महानगर प्रमुखमा उम्मेदवार बन्न उपप्राध्यापकबाट राजीनामा

पोखरा, वैशाख १६। स्थानीय तहको निर्वाचनमा पोखरा–लेखनाथ महानगरपालिका प्रमुखमा उम्मेदवार बन्न देवराज चालिसेले उपप्राध्यापकवाट राजीनामा दिनुभएको छ ।

नेपाली काँग्रेसबाट प्रमुख उम्मेदवारको सिफारिसमा पर्नुभएका चालिसेले एक हप्ताअघि त्रिवि उपकुलपतिको कार्यालयमा राजीनामा दिएको पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख वसन्त पराजुलीले जानकारी दिनुभएको छ ।
उहाँ सो क्याम्पसमा राजनीतिशास्त्रमा प्राध्यापन गर्दै आउनुभएको थियो । काँग्रेस कास्कीले महानगरपालिका प्रमुखका लागि उहाँसहित ३३ जनाको नाम पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरिपठाएको जिल्ला सदस्य नवीन सिग्देलले बताउनुभयो ।

चन्द्रागिरिमा जनमोर्चाबाट उपप्रमुख छनौट

काठमाडौँ, वैशाख १५ । राष्ट्रिय जनमोर्चाले चन्द्रागिरि नगरपालिकाको उपप्रमुखमा रोशन दानीलाई उठाउने भएको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नगरपालिकामा आयोजित एक कार्यक्रममा उक्त दलका अध्यक्ष चित्रबहादुर केसीले दहचोक निवासी दानीलाई उपप्रमुख, वडा नं– १ को अध्यक्षमा धर्मराज दानी र वडा नं– ६ को अध्यक्षमा मनहरी बलामीको उम्मेदवारी सार्वजनिक गरिएको छ । उम्मेदवार घोषणा कार्यक्रममा अध्यक्ष केसीले देश बिखण्डनतर्फ उन्मुख भइरहेकोले त्यसलाई रोक्न सचेत युवा एकजुट बन्नुपर्नेमा जोड दिए । पार्टीका चन्द्रागिरि नगरसमिति इन्चार्ज गणेश कुँवरकाअनुसार नगरपालिकाको अन्य पदका लागि उम्मेदवार छनौट गर्ने काम भइरहेको छ ।

दुई हप्तादेखि स्थानीयवासी अन्धकारमा

पाँचथर, १५ वैशाख । फिदिम नगरपालिका– १२ नागिनमा गत दुई हप्तादेखि बिजुली–बत्ती अवरुद्ध भएका कारण त्यहाँका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन् । नागिनमा रहेको बिजुलीको टान्र्समिटर जलेपछी वडा नम्बर– १२ का करिब एक सय ५० भन्दा बढी घरका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका हुन् । सो क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले हालसम्म पनि घरमा इनर्जी मिटर नदिएका कारण एउटा ठूलो पावरको मिटर मार्फत धेरै घरमा बिजुली बाल्दा टान्समिटर नै जलेको हुनसक्ने उपभोक्ताको अनुमान छ । सो टान्र्समिटर बनाएर ल्याउन समय लाग्ने भएकाले अझै केही दिन कुर्नुपर्ने प्राधिकरणले जनाएको छ । उपभोक्ताले फिदिम विद्युत् सहकारीको बेवास्ताका कारण अन्धकारमा बस्न बाध्य हुनुपरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् । यता तीन दिनदेखि गएको बिजुली अहिलेसम्म पनि नआएका कारण फिदिम ७ र ८ रानिटारका १३ घरपरिबार अन्धकारमा रात बिताउनु परेको स्थानीयवासी राम बास्कोटाले बताए ।

माओवादी केन्द्र गोरखाले छान्यो उम्मेदवार

गोरखा, वैशाख १५ । स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र गोरखा कमिटीले दुईओटा नगरपालिकासहित ९ ओटा गाउँपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको नाम सार्वजनिक गरेको छ । सदरमुकाममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज चूडामणि खड्काले गोरखा नगरपालिकाको प्रमुखमा कृष्णबहादुर रानालाई उम्मेदवार बनाउने पार्टीको सर्वसम्मत् निर्णय भएको जानकारी दिए । उपप्रमुखमा भने कसलाई उम्मेदवार बनाउने भन्ने यकिन नभइसकेको तर चुनावी तालमेलका लागि नेपाली कांग्रेस, एमाले र राप्रपासँग छलफल भइरहेको बताए । पालुङ्टार नगरपालिकाको प्रमुखमा गुणराज देवकोटा र उपप्रमुखमा पम्फा बसेललाई उम्मेदवार उठाउने निर्णय भएको जनाइएको छ । यस्तै, चुमनुब्री गाउँपालिकाको अध्यक्षमा लाक्पा डुण्डप लामा र उपाध्यक्षमा कुमारी गुरुङ तथा धार्चे गाउँपालिकाको अध्यक्षमा सूर्य गुरुङ र उपाध्यक्षमा आशा गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको पार्टी नेत्री कमला नहर्कीले जानकारी दिइन् । सुलिकोट गाउँपालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ, आरुघाट गाउँपालिकाको अध्यक्षमा जगन्नाथ खनाल र उपाध्यक्षमा अमृता लामा, भीमसेन गाउँपालिकाको अध्यक्षमा लोकप्रसाद बञ्जरा र उपाध्यक्षमा लीला श्रेष्ठ, सहिद लखन गाउँपालिकाको अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा देवकोटालाई उठाउने निर्णय भएको छ । गन्डकी गाउँपालिकाको अध्यक्षमा दीपक तिमिल्सिना र उपाध्यक्षमा पूर्णा थापा, अजिरकोट गाउँपालिकाको अध्यक्षमा दीपक देवकोटा र उपाध्यक्षमा अनिता भुजेल, सिरानचोक गाउँपालिकाको अध्यक्षमा नवराज पुडासैनीलाई उठाउने भएको छ भने उपप्रमुख तोक्न बाँकी छ । नेपाली कांग्रेस, नेकपा एमालेले भने अहिलेसम्म उम्मेदवार तय गर्न सकेका छैनन् । आकांषी धेरै हुँदा सर्वसम्मत् उम्मेदवार तय गर्न नसकिएको बताइएको छ । कांग्रेसले नगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्रमा नै छनोट गर्ने गरी गृहकार्य गरिरहेको छ भने एमालेले प्रदेश कमिटीबाट नगरपालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार तोक्ने बताइएको छ । गाउँपालिकामा भने सर्वसम्मतरुपमा उम्मेदवार तोकिएका छन् ।

निर्वाचनविरोधी नारा विप्लव माअाेवादी कार्यकर्ता पक्राउ

चितवन, वैशाख १५ । भरतपुर महानगरपालिका र तीनओटा वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर निर्वाचनविरोधी नारा लेख्ने एक व्यक्तिलाई प्रहरीले शुक्रबार बिहान नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार बिहीबार राति भरतपुर महानगरपालिका, महानगरको वडा नम्बर–१, ५, १८ र १९ संयुक्त वडा कार्यालयको साइनबोर्डमा कालो पोतेर ‘नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, कथित निर्वाचन बहिस्कार गरौं, जनसत्ता स्थापना गरौं’जस्ता नारा लेखिएका थिए । उक्त कार्यमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता भरतपुर–१८ का तिलबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । थापाकाअनुसार श्रेष्ठले आफ्नो ना२प १४२४ नम्बरको मोटरसाइकलमा अर्का एक व्यक्तिलाई राखेर साइनबोर्डमा कालो पोत्दै हिँडेका थिए । प्रहरी प्रमुख थापाले निर्वाचनविरोधी अभियान हुन नदिन थप सुरक्षा सतर्कता अपनाइएको बताए ।

जहाँतही बाटो काट्नेलाई जरिवाना

काठमाडौँ, वैशाख १५ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्नेलाई रु २०० जरिवाना गर्नेभएको छ । महाशाखाले आज आयोजना गरेको ‘बढ्दो सवारी साधन र दुर्घटना न्यूनीकरणको अभियान’मा उपत्यकामा हुने दुर्घटनामध्ये ४० प्रतिशत पैदल यात्रु मरेको भन्दै यसको न्यूनीकरणका लागि आगामी जेठ १ गतेदेखि जरिवना गर्न लागेको हो । कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रहरी आयुक्त एवम् प्रहरी नायब महानिरीक्षक बमबहादुर भण्डारीले राज्यले ट्राफिक क्षेत्रलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । उनले भने, “जेब्राक्रसिङमा चालक र यात्रु दुबै सचेत भएमात्र दुर्घटनामा कमी आउँछ ।” प्रनाम भण्डारीले सडकमा छाडा गाईबस्तु छोड्दा धेरै दुर्घटना भएको भन्दै यसबारे सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताउनुभयो । काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले काठमाडौँलाई शान्त र सुन्दर सहर बनाउनका लागि महानगरपालिका लागिपरेको बताए । महाशाखाका प्रमुख मिङमार लामाले उपत्यकामा हुने दुर्घटनामध्ये अधिकांश मोटरसाइकल र स्कुटरबाट हुने भएकाले यसको न्यूनीकरणका लागि यो अभियान चलाएको बताए । उनले सडक सुरक्षासम्बन्धी उपत्यकाका २६ वटा सामुदायिक केन्द्रमार्फत आजैदेखि जनचेतना कार्यक्रम सञ्चालन गरिएको बताए । त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपाने, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष अजय राईलगायतले नियम सञ्चालनसँगै कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।

वान बेल्ट वान रोडमा सम्झौता गर्न अर्थमन्त्री महरा चीन जाँदै

काठमाडौं, वैशाख १५ । बहुप्रतिक्षित ‘वान बेल्ट, वान रोड’ परियोजनामा सम्झौत ागर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा चीन जाँदैछन् । चिनियाँ राष्ट्रपतिबाट प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा प्राप्त भएको भएपनि चुनावका कारण प्रचण्ड व्यस्त हुने भएपछि महराले सम्झौतामा हस्ताक्षर गर्ने छन् । नेपालको हस्ताक्षर यस परियोजना सम्बन्धी आयोजना गरिएको सम्मेलनपूर्व नै हुन गइरहेको छ । चीनले बेइजिङमा मे १४ र १५ मा ओबर सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । उक्त सम्मेलनमा नेपालका तर्फबाट सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की सहित परराष्ट्र, भौतिक योजना तथा निर्माण र वाणिज्य मन्त्रीलाई निमन्त्रणा गरिएको छ। उपप्रधानमन्त्री महराको नेतृत्वमा बेइजिङ जाने टोलीले चीनसँग ओबरमा सम्झौता गर्ने तयारी भइरहेको र सम्झौता र सम्मेलनमा सहभागिता सम्बन्धी सम्पूर्ण तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ । रेल–वे, समुन्द्री मार्ग लगायतका पूर्वाधार निर्माण, व्यापारिक अन्तरसम्बन्धसहितको ओबर–पहलसम्बन्धी यो सम्मेलन चिनियाँ राष्ट्रपति सी जिनपिङले अघिल्लो वर्ष आव्हान गरेका हुन्। सम्मेलनमा २८ देशका नेता र १ सय १० देशका प्रतिनिधि सहभागी हुने  छ। गत चैत्रमा भएको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको समयमा चिनियाँ राष्ट्रपति सी जिङपिङले ओबर बारे जिज्ञासा राखेका थिए। चीन भ्रमणबाट फर्कने क्रममा प्रधानमन्त्री दाहालले आफुले ओबरमा प्रतिवद्धता जनाएको बताएका थिए। चीनको महत्वकांक्षी ओबर परियोजनालाई संसार कै ठूलो आर्थिक करिडोरको रुपमा लिने गरिन्छ। परियोजनाले एसिया, युरोप र अफ्रिका जोड्ने छ। ओबरलाई संसारकै ठूलो आर्थिक करिडोर र भौतिक पूर्वाधार निर्माण सम्बन्धी चिनियाँ पहलकदमीका रुपमा लिइन्छ । यसबाट ६६ देश लाभान्वित हुने चीनले बताउँदै आएको छ। यसका लागि चीनकै पहलमा एसियाली पूर्वाधार लगानी बैङ्क र सिल्क रोड फन्ड समेत स्थापना गरिएको छ। रेल सेवा, सडक पूर्वाधार सञ्जाल, बन्दरगाह, अन्तर्देशीय विद्युत् प्रसारण लाइन निर्माण र आपसी व्यापारको व्यापक अवधारणालाई यो परियोजनाले समेटेको छ । चीनले एसिया, युरोप र अफ्रिकामा आफ्नो समग्र लगानी, व्यापार र सहयोगको अवधारणाअन्तर्गत यस क्षेत्रमा पूर्वाधार निर्माण, कृषि, ऊर्जा, पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोग गर्ने चीनको प्रस्ताव छ । चीनको पहलमा एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकमा ४० अर्ब डलरको रेसमी मार्ग कोष स्थापना भएको छ । यो कोषको रकम नेपालजस्ता अति आवश्यक ठानिएका र न्यून आर्थिक क्षमता भएका मुलुकमा अनुदान वा ऋणका रूपमा लगानी गरिनेछ । यस दृष्टिले नेपालको पूर्वाधार विकासका लागि यो कोष महत्त्वपूर्ण स्रोत हुन सक्छ ।

को को छन् त माओवादी केन्द्र चितवनका उम्मेदवार (नामावली)

चितवन, वैशाख १५ । नेकपा माओवादी केन्द्र चितवनले स्थानीय निकायका बिभिन्न पदमा उम्मेदवार सार्वजनिक गरेको छ । चितवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको हो । को को छन् उम्मेदवार ? भरतपुर महानगरपालिकाः प्रमुखमा रेणु दाहाल र उपप्रमुखमा सुरेन्द्र गुरुङ रत्ननगर नगरपालिका: प्रमुखमा पूर्णबहादुर अम्गाइ र उपप्रमुखमा सङ्गीता भट्टराई खैरहनी नगरपालिका : प्रमुखमा एकराज डल्लाकोटी र उपप्रमुखमा रेवती उप्रेती राप्ती नगरपालिका : प्रमुखमा रामचन्द्र पाठक र उपप्रमुखमा कल्पना लामा माडी नगरपालिका: प्रमुखमा ठाकुरप्रसाद ढकाल र उपप्रमुखमा सरिता महतो कालिका नगरपालिका: प्रमुखमा रामध्वज डल्लाकोटी र उपप्रमुखमा सविता लामा इच्छाकामना गाउँपालिका: अध्यक्षमा प्रताप गुरुङ र उपाध्यक्षमासावित्री सिलवाल

अब चुनावको जानकारी मोबाइल एप्सबाट

काठमाडौं, वैशाख १५ । निर्वाचन आयोगले चुनावसँग सम्बन्धित जानकारी सहजरुपमा उपलब्ध गराउन मोबाइल एप्स निर्माण गरेको छ । मोबाइलमा डाउनलोड गरी राखेपछि उक्त एप्सबाट मतदाताको व्यक्तिगत विवरण र मतदानका बारेमा आवश्यक सूचना प्राप्त गर्न सकिने छ । आयोगले एप्सलाई सार्वजनिक भने गरेको छैन । मोबाईल एप्सका माध्यमबाट इन्टरनेटको पहुँच हुने आम मतदातालाई निर्वाचनका बारेमा सबै सूचना प्राप्त हुने आयोगले जनाएको छ । एप्सको प्रयोगबाट मतदाताले मतदानस्थलदेखि मत कसरी खसाल्ने सम्मका जानकारी पाउने छन् । आयोगले मतदाता शिक्षाका बारेमा पोष्टहरु समेत व्यापकरुपमा वितरण गरेको छ । यस्ता पोष्टरमा मतदाता शिक्षा, आचारसंहिता आदिका बारेमा जानकारी राखिएको छ । मोबाइल एप्सले चाहिँ सबैभन उत्कृष्टरुपमा सूचना प्रवाह गर्ने देखिन्छ ।

वन्यजन्तु संरक्षणका लागि वनमा गाईबस्तु चराउन बन्द

रत्ननगर (चितवन), १५ वैशाख । पर्यटकीय क्षेत्रका रुपमा विकास भएको पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गाईबस्तु चराउन बन्द गरेको छ । पर्या–पर्यटनको विकास र वन्यजन्तु संरक्षणका लागि यहाँ चरिचरन बन्द गरिएको कुमरोज सामुदायिक वनका कार्यालय सचिव भरत नेपालले जानकारी दिनुभयो । सामुदायिक वन संरक्षण भएसँगै यहाँ वन्यजन्तुको वासस्थानमा बृद्धि भएकाले निश्चित स्थान छुट्याएर अन्य क्षेत्रमा चरिचरन बन्द गरिएको हो । सामुदायिक वनले अहिले गाउँका बस्तु चराउन दुई ठाउँमा तारबार लगाएर स्थान छुट्याएको छ । कुमरोज वनको इचर्नी पोष्ट र जनकपुर पोष्टनजिकै झन्डै १०÷१० हेक्टर क्षेत्रफलमा मात्रै चरिचरन गर्न पाइने नियम बनाइएको नेपालले जानकारी दिनुभयो । अन्य क्षेत्रमा मानिस र पालुवा जनावरको आवतजावत हुँदा पर्या–पर्यटनमा र वन्यजन्तुको वासस्थान प्रभावित हुने भएकाले चरिचरनमा रोक लगाइएको सामुदायिक वनले जनाएको छ । स्थानीय बूढी राप्ती उपभोक्ता समिति, कुमरोज सामुदायिक वन, खैरहनी नगरपालिका, चोरी सिकार नियन्त्रण युवा जागरण अभियानलगायत सङ्घसंस्थाको पहलमा चरिचरन बन्द गरिएको हो । जङ्गलमा चरिचरन र घाँस दाउरा गर्न जाँदा वन्यजन्तुको आक्रमणमा परी मानिसको समेत ज्यान जाने खतरा रहेकाले अहिले जोखिम कम भएको स्थानीयवासी गोविन्द दराईले जानकारी दिनुभयो । चितवनको सौराहासँगै जोडिएको उक्त क्षेत्रमा अहिले विदेशी पर्यटकसमेत गैँडा हेर्न पुग्छन् भने हात्ती सफारी र जिप सफारी गरेर वन्यजन्तु अवलोकनको सुविधा उपलब्ध गराइएको छ । रासस

राजनीतिक जीवन चितवनमैं बिताउने प्रचण्ड पुत्रीको घोषणा

चितवन, वैशाख १५ । भरतपुर महानगरपालिकामा मेयर पदमा उम्मेदवार बनेकी रेणु दाहालले राजनीतिकरुपमा चितवनमा नै सक्रिय हुने घोषणा गरेकी छिन् । स्थानीय तह उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै नेतृ रेणु दाहालले निर्वाचनमा जित्ने पूर्ण विश्वास रहेको बताईन । “चितवनमा नै बाँकी राजनीतिक जीवन बिताउँछु ।” उनले भनिन, “हारेपनि जितेपनि यही मेरो राजनीतिक थलो हुने छ ।” भाषणका क्रममा आत्मविश्वासी देखिएकी रेणुले चुनाव जित्नेमा ढुक्क भएको बताइन । लामो समय चितवनको राजनीतिबाट अलग भएकोले जनता र कार्यकर्तासँग घुलमिलमा समस्या भएको स्वीकार्दै दाहालले २०६४ सालको जस्तै लहर जिल्लामा ल्याउनुपर्ने बताइन् । आफूलाई ‘प्रचण्डकी छोरी’ भनेर  मात्र चिनाइएकोमा उनको गुनासो थियो ।

भिरबाट खस्दा एकको मृत्यु

पाल्पा, १५ वैशाख । पाल्पाको छहरा रैनादेवी गाउँपालिका–४ मेहलढापका ६४ वर्षीय मानबहादुर सारुको भिरबाट खस्दा मृत्यु भएको छ । मेहलढापस्थित सुकदहको बाटोदेखि १५ मिटर तल खस्दा उहाँको आज बिहान घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सारुको शवपरीक्षणका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको मुझुङ्ग इलाका प्रहरी कार्यालयका प्रमुख रेशम जीसीले बताउनुभयो । रासस

स्कुटर पछाडि बसेकी महिलाको सडक दुर्घटनामा मृत्यु

 वैशाख १५। गएराति स्वयम्भू नजिक ठाडो भ¥याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी ३५ वर्षीया भगवती अर्यालको मृत्यु भएको छ । लु १ ख ९९९६ नंको ट्रकले स्वयम्भूबाट सीतापाइला आउने क्रममा बा ८२ प ३२२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी अर्यालको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीका अनुसार दुबै सवारीसाधन चालकको नाम खुल्न सकेको छैन । स्कुटी चालकको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न दुवै साधन महानगरीय प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छ । रासस

सरकार र विद्यार्थी नेताहरु बिच वार्ता हुँदै

काठमाडौं, वैशाख १५ । शिक्षा मन्त्रालयले निजी विद्यालयको शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुलाई वार्तामा बोलाएको छ । मन्त्रालयका प्रवक्ता हरि लम्सालले विद्यार्थी नेताहरुलाई आज दिउँसो एक बजे वार्तामा बोलाइएको जानकारी दिए । शिक्षा मन्त्री र मन्त्रालयका अधिकारीहरुलाई सार्वजनिक बहिस्कार गर्ने निर्णय विद्यार्थी संगठनहरुले सार्बजनिक गरेलगत्तै मन्त्रालयले वार्ताका लागि आब्हान गरेको हो । निजी विद्यालयले सरकारले तोकेको सिलिङ र सर्वोच्च अदालतको आदेशविपरीत मनोमानी ढंगले शुल्क लिएको विरोधमा विद्यार्थी संगठनहरुले बिहीबार आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गरेका थिए । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रमअनुसार आज बिहान १० बजे देशभरका जिल्ला शिक्षा कार्यालयमा र दिउँसो एक बजे शिक्षा विभागमा तालाबन्दी गर्न तय भएकाे ५ ।  १७ गते शिक्षा मन्त्री, शिक्षा मन्त्रालयका अधिकारी र निजी विद्यालय सञ्चालकहरुलाई सार्वजनिक वहिस्कार गर्ने तथा १८ गते सरकारी गाडीहरु चलाउन रोक लगाउने निर्णय समेत भैसकेकाे छ ।  

तेह्रथुममा मुढाले किचेर एकको मृत्यु, सात पक्राउ

तेह्रथुम, वैशाख १५ । गोलियाका लागि काटेको रूखको मुढाले लागेर तेह्रथुुममा एक जनाको मृत्यु भएको छ । खोरुङ्गा खोलामा माछा मार्दै गर्दा बिहीबार माथिबाट पल्टाइएको मुढाले लाग्दा मेन्छ्यायेम गाउँपालिका–४ साबिक मोराहाङ–६ का ४० बषृका चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव यादवले बताए । प्रहरीले गोलिया पल्टाउँदै गरेका सातजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीले स्थानीयवासी सुवास तामाङ, पुष्प तामाङ, टेकबहादुर भुजेल, टीकाराम प्याकुरेल, मानबहादुर भुजेल, बिजुलीबहादुर तामाङ र श्यामबहादुर तामाङलाई पक्राउ गरेको ५ । मृतक नेपालीको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । गत साता मात्रै गोलियाका लागि ढालेको रूखले किचेर खाम्लालुङमा दुईजनाको ज्यान गएको थियो ।

पूर्ण साक्षर बनाउने कांग्रेसको संकल्प

काठमाडौँ, वैशाख १४ । नेपाली काँग्रेसले स्थानीय सरकारको पाँच वर्षको अवधिभित्र १५ देखि २४ वर्ष उमेर समूहका नेपालीलाई शतप्रतिशत साक्षर गराउने सङ्कल्प गरेको छ । काँग्रेसले प्रत्येक स्थानीय तहमा माध्यमिक तहसम्म पूर्ण निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षा सर्वसुलभ गराउनुका साथै १२ कक्षाको अन्तिम परीक्षामा सहभागी भएका युवालाई लक्षित गरी तरूण सीपवृत्ति योजनाअन्तर्गत स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने कार्यक्रममा संलग्न गराइने घोषणापत्रमा सङ्कल्प गरेको छ । स्थानीय तहमा रोजगारमूलक तथा स्व–उद्यम प्रवद्र्धन गर्ने प्राविधिक एवम् सीप सिकाइ शिक्षालयको व्यवस्था गरी युवालाई रोजगारमुखी सीपमूलक तालिम दिइने काँग्रेसको घोषणापत्रमा उल्लेख छ । ‘नेपाली काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, नेपाली काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरिसकेको छ । निजी क्षेत्रलाई रोजगारमुखी प्राविधिक शिक्षालय खोल्न प्रोत्साहन गरिनुका साथै “एक विपन्न परिवार : सीप सिकाइ केन्द्रमा एक निःशुल्क अवसर” कार्यक्रम लागू गरिने पनि सङ्कल्प गरिएको छ । काँग्रेसले शिक्षालाई रोजगारीसँग जोड्न युवा विद्यार्थी, विद्यालय र बंैकिङ एवम् व्यावसायिक प्रतिष्ठानलाई संलग्न गरी युवा रोजगारी प्रोत्साहित गर्ने नीति अवलम्बन गर्ने जनाएको छ । माध्यमिक शिक्षाको राष्ट्रिय मानक निर्धारण र विकासका लागि सङ्घीय शिक्षा आयोग गठन गरी निश्चित विषयको पठनपाठन राष्ट्रिय रुपमा एकैप्रकारका हुनेगरी स्थानीय सरकारले आवश्यकताअनुसार थप विषय अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाइने काँग्रेसले प्रतिबद्धता गरेको छ । निर्वाचनमा पार्टीले आधारभूत तहमा तालिम प्राप्त र विषयगत योग्यता भएका शिक्षकको व्यवस्था र आधुनिक प्रविधिमार्फत शिक्षणको व्यवस्था गर्न पुराना स्थायी शिक्षकलाई स्वेच्छिक अवकाशको व्यवस्था गरी नयाँ शिक्षक भर्नाद्वारा शिक्षक रुपान्तरणको योजना अघि सारेको छ । साथै लोकतन्त्र, शान्ति, मानवअधिकार, नैतिक शिक्षा र अहिंसाजस्ता अवधारणालाई विद्यालयस्तरको शैक्षिक पाठ्यक्रममा समावेश गरिने घोषणापत्रमा उल्लेख छ । काँग्रेसले पार्टीको नेतृत्वमा सबै स्थानीय तहमा वाइफाइ इन्टरनेट र आधुनिक पुस्तकालयसहितको एउटा सामुदायिक स्रोतकेन्द्र बनाइने र एक वडा–एक पुस्तकालय एव्म एक वडा–एक योग तथा प्राकृतिक चिकित्सा केन्द्रको स्थापनामा गर्ने योजना अघि सारेको छ । एक टोल–एक शिशु विकास केन्द्र कार्यक्रम सञ्चालन गरी न्यून एवम् मध्यम आय भएका परिवारका शिशुको प्रारम्भिक शिक्षालाई समेत सहज बनाइ बालबालिकाको शिक्षाको निरन्तरताका लागि आमालाई नगद प्रोत्साहन दिइने काँग्रेसको कार्यक्रम छ । विद्यालयको प्राथमिक तहदेखि नै नेपालीबीच प्रचलनमा रहेका विभिन्न जाति, भाषा र संस्कृति तथा सांंस्कृतिक–ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धनसम्बन्धी शिक्षालाई अनिवार्य गरिने घोषणापत्रमा जनाइएको छ । घोषणापत्रमा उल्लेख भएअनुसार काँग्रेस नेतृत्वको स्थानीय सरकारले शौचालय, सुरक्षा एवम् यातायातको अभावबाट छात्राको अध्ययनमा असर पर्न नदिन विशेष व्यवस्था गरी भर्ना र उत्तीर्ण दरलगायत अन्य सूचकमा छात्र र छात्राबीच स्थानीय तहमा रहेका सबै प्रकारका विभेदको अन्त्य गर्नेछ । रासस