छु,’ निर्भिकाले भनिन्, ‘उहाँ बितेको कति चाँडो एक वर्ष पुग्यो । यो एक वर्षमा मैले उहाँलाई नसम्झेको कुनै दिन छैन । उहाँको आशिर्वाद सँधै होस् । यस कार्यक्रमलाई साथ र सहयोग दिने सम्पूर्णमा आभार व्यक्त गर्दछु ।’ यसैगरी, फाउण्डेसनले टुहुरेको स्मृति ग्रन्थ, वृत्तचित्र तथा आत्मकथा पनि प्रकाशनको तयारी गरिरहेको छ । वि.सं २००१ साल कार्तिक १५ गते धरानको पुरानो बजारमा जन्मिएका टुहुरेको २०७८ साल भदौ १० गते निधन भएको थियो ।

आज साउने संक्रान्ति ‘लुतो फाल्ने’ दिन

काठमाडौं । हरेक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा रहि आएको छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविदहरु बताउँछन् । एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँने ।यो पर्वमा विभिन्न धार्मिक स्थलमा र गंगा स्नान गर्ने प्रचल समेत रहिआएको छ । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधीका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्दछन् । परम्परागत रूपमा एक हिसाबले यो साउने सङ्क्रान्तिको दिनबाट वर्षायामको अन्त भई हिउँदको प्रारम्भ हुन्छ भन्ने मान्यता रहिआएको छ । विशेषगरी हिन्दू सम्प्रदायमा साउने सङ्क्रान्तिको दिन नासपाती, कागती, निबुवा, अम्बा, अनार, फलफूल आदि चर्ढाई काण्डरक राक्षसको पूजा गरेमा दाद, लुतो, खटिराजस्ता विभिन्न रोगहरूबाट मुक्त भइन्छ भन्ने विश्वास छ । यही साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन् । महिलाहरूले आफ्ना पतिको सुस्वास्थ्य र दीर्घायुको लागि शिवजीको ब्रत बस्ने र हातमा मेहन्दी लगाई साउनभरि हरियो चुरा लगाए पतिको सुरक्षा हुने विश्वास पनि गरिन्छ । के छ त पौराणिक महत्व ? वर्तमान समयमा प्रचलनमा रहेको मेषादि निरयण १२ राशिचक्र मध्ये चौथो साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ ।यस अन्तर्गत कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलहरू चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो खटिराजस्ता चर्मरोगको प्रकोपबाट बच्न सकिन्छ भन्ने विश्वासका साथ सांझमा कुकुर डाईनो, काग भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनि आदि औषधीजन्य वनस्पतिहरू जलाएर घर-घरका आंगनबाट चारै दिशामा फ्यांकिन्छ, यसैलाई नै तुतो फ्यांकेको भन्ने चलन छ। लुतो फ्यांक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकि कुट्ने तथा केहिवेरसम्म घरको ढोका बन्द गर्ने प्रचलन समेत रहिआएको छ ।

जेठ १ गतेदेखि विद्यालय पनि दुई दिन बिदा हुने

काठमाडौं । शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा बिदा दिने औपचारिक निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार अब शनिवारबाहेक आइतबार पनि विद्यालय बन्द रहने छ । हाल रहेको विद्यालय समयलाई यथावत राखी शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको छ । त्यसैगरी हिउँदे बिदा, वर्षे विदा, स्थानीय बिदा वा पर्व बिदाहरुलाई कटौती गरी अब वर्षमा अधिकतम ३० दिन मात्रै बिदा दिन पाइने भएको छ । पाठ्यभार पुराउनका लागि बिदा अवधि छोट्याइएको प्रवक्ता शर्माले रातोपाटीलाई बताए । यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा ५ दिन गरी कुल ५० दिन बिदा पाउने व्यवस्था थियो । अब यी सबै विदालार्य कटौती गरी वार्षिक ३० दिन मात्रै विदा दिने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको छ ।​

व्यवस्था र अवस्थाको कैरन

  भवानी बराल आउने स्थानीय चुनावलाई लक्षित गरेर नेकपा (माओवादी केन्द्र) ले ‘व्यवस्था बदल्यौं, अवस्था बदल्नु छ’ नारा तय गरेको छ । व्यवस्था र अवस्था यी दुई शब्दको सप्रसङ्ग व्याख्या त आइसकेको छैन । तर, बदलिएको व्यवस्थाले अवस्था किन ल्याएन भन्ने प्रश्नको हल नभएको बुझाउँछ । कतै व्यवस्था नै पूर्ण आकार प्रकारको नभएर अवस्था सुध्रेन कि भन्ने प्रश्न पनि काँचैकचिलै छ । यद्यपि परम्परागत व्यवस्था बदल्न सफल माओवादीले पहिलो पटक अवस्था बदल्ने अबको कार्यभार भएको प्रण गरेको छ । आजभन्दा ६ दशक अघिदेखि नेपाली समाजले नयाँ व्यवस्था खोज्दै आएको हो । अवस्था नसुध्रिएकोले नै नयाँ व्यवस्था खोजेको थियो । यसबीच विभिन्नखाले व्यवस्था पनि आए, गए । निरंकुश पञ्चायती व्यवस्था, राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्था र पछिल्लो पटक बदलिएको गणतन्त्रात्मक संघीय संरचनात्मक लोकतान्त्रिक व्यवस्था । पछिल्लो व्यवस्था माओवादी विद्रोहको जगमा भएको हो । माओवादी विद्रोहले व्यवस्था परिवर्तन गर्न प्रमुख नेतृत्वदायी भूमिका खेलेको ठीक साँचो हो । माओवादी विद्रोहको अभावमा परिवर्तन सम्भव थिएन । तर, व्यवस्था त बदलियो अवस्था चैं के छ ? यो प्रश्न पनि अनुत्तरित हुनुहुन्न । अवस्था राम्रो वा वदलिएपछि मात्र बदलिएको व्यवस्थाको औचित्य पूरा हुन्छ । व्यवस्थाको प्रबन्ध संसारलाई परिभाषित गर्ने दुई वटा विश्व दृष्टिकोण छन् । ती दुई विश्व दृष्टिकोण पुँजीवादी र साम्यवादी विचार दृष्टिकोणमा आधारित छन् । यिनै दुई विश्व दृष्टिकोणको भीषण संघर्षको बीचबाट व्यवस्थाहरु परिलक्षित हुन्छन् । नेपालको नयाँ व्यवस्था भनेको हिजोको भन्दा विल्कुल नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हो । व्यवस्था जस्तो छ, अवस्था पनि त्यस्तै प्रकारको हुनु पर्छ । राम्रो हालतमा पु¥याउने, सरल सहज बाटो इन्तजाम गर्ने व्यवस्थाको परिभाषा हो । सिद्धान्त वा ऐन कानूनद्वारा स्थिर गरिएको नियम वा विधानले व्यवस्थालाई व्यवस्थित गर्नु पर्छ । संविधानले समाजवाद उन्मुख अर्थ राजनीतिक व्यवस्थाको परिकल्पना गरेको छ । व्यवस्था समाजवाद उन्मुख हुँदै जाँदा स्वतः अवस्थामा प्रभाव पर्न जान्छ । कुनै कामको निम्ति चल्दोमिल्दो उपाय या बाटो व्यवस्थाले देखाउँछ । त्यही बाटो हिँडेपछि मात्र अवस्था बदलिने हो । अवस्थाको अन्तरंग  व्यवस्थाको कसी अवस्था हो । व्यवस्था ठीकठाक छ छैन अवस्थाले थाहा पाउने हो । कुनै घटनासँग सम्बन्धित भएर अवस्थाको जाँच परख हुन्छ । अवस्था भनेकै कुनै कामको स्थिति हो । अवस्था भनेको साधारण भाषामा हालत, दशा पनि हो । नयाँ व्यवस्थाको स्थापनापछि आमसमुदायको हालत, दशा कस्तो छ ? बेला, समय, काल, मौका र अवसर जस्ता शब्दावलीको सप्रसंग व्याख्या नै अवस्था हो । मानवमात्र हैन प्राणीको दैनन्दिन अवस्था जागृत छ वा स्वप्न छ ? यी कुराहरुले अवस्थाको आँखो देखा हाल बताउँछ । आधुनिक युगमा प्रवेश  आधुनिक नेपालको इतिहास सुरु भएको ६ दशक नाघिसकेको छ । सन् १९५९ मा पहिलो पटक व्यवस्थाको चयन गर्न अधिकार पाए यता नेपालमा पटक पटक व्यवस्था परिवर्तन हुँदै आयो । तर, अर्थ–राजनीतिक हिसाबले समीक्षा गर्ने हो भने व्यवस्था धेरै चोटी बदलियो तर अवस्थामा तात्विक फरक आएन । पञ्चायतकालमा पनि वालिक मताधिकारको आधारमा भोट दिने व्यवस्था थियो । तर, त्यसबखतको मताधिकार, व्यवस्था बदल्ने हदको थिएन । यसर्थ विभिन्न जनक्रान्ति, जनविद्रोहले व्यवस्था नै बदल्यो । अहिलेको परिवर्तित व्यवस्था त्यसैको देन हो । तर, अवस्था त बदलिएन । अवस्था झनै विकराल बन्दैछ । मानव समुदायको नैसर्गिक अधिकार आधारभूत आवश्यकतामा पहुँच छैन । पहुँच खुस्किदै गएको छ । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षाको न्युनतम सुनिश्चितता छैन । आमनागरिक आधारभूत अधिकारको पहुँचबाट बाहिर हुँदै गएका छन् । यही हो अहिलेको अवस्थाको वास्तविक चित्र । जनजीविका स्वदेशमा सम्भव भैरहेको छैन । लाखौं युवा दक्ष जनशक्ति विदेशिन बाध्य छन् । हजारौं असामयिक मृत्युको मुखमा पुग्छन् । फर्किएकाहरु पनि निष्क्रिय जीवन लिएर आउँछन् । स्वदेशमा राज्यले प्रदान गर्नु पर्ने आधारभूत विषयसँग राज्यको सम्बन्ध विच्छेद हुँदै गएको छ । शिक्षा, स्वास्थ्य निजी प्रतिष्ठानका व्यावसायिक विषय हुँदै गएका छन् । यस्तो बेलामा व्यवस्थाले हस्तक्षेप नगरे अवस्था ठीक हुने कुरै भएन । सम्पूर्ण अर्थतन्त्र विदेशी दलाल पुँजीपतिको कब्जामा गइरहेको छ । जनतालाई सूचित गर्ने आमसञ्चार माध्यम तीनै दलाल पुँजीपतिको कर्पोरेट हाउसको मातहतमा छ । उत्पादन, उत्पादन सम्बन्ध र उत्पादकत्व ह्रास आएको छ । यस्तो अर्थतन्त्रका अगाडि हाम्रो अवस्था सुध्रने त टाढाकै विषय हो । नाराको सार्थकता  फेरि पनि व्यवस्था त बदल्यौं अवस्था बदल्नु छ नाराको अभीष्ट महत्वपूर्ण छ । व्यवस्थाको मार्गचित्र अनुसार अवस्थामा सुधार ल्याउन वा बदल्न नसके यो व्यवस्थाको औचित्य समाप्त हुन्छ । व्यवस्था र अवस्था सिक्काका दुई पाटा हुन् । एउटाको अभावमा अर्को एक्लै पूर्ण हुँदैन । यसपछि हुने भनेको पश्चगमन हो । जतिखेर जनव्यवस्था पनि खत्तम हुन्छ । अवस्था झनै कहालीलाग्दो हुनेछ । यतिखेर प्रतिगामीहरु यही अवस्थामा खेलेर प्रतिगामी व्यवस्थाको पुनर्उत्थानमा लागेका छन् । यसर्थ आधुनिक युगसँगै प्रवेश गरेको व्यवस्थालाई संस्थागत गर्न अवस्था बदल्न जरुरी छ । समाजवादउन्मुख अर्थ राजनीतिले मात्र अवस्थालाई सुधार गर्छ । संविधानले स्थानीय सरकारलाई अवस्था सुधार गर्ने प्राथमिक अधिकार दिएको छ । यिनै प्राथमिक अधिकारको उपयोग गर्दामात्र पनि नयाँ अवस्था ल्याउने वा बदल्ने मार्गचित्र आउँछ । राजनीतिक आधुनिकीकरण  अवस्था बदल्न सर्वप्रथम राजनीतिक विज्ञानको सिद्धान्तअनुसार राजनीतिलाई आधुनिकीकरण गर्न जरुरी छ । आधुनिक समाजको स्थापना गर्न लक्ष लिनु र स्रोतको विवेकपूर्ण प्रयोग गर्ने प्रक्रिया नै राजनीतिक आधुनिकीकरणको परिभाषा हो । विवेकपूर्ण र वैज्ञानिक प्रतिस्थापन नै आधुनिकीकरणको गुरु मन्त्र हो । यसले राजनीतिक संस्कार र राजनीतिक सम्बन्धहरुमा परिवर्तन ल्याउँछ । राजनीतिक आधुनिकीकरणले पाँचवटा परिणाम ल्याउँछ । पहिलो, मनोगत स्तरका जनताको आदर्श, मूल्य, धारणा तथा पूर्वस्थितिका परिवर्तन समावेश हुन्छ । दोस्रो, बौद्धिकस्तरमा शिक्षा तथा आमसञ्चार वृद्धि भई वातावरणको ज्ञानमा बढोत्तरी हुन्छ । तेस्रो, जनताको जीवनस्तर उठाउन सामाजिक परिचालनमा प्रगति हुन्छ । चौथो, सामाजिक स्तरमा, व्यक्तिको परिवार तथा प्राथमिक समूहहरुप्रतिको केन्द्रित शक्तिको धारणामा परिवर्तन आई अन्य संगठनहरुमा स्वतः संगठित हुने प्रवृत्ति बढ्छ । पाँचौ, महत्वपूर्ण कुरा आर्थिक स्तर, कृषि, व्यापारमा वृद्धि भई औद्योगिकीकरणको विकास हुन्छ । आर्थिक गतिविधि बढ्छ । औद्योगिकीकरण र विकासमा क्रान्तिकारी परिवर्तन आउँछ । राजनीतिक व्यवस्थामा स्वभाव र वस्तुगत परिवर्तन र जनताको जीवनशैलीमा सामाजिक र मनोगत तहमा परिवर्तन आउँछ । राजनीतिको आधुनिकीकरणसँगै अवस्था बदल्ने बाटो प्रसस्त हुन्छ । यतिखेर माओवादी केन्द्रले अवस्था बदल्ने प्रतिबद्धता गरेको छ । व्यवस्था उसको प्रतिवद्धतामै बदलिएको हो । अब अवस्था पनि बदल्ने प्रण गरेकोले जनादेशको लागि मतादेश दिनु पर्छ । नत्र प्रश्नसम्म उठाउने नैतिक साहस र अधिकार हामीमा हुन्न ।

सत्ता गठबन्धनका उम्मेदवार राजनको जित सुनिश्चित

बारा । संविधान सभाबाट संविधान निर्माणपछि सम्पन्न भएको पहिलो पटकको स्थानीय तह चुनावमा जीतपुरसिमरा उपमहानगर पालिकाको मेयर पदमा उम्मेदवार भइरहँदा माओवादी केन्द्रका नेता राजन पौडेलसँग कुनै चुनावी अनुभव थिएन । संगठन वडा र टोलसम्म कमिटीगत रुपमा सबल भइसकेको थिएन । प्रतिस्पर्धी एमाले र कांग्रेसका उम्मेदवारहरु उनको तुलनामा नगरवासीका बीचमा चिनिएका र सुनिएका नाम थिए । तर पनि उनले नगरभित्र पार्टी संगठन र स्थानीय जनतासँगको गहिरो हिमचिम सम्बन्धका कारण धेरैले नपत्याउँदा पनि उनी उपमहानगरभित्र बलियो उम्मेदवार बने । गत स्थानीय तह चुनावमा माओवादीले देशभरका ११ उपमहानगरपालिकामा कँही कतै जित निकाल्न सकेनन् । तर जीतपुर सिमरामा मुख्य पद मेयर उपमेयर अन्य उपमहानगरको तुलनामा थोरै मतान्तरले पराजित भए पनि उपमहानगरभित्रको १० वटा वडामा माओवादीले जित निकाल्यो । २४ वटा वडा रहेको उपमहानगरमा सबैभन्दा बढी वडा जितने पार्टी माओवादी नै बन्यो, त्यसपछि बल्ल मेयर जितेको एमालेको ७ वटा वडामा अध्यक्ष जितेको थियो । कांग्रेस ५ र तत्कालीन राजपा (हाल लोसपा) २ वटा वडामा जितेको थियो । तर जसले मेयर जिते (एमालेका डा. कृष्णप्रसाद पौडेल) उनले उपमहानगरलाई कुशलतापूर्वक हाँक्न सकेनन् । पिएचडी अध्ययन गरेका मेयर नगरवासीले पाउँदा पनि उनको पढाइ उपमहानगरको विकास र समृद्धिमा कुनै काममा आएन । बरु उल्टै कार्यक्षमता मूल्यांकनमा अन्य स्थानीय तहको तुलनामा निक्कै कमजोर रेकर्ड जीतपुरसिमरा उपमहानगरले राख्ने काम ग¥यो । वित्त आयोगको सुशासन समितिले देशभरका ७५३ वटा स्थानीय तहमा गरेको कार्य क्षमता, सुशासनलगायतलाई आधार बनाएर प्रकाशित गरेको प्रतिवेदनमा जीतपुरसिमराको रेकर्ड कमजोर छ । अर्थात्, सबै स्थानीय तहमध्ये सबैभन्दा कमजोरबाट हेर्दा दोस्रोमा जीतपुर सिमराको रेकर्ड छ । यो ५ वर्षको बीचमा उपमहानगरको मतदाताको मनोविज्ञान, त्यहाँको समाजको चरित्रमा निक्कै फरबदल आएको छ । यही बीचमा आएको कोभिड संकट र जनतामा त्यसले निम्त्याएको कहरमा निर्वाचित मेयर बेपत्तै जस्तो भए । औद्योगिक क्षेत्रले ब्यहोरेको आर्थिक संकटमा मेयर बेखबर भएरै बसिदिए । अर्का त्यसबेलाका कांग्रेसका उम्मेदवार पनि आफ्नै पार्टीका कार्यक्रममा बाहेक अन्य बेला उपमहानगरभित्र कुनै कार्यक्रममा देखिदै देखिएनन् । तर माओवादी केन्द्रका नेता पौडेल भने जनतासँगै रहे । जनतासँगै निरन्तर चुनाव हारे पनि जितेका मेयरभन्दा बढी सक्रिय भएर विकसित जीतपुरसिमराको लागि निरन्तर खटिइरहे । यसले उनको लोकप्रियता उपमहानगरपालिकामा झन् बढाएको छ । सत्ता गठबन्धन दलले महानगर र उपमहानगरको सिट बाँडफाँड गर्दा माओवादी केन्द्रको भागमा १ महानगर र २ उपमहानगरको नेतृत्वमा सहमति बनेको छ । जसमध्येको एक हो जीतपुर सिमरा । जहाँ गठबन्धनको तर्फबाट माओवादी केन्द्रले मेयर पाएको छ । माओवादीका तर्फबाट त्यहाँ उम्मेदवारका आकांक्षी थिए, गत निर्वाचनमा चुनाव लडेका उनै राजन पौडेल, बारा जिल्ला नेता छत्रबहादुर श्रेष्ठ (अनिल) र पूर्व संविधान सभा सदस्य जयराम दाहाल । यी तीनमध्ये माओवादीको उपमहानगर कमिटीले पौडेलको नाम मात्रै सर्वसम्मतरुपमा केन्द्रलाई सिफारिस गरेको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल (प्रशान्त)ले जीतपुरसिमरामा पौडेलको नाम मात्रै सर्वसम्मत सिफारिस भएर केन्द्रमा आएको बताए । यसको निर्णय केन्द्रीय कार्यालयको विस्तारित बैठकले गर्ने उनको भनाई छ । गत चुनाव विश्लेषण  गत स्थानीय तह चुनावमा जीतपुरसिमरा उपमहानगरपालिकामा कांग्रेस, एमाले र माओवादी एक्लाएक्लै लडेका थिए । त्यसबेला यी दलहरुले पाएको चुनावी मतपरिणामको मतान्तर धेरै ठूलो छैन । मेयरमा एमालेले १४ हजार ८६५ मत ल्याएर चुनाव जितिरहँदा कांग्रेसका उम्मेदवारले ११ हजार ९९५ र माओवादीका उम्मेदवार पौडेलले ११ हजार २५१ मत ल्याएका थिए । एमालेबाट मेयरमा निर्वाचित डा. कृष्णप्रसाद पौडेल त्यसबेला कांग्रेस र माओवादीका अन्य प्रतिस्पर्धी दुई उम्मेद्वारभन्दा परिचित अनुहार थिए । उनी पीएचडीसम्म अध्ययन गरेका, राजनीतिमा लामो समय व्यतीत गरेका, तत्कालीन जीतपुर गा.वि.स.का अध्यक्ष भइसकेका र चुनावी अनुभव बटुलिसकेका नेता थिए । कांग्रेसका उम्मेदवार कृष्णवर्त सिंह पनि परिचित थिए । तर, माओवादीका उम्मेदवार राजन पौडेल उनीहरूको तुलनामा नयाँ थिए । उनीसँग चुनावी अनुभव थिएन । तर पनि पौडेलले जितेका एमाले उम्मेदवार र कांग्रेसका उम्मेदवारसँग प्रतिस्पर्धी भोट ल्याए । गत चुनावी परिणाममा एमालेका पौडेल पहिलो, कांग्रेसका सिंह दोस्रो र माओवादीका पौडेल तेस्रो भए । तर, वडाको विश्लेषण गर्ने हो भने एमाले पहिलो, माओवादी केन्द्र दोस्रो र कांग्रेस तेस्रो स्थानमा थियो । यो उपमहानगरका २४ वडामध्ये सबैभन्दा बढी १० वटा वडामा माओवादी केन्द्र, ७ वटामा एमाले, ५ वडामा कांग्रेस र २ वडामा राजपा (हालको लोसपा) ले जितेको थियो । गत चुनावमा मेयर, उपमेयर र वडा अध्यक्षका विजयी र तीन मुख्य दल कांग्रेस, एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मत विवरण चार्टमा तर यसपटकको चुनावमा गठबन्धन दलको एउटा तालमेल छ। एमाले पनि अर्काे तालमेलको कसरतमा छ । तर उसको तालमेलले सार्थकता पाउन सकिरहेको छैन । गत चुनावमा एक्लै भिडेका कांग्रेस र माओवादी केन्द्र मात्रै मिले पनि त्यहाँ एमाले भन्दा ८ हजार बढी मत उनीहरुसँग छ । तर त्यसमा थप जसपा, एकीकृत समाजवादी पनि थपिदा गठबन्धनको जित जीतपुरसिमरामा करिब निश्चितजस्तै देखिन पुगेको छ । चुनावमा कतिपय सन्र्दभमा जातीयताले पनि जित हारको निधो लगाउने हुन्छ । यस आधारमा जीतपुर सिमरामा अहिले रहेको जनसंख्याका आधारमा जातिगत अवस्था नियालौँः   जीतपुर सिमरामा कुन दल बलियो ? एमाले गठबन्धन भर्सेज सत्ता गठबन्धन नेकपा एमालेले सबै मिलेर आए पनि आफु एक्लै लड्ने दावी गर्न छोडेको छैन। तर उसले कमल थापा नेतृत्वको राप्रपा, एकनाथ ढकाल नेतृत्वको परिवार दल र जनमोर्चाका चित्रबहादुर केसीसँग विद्रोह गरेका समुहसम्मलाई गठबन्धनमा हालिसकेका छन्। लोसपासँग वीरगन्ज महानगरमा तालमेल गरिसके पनि अन्यत्र पनि गठबन्धनभित्र ल्याउने एमालेको प्रयास जारी छ । तर एमालेका निर्वाचित मेयरले ५ वर्ष व्यर्थमा समय खेर फालेपछि त्यहाँ एमालेलाई चुनावी एजेण्डा के लिएर मतदाताका बीच जाने भन्ने नै समस्या देखिएको छ। जीतपुर सिमरामा नेकपा एमालेले मेयर र उपमेयरसहित ७ वडामा चुनावमा जितेको थियो। अहिले मेयर डा. पौडेल उम्मेदवार सिफारिस समेत भएका छैनन् । तर अहिलेका उपमेयर सरस्वती चौधरी मेयरका आकांक्षी छिन् । उनी एमालेको केन्द्रीय सदस्य समेत हुन्। तर, उपप्रमुख भइरहँदा उनीमाथि पसाहा खोलाको नदीजन्य पदार्थ उत्खनन तथा बिक्री सम्बन्धमा अख्तियारले अझै छानविनको क्रममा राखेको छ । गत भदौ २४ मा उनीसहितलाई अख्तियारले पत्र काटेर १५ दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशनात्मक आदेश जारी गरेको थियो । त्यसयता यो विषय अझै छानबिनकै क्रममा छ । अख्तियारले बोलाएकी उपमेयर एमालेकी उम्मेदवार हेर्नुहोस उपप्रमुखलाई अख्तियारले लेखेको पत्र  एमालेमा अर्काे दाबेदार हुन्, भोला अधिकारी । उनी गत स्थानीय तहको चुनावमा वडा नम्बर २ मा वडाध्यक्षमै पराजित भएका थिए । तर, उनी दुई कार्यकाल तत्कालीन पिपरा सिमरा गाउँका अध्यक्ष भएका थिए । अर्काे, आकांक्षी हुन्, कासिन हुसेन । उनको राजनीतिक र सांगठनिक होल्ड त्यति देखिदैन । तर, सिमरा खानेपानीको चुनावमा उनले पटक–पटक जितेका थिए । मुस्लिम समुदायको भोट उनले तान्न सक्छन् कि भनेर उनलाई उम्मेदवार बनाउने विषयमा पनि एमालेभित्र छलफल चलिरहेको देखिन्छ । अर्काे दाबेदार नारायण क्षेत्री हुन् । उनी तत्कालीन डुमारवाना गाविसका पूर्व अध्यक्ष । साना किसान सहकारी संस्थाका पहिला अध्यक्ष पनि भएका र लामो समय महाप्रबन्धक भएका उनी सुकुम्बासी आयोगका अध्यक्ष पनि भएका थिए । तर, उनी पनि विवादमुक्त छैनन् । साना किसानको विवादमा परेपछि उनले पछिल्लो चरण राजीनामा दिएर बाहिरिनु परेको थियो । अर्काे आकांक्षी हुन्, मनोज पौडेल । उनी अघिल्लो पटकको चुनावमै पनि दाबेदार थिए । पछिल्लो नेकपाको अन्तरसङ्घर्षमा उनी माधव नेपाल समूहमा रहे, पुरुषोत्तम पौडेलनिकट नेता भएर । पछिल्लो अन्तरसङ्घर्षमा एमालेभित्रको १२ बुँदे पक्षधरका रुपमा उनको परिचय छ । जसका कारण एमालेभित्रकै सांगठनिक राजनीतिक पोजिसन उनको कमजोर देखिन्छ । त्यसमाथि उनी जीतपुर सिमरा गएर बसेको लामो समय भएको छैन । उनले स्थानीय मनोविज्ञान बुझ्न सक्दैनन् भन्ने आरोप छ । उता कांग्रेस–माओवादी सहितका ५ दलीय गठबन्धनले माओवादीलाई मेयर र कांग्रेसलाई उपमेयर दिने गरी सहमति गरेका छन् । माओवादी काङ्ग्रेस एक ठाउँ उभिदा एमालेले जति कोसिस गर्दा पनि यो उपमहानगरपालिकाको नेतृत्व हत्याउन सक्ने अवस्था अहिले छैन । माओवादी स्वयं एक्लै लड्दा पनि जित्ने माहोल बनेको जीतपुर सिमरामा कांग्रेसको मत पनि माओवादीलाई थपिने भएपछि सत्ता गठबन्धनका अगाडि एमाले गठबन्धन फिक्का मात्र बन्ने देखिन्छ । २०७४ को चुनावमा संगठनात्मक जालो वडा र टोलसम्मै निर्माण गरिनसक्दै चुनावमा माओवादी होमिएको थियो । तर अहिले उपमहानगरभित्रै पार्टीका ४८ सय संगठित सदस्य मात्रै माओवादीको छ । उपमहानगरका २४ वटा वडामै वडा कमिटी र आवश्यकताका आधारमा टोल कमिटी छ । नेकपाबाट माओवादीमै रुपान्तरित भएपछि माओवादीले संगठनात्मक जालो विस्तार गरेको देखिन्छ । त्यस क्रममा उसले कांग्रेस, एमाले, लोसपा, मधेसवादी दलमा रहेका स्वतन्त्र खालका सामाजिक मान्छेलाई संगठित गर्ने काम समेत यो बीचमा गरेको छ । पार्टीभित्रको आन्तरिक विवाद पनि माओवादीले जीतपुर सिमरामा मिलाएको देखिन्छ । केन्द्रमा माओवादीका कतिपय जनसंगठन र पार्टीकै समेत पदाधिकारी र कमिटीहरू बन्न नसकिरहेका बेला सम्भवतः पहिलोपटक जीतपुर सिमरा नगर कमिटी माओवादीले चुनावी प्रक्रियाबाट चुनेको छ । वडाबाट सम्मेलन गर्दै आएर नगर सम्मेलनमा नगर कमिटी चयन गर्दा पनि र नगरका पदाधिकारी, प्रदेश प्रतिनिधिसम्म उसले चुनावबाटै चयन गरेको थियो । यसले जित्नेलाई पनि काम गर्ने उत्साह र हारेकालाई पनि पार्टी निर्माणमा लाग्ने गरी क्रियाशील बनाएको छ । कांग्रेसको मात्र होइन, एमाले विभाजित बनेर निर्माण भएको नेकपा एकीकृत समाजवादीको मत पनि पौडेलमा थपिनेछ । जीतपुर सिमरा उपमहानगरमा २४ मध्ये १६ वटा वडाको प्रतिनिधित्व गर्ने निर्वाचन क्षेत्र नम्बर ४ (क) का प्रदेश सांसद सुन्दर विश्वकर्मा एमाले छोडेर एकीकृत समाजवादीतिर लागेका छन् । उनी अघिल्लो पटक नेकपा एमालेको जिल्ला अध्यक्ष थिए । त्यसैगरी समानुपातिक प्रदेश सांसद सीता गुरुङ जीतपुर सिमराकै मतदाता हुन् । उनी पनि समाजवादीतिर लागेकी छन् । उनीहरुको प्रभाव पनि सिमरामा हुने भएकोले त्यो मत पनि गाभिदा माओवादी उम्मेदवार अन्य उम्मेदवारको तुलनामा हेभीवेटका हुनेछन् । को हुन् माओवादीबाट सर्वसम्मत मेयरमा सिफारिस राजन पौडेल ? नेपालको आमुल परिवर्तन र विकास देशको व्यवस्था बदलिएमात्रै सम्भव छ भन्ने यथार्थ बुझेका एक जना भिजनरी र कर्मठ युवा हुन् राजन पौडेल । त्यसैले पनि कलिलै उमेरमा उनले सबै प्रकारका आकांक्षा त्यागेर महान जनयुद्धमा होमिए । २०३५ चैत १० गते धादिङमा जन्मिएका राजन पौडेल २०४४ सालदेखि सिमरामा निरन्तर बसोबास गर्दै आएका छन् । स्कुले जीवनमा पढाइमा अब्बल रहेका पौडेलले २०५२ सालमा प्रथम श्रेणीमा एसएलसी उर्तीण गरे । काठमाडौं क्याम्पसबाट ग्रामीण विकास र समाजशास्त्रमा उनले स्नातक गरे । क्याम्पस पढ्दा पढ्दै राजन पौडेल २०५६ सालदेखि तत्कालीन नेकपा (माओवादी) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) बाट विधार्थी राजनीति शुरु गरे । २०५७ सालदेखि माओवादीको पूर्णकालीन कार्यकर्ता बने । लगत्तै २०५८ सालमा पाटन संयुक्त क्याम्पसबाट राजन पौडेललाई सेनाले गिरफ्तार गरयो । करिब एक वर्षको जेल जीवनपछि रिहा भए । फेरि उनी पार्टीकै काममा फर्किए । २०६० सालमा मकवानपुर धादिङ उनको कार्यक्षेत्र बनेको थियो । त्यस क्षेत्रमा खटिएको केही महिनामै पौडेललाई त्यही साल विरगञ्जबाट सेनाले गिरफ्तार ग¥यो । सेनाको चरम यातना, दमन सहेर पनि राजन पौडेलले जेलभित्रैबाट आन्दोलन थाले । सम्झदा पनि आङ सिरिङ्ग हुने गरी सुन्दरीजल जेलमा उनले २४ दिन आमरण अनशन बसे । पछिल्लो पटक जेल पर्दा पौडेलले पटक पटक गरी करिब ८० दिन आमरण अनशन बसी आन्दोलन गरे । डिल्लीबजार सदरखोर, वीरगञ्ज कारागार, भद्रगोल जेल, सर्लाही जेल र सुन्दरीजल जेलजस्ता सबै कारागारमा राजन पौडेलले अति कठिन र सिनेमाको कहानी जस्ता लाग्ने तीता विगतहरु भोग्नुपरेको थियो । राजन पौडेल नेकपा (माओवादी) राजनीतिक मुलधारमा आएपछि मात्रै २०६३ जेष्ठ १० गते लामो जेल जीवनबाट मुक्त भएका हुन् । त्यसयता बारा जिल्लामा रहेर निरन्तर पार्टी राजनीतिमा क्रियाशील उनी जिल्ला कमिटी सदस्य हुँदै पार्टीको केन्द्रीय सदस्य समेत भइसकेका थिए । हाल उनी नेकपा (माओवादी केन्द्र मधेस प्रदेश कमिटीको सदस्य छन् । अध्ययनशील, स्पष्ट र सशक्त भिजन भएका राजन पौडेल जीतपुरसिमरा उपमहानगरपालिकामा नेकपा (माओवादी केन्द्र) बाट मेयर पदमा उम्मेदवार बनेका छन् । यस उपमहानगरलाई आफ्नो कार्यकालमा नमुना नगर बनाउने सपना बुनेका छन् । उनी विवादमुक्त माओवादी नेता हुन् । उनलाई बौद्धिक, वैचारिक, सरल जीवनशैली र पारदर्शी नेताका रुपमा जीतपुरसिमरामा चिन्ने गरिन्छ ।

सिन्धुलीमा गठबन्धनको जित सुनिश्चित, एमालेलाई साख जोगाउनै गाह्रो

सूर्य सुवेदी सिन्धुली जिल्ला बागमती प्रदेशअन्तर्गतको एक जिल्ला हो । ऐतिहासिक रुपमा अंग्रेजलाई हराउने जिल्लाका रुपमा पनि यो जिल्लाको पहिचान छ । नेपाली जनयुद्धमा पनि सिन्धुली र यहाँका नागरिकको ठूलो भूमिका छ । नेपाली कांग्रेसका नेताहरु वीपी कोइराला, मात्रिका र गिरिजाको जिल्ला भनेर पनि सिन्धुलीलाई चिनिन्छ । कम्युनिष्ट आन्दोलनका पूर्वका तारा भनेर चिनिने ऋषि देवकोटा ‘आजाद’, सिपी गजुरेल, हरिबोल गजुरेल, असारे काका, महेश्वर दाहाल पनि यही जिल्लामा जन्मिएका हुन् । नेपालमा सबैभन्दा धेरै जिल्लाहरुको सिमाना छुने जिल्ला पनि सिन्धुली हो । उत्तरमा महाभारत पर्वत, भित्री मधेस, चुरे हुँदै तराईसँग यो जिल्लाको भूगोल जोडिएको छ। राजनीतिक विभाजन  यो जिल्लामा दुई संघीय निर्वाचन क्षेत्र छन् र चार प्रादेशिक क्षेत्रहरु छन् । साथै सिन्धुली जिल्लामा दुई नगरपालिकासहित नौ वटा स्थानीय तहहरु छन् । २०७४ को निर्वाचनको परिणाम  नौ वटा स्थानीय तहमध्ये सिन्धुलीका तीन ठुला दलहरुले तीन तीन वटा स्थानीय तहमा जित हासिल गरेका थिए । त्यसमा नेकपा (माओवादी केन्द्र) ले सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिका जितेको थियो। त्यसैगरीे नेपाली कांग्रेसले घ्याङ्लेख गाउँपालिका, तीनपाटन गाउँपालिका र गोलाञ्जोर गाउँपालिका जितेको थियो। नेकपा एमालेले दुई नगर कमलामाई नगरपालिका, दुधौली नगरपालिका र फिक्कल गाउँपालिका जितेको थियो। वर्तमान अवस्था  २०७९ सालमा आइपुग्दा २०७४ सालको जस्तो निर्वाचन परिणाम आउने छैन। किनभने नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत पाँच दलीय गठबन्धनले यसपटक संयुक्त मोर्चाबन्दीमा निर्वाचन लड्ने छन् । सिन्धुली जिल्लामा दुई ठूला दल कांग्रेस र माओवादीले स्थानीय तहको निर्वाचनमा कुन पार्टी कुन स्थानीय तहमा निर्वाचन लड्ने भनेर स्थानीय तह बाँडफाँड गरिसकेका छन् । नौ स्थानीय तहमध्ये एक नगरपालिका र चार गाउँपालिकामा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनले निर्वाचन लड्ने छ भने एक नगरपालिका र तीन गाउँपालिकामा माओवादी केन्द्रको नेतृत्वमा गठबन्धन निर्वाचनमा होमिने छ । यस्तो छ गठबन्धनको भागबण्डा  सिन्धुली जिल्लामा रहेका नौ वटा स्थानीय तह भागबन्डा गर्दा नेपाली कांग्रेसले कमलामाई नगरपालिका, गोलञ्जोर गाउँपालिका, घ्याङ्लेख गाउँपालिका, तीनपाटन गाउँपालिका र फिक्कल गाउँपालिका हात पारेको छ भने नेकपा माओवादी केन्द्रले दुधौली नगरपालिकासहित मरिण गाउँपालिका, सुनकोसी गाउँपालिका र हरिहरपुगढी गाउँपालिकामा नेतृत्व पाएको छ । गठबन्धनको अवस्था  स्थानीय निर्वाचन २०७४ को मत परिणामलाई केन्द्रमा राखेर सिन्धुली जिल्लाका नौ स्थानीय तहको विश्लेषण गर्दा नेकपा एमालेले यस जिल्लाका कुनै पनि स्थानीय तह जित्ने आधार देखिँदैन । ०७४ को निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले पाएको मतलाई मात्रै जोड्दा पनि गठबन्धनले एमाले भन्दा निक्कै मतान्तरले जित्ने सुनिश्चित छ । गठबन्धन र एमालेको मतान्तर  कमलामाई नगरपालिकामा गठबन्धनको मत १२ हजार ६३९ छ भने यो नगरपालिकामा एमाले एक हजार ४८७ मतले पछि छ । गोलञ्जोर गाउँपालिका गठबन्धन पाँच हजार ४८७, एमाले दुई हजार ९०३ मतले पछि छ । घ्याङ्लेख गठबन्धन चार हजार ३७९, एमाले तीन हजार ६९५ मतले पछि, तीनपाटन गठबन्धन आठ हजार ५८७ एमाले दुई हजार ९०५ मतले पछि, दुधौली नगरपालिका गठबन्धन १६ हजार १२३, एमाले सात हजार ५२५ मतले पछि छ । फिक्कल गठबन्धन तीन हजार ९०६, एमाले ७८० मतले पछि छ। त्यसैगरी मरिण गठबन्धन ६ हजार ४८६, एमाले चार हजार ६२६ मतले पछि छ भने सुनकोसी गठबन्धन ६ हजार ६४५ एमाले, चार हजार २२ मतले पछि र हरिहरपुरगढी गठबन्धन ६ हजार ३४०, एमाले तीन हजार ३८६ मतले पछाडि रहेको छ। गठबन्धनले जित्ने आधार  गठबन्धनमा पाँच दलहरु भए पनि माथि उल्लेखित भएका तथ्याङ्कहरु हेर्दा माओवादी र कांग्रेसले गत २०७४ को स्थानीय तहमा प्राप्त गरेको मतको कूल संख्या र सग्लो एमाले हुँदा एमालेले पाएको मत परिणामको हिसाब मात्रै गरिएकाले गठबन्धनको मतान्तर एमालेसँग अरु धेरै बढ्ने छ। सिन्धुली जिल्लामा गठबन्धनका अन्य दलहरु जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको मत पनि गठबन्धनमा थपिँदा सिन्धुली जिल्लामा एमालेलाई आफ्नो साख जोगाउन निक्कै कठिन छ।  

माओवादीले स्थापित गरेका २३३ प्रमुख उपलब्धीहरू (पूर्णपाठ)

काठमाडौं। माओवादी जनयुद्धको जगबाट सुरु भएको २०६२–०६३ को जनआन्दोलनले झण्डै अढाई सय वर्ष इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर गणतन्त्र स्थापित गर्‍यो। यहीबाट वर्तमान राज्य व्यवस्थाको जग बसाइएको हो। संविधान निर्माणपछि यतिबेला मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीको अभ्यासमा छ। स्थानीय तह, प्रदेश र संघ गरी तीनै तहमा सरकार बने। दशकौंपछि जनताले आफ्ना जनप्रतिनिधि पाए। सरकार खोज्दै दूरदराजका जनतालाई काठमाडौंको सिंहदरबार धाउनुपर्ने अवस्था छैन। केही विकृति देखिए पनि जनतासँग प्रत्यक्ष जोडिएका स्थानीय तह छन्। पिछडिएको क्षेत्र, महिला, दलितको प्रतिनिधित्व बढेको छ। सडक, स्वास्थ्य, शिक्षा, बिजुलीलगायत जनताका आधारभूत आवश्यकता पूरा हुँदै छन्। २०६५ मा प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएपश्चात् सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्‍यो। २०६४ यता माओवादीको नेतृत्वमा ३ वटा सरकार बने, अरू संयुक्त सरकारमा माओवादीका मन्त्रीहरूले नतिजामुखी काम गरे। संघीयतापूर्वका राजनीतिक एवं प्रशासनिक संरचनाहरू निकायहरू थिए, तह थिएनन्। निकायहरू आफै स्वायत्त हुँदैनन्, तिनीहरू माथिल्लो संरचनाको अधिनस्थ हुन्छ। एक प्रकारले भन्दा ती संरचनाहरू प्रशासनिक कामलाई सहज तुल्याउन खडा गरिएका मेसिनरी नै थिए। न तिनीहरू जनसेवा, विकास निर्माण र आर्थिक समृद्धिको आकांक्षा थियो, न अधिकार नै। यस अर्थमा संघीयताअघि बडा गरिएका संरचनाहरूले आर्थिक भार मात्र थोपर्थे, परिणाम दिँदैनथे। अहिले परिस्थिति फेरिएको छ। मुलुक एकात्मक प्रणालीबाट संघीयतामा गएपछि भौतिक एवं मानवीय विकास क्षेत्रमा गुणात्मक परिवर्तन आएको छ। एकाध भ्रष्टाचार, कमिसनखोर र अख्तियारको दुरुपयोगबाहेक स्थानीय तहका जनप्रतिनिधिहरू जनताको घरदैलोमा छन्। उनीहरूले कृषि, घरेलु उद्योग, स्वरोजगार, सीपमूलक तालिम, आयआर्जनका कार्यक्रममा जनतालाई प्रत्यक्ष सेवा दिइरहेका छन्। यदि माओवादीले संघीयताको मुद्दालाई दह्रोसँग नबोकेको भए मुलुकमा यस्तो परिवर्तन हुँदैन थियो। यस अर्थमा जो जुनसुकै पार्टीबाट निर्वाचित भए पनि त्यसको श्रेय माओवादी केन्द्र र माओवादी आन्दोलनलाई जान्छ। यस्ता छन् माओवादी आन्दोलनका प्रमुख उपलब्धीहरू विषय प्रवेश नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक आलोकद्वारा निर्देशित नेपालका सर्वहारारश्रमजीवी वर्गको प्रतिनिधि पार्टी हो । १० वर्ष लामो महान् जनयुद्ध र विभिन्न वर्ग, जाति, क्षेत्र, लिंग, पेशा र समुदायका न्यायपूर्ण आवाजहरूको प्रत्यक्ष नेतृत्व गरेको यस पार्टी नेपालका मजदुर, किसान, सुकुम्बासी, बुद्धिजीवी, पेशाकर्मी, महिला, दलित, मधेशी, मुस्लिम लगायत सम्पूर्ण उत्पीडित वर्ग, समुदाय र वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूको पार्टी हो । जनताको अधिकार र मुक्ति एवं राष्ट्रको स्वाधीनता र समृद्धिका लागि हजारौं सहिदको रगतबाट जन्मिएको यो पार्टी नेपाली जनताको हित र अधिकार चाहने एक मात्र क्रान्तिकारी र जनमुखी पार्टी हो । यो व्यवस्था परिवर्तनसँगै जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सम्पूर्ण रूपले संघर्ष गरिरहेको एवं वैज्ञानिक समाजवादी व्यवस्थाको पक्षधर पार्टी हो । माओवादी केन्द्रकै संघर्ष र बलिदानीका कारण आज सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको छ, जनताले आफ्नै आँगनमा सरकारको प्रत्यक्ष अनुभूति गर्न पाएका छन् । माओवादी आन्दोलनकै कारण देशमा राजनीतिक, सामाजिक, आर्थिक र विविध प्रकृतिका अधिकारहरू स्थापित भएका छन् । तसर्थ, नेपाल बुद्धिजीवी संगठन माओवादी आन्दोलनको बलमा स्थापित निम्न अधिकार र उपलब्धीहरूको गहन अध्ययन गरी जनताको पार्टी नेकपा ९माओवादी केन्द्र० लाई विजयी गराउन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपील गर्दछ । प्रमुख उपलब्धीहरू माओवादी आन्दोलनद्वारा प्राप्त अधिकार र उपलब्धीहरू अद्वितीय छन्, ती सबै उपलब्धीहरूको चर्चा गर्न सम्भव छैन । यहाँ माओवादी आन्दोलनका योगदान र त्यसमार्फत् प्राप्त भएका मुख्य उपलब्धीलाई बुँदागत रूपमा निम्नानुसार उल्लेख गरिएको छ । (क) राजनीतिक उपलब्धी १. माओवादीको नेतृत्वमा २०५२–०६३ सम्म सञ्चालित महान् जनयुद्ध र त्यसको जगमा उठेको ऐतिहासिक जनआन्दोलनको बलमा देशमा विद्यमान २५० वर्ष पूरानो सामन्ती राजतन्त्रको अन्त्य भई देशमा गणतन्त्रको स्थापना भएको छ । २.वि.सं. २०७२ सालमा जारी भएको संविधानमा समाजवादउन्मुख राज्य निर्माणको संवैधानिक व्यवस्था गरिएको छ । यसले समाजवादको दिशामा अगाडि बढ्ने वैधानिक ढोका खोलिदिएको छ । ३. माओवादीको प्रस्ताव र नेतृत्वमा एकात्मक राज्य प्रणालीको अन्त्य भई देशमा संघीयता स्थापना गरी सिंहदरबारको अधिकार गाउँ–गाउँमा प्रत्यायोजन गरिएको छ । ४. माओवादीकै नेतृत्वमा देशमा विद्यमान वर्गीय, जातीय, लिंगीय उत्पीडन र भेदभाव अन्त्य गरिएको छ । ५. माओवादीकै कारण देश एकात्मक प्रतिनिधित्व अन्त्य गरी समानुपातिक एवं समावेशी प्रतिनिधित्व स्थापित गरिएको छ । ६. माओवादीको नेतृत्वमा १० वर्ष लामो जनयुद्धलाई राजनीतिक उपलब्धी संस्थागत गर्ने कार्यभारसहित स्थायी शान्तिमा रूपान्तरित गरिएको छ । द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रिया मुख्यतः निष्कर्षमा पुगेको छ । ७. नेपाली सेना र जनमुक्ति सेनाको समायोजन गरी नेपाली सेनाको लोकतान्त्रिक र व्यवसायीकरणका निम्ति माओवादीले निर्णायक भूमिका खेलेको छ । ८. माओवादीकै पहलमा सत्य निरुपण र बेपत्ता आयोगको गठन भएको छ । आयोगहरूले द्वन्द्वपीडितहरूको पुनर्स्थापना, राहत, न्याय निरूपण र मेलमिलापको क्षेत्रमा महत्वपूर्ण कामहरू गरिरहेका छन् । ९. दश वर्षको युद्धमा बलिदानी दिने सहिदहरूलाई राष्ट्रिय शहिदको घोषणा गरी तिनका परिवारलाई क्षतिपूर्ति, राहत, भरणपोषण र शिक्षादीक्षाको व्यवस्था गरिएको छ । १०. माओवादीकै नेतृत्वमा द्वन्द्वबाट बिस्थापित नागरिकहरुको पुनस्र्थापना र राहतको व्यवस्था गर्दै सामाजिक पुनर्मिलन स्थापित गरिएको छ । ११.जनताको निरन्तर संघर्ष र मुख्यतः माओवादीले सञ्चालन गरेको जनयुद्धको बलमा विश्वका संविधानमध्ये उत्कृष्ट र प्रगतिशील संविधान जारी गरिएको छ । १२.राजनीतिक प्रणालीमा सहमति, सहकार्य र एकताको सुत्रपात गरिएको छ । एउटै राजनीतिक प्रणालीभित्रका बिमतिहरू सम्वादको प्रक्रियाद्वारा निष्कर्षमा पुर्‍याउन सकिने संस्कृतिको जग बसाल्दै हरेक समस्याको समाधान माओवादी र यसको नेतृत्व रहेको प्रमाणित गरिएको छ । १३. माओवादीको नेतृत्व र योजनामा सम्पूर्ण राजतन्त्रीय संरचनाहरूको खारेजी गर्दै गणतान्त्रिक मूल्य–मान्यता र ढाँचामा रूपान्तरित गरिएको छ । १४. जनयुद्धको बलमा अर्धसामन्ती एवं अर्धऔपनिवेशिक चरित्रमा परिवर्तन आएको छ । स्वाधीन एवं आत्मनिर्भर अर्थतन्त्र र समानता एवं पारस्पारिक लाभका आधारमा राष्ट्रिय स्वाधीनता सुदृढ गरिएको छ । १५. देशको प्रगति, विकास र राष्ट्रिय समस्याको समाधानका निम्ति माओवादी पार्टी र यसको नेतृत्वले लगातार सकारात्मक योगदान गरिरहेको छ । १६. माओवादीले नयाँ नेपालको मार्गचित्र प्रस्तुत गर्‍यो, जसमा पूर्व–पश्चिम राजमार्गको स्तरोन्नति, पूर्व–पश्चिम पहाडी लोकमार्ग, तराईमा हुलाकी राजमार्ग, पूर्व–पश्चिम र उत्तर–दक्षिण रेलमार्ग, प्रत्येक प्रदेश जोड्ने उत्तर–दक्षिण लोकमार्ग, चीन–भारत दुवै छिमेकसँग जोड्ने नाकाहरू सञ्चालन एवं स्तरोन्नति, ठूला जलविद्युत आयोजनाको निर्माण र विद्युत निर्यात, फास्ट ट्रयाक र बैकल्पिक लोकमार्गको निर्माण एवं बिस्तार, स्मार्ट सिटीहरूको अवधारणा र आधुनिक शहरीकरण लगायतका भौतिक विकासको परिकल्पना सम्मिलित थिए । हाल नेपालमा भौतिक विकासका क्षेत्रमा जे–जति परिकल्पनाहरू कार्यान्वयनमा छन्, ती सबैमा ‘नयाँ नेपालको माओवादी मार्गचित्र’ नै प्रतिविम्बित भएको प्रष्ट छ । १७. पहिलो गणतान्त्रिक सरकारले ठूला पूर्वाधार विकासको कामलाई तीव्रतापूर्वक अगाडि बढाएका कारण २५० वर्ष लामो सामन्तीकालमा भन्दा बढी पूर्वाधार पछिल्लो १५ वर्षमा विकास भएको छ । १८. राज्यको व्यापक पुनर्संरचना गर्दै ७५३ स्थानीय तहको निर्माण गरी ती स्थानीय तहमा निर्वाचनसमेत सम्पन्न गरी अधिकारसम्पन्न स्थानीय सरकारहरू गठन गरिएका छन् । १९. माओवादीको नारा ‘गाउँ–गाउँमा सिंहदरबार’ कार्यान्वयनमा आएसँगै स्थानीय तहमा पूर्वाधार विकासको कामले तीव्रता पाएको छ । जनताले चुक्ता गरेको करको ठूलो हिस्सा पूर्वाधार विकासमा लगानी भएको छ । २०. देशमा सात वटा संघीय सरकारको निर्माण भई ती सरकारहरूले प्रादेशिक विकासको नीति, योजना र कार्यक्रमलाई तीव्रता दिएका छन् । २१.शिक्षाको हक, स्वास्थ्यको हक, आवासको हक, रोजगारीको हक लगायतका ३० भन्दा बढी हकहरूलाई संविधानमा मौलिक हकका रूपमा स्थापित गरिएको छ । २२.देशव्यापी राष्ट्रिय जागरणको नेतृत्व माओवादीले गर्‍यो, जसका कारण पिँधमा परेका वर्ग, जाति, लिंग र समुदाय राज्यको नीति निर्माणको तहमा स्थापित भएका छन् । २३. सुशासन र विकासका निम्ति प्रतिक्रियावादी वर्गसँग निरन्तरको संघर्षका कारण जनतामा व्यापक जागरण र सुशासनका निम्ति सकारात्मक खबरदारीको वातावरण निर्माण भएको छ । २४. राज्यका सबै तह र अंगहरूमा महिलाको न्यूनतम ३३ प्रतिशत प्रतिनिधित्व स्थापित गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक पदमा महिला अनिवार्य हुनुपर्ने अवस्था गरिएको छ । सभामुख र उपसभामुखका साथै राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षमध्ये एक जना अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरिएको छ । २५. स्थानीय तहमा प्रमुख र उपप्रमुखमध्ये १ जना महिला अनिवार्य गरिएको छ । वडामा १ दलित महिलासहित २ जना महिला निर्वाचित हुने व्यवस्था गरिएको छ । साथै गाउँ कार्यपालिका र नगर कार्यपालिकामा समानुपातिक प्रणाली लागू गरिएको छ । २६. सम्पत्तिमा महिला र पुरूष तथा छोराछोरीबिच समान अधिकार रहने संवैधानिक तथा कानुनी व्यवस्थालाई प्रभावकारी कार्यान्वयनका लागि सबै मालपोत कार्यालयले पैतृक सम्पत्तिमा लैंगिक भेदभाव नगरी प्रचलित कानुनबमोजिम सबै अंशियारले अंश पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने व्यवस्था मिलाइएको छ । २७.राज्यका सबै तह र अंगहरूमा दलित, जनजाति, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यकको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ । साथै सीमान्तकृत, घाइते, अपांग लगायत विभिन्न वर्ग, जाति, क्षेत्र र समुदायको प्रतिनिधित्व हुने गरी संवैधानिक र कानुनी प्रबन्ध गरिएको छ । २८. जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका निम्ति माओवादीले संविधानमा ‘नोट अफ डिसेन्ट’ राख्दै त्यस्तो प्रणाली प्राप्तिका लागि संघर्षरत छ । २९. राज्यका सबै तह र अंगहरूमा किसान र मजदुर लगायत उत्पीडित वर्गको निश्चित प्रतिशत प्रतिनिधित्वका लागि माओवादी पार्टी संघर्षरत छ । ३०. बुद्धिजीवी, पेशाकर्मी लगायत श्रमजीवी बौद्धिकहरूको अधिकार स्थापित गर्न ट्रेड युनियन अधिकार, बौद्धिक सम्पत्ति सम्बन्धी अधिकार, विभिन्न क्षेत्रको अध्ययन अनुसन्धानको काम र प्रोत्साहनसम्बन्धी नीति र कार्यक्रमहरू लागू गरिएको छ । ३१. राष्ट्रिय सर्वेक्षण र मूल्यांकनमा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तह उत्कृष्ट सावित भएका छन् । यसले माओवादीहरू राष्ट्र, जनता र आफ्नो जिम्मेवारीप्रति निष्ठावान् र प्रतिवद्ध भएको प्रमाणित गर्दछ । ३२. माओवादी केन्द्रले राज्यका विभिन्न जिम्मेवारीमा पठाएका वा नियुक्ति गरिएका व्यक्तिहरूले नमुनायोग्य काम गरेका छन् । यसले माओवादीले जहाँ जिम्मेवारी पाउँछन्, त्यहाँ सुशासन र सकारात्मक परिवर्तन आउँछ भन्ने तथ्य स्थापित भएको छ । ३३. अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित राष्ट्रिय हित अनुकूल बनाई देशलाई अन्यौलको भूमरिबाट मुक्त गरिएको छ । (ख) आर्थिक उपलब्धी ३४. वि.सं.२०६५ मा अध्यक्ष प्रचण्डको नेतृत्वमा बनेको पहिलो गणतान्त्रिक सरकारले आर्थिक क्रान्तिको दशक घोषणा गरी पूर्वाधार निर्माण र सामाजिक विकासको सुत्रपात गर्‍यो । ३५. माओवादीले सार्वजनिक–निजी–सहकारीबिच साझेदारी कायम गर्दै अर्थतन्त्रको मौलिक मोडेल निर्माण गर्‍यो, जसले देशलाई आर्थिक क्रान्तिको दिशामा अगाडि बढाउन महत्वपूर्ण योगदान गरिरहेको छ । ३६. राष्ट्रिय पूर्वाधारको गुणात्मक विकासको कार्य माओवादीकै नेतृत्वमा अगाडि बढे । सडक सञ्जाल, खानेपानी आयोजना, विद्युतीकरण, शिक्षा र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण पूर्वाधारहरू निर्माण गरिए । ३७. अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले बीआरआई सम्झौतामा हस्ताक्षर गरी राष्ट्रिय विकासमा चीनको योगदान र सहकार्यका निम्ति नयाँ ढोका खोल्यो । ३८. सरकारले चीनसँग विभिन्न आर्थिक परियोजनामा सम्झौता र सहकार्य प्रक्रिया अगाडि बढायो । बिआरआई अन्तर्गत महत्वपूर्ण ११ परियोजनाहरू सूचिकरण र सम्झौताहरू सम्पन्न गरिए । ३९. माओवादी नेतृत्वको सरकारले दलाल नोकरशाही पुँजीको विरोध गर्दै स्वदेशी उत्पादन र राष्ट्रिय अर्थतन्त्रमा जोड दिँदै आएको छ । यसले आत्मनिर्भरताको क्षेत्रमा महत्वपूर्ण योगदान गरिरहेको छ । ४०. प्रचण्ड नेतृत्वको सरकारले राष्ट्रिय महत्वका आयोजनालाई ‘राष्ट्रिय गौरवका आयोजना’मा रूपान्तरण गर्‍यो । हाल क. बुढीगण्डकी जलविद्युत आयोजना, ख. मेलम्ची खानेपानी आयोजना, ग. सिक्टा सिंचाई आयोजना, घ. बबई सिंचाई आयोजना, ङ. रानीजमरा कुलरीया सिंचाई आयोजना, च. भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, छ. माथिल्लो तामाकोशी जलविद्युत आयोजना, ज. पश्चिम सेती जलविद्युत आयोजना, झ. गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, ञ. पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, ट. दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ, ठ. लुम्विनी विकास कोष, ड. पुष्पलाल (मध्य पहाडी) लोकमार्ग, ढ. रेल्वे तथा मेट्रो विकास आयोजना, ण. हुलाकी लोकमार्ग, त. उत्तर दक्षिण (कोशी) लोकमार्ग, थ. उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, द. उत्तर दक्षिण (कर्णाली) लोकमार्ग आयोजना, ध. काठमाडौं, तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक), न. पशुपति क्षेत्र विकास कोष, प. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, फ. महाकाली सिंचाई आयोजना, ब. विद्युत प्रसारण आयोजना र भ. गल्छी–त्रिशुली–मैलुङ्ग–स्याफ्रुबेसी–रसुवागढी सडक राष्ट्रिय गौरवका आयोजनामा सूचिकृत छन् । हेर्नुहोस् पूर्णपाठ

असोजमै पाक्यो सुन्तला !

सुन्तला फल्ने ‘सिजन’ कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थाल्नुभएको छ । बागलुङ नगरपालिका–८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन शुरु गरेपछि अहिले उहाँ उत्साहित बन्नुभएको छ । खड्काले पाँच वर्षअघि मात्रै झण्डै १०० बेमौसमी जातका सुन्तलाका बिरुवा लगाउनुभएको थियो । गतवर्ष पाँच सात वटा रुखमा सुन्ताल फले पनि अहिले झण्डै १५ रुखमा सुन्तला पाकेका छन् । अहिले पाकेका सुन्तला उन्सु जातका भए पनि यशोदा पोङ्कान भने एक महिनापछि पाक्नेछन् । “फोहोरपरार यही समयममा उन्सु मात्रै १५÷२० केजी सुन्तला बिक्री गरेको थिएँ, अहिले यसको उत्पादन बढेको छ” खड्काले भन्नुभयो “अब एक–एक महिनाको फरकमा यशोधा र पोङ्कान जातको सुन्तला पाक्नेछन्, सिगानामा बेमौसमी जातको सुन्तला सफल भयो, अब यसको खेती विस्तार गरिनेछ ।” खड्काका बेमौसमी सुन्तलाको सानो रुख भएका कारण एक बोटमा बढीमा १०० दाना मात्रै लाग्ने गर्दछ । प्रतिकिलो रु १५० मा बिक्री हुने खडकाको भनाइ छ । सुन्तलाका सानो बोटमा लटरम्म सुन्तला पाक्न थालेपछि कृषक खड्काले बिक्री गर्न थाल्नुभएको छ । चार दशकदेखि व्यावसायिक सुन्तला खेती गर्दै आउनुभएका खड्काले नयाँ जातको सुन्तलाले राम्रै उत्पादन दिन थालेको बताउनुहुन्छ । पाँच वर्षअघि कृषि अनुसन्धान केन्द्रबाट ल्याइएका करिब १०० सुन्तलाका बोटमा लटरम्म फल लागेपछि उहाँ उत्साहित हुनुहुन्छ । “मैले परीक्षणका लागि मात्रै १०० बोट सुन्तला लगाएको थिएँ, परीक्षण सफल भयो अब यसको व्यावसायिक उत्पादनका लागि बगैँचा विस्तार गर्ने योजनामा छु”, खड्काले भन्नुभयो । कृषिमा नयाँ काम गर्नुपर्छ भन्ने मान्यता राखेर उत्तिकै मेहनत गर्नुहुने खड्काले कीर्तिपुरस्थित कृषि अनुसन्धान केन्द्रबाट विभिन्न जातका सुन्तलाका बिरुवा ल्याएर परीक्षणका लागि लगाउनुभएको थियो । नेपालमा अधिकांश कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाका जातको खेती गरिँदै आएकोमा खड्काले भदौ असोजमै पाक्ने जापानी जातका सुन्तला लगाउनुभएको हो । व्यावसायिक उत्पादन गर्न सके बेमौसमी सुन्तलाको मूल्य अन्य सुन्तलाको तुलनामा तेब्बर पर्ने खड्काले बताउनुभयो । चालिस वर्षदेखि स्थानीय तथा कात्तिक मङ्सिरमा पाक्ने सुन्तलाको खेती गर्दै आउनुभएका खड्काले हालसम्म १४ प्रजातिका सुन्तलाका विरुवा लगाउनुभएको छ । उहाँसँग झण्डै १० रोपनी जग्गामा मौसमी सुन्तला खेती रहेको छ । मौसमी र बैमौसमी सुन्तला उत्पादनसँगै किबी, अलैँची, तरकारीको समेत खेती गर्दै आउनुभएका खड्का बागलुङकैै अगुवा कृषकका रुपमा चिनिदै आउनुभएको छ । बाह्रै महिना सुन्तला उत्पादन गर्ने गरी बेमौसमी सुन्तलाका बिरुवा विस्तार गरिरहेको खड्काको भनाइ छ ।

आज तपाइको दिन कस्तो रहला ? राशिफलले यस्तो भन्छ

वि.सं. २०७५ साल असार ३० गते, शनिबार। इश्वी सन् २०१८ जुलाई १४ तारिख। नेपाल संवत् ११३८ दिल्लाथ्व। आषाढ शुक्लपक्ष। तिथि-प्रतिपदा, ६ः२८ बजेदेखि द्वितीया, २८ः०० बजेउप्रान्त तृतीया। मेष- अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। बृष- बेलामा होस नपुर्याउँदा केही समस्या झेल्नुपर्ला। रचनात्मक काममा जुट्ने समय छ। तर, परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले हात झिक्नाले समस्यामा परिनेछ। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ। मिथुन- केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। कर्कट- केही कठोर नीति अवलम्बन गर्नुपरे पनि चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। सिंह- परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। कन्या- मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तुला- पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। आँटले काम लिन नसक्दा पछि परिनेछ। अहिलेको फाइदा हेर्दा पछिको फाइदा घट्नेछ। कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। बृश्चिक- प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ। सहयोगीहरूले पनि राम्रो सहयोग जुटाउनेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। तर परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला। श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। धनु- स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। न्यून उपलब्धिका लागि धेरै समय खर्च हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। गोपनीयतामा भने विशेष ध्यान पुर्याउनुहोला। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ। मकर- परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। कुम्भ- वैधानिक प्रावधानले केही अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्। अस्वस्थताले लक्ष्यअनुसार काममा जुट्न नसकिएला। मीन- अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। समयको गतिलाई पछ्याउन नसक्दा दुःख पाइनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पेटको खराबीले स्वास्थ्य कमजोर हुन सक्छ। -नेपाली पात्रो

आजको दिन कस्तो रहला ? राशिफलले यस्तो भन्छ

वि.सं २०७५ साल असार १ गते, शुक्रबार। इश्वी सन् २०१८ जुन १५ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– द्वितीया, २१ः२० बजेउप्रान्त तृतीया। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। व्यवसायभन्दा सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। चिताएको काम सम्पादन हुनेछ। विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा निकै फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। तर, अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। तर आँटले काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। समुदायको हितमा भने राम्रै काम गर्न सकिनेछ। बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दुस्ख पाइनेछ। गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन उदास रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन नसकिएला। प्रतिस्पर्धी बढ्नाले समस्या थपिएलान्। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार(व्यवसायमा समेत फाइदा उठाउन समय पर्खनुपर्नेछ। योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत पर्ला। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्। -नेपाली पात्रो

यी हुन् स्वस्थ रहने टिप्स, शरीरलाई ४० भन्दा बढी पोषक तत्व आवश्यक

स्वस्थ रहन हाम्रो शरीरलाई ४० भन्दा बढी पोषक तत्वको आवश्यकता पर्छ र कुनै एकल भोजनले ती सबै तत्व परिपूर्ति गर्न सक्दैन । त्यसैले सन्तुलित रूपमा विभिन्न प्रकारका पोषणयुक्त खानाको सेवन गर्नुपर्छ । त्यसैले भोजनमा विविधता ल्याउन जरुरी हुन्छ । कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थको अत्यधिक प्रयोग गर्नुपर्छ । चामल, पास्ता, आलु, रोटीलगायतका कार्बाेहाइड्रेटयुक्त खाद्यान्नलाई आफ्नो डाइट चार्टमा समावेश गर्नुपर्छ । स्वस्थ रहन शरीरमा बोसो आवश्यक हुन्छ । यद्यपि, बोसोको मात्रा बढ्यो भने हाम्रो शरीरको तौल र कार्डियोभास्कुलरमा खराब असर गर्छ । त्यसैले फ्याटलाई सन्तुलित राख्न चिल्लोयुक्त खानेकुरा कम प्रयोग गर्नुपर्छ । मांसाहारी खानेकुरा सेवन गर्नुहुन्छ भने बोसो हटाउनुपर्छ । उमालेको वा स्टिम गरेको खानेकुराको बढी प्रयोग गर्नु राम्रो हुन्छ । फलफूल र तरकारीमा हाम्रो शरीरलाई आवश्यक भिटामिन, खनिज र फाइबर हुन्छ । दैनिक रूपमा हामीले कम्तीमा पाँचपटक खाने प्रयास गर्नुपर्छ । प्रत्येकपटक फलफूल र तरकारीको प्रयोग गर्दा शरीर स्वस्थ रहन्छ । खानामा नुन र चिनीको मात्रा पनि घटाउनुपर्छ । नुनको अत्यधिक प्रयोगले ब्लडप्रेसर र मुटुरोगको खतरा बढाउँछ । त्यस्तै, कम सोडियमयुक्त खाद्यसामग्री खरिद गर्नुपर्छ । चिनीजन्य पदार्थको अत्यधिक प्रयोग गर्दा पनि स्वास्थ्यमा प्रतिकूल असर गर्छ । त्यसैले अत्यधिक चिनी प्रयोग भएका पेय पदार्थ वा मिठाई सेवन गर्नुको साटो फलफूल खाँदा राम्रो हुन्छ । समयमा खाना नखाने, नियमित रूपमा नखाने र जंकफुडमा आश्रित हुनाले विभिन्न समस्या बढ्छन् । स्वस्थ रहन दैनिक रूपमा एउटै समयमा भोजन गर्नुपर्ने हुन्छ । भोजनबाट टाढा रहने वा भोक छल्ने उपाय अवलम्बन गर्नाले स्वास्थ्यमा विभिन्न समस्या देखिन्छन् । नास्ताका लागि हामीले दही, ताजा फलफूल र तरकारी, बदाम, गाँजर, पनिरजस्ता स्वस्थकर परिकारको चयन गर्नुपर्छ । खानामा सलादको नियमित प्रयोग गर्नु राम्रो हुन्छ । वयस्क व्यक्तिले दैनिक कम्तीमा पनि एक दशमलव पाँच लिटर तरल पदार्थ सेवन गरेको हुनुपर्छ । यसको सबैभन्दा उत्तम स्रोत पानी हो । पानीको मात्रा कम हुँदा शरीरमा विभिन्न रोग देखिन सक्छ । फलफूलको रस, चिया, दूध र अन्य पेयले पनि शरीरमा तरल पदार्थको मात्रा पूरा गर्छन् र तपाईंलाई स्वस्थ रहन सघाउ पु¥याउँछन् ।

पसिना गन्हाउने समस्या छ ? यस्ता खानेकुरा त्यागौँ

हामी जे खान्छौँ त्यसको असर शरीरमा पर्छ । यसको असर हाम्रो शरीरबाट आउने गन्धमा अर्थात् सुगन्ध वा दुर्गन्ध दुवैमा पर्छ । कुनै खानेकुरा खाँदा शरीरबाट दुर्गन्ध आउँछ, बढी खाइयो भने शरीरबाट सदैव त्यस्ते दुर्गन्ध फैलिरहन्छ । विभिन्न अनुसन्धानले बताएअनुसार केही खानेकुरा त्यस्ता छन् जसलाई गर्मी मौसममा सकेसम्म खानु हुँदैन, खाए पनि थोरै मात्र खानुपर्छ । गर्मी मौसममा त्यस्ता खानेकुराले पसिनाबाट बढी दुर्गन्ध पैदा हुन्छ, पसिना बढी गन्हाउँछ । खानेकुरामा सावधानी अपनाएर पनि पसिनाको दुर्गन्धबाट छुटकारा पाउन सकिन्छ । साथै केही त्यस्ता खानेकुरा पनि छन् जसको सेवनले पसिनाको दुर्गन्ध कम गर्न सघाउ पुर्‍याउँछन् । कुनै कुनै खानेकुराले त शरीर तथा मुखबाट सुगन्ध फैलाउनसमेत सहयोग पुर्‍याउँछन् । दूधः दूधमा कोलिन नामक तत्व पाइन्छ जसले दुर्गन्ध पैदा गर्दछ । दूधको सेवनबाट शरीर गन्हाउने दुष्प्रभावबाट बच्न दही खानुपर्छ । दहीमा त्यस्तो सक्रिय तत्व पाइन्छ जसले दुर्गन्ध फैलाउने तत्वको प्रभाव कम गर्न सहयोग गर्छ । अल्कोहलः अल्कोहलको सेवनले मुख, शरीर तथा पसिना सबैतिर दुर्गन्ध फैलाउँछ । यसको असर कम गर्न कागतीपानी पिउनुपर्छ जसले शरीरबाट टक्सिन निकाल्न मद्दत गर्छ भने अल्कोहलको प्रभाव कम गरी दुर्गन्ध फैलनसमेत रोक्छ । कफीः कफीले शरीर तथा सासको दुर्गन्ध बढाउने काम गर्छ । यसको प्रभाव कम गर्न हर्बल टी पिउनुपर्छ । यसमा हुने एन्टी अक्सिडेन्टले शरीरको टक्सिन बाहिर निकाली दुर्गन्ध कम गराउँछ । काउलीः काउलीमा कोलिन तथा भिटामिन बी पाइन्छ जसले पसिनामा दुर्गन्ध पैदा गराउँछन् । यसको प्रभाव कम गर्न ताजा स्याउको सेवन गर्नुपर्छ । लसुन र प्याजः लसुन तथा प्याजमा सल्फर नामक तत्व पाइन्छ जसको सेवनले पसिना धेरै नै गन्हाउँछ । यसको प्रभाव कम गर्न दालचिनी तथा सुकुमेल खानुपर्छ । फर्सीः फर्सीमा पनि कोलिन पाइन्छ जसले पसिना गन्हाउने समस्या बढाउँछ । यसको प्रभाव कम गर्न सुन्तला खान सकिन्छ । सुन्तलाको सेवनले शरीरमा सुगन्ध फैलाउनसमेत सहयोग गर्छ ।