बाग्लुङ ताराखोलामा माओवादी वडा सदस्य निर्विरोध

बाग्लुङ, वैशाख १२ । बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका वडा नं. ४ मा माओवादी केन्द्रकी उम्मेदवार निर्विरोध निर्वाचित भएकी छिन् ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, उक्त वडामा दलित महिला सदस्य पदको निर्वाचनमा माओवादी केन्द्रकी धनमाया कामी निर्वाचित भएकी हुन ।

विप्लव माओवादीले गाडे मेयरको घरमा कालो झण्डा

चितवन, वैशाख २० । स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाका मेयर पदका उम्मेदवारहरुको घरमा बुधबार कालो झण्डा गाडेका छन् । आज मध्यान्ह १ बजेतिर विप्लब नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले कालो झण्डा गाडेका हुन् । पार्टीका एक नेताका अनुसार उम्मेदवारहरु रेणु दाहाल, देवी ज्ञवाली र दिनेश कोइरालाको घरमा कालो झण्डा गाडिएको छ । राप्ती नगरपालिकामा कांग्रेसका मेयर उम्मेदवार किरण ओली र माओवादी केन्द्रका मेयर उम्मेदवार रामचन्द्र पाठकको घरमा झण्डा गाडिएकोमा तत्कालै निकालिएको चितवन प्रहरी प्रमुख एसपी दिपक थापाले बताए । चितवनमा विप्लव माओवादीका नेताकार्यकर्ताले स्थानीय तहको निर्वाचनमा सहभागी नहुन भन्दै सबै उम्मेदवारलाई चिठी नै पठाएका थिए ।

चार लाख घुससहित दुई जना रंगेहात पक्राउ

काठमाडौँ, २० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा नौकुण्ड गाउँपालिका–१ र २ को कार्यालयको संयुक्त जिम्मेवारी निर्वाह गर्दै आएका वडा सचिव राजेन्द्रकुमार आचार्य र सोही कार्यालयका कार्यालय सहयोगी श्लोक लामालाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय बासिन्दालाई केरुङ नाका भई चीन प्रवेशका लागि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा लिनका लागि आवश्यक पर्ने सिफारिसका लागि सेवाग्राहीसँग सचिव आचार्यले रु एक लाख तिस हजार र कार्यालय सहयोगी लामाले रु तीन लाख बीस हजार घुस लिँदै गरेको अवस्थामा धुन्चेस्थित गोसाइकुण्ड गाँउपालिका–६ को कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

दलित महिला सदस्य निर्विरोध

दोलखा, वैशाख २० । स्थानीय निकायको निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार निर्विरोध भएका छन् । वैत्यश्वर गाउँपालिकाको वडा नं १ मा काँग्रेसको तर्फबाट दलित महिला उम्मेदवार बन्नुभएका ठूली कान्छी विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको हो ।

एक भारतीय युवक चार लाख नगदसहित पक्राउ

पर्सा, वैशाख २० । पर्सा जिल्लामा मङ्गलबार बैंकबाट झिकिएको रु चार लाख लुट्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको आदर्शनगर चोकस्थित सिटिजन्स बैंकबाट झिकिएको रुपैयाँ खोसी भाग्ने क्रममा प्रहरीले भारत विहार जलपाई थान, राजगन्ज ग्राम पञ्चायत आश्रमपुर गाउँ निवासी २० वर्षीय अमिर गवालालाई पक्राउ गरेको हो । बाराको कलैया उपमहानगरपालिका–१६ धर्मनगर निवासी जटाशङ्कर साहले दिउँसो सिटिजन्स बैंकको आप्mनो खाताबाट झिकेको रु चार लाखलाई गवालले खोसी भाग्न लाग्दा काममा खटिएको प्रहरी टोलीले रङ्गेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । उहाँले घरायसी कामलाई रकम झिकी बैंकबाट निस्किन लागेका साहलाई धक्का हानी रकम लुटेर भाग्न खोज्दा प्रहरीले गवालालाई लखेटर पक्राउ गरेको बताउनुभयो । पक्राउ परेका भारतीय नागरिक गवालालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । भारतीय नागरिक गवालामाथि लुटपाट मुद्दा चलाउने तयारीमा प्रहरी रहेको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।

रोल्पामा शिक्षकले टिपी ट्यापको प्रयोग सिके

रोल्पा, वैशाख २० । पानीको अभाव भएको ठाउँमा साबुनपानीले हात धुनका लागि उपयोगी हुने टिपी ट्याप (तिर्तिरे धारो) प्रविधिबारे लिबाङमा शिक्षकलाई तीन दिनसम्म अभ्यास गराइएको छ । जिल्ला समन्वय समितिअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा लिबाङ स्रोत केन्द्रस्तरका प्राथमिक तहका शिक्षकका लागि आयोजना गरिएको पूर्ण सरसफाइ अभिमुखीकरण कार्यक्रममा शुक्रबारदेखि आइतबारसम्म सो अभ्यास गराइएको जिल्ला समन्वय समिति रोल्पाका सरसफाइ फोकल पर्सन दामोदरप्रसाद सुवेदीले आज जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला खुला दिसामुक्त भइसकेपछि पूर्ण सरसफाइ गतिविधि सञ्चालन गर्न जिल्लामा विभिन्न किसिमका कार्यक्रम आयोजना भइरहेका छन् । यसअन्तर्गत विभिन्न क्षेत्रमा अभिमुखीकरण, अध्ययन अवलोकन भ्रमण, बहस पैरवी, बैठक छलफललगायत क्रियाकलापअन्तर्गत पूर्ण सरसफाइमा विद्यालयको महत्वपूर्ण भूमिका हुने भएकाले शिक्षकका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । विद्यालयले नेतृत्व गरेर सञ्चालन गर्ने सरसफाइ क्रियाकलाप अत्यन्त प्रभावकारी हुने भएकाले प्रावि तहका शिक्षकका लागि यो अभिमुखीकरण थालिएको थियो । कार्यक्रममा जिल्लाको पूर्ण सरसफाइ रणनीतिक योजना, नेपालको सरसफाइ गुरुयोजना, पूर्ण सरसफाइका विभिन्न सूचक, चर्पी प्रयोग र त्यसमा सुधार गर्नुपर्ने पक्ष, पानी र यसको सदुपयोगलगायत विभिन्न विषयमा जानकारी गराइएको जिल्ला परियोजना अधिकृत भोलानाथ आचार्यले जानकारी दिनुभयो । कूल ४८ जनाभन्दा बढीको सहभागिता भएको कार्यक्रममा शौचालयको प्रयोगमा प्रयोगकर्ता मैत्रीलगायत पानीको अभाव भएको ठाउँमा कसरी प्रयोग गर्ने भन्ने विषयमा प्रयोगात्मक अभ्यास गराइएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराई, स्थानीय विकास अधिकारी सुशील वैद्य, जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेल, खानेपानी तथा सरसफाइ सबडिभिजन प्रमुख भोलाप्रसाद थापा, जिविसका वास फोकल पर्सन सुवेदी, परियोजनाका जिल्ला परियोजना अधिकृत भोलानाथ आचार्य, जिससका दीपक डिसी, खानेपानी कार्यालयका डिल्लीराज न्यौपानेलगायतले तीन दिनसम्म प्रशिक्षण दिनुभएको आयोजकले जनाएका छन् ।

चुनावलार्इ लक्षित गरी प्रशासनलार्इ आठ थान हतियार बुझाइयो

झापा, २० वैशाख । जिल्लामा एक हजार एक सय ६ वटा इजाजत प्राप्त हतियार भएपनि हालसम्म आठ जनाले मात्र जिल्ला प्रशासनलाई हतियार बुझाएका छन् । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको थियो । कार्यालयले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न बन्दुक, पेस्तोललगायत हतियार तथा त्यसमा प्रयोग हुने गोली गठ्ठा निर्वाचन अवधिभरका लागि प्रशासनलाई बुझाउन आग्रह गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार इलाका प्रहरी कार्यालय अनारमनी र दमकमा तीन-तीन थान हतियार तथा काँकरभिट्टामा दुई थान हतियार बुझाइएको छ । प्रहरीलाई बुझाइएका हतियारमा थान २२ म्याग्नम दुरबिनसहितको एक थान, म्याग्नम सटगन एक थान र १२ बोरे एक नाले ६ थान रहेका छन् ।

दुर्घटनामा एकको मृत्यु, १३ जनाको घाइते

काठमाडौंँ, वैशाख २० । पथरी पूर्वपश्चिम मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती टोलमा भएको सडक दुर्घटनामा १ जनाको ज्यान गएको छ । दुर्घटनामा परी १३ जना घाइते भएका छन् । दिउँसो करिब १ बजेको २४.प.६०६ नम्बरको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा विपरीत दिशाबाट आएको ना.७.ख २६५१ नम्बरको बससँग ठोक्किँदा मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गएको हो । बससँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक पथरीशनिश्चरे–१० का ४५ वर्षीय पृथ्वीबोल राईको ज्यान गएको हो । मोटरसाइकललाई ठक्कर दिई बस अनियन्त्रित भई उत्तरतर्फको गहिरो भागमा झरेको थियो । सो क्रममा बसमा रहेका झापा विर्तामोडकी विमला तामाङ, गौरादह–६ की मेनुका भट्टराई र गीता भट्टराई, मोरङ डाँगीहाट–१ का अशोक धिमाल, उर्लाबारी–३ की गीता गौतम, उर्लाबारी–४ की गोमा विकसहित १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । घाइतेको पथरी हस्पिटलमा उपचार भइरहेको छ ।

सेनाद्वारा सकेट बम नष्ट

उदयपुर, वैशाख २० । उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका–२ स्थित सिरबानी गाउँको एक कृषकको घरनजिकै भेटिएका ६ थान सकेट बमलाई मङ्गलबार नेपाली सेनाको भवानी दल गुल्म, ताराघारी, कटारीको टोलीले नष्ट गरेको छ । नेपाली सेना भवानी दल गण, उदयपुर बोक्सेका अनुसार स्थानीय एक कृषकको घरनजिकै बमजस्तो वस्तु देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए भने प्रहरीले तत्काल सेनालाई खबर गरेको थियो । भवानी दल गुल्म ताराघारी कटारीका क्याप्टेन भरत गिरीको नेतृत्वमा गएको ६ जनाको बम डिस्पोजल टोलीले घटनास्थलमा गएर बम नष्ट गरेको भवानी दल गण उदयपुर बोक्सेका प्रमुख सेनानी सुमन खड्काले बताउनुभएको छ । बम विगतमा माओबादी द्वन्द्वकालमा छाडिएको वा कसैले लुकाएको हो यस विषयमा भने अध्ययन भइरहेको पनि सेनाले बताएको छ ।

अत्याधुनिक बसपार्क निर्माणका लागि करोडौँको जग्गादान

इलाम, वैशाख  २० । इलामको सूर्याेदय नगरपालिकास्थित फिक्कल बजारमा अत्याधुनिक बसपार्क निर्माणका लागि स्थानीयवासीले करोडौँ मूल्य पर्ने १० रोपनीभन्दा बढी जग्गा दान दिएका छन् । बसपार्कका लागि सूर्याेदय नगरपालिका–८ छिपिटारमा स्थानीयवासीले १० रोपनीभन्दा बढी जग्गा दान दिएका हुन् । स्थानीयवासी उत्तमकुमार श्रेष्ठ र मीनाकुमारी श्रेष्ठले तीन-तीन रोपनी जग्गा दान दिनुभएको छ । सूनपा–१० का श्यामकुमार घिमिरेले दुई रोपनी आठ आना, रोशन श्रेष्ठले तीन रोपनी जग्गा बसपार्क निर्माणका लागि जग्गा उपलब्ध गराउनुभएको छ । चलनचल्तीको भाउमा फिक्कलमा एक रोपनी जग्गाको करिब रु ३० लाखभन्दा बढी पर्छ । बसपार्क निर्माणका लागि नगरपालिका कार्यालयले चालु आवमै रु १५ लाख ६३ हजार रकम विनियोजन गरिसकेको र निर्माण प्रक्रिया अघि बढाइसकेको नगरपालिकाका प्राविधिक गोविन्द पौडेलले बताउनुभयो । नगरपालिकाले निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं १ बाट रु नौ लाख ७० हजार, आन्तरिक स्रोतबाट रु चार लाख ६९ हजार र उपभोक्ता समितिबाट रु एक लाख २३ हजार विनियोजन भएको हो । प्रारम्भिक पूर्वाधार निर्माण अन्तर्गत बसपार्क प्रवेश गर्ने प्रवेश मार्ग र बसपार्क सम्याउने काम थालिनेसमेत प्राविधिक पौडेलले बताउनुभयो ।

बिप्लपका कार्यकर्ताले राखे उपमहानगरपालिकाको बोर्डमा जनपरिषद्

लोकेश धामी कैलाली, वैशाख १९ । नेत्रबिक्रम चन्द नेतृत्चवको नेपाल कम्युनिस्ट पार्टीले धनगढी उपमहानगरपालिका कार्यालयको गेटामा राखिएको बोर्डमा उपमहानगरपालिका मेटाएर जनपरिषद लेखेको छ । विप्लवका कार्यकर्ताहरुले सोमबार राती बोर्डमा नाम परिवर्तन गरी त्यहाँ जनपरिषद् लेखेका भएपनि मंगलबार मात्रै सो देखिएको थियो । चुनाव स्थगित गरी जनपरिषद गठन गर्नुपर्ने माग राख्दै सो पार्टीले चुनाव विरुद्धको देशव्यापी कार्यक्रम अन्तरगत उपमहानगरपालिकाको बोर्डमा जनपरिषद लेखिएको नेपाल कम्युनिष्ट पार्टी कैलालीका सचिव गणेश ढकालले बताए । संसदीय प्रणाली नेपालमा असफल भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले जनसरकारको घोषणा गरेको ढकालले बताए । स्थानीय तहको चुनाव जालझेल र जनतालाई धोका भएको दावी गर्दै सो पार्टीले चुनाव हुन नदिने बताएको छ । राजतन्त्रको अन्त्य भईसके पनि नेताहरुमा निरंकुश शैली कायमै रहेको सो दलको आरोप छ । सचिव ढकालले अब आफ्नो पार्टीले जनसरकार चलाउने बताए । धनगढी उपमहानगरपालिकाका प्रशासकिय अधिकृत सुरेन्द्रसिंह कार्कीले यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको बताए । यसले सुरक्षा चुनौति देखिएको भन्दै कर्मचारीको सुरक्षा माग गरिएको उनले बताए । निर्वाचनको वातावरणलाई विथोल्ने गतिविधि भए पनि प्रशासनले गम्भीर रुपमा नलिएको कतिपयले बताएका छन् । गृह मन्त्रालयले विप्लव नेतृत्वको माओवादी चुनावी सुरक्षाको चुनौति रहेको निष्कर्ष निकालेको थियो ।

मिटर ब्याज र ढुकुटीले तरायाे धेरैकाे उठिवास !

लोकेश धामी धनगढी, बैशाख १९ । धनगढी बजार क्षेत्रमा चर्को मिटर ब्याज र ढुकुटीले थुप्रैको घरबार विगँ्रदै गैरहेको छ । प्रहरी र स्थानीय प्रशासनको मौन स्विकृतिमा फैलिदो रुप लिई रहेको मिटर ब्याज र ढुकुटीकाका कारण केही रातारात करौडौको सम्पत्ति जोड्न सक्षम भएका छन् भने केहि आत्महत्यासम्म गर्ने प्रयास र ठाउँ छोडेर भागेका छन् । केही समय अघि मात्रै मिटर व्याज र ढुकुटीको सिकार भएर परिवार सहित धनगढी छोडेर भागेका डेरी व्यवसायी दीपक खड्का, खाद्यान्न व्यवसायी विकाश अग्रवाल, राजेश गुप्ता, नितेश शर्मा लगायत आधा दर्जन भन्दा बढी व्यवसायीहरु चर्को मिटर व्याज तिर्न नसकेर भाग्न बाध्य भएका हुन् । श्रीमतीलाई अगाडी सारेर ढुकुटीको कारोवार गरिरहेका धनगढीका सम्भ्रान्त परिवारका पुरुषहरु त्यहि पैसामा विलासिताको जीवन बिताई रहेका छन् । ‘हिजोसम्म भारतीय बजार गौरीफन्टाबाट चिनी र दाउरा ल्याएर बेचेर गुजारा गरिरहेकाहरु अहिले आलिसान महलमा बसिरहेका छन्’ धनगढीका बिशाल साउँदले भने । मिटर ब्याजको कारोवारले महंगा गाडी चढ्न सफल उनीहरु केहि स्थानीय राजनैतिक दलको आडमा तथा केहि प्रहरी प्रशासनको आडमा नै अबैध मिटर व्याज र ढुकुटीको कारोबार भैरहेको उनी बताउँछन् । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दैनिक जसो ४ देखि ६ जनासम्म मिटर व्याज र ढुकुटीले फसाएको भन्दै उजुरी गर्न आउने गरेको बताउँछन । नगद कारोवार गर्ने हुँदा प्रशासनले केही पनि गर्न नसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले दुवै पक्षलाई बोलाएर छलफल गर्न बाहेक आफूले केहि पनि गर्न नमिल्ने बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दले फाटफुट रुपमा केहि उजुरी परेपनि सबुत प्रमाण सहित ठगिएको भनेर कोही पनि नआउने गरेको बताए । तर कारोवार गर्दा चेकमार्फत गरेमा गरेमा कारवाही गर्ने आधार बन्न सक्ने उनले बताए । घरायसी गर्जो टार्न होस वा औषधी उपचारका लागि वा बैदेशिक रोजगारीमा जाने अथवा उच्च शिक्षा हासिल गर्न विदेश जानेहरुलाई दिईने सापटी रकमलाई मिटर व्याजको कारोबार गर्नेहरुले प्रलोभनमा पारेर चाहिएजति पैसा दिने गर्दछन् । जस्तो ३० लाख रुपैया आवश्यक परेको व्यक्तिलाई शुरुमै ब्याज वाफत २० प्रतिशत (६ लाख) रकम कटाएर दिने गर्दछन् । त्यसपछि प्रत्येक महिना पुनः ३० लाखकै १० प्रतिशत (.३ लाख) का दरले व्याज लिने गर्दछन् । १ वर्ष भित्र तिर्न नसके रकमको ब्याज दोब्बर बनाउदै लैजाने गर्दछन् । यसरी ३० लाख रुपैया सापटी भनेर लिएको व्यक्तिले शुरुमै ६ लाख कटाएर २४ लाख रुपैया मात्रै पाउँछ र वर्षभरि उसले ३० लाखको मासिक ३ लाखका दरले ३६ लाख र सुरुमै तिरेको ६ लाख गरि ४२ लाख रुपैया त व्याज मात्रै तिनु पर्छ । यसरी व्याज वाफत पाएको रकम प्रहरी र प्रशासनलाई समेत दिईने गरेकाले अबैध मिटर व्याज र ढुकुटी संचालकहरु खुलेआमरुपमा समाजमा आफ्नो धाक जमाएर बस्ने गरेका छन् । कसरी खेलाईन्छ ढुकुटी ? ५ करोडको ढुकुटीमा १० जनालाई समावेश गराएर मासिक ५० लाख रुपैया किस्ता तिर्ने गरि संचालकले ढुकुटी शुरु गर्छ । पहिलो ढुकुटी खानेले संचालककै आदेश अनुसार २ करोड ५० लाखमा खान्छ जसका लागि किस्ता तिर्नेहरुलाई २५ लाख तिरे पुग्छ । सो वाफत संचालकले ढुकुटी खाने संग १० लाख रुपैया लिन्छ । यसरी प्रत्येक महिना १० लाखका दरले संचालकले ९ महिना सम्म ९० लाख रुपैया कमाई सकेको हुन्छ र अन्त्यमा संचालकले पुरै ५ करोड पाउँछ । यसरी ढुकुटी खेल्नेहरुले मासिक २५ लाखका दरले ९ महिना सम्म २ करोड २५ लाख र अन्तिम किस्ता वाफत ५० लाख गरेर २ करोड ७५ लाख तिर्छन् । आफुले ढुकुटी खादा २ करोड ४० लाख मात्रै पाउँछ भने १० महिनामा तिर्दा २ करोड ७५ लाख तिर्नु पर्छ । अझै यसमा कुनै एक व्यक्ति भागेको भएको खण्डमा उसको भागमा पर्ने रकम संचालक बाहेक सबैले दामासायीले तिर्नु पर्छ । ढुकुटी खेलाईने स्थान भने महिनैपिच्छे फरक फरक हुन्छ, कहिले जाखौर ताल, कहिले बडहरा जंगल क्षेत्र त कहिले व्युटिपार्लर त कहिले रेष्टुरेन्ट र होटलहरुमा । ढुकुटी खाने दिन नगद मै कारोवार गर्ने हुँदा फरक फरक स्थानलाई छनौट गर्ने गर्दछन् । यसरी ढुकुटी खाएपछि त्यो पैसा बैकमा नराखेर मिटर व्याजमा लगाउने गरिन्छ । बैकको व्याज भन्दा मिटर व्याजमा राम्रो आम्दानी हुने हुदा मिटर व्याजको जालो बढ्दो छ ।

निर्वाचन आचारसंहिताबारे संचारमाध्यमहरुबीच छलफल

काठमाडौं, वैशाख १९ । राजधानीमा स्थानीय तहको निर्वाचन आचारसंहिताको अनुगमन गर्ने सम्वन्धमा वृहत छलफल भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना गरेको उक्त छलफलमा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सार्वजनिक सम्पत्ति तथा स्रोतसाधनको दुरुपयोग गर्ने प्रबृत्तिलाई निरुत्साहित पार्दै निर्वाचनलाई स्वच्छ, निश्पक्षरुपमा सम्पन्न गर्न प्रभावकारी अनुगमन र निगरानी गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । पूर्व प्र.नि.आ.उप्रेतीले देशभरका मिडिया खासगरी एफएम रेडियो तथा अनलाइनतर्फ काउन्सिल केन्द्रीत भई अनुगमन गरी गल्ती गर्ने र पीडित पक्ष दुवैलाई ठीक लाग्नेगरी कारवाही थाल्नुपर्ने, महिला, दलित र पिछडिएका वर्गको प्रतिनिधित्व हुनैपर्ने संविधानिक सुनिश्चिताले उम्मेदवारको ब्यक्तिगत चरित्र हत्या, लाञ्छना, भेदभाव हुनेगरी प्रकाशन÷प्रसारण हुन सक्नेतर्फ सचेत गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले मिडिया कोही कसैप्रति पूर्वाग्रही नहुन र सन्तुलन कायम राख्न मिडियाले जोड दिएका थिए । तस्विर रिपोर्ट : महेन्द्रराज सिंह, काठमाडौं

फरार १९ प्रतिवादी पक्राउ

गौशाला, वैशाख १९ । महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएर वर्षौदेखि फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीले एक साताभित्र पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार जिल्लाका विभिन्न गाउँ ठाउँमा वारदात गरी अदालतबाट दोषी ठहर भई कैद र जरिवाना तोकिएर फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको हो । स्थानीय तहको निर्वाचनमा फरार प्रतिवादीले अवाञ्छित गतिविधि गर्न सक्ने सम्भावना बढेकाले जिल्ला अदालतको आदेशमा प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष अभियान चलाएको छ । कुटपिट, जालसाजी, ठगी, चोरी, परीक्षामा अनियमित गतिविधिलगायत विभिन्न मुद्दामा फरार रहेकाहरुलाई पक्राउ गरिएकामा १८ जनासँग जरिवाना असुल र एक जनालाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

हिमपातः धोदेखि साल्दाङ जान हेलिकप्टर

डोल्पा, वैशाख १९ । स्थानीय तहको चुनाव गराउनका लागि उपल्लो डोल्पा हिँडेको निर्वाचन अधिकृत, सुरक्षाकर्मी तथा अन्य कर्मचारीसहितको टोलीलाई विकट क्षेत्र धोबाट साल्दाङ जानका लागि हेलिकप्टर प्रयोग गरिएको छ । मौसम खराबीसँगै भएको भारी हिमपातले धो–साल्दाङ जाने बाटो अवरुद्ध भई धो पुगिसकेको उक्त कर्मचारीको टोली जान नसकेपछि सेनाको हेलिकप्टर व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय, डोल्पाले जनाएको छ । उक्त टोलीलाई आज सेनाको हेलिकप्टरबाट धोबाट साल्दाङ पु¥याइएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले जानकारी दिनुभयो । थुप्रै भौगोलिक कठिनाइबीच पनि उपल्लो डोल्पामा निर्वाचन गराउन कर्मचारी हिँड्ने क्रम जारी रहेकाले यही वैशाख २१ गतेसम्म सबै कर्मचारी हिँडिसक्ने र वैशाख २७ गतेभित्र पुगिसक्ने समेत निर्वाचन अधिकारी बुढाले जानकारी दिनुभयो । उपल्लो डोल्पाका २२ वटै मतदान केन्द्रमा निर्वाचन अधिकृत पुगेर पनि आज धमाधम उम्मेदवार मनोनयन दर्ता कार्य भइरहेको समेत बुढाले जानकारी दिनुभयो ।

दलित समुदायको पुर्खौली पेसा संकटमा

कैलाली, वैैशाख १९ । कैलालीको गौरीगंगा नगरपालिका–९ भगवानपुर भन्ने ठाउँका रहेका दलित समुदायको पुर्खौली पेसा संकटमा पर्दै गएको छ । आरनमा बनाईने कृषि औजारदेखि सिलाईको काम र बांँस तथा वेदबाट निर्माण गरिने सामग्री अभाव हुन थालेपछि उनीहरुको पहिलेदेखि चल्दै आएको पेसा संकटमा पर्दै गएको हो । उक्त सामग्री बनाउनका लागि कच्चा पदार्थ संकलन गर्न धेरै टाढा धाउनुपर्ने हुन्छ । मिहिनेतअनुसार फल नपाएपछि उनीहरु वर्षौदेखिको पुर्खौली पेसाको विकल्प खोज्न थालेका छन् । उक्त बस्तीमा करिब १२० घरधुरी दलित समुदायको छ । पहिले यो समुदायका अधिकांश व्यक्ति पुर्खौली पेसाबाट निकै सन्तुष्ट देखिन्थे । तर, हिजोआज भने सामग्री निर्माणका लागि कच्चा पदार्थ अभाव हुँदा उनीहरुको पेसा संकटमा परेको छ । यो वस्तीमा अधिकांशले बाँस अनि बेदबाट बन्ने डोको, नांङलो, डालोलगायतका सामग्री निर्माण गर्छन । यिनै सामग्री बिक्री भएको पैसाबाट गर्जो टार्दै आएका छन् । पहिले यी सामग्री बचेर जीवन गुजारा चलाउन त्यति समस्या नभएपनि अचेल भने यो पेसाबाट घरव्यवहार चलाउन निकै समस्या भइरहेको स्थानीय उज्वल भूलले गुनासो गरे । विभिन्न घरायसी सामग्री निर्माण गरेपनि नजिक बजार नहुँदा आफूहरुलाई झनै समस्या भएको उनले बताइन् । सामान बनाए पनि मेहनत अनुसार मूल्य नपाउँदा पुर्खौली पेसाको विकल्प रोज्नुपर्ने बाध्यता आएको उनको भनाइ छ । सरकारले पनि अन्य नागरिकभन्दा फरक ठानेको यो बस्तीका दलित अगुवाको गुनासो छ । चुनावको बेला मात्रै निकै मिठा भाषण दिने तर, चुनाव जितेपछि भने फर्केर नहर्ने गरेको अर्की स्थानीय मैनादेवी भूलले आक्रोश पोखिन् । सरकारले पनि आफूहरु जस्ताको पेसा संकटबाट जोगाउन सहयोग गरेमा जीवन निर्वाह गर्न निकै मद्दत पुग्ने उनले आशा व्यक्त गरिन् । पुर्खौदेखि बाउ बाजेले आरनमा बनाईने कृषि औजारदेखि सिलाईको काम गरेर जीवन निर्बाह गरेकामा अब भने यही व्यवसाय गरेर जीवन धान्न मुस्किल भइरहेको सो वस्तीका व्यक्तिको भनाइ छ । यस वस्तीका अधिकांश परिवारको जग्गा जमिन पनि थोरै छ । जस कारण पनि बर्षदिनमा केही नगरी खान नपुग्ने गरेको स्थानीय धनबहादुर भूलको भनाइ छ । भएको जग्गा पनि अधिकांशको एलानी नै रहेको उनको गुनासो छ । यो बस्तीका अधिकांश व्यक्तिमा केही न केही सिप छ । तर, उक्त सीपले आधुनिकरुप लिन नसक्दा उनीहरुको आय आर्जनको माध्यम टुट्दै गएको छ । अब सरकारले उनीहरुको सीपको मूल्याङ्कन गर्दै उत्पादित सामग्रीको बजारीकरणमा सहयोग गर्नुपर्ने दलित अगुवा गंगाराम सुनारले बताए ।